मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

खोटाङ: दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो। सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन्।

हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा स्थानीय दिप्रुङ गाउँपालिका-२ डाँडागाउँका पदमबहादुर र मीना थापा पिडामा छन्। २०५५ सालमा जन्मिएका जेठा छोरा सुमनको स्वास्थ्यमा देखिएकै लक्षण माइलो छोरा सरोजमा पनि देखिएको छ।

रोगले निक्कै च्यापेपछि अहिले माइलो छोरा सरोजलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पुर्‍याइएको छ।जेठा छोरा गुमाएको घाउ पुरिन नपाउँदै थापा परिवारमाथि फेरि उस्तै संकट दोहोरिन पुगेको छ।

महेन्द्रोद्वय मावि ओख्रेडाँडागाउँबाट यसपल्ट एसइइ उत्तीर्ण गरेका सुमनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत असार १६ गते मृत्यु भएको थियो। घरजग्गा बन्धकी राखेर उपचार गराए पनि थापा दम्पतीले जेठा सुमनलाई बचाउन सकेनन्।

गाला दुख्ने समस्याबाट थलिएका सुमनको क्रमशः पेट दुख्ने, श्वास बढ्नेलगायतका समस्या थपिँदै गएर अन्तमा मृत्यु भएको आमा मीनाले बताउनुभयो। “रोगले च्याप्दै लगेपछि छोरालाई बचाउन धेरै अस्पताल चहार्‍यौँ, तर बचाउन सकिएन।' उनले भने, 'छोरा पनि गुमाइयो, रु छ लाख ऋण पनि लाग्यो।'

आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरा गुमाएका थापा परिवारले माइला छोराको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसमक्ष सहयोगको याचना गरेका छन्।'आफूसँग फुटेको कौडी छैन।' आँखाभरि आँसु पार्दै आमा मीनाले भने, 'आफ्नै आँखा अगाडि फेरी अर्को छोरा मरेको हेरेर म कसरी बाँचु !'

शिक्षण अस्पतालमा उपचार गराइरहेका ११ वर्षीय सरोज कक्षा ५ मा अध्ययनरत छन्। थापा परिवारसँग सरोजको उपचार गर्ने आर्थिक क्षमता नहुँदा हाल फेसबुकबाट 'सरोज थापा बचाउ अभियान' सञ्चालन भइरहेको छ। फेसबुक पेजबाट देश तथा विदेशबाट उपचार खर्च संकलन भइरहेको उनका ठूलोबुबा मनोज थापाले बताए।

एक रोपनी जग्गा भएका थापा परिवारले वर्षभरी खाने अन्न जुटाउन मेलापात र अर्मपर्म गर्दै आएका छन्। सरोजलाई आर्थिक सहयोग गर्न चाहने महानुभावले उनकी आमा मीना थापालाई ९८६१९८५९७३ र उनका ठूलो बुबाको छोरा मनोज थापालाई ९८४०१६६३०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.