यसरी मनाइँदै छ विराटनगरमा गाईजात्रा
विराटनगर : विराटनगरका नेवार समुदायले बुधबार धुमधामसँग गाईजात्रा पर्व मनाएका छन । झि पुचःबाट बाजागाजा र लाखेजात्रासहित याली निकाल्दै नगरमा लाखेजात्रा गरेर नेवार समुदायले गाईजात्रा मनाएका हुन । विभिन्न भेषभुषामा सजिएका बालबालिका सिटी रिक्सामा सवार थिए । गाईजात्रामा भगवानका भेषमा बालबालिका सहभागी भएका थिए।
लाखेका समूह–समूहले सडकमा नाच प्रदर्शन गरेका थिए । मेनरोड हुँदै निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको गर्यो ।आफ्नी सासूको सम्झनामा विराटनगरमा भएको कार्यक्रममा सहभागी हुन झापाको दमकबाट आएका सामाजिक अभियन्ता जयबहादुर श्रेष्ठले भने, ‘नेवार समुदायको मौलिक पर्वका रुपमा गाईजात्रालाई लिन सकिन्छ ।’ उनले यो पर्वमा सबै वैमनस्यता र रीसराग त्यागेर मृतक आफन्तजनको सम्झना गर्ने चलन रहेको बताए ।
आफ्ना स्वर्गीय आफन्तजनको सम्झनामा हरेक वर्ष नेवार समुदायले गाईजात्रा मनाउने चलन छ । विराटनगरमा पनि हरेक वर्ष गाईजात्रा भव्य रुपमा मनाउने चलन छ । विराटनगरका पर्यटन व्यवसायी भविश श्रेष्ठले विराटनगरको गाईजात्राको आफ्नै गरिमा रहेको बताए ।