विश्व बैंकसँग लड्ने आदिवासी

विश्व बैंकसँग लड्ने आदिवासी

सन् १९८५ मा संयुक्त राष्ट्र संघले आदिवासीसम्बन्धी मस्यौदा जारी गर्‍यो । जसलाई १३ सेम्टेम्बर २००७ मा संशोधनद्वारा पारित गरियो । सन् १९८९ मा ‘आईएलओ महासन्धि १६९’ ले मानवअधिकार भनेको व्यक्तिगत मात्रै होइन सामूहिक अधिकार पनि हो भन्यो । पहिचान भनेको सामूहिक र आदिवासीका लागि विशिष्ट पहिचान हुन्छ, त्यसलाई स्वीकारर्नुपर्छ । पहिचानको सन्दर्भमा आईएलओ महासन्धि महत्वपूर्ण छ । विश्व आदिवासी आन्दोलनको इतिहास पनि रक्षात्मक छैन  । सामूहिक पहिचानलाई मेट्ने कोशिस गर्ने होइन, सम्मान गरेर प्रबद्र्धन गर्नुपर्ने आईएलओले बताएको छ ।

timthumbत्यसले भूमि र प्राकृतिक स्रोतलाई आदिवासीको अधिकारसँग जोडेको छ । आत्मनिर्णयको अधिकार अर्को पक्ष पनि हो । आईएलओले प्रथाजन्य कानुनहरूलाई पनि स्वीकार गरेको छ । विश्व आदिवासी आन्दोलनको महत्‍वपूर्ण उपलब्धिको रूपमा आईएलओ महासन्धिलाई लिन सकिन्छ । नेपालले आईएलओलाई स्वीकार गरेको छ । यस अर्थमा पनि नेपालमा आदिवासीको आन्दोलन रक्षात्मक छैन भन्न सकिन्छ ।

आन्दोलन समुद्रको छाल

राजनीतिक र सामाजिक आन्दोलन समुद्रका छालजस्ता हुन्छन्, कहिले माथि उठ्ने र कहिले तल झर्ने । सानो उचाइमा उठेका आन्दोलनहरू छिट्टै तल झर्छन् । ठूलो उचाइमा पुगेका आन्दोलन निकै तल पनि जान सक्छन् र माथि पनि । जति तल पुग्यो, उठ्ने बेला त्यो निकै माथि जान सक्छ । प्रकृतिको नियम हो, यो । आदिवासी जनजातिको आन्दोलन पनि यस्तै हो । नेपालको आदिवासी आन्दोलन रक्षात्मक चरणमा छैन । रक्षात्मक चरणमा त हिजोका एकाधिकारवादीहरू छन् ।अहिलेसम्मको इतिहासमा एकाधिकारवादीहरूले कहिल्यै संगठन बनाएका थिएनन्, तर नेपालकाले बनाएका छन् । रक्षात्मक चरणमा उनीहरू भएको उदाहरण हो, यो ।

हालको संविधानमा खस आर्यको पहिचानलाई परिभाषित गरी किन ठाउँ–ठाउँमा राख्नुपरेको हो ? थारू आन्दोलनविरुद्ध अखण्डवालाहरू संगठित भए  । उनीहरू संगठित हुनुपर्ने जरुरत त थिएन । किनकि, कार्यपालिका, व्यवस्थापिका न्यायपालिक, मिडिया, नागरिक समाज, विदेशी दातृसंस्था सबै उनीहरूकै हातमा थिए  । तर, उनीहरू संगठित भएर आए, यसले पनि उनीहरू रक्षात्मक चरणमा भएको देखाउँछ । गाउँघरमा पहिला शोषण दमन कसले ग¥यो तोकेर भन्न सकिँदैनथ्यो । भाग्य र कर्मलाई दोष दिइन्थ्यो । तर, अहिले नेपालका आदिवासीमा एउटा जाति, वर्ग र लिंगले हालिमुहाली गरी स्रोत साधनमाथि कब्जा जमाएकाले गरिबीको रेखामुनि परेका रहेछौँ भन्ने चेतनाको विकास भएको छ ।

नेतृत्वको संकट

नेपालका प्रमुख ठूला दल गैरआदिवासीले चलाएका छन् । बहुदलीय व्यवस्थामा राजनीतिक दलबाटै अधिकार प्राप्त गर्नुपर्छ भन्ने भएकाले धेरैजसो आदिवासी तिनै दलमा छन् । त्यो आदिवासीको चेतनाको कमीले भएको हो । त्यहाँ जानेले निर्णायक तहमा जान पाउँदैनन् । त्यहाँ उनीहरूको स्थान मध्यम तहको हुन्छ । बीचमा बसेपछि उनीहरू स्वार्थी र अवसरवादी हुन पुग्छन् र फलस्वरूप जनताबाट टाढा हुन्छन् । जनताले अर्को विकल्प नपाएपछि फेरि तिनै पार्टीलाई मतदान गर्छन् । नेपालमा अशोक राईलगायतले आदिवासीको छुट्टै पार्टी बनाउन कोशिस गरे ।

तर, उनीहरूले माक्र्सवाद त्याग्न सकेनन् । उनीहरूको पहिचान पक्षधरतालाई सकारात्मक रूपमा लिन सकिए पनि वैचारिक दर्शकका कारण उनीहरू गलत बाटोमा छन् । यस्तो कारणले नेपालका आदिवासी जनजाति नेतृत्वको संकटबाट गुज्रिरहेका छन् । पहिलो संविधानसभा पहिचानवादीको बहुमत देखेपछि विघटन गरियो । दोस्रो संविधानसभामा आइपुग्दा थारू र मधेशीको टाउकोमा गोली हानेर एउटा पक्षले दीपावली मनायो । समस्यालाई कार्पेटमुनि राखेर संविधान जारी गरियो । आज मधेश आन्दोलन सुतेको छैन, जागै छ ।

तर, जनता त्यतिकै उठ्दैनन्, नेतृत्व चाहिन्छ । अमेरिकामा मार्टिन लुथर किङ नआउँदासम्म आन्दोलन उठेको थिएन । गान्धी नभएको भए भारत छिट्टै मुक्त हुने थिएन । तर, नेपालमा आदीवासी नेताहरूको पतन भयो । पहिचानवादीहरू विदेशी डलरमा बिकेको भन्ने कुरा भ्रम पार्ने उद्देश्यले फैलाइएको झूट हो । कुन–कुन दातृनिकायले क–कसलाई कति पैसा दिए त्यो तथ्यांक खोज्ने हो भने यो भ्रमको पर्दा च्यातिन्छ । राज्यले लिएको अर्बाैं रुपैयाँ आदिवासी र मधेशीविरुद्ध प्रयोग हुन्छ । राज्यले पैसा दुरुपयोग गरिरहेको छ । गैरसरकारी संस्थाले पाउने पैसा पनि आदिवासी र मधेशीकै विरुद्ध प्रयोग हुन्छ । आदिवासी, मधेशी र थारूले दिएको करबाट राज्यले उल्टै गोली ठोक्ने काम गरिरहेको छ । 

विश्व बैंकसँग लड्ने आदिवासी

पुँजीवादी व्यवस्थाको खम्बा विश्वको सन्दर्भमा विश्व बैंक र आईएमएफ र एसियामा एडीबी हुन् । यी सबैको आँखा आदिवासीहरूले ऐतिहासिक कालदेखि प्रयोग गर्दै आएको भूमि र प्राकृतिक स्रोतमा गडेको छ । पुँजीवादलाई खानि, जमिन र पानी चाहिएको छ । ती सबै आदिवासीको नियन्त्रणमा छ । नेपालको सन्दर्भमा ती स्रोत थारू, लिम्बू, तामाङ, डोल्पाली र मनाङे आदिको अधिनमा छ । उनीहरूलाई धपाएर ती स्रोत कसरी कब्जा गर्ने भनेर सोचिरहेका छन् पुँजीवादीहरू । पुँजीवादसहित सबै प्रकारको उपनिवेशवादको एउटै उदेश्य आदिवासीलाई सिध्याउने र आफ्नो आगामी पिँढीको स्वार्थलाई पूरा गर्ने हो ।

त्यसको मूल्य अहिले जलवायु परिवर्तनको रूपमा विश्वले चुकाउनुपरेको छ । वैज्ञानिक स्टेफन हकिन्सले जलवायु परिवर्तनका कारण एक सय वर्षभित्रमा पृथ्वी छाडेर अन्तै जाने प्रक्रिया शुरु गरिसक्नुपर्ने बताएका छन् । डाइनोसर सकिए, अब मान्छे सकिने दिन आउँदैछ भनेर उनले भनेका छन् । यी सबै समस्या पुँजीवादले निम्त्याएका हुन्, आदिवासीले होइन । आदिवासी स्वार्थी समूह होइन । आदिवासीले पृथ्वीलाई आमाको रूपमा हेर्छ, आमाले दिएको लोभ गर्नु हुँदैन, चाहिनेभन्दा धेरै लिनु हुँदैन भन्ने आदिवासीको आदर्श हो ।

पृथ्वीमा सबैको सहअस्तित्व सम्भव छ भन्ने आदिवासीको सिद्धान्त हो । त्यो सिद्धान्तलाई असफल बनाउने काम पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादले गरेका छन् । त्यसको मूल्य अहिले आदिवासीलगायत सबैले चुकाउनुपरेको छ । आदिवासीलाई उसैको भूमिमा सम्मान गर्न सकियो भने पृथ्वी र मानव समुदायको लागि हितकारी हुन्छ । तर, अहिले विश्व यसको विपरीत आत्मघाती बाटोमा हिँड्दैछ । आदिवासीलाई नसिध्याई पुँजीवादमा पुग्न सकिँदैन भन्ठान्छन्, पुँजीवादीहरू । 

नेपालमा विश्व बैंकसँग लड्ने तागत सरकारसँग पनि छैन । तर, आदिवासीसँग छ । उदाहरणको लागि सिन्धुलीबाट लगेको हाइटेन्सन तारको विरुद्ध त्यहाँका ब्राह्मण क्षत्री आदिवासी जनजातिको कार्यालयमा बसेर ‘आईएलओ महासन्धि १६९ लागु गर’ भन्दैछन् । उक्त हाइटेन्सन तार लगेको स्थानमा आदिवासी मात्रै बसेका छैनन्, अरू समुदायका दाजुभाइहरू पनि बसिरहेका छन् । त्यो परियोजनाले त्यहाँ मानवीय जीवनमा ठूलो नोक्सान हुने थियो, कसैले घर बनाउन पाउँदैनथ्यो । स्वास्थ्यको लागि समेत हानिकारक थियो ।

लड्ने सैद्धान्तिक र कानुनी आधार पनि खासै थिएन । त्यहाँका स्थानीयवासीले आदिवासीको त्यही आईएलओ महासन्धि १६९ को हतियार प्रयोग गरेर विश्व बैंकसँग लडे । परिणामस्वरूप विश्व बैंक झुक्यो र त्यहाँका गैरआदिवासीले मुआब्जास्वरूप एक करोड २० लाख रुपैयाँ पाए । यो उदाहारणबाट आदिवासी स्वार्थी हुँदैनन् र विश्व बैंकलाई घुँडा टेकाउने सामथ्र्य राख्छन् ।

गोरेबहादुर खपांगीले राजाको हातबाट टीका लगाइदिँदा आदिवासी आन्दोलनलाई फाइदै भयो । साँचो कुरा थाहा पाइयो । रामायाणमा रामसँग धेरै शक्ति भएर उनले जितेका होइनन् छल गरेर र विभिषण जस्ता पात्रलाई आफ्नो पक्षमा ल्याउन सफल भएर हो । आदिवासी आन्दोलनमा पनि त्यस्ता विभिषणहरू छन् । विभिषणहरूको वास्तविक पहिचान खुल्दै छन् । अबको आन्दोलन संविधान आउनुअघिको जस्तो हुँदैन । अबको आदिवासी आन्दोलनमा ४०/५० हजार मान्छे देखाएर हुँदैन । अब ‘वार कि पार’ नै गर्नुपर्ने हुन्छ ।

त्यसको तयारी विभिन्न तरिकाबाट भइरहेको छ । अहिले एकाधिकारवादीहरू शक्तिशाली जस्तो देखिएको साँचो हो । तर, वास्तवमा उनीहरू शक्तिशाली छैनन्, खोक्रा छन् । ज्ञानेन्द्र पनि कुनै बेला शक्तिशाली जस्तो देखिन्थे । जो खोक्रो छ, त्यसले बढी आडम्बर देखाउँछ । मधेशी, आदिवासीलगायत सीमान्तकृत वर्ग निरास छैन । नेतासँग निराशा भए पनि आन्दोलनप्रति निराशा छैन । उनीहरू उपयुक्त समयको पर्खाइमा छन् । कुराकानीमा आधारित ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.