सप्तकोसीमा रातो बत्ति, सतर्क रहन स्थानीयलाई प्रशासनको आग्रह
धरान: पूर्वी पहाडी जिल्लाहरुमा निरन्तरको बर्षाले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी प्रविण धितालले बताएका छन्।
मंगलबार १२ बजे सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख ९२ हजार ३ सय क्यूसेक पुगेको धितालले जानकारी दिए। भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका ५६ ढोका मध्य २५ वटा मात्र ढोका खोलिएका छन् । सोमवार राति सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड २ लाख ११ हजार ५ सय ६० पुगेको थियो।
अहिले सप्तकोशी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अबस्थामा परिचालन गरिसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए। कोशी प्रभावित क्षेत्रमा जुनसुकै बेला बाढीले क्षति गर्ने भएकाले स्थानीयबासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
सामान्यतया सप्तकोसीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछी खतराको संकेत मानिन्छ। भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजमा भारतले आफू अनुकुल मात्र ढोका खोल्ने गरेका कारण सुनसरीको मधुवन, प्रकाशपुर, पश्चिम कुसाहा, महेन्द्रनगरलगायतका क्षेत्रमा सप्तकोशीले कटान सुरु गरेको स्थानीय दुर्योधन घिमिरेले बताए।
२०६५ साल भदौ २ गते राति सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका साविकका गाविसहरु श्रीपुर, हरिपुर, पश्चिम कुसाहा, लौकहीका हजारौ बासिन्दा बिस्थापित भएका थिए भने हजारौ हेक्टर खेतियोग्य जमिन बगाएको थियो।