नलाग्ने खुकुरीले नारायणहरि बनाउनुपर्नेहरू...!
प्रश्न ; स्कुल-कलेजमा अब्बल पढ्नेहरू के बन्छन् ?
उत्तर ; डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, कृषि, बन, पशुपालन...आदि ।
प्रश्न ; सबैभन्दा बढी भ्रष्टाचार कहाँ हुन्छ ?
उत्तर ; अब्बल पढ्नेहरूले जुन जुन क्षेत्रमा काम गर्छन् !
प्रश्न ; होइन, होला ।
उत्तर ; होइन भने किन सडक खत्तम ? सडक पेटी किन भताभुंग ? ढल निकास खोइ ? नहरमा किन पानी नआउने ? पुलहरू किन कच्चा ? कालोपत्रे किन महिनामै उक्किने ? सडकमा किन पानी जम्ने ? बिरामी किन ठगिने ? उपचार यहाँ किन महँगो, अन्यत्र सस्तो ? लेखापरीक्षणमा किन बेइमानी ?
कृषि र पशुपालनमा हरेक वर्ष अरबौं लगानी गर्दा पनि खाद्यान्न, सागपात-तरकारी, लसुन-प्याज र माछा-मासु आयात गरिरहनु परेको होला ? हरियो बन नेपालको धन भनिन्छ, तर किन अरबौंको काठ प्रत्येक वर्ष विदेशबाट आयात गरिरहन्छौं ?
उत्तरकर्ता ; मौन...बन्छ÷बन्छे !
नेतानै भन्छ, भ्रष्टले खत्तम पारे !
सत्ता छाडेको भोलिपल्टदेखि नेता पनि भन्न थाल्छन्, भ्रष्टाचारले सदाचारलाई खायो । प्रत्येक भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।
तर जब ऊ जनताको मत पाएर सत्तामा पुग्छ, भ्रष्टाचारको काम झन् दिक्क लाग्दो गरी उही सुरु गर्छ।
अनि सडक उही, ढल उही, पेटी उही । अस्पताल र स्वास्थ्य केन्द्र उही । कृषि उस्तै । पुल उस्तै । मिसावट उस्तै । औषधीमा पनि मिसावट । भन्सार,कर र मालपोत पनि उस्तै । बजार भाउ उस्तै । शिक्षा पनि उस्तै । विदेशबाट उही सामाग्री आयात र देशबाट निर्यात केही न केही फुस्सा...!
आजित भए पनि नागरिक प्रश्न सोधिरहन्छ । जिम्मेवार भनाउँदो जवाफ नै दिँदैन । मुख खोल्दै खोल्दैन !
प्रश्नकर्ता ; आँखा झन् ठूला पार्छ ? बोल्न पनि छाडेर दुवै हात हल्लाउँदै सोधिरहन्छ-किन, किन र किन ?
देशव्यापी महारोग !
धुलो उड्यो...हिलो भयो...पानी जम्यो ...ढल फुट्यो र मल-मूत्रसहित उम्लिएर फैलियो...खाल्डा परे...देखिएन, आफैं परियो...बालबालिका डुबे !
यो वर्ष यिनै कुरा खुब सुनियो, देखियो र भोगियो !
पानी नपर्दा धुलो उडेर कुइरीमन्डल । पानी परेपछि त्यहीं हिलो र पानी जमेर तलाउ बने ।
सडकमै पोखरी, छेउछाउमा खाल्डाखुल्डी । पानी जम्यो । पानीले असारका खेत झैं सडक, गल्ली, राजमार्ग जताततै जलमग्न भयो । कुलो-नहर चल्न थाल्यो । कतैकतै सचेतहरूले सडकमै धान रोपेर सरकारमा बस्ने र नेताहरूको खिल्ली उडाए । पानी जमेको ठाउँमा खाल्डाखुल्डी नदेखिनाले बटुवाहरू त्यसैमा जाकिए ! मोटरसाइकलवाला पछारिए । गाडीवाला जाममा घन्टौं रोकिए, खाल्डामा फसे । गजगज हिलोले बाटोमा हिँड्नै बटुवालाई पर्लय भयो ।
राँगा, भैंसी, गाइगोरु डुबे । बालीनाली नष्ट भयो ।
सडक किनारा घर पसलवाला र छरछिमेकी वाक्क-दिक्क बने । नेपाल डुल्न आउने पर्यटक छक्क परे । तीर्थयात्री हैरान भए । राजधानीका स्थायी बटुवा विलखबन्द परिरहे । स्कुल कलेज जाने केटाकेटीको बिचल्ली हेरिनसक्नुकै भयो । गृहिणी र बुढाबुढीको हाल बेहाल बन्यो ।
समाचारका छ प्रश्न
पत्रकारिता पढाउने संसारभरकै गुरुहरू भन्छन्, कुनै घटनाबारे समाचार बनाउने हो भने छ वटा प्रश्नको जवाफ खोज्नुपर्छ । को, के, किन, कसरी, कहिले र कसबाट भन्ने सवालको जवाफ दिएपछि मात्र त्यो सामान्य समाचार बन्छ ।
कुनै घटना भयो भने तपाईंका मनमा उब्जने छ वटा प्रश्नको जवाफ नै न्यूनतम समाचार मानिन्छ । आधारभूत प्रश्नको जवाफ आउने भएकोले खासमा छवटा प्रश्नको जवाफ नभएका कुनै पनि घटना समाचार बन्दैन नै भनिन्छ ।
बट, लेकिन, तर, किन्तु, परन्तु पत्रकारितामा पनि नहुने होइन । किन्तु परन्तु चाहिँ पत्रकारले त्यस्तो बेलामा मात्र प्रयोग गर्छन् जतिबेला कुनै प्रश्नको जवाफ तुरुन्त फेला परिसकेको हुँदैन । यसो भनिए पनि त्यो घटनालाई समाचार बनाउन संवाददाताले छोड्दैन । यद्यपि, जवाफ नपाएको प्रश्नको उत्तर खोज्न पनि उसले छाड्दैन । प्रयत्न जारी राखेर पनि उ त्यो घटनाबारे आफ्ना पाठक, दर्शक र श्रोतालाई अवगत गराउन लागिरहन्छ ।
पत्रकारले जतिबेला छमध्ये पहिले उत्तर नपाएको प्रश्नको जवाफ पाउँछ, त्यो समाचारको फलोअप समाचार भनेर त्यही हवाला दिँदै पाठक÷दर्शक÷ श्रोतालाई अवगत गराइहाल्छ ।
यो नै पत्रकारको न्यूनतम धर्म र पत्रकारिताको 'ग्रामर' हो । धर्म किनभने यो उसले कुनै हालतमा पालना गर्नैपर्छ र ग्रामर किनभने यो नभई उसको समाचार पूरा हुँदैन । जसरी ग्रामर नमिली वाक्य पूर्ण हुँदैन, त्यसैगरी पत्रकारितामा पनि ग्रामर नमिली सामान्य समाचार बन्दैन ।
के ? किन ? कहिले ? कहाँ ? कसरी ? कोबाट ?
अंग्रेजीमा पत्रकारहरू 'फाइब डब्लू एच' भन्ने गर्छन् । अग्रेजी भाषामा फाइब डब्लू भनेको पाँचवटा के हो ? र, एच भनेको हाउ अर्थात कसरी हो ।
सडकका छ प्रश्न !
पत्रकारिताका 'फाइब डब्लू एच' जस्तै सडकलगायत जलविद्युत् वा कुनै पनि निर्माण आयोजनाका फाइब डब्लू एच त्यतिमा मात्र होइन, 'फिप्टिन' सम्म पो हुने रहेछन् ! सबैलाई आश्चर्य लाग्ला । जहाँ यतिधेरै बेथिति छ त्यहीं यति धेरै ? !
संसारभरका निर्माणसम्बन्धी कर्म यस्तै सवालहरूको जवाफ र जिम्मेवारी साथ पूरा गरिने रहेछ । तर नेपालमा भने यी प्रश्नबिना उत्तर रहिरहनु परेको र त्यो भए नभएको जाँचबुझ र दण्ड सजाय गर्ने निकायहरू लबस्तरो बन्दै दिएर न निर्माण कार्यको धर्म न त ग्रामर नै पालना गरिरहेका छन् । अहिलेको समस्याको जड नै यही हो । तर उनीहरू सत्यतथ्य ढाकछोप गरेर सरासर नकच्चरो बनिरहेछन् !
योजनाको डीपीआर
निजी निर्माण र पुनर्निर्माण गर्दा पनि सर्वसाधारण के काम कहिले गर्ने, कसले गर्ने, कसरी गर्ने, कहिलेसम्ममा गर्ने, के सामान प्रयोग गरेर गर्ने भनेर योजना बनाएर काम गर्नुपर्छ । सरकारी र सार्वजनिक काम गर्ने त विधिविधान नै छ । कुनै पनि कामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)नै तयार पारिन्छ र यो लिखित हुन्छ, मौखिक हुँदैन ।
यो यति विस्तृत हुन्छ कि योजना तयार गर्ने विचार कहाँबाट र कहिलेदेखि फुर्योदेखि निर्माण सम्पन्न र अझ मर्मतसम्भारको बारेमा विस्तारमा गर्नुपर्ने काम र कति खर्च लाग्छ भन्ने हिसाबकिताब गरिएको हुन्छ ।
काम गर्दाको विधिविधान त यति विस्तारमा हुने रहेछ कि हेरेर छक्कै परियो ।
समय भनेको पैसा हो । ढिलाइले खर्च बढाउँछ । उच्च गुणस्तर र सुरक्षा हरेक निर्माण कार्यको महत्वपूर्ण पक्ष हो । यसको पालनामा ज्यादै कडिकडाउ हुने हरेक सम्झौतामा उल्लेख छ ।
प्रारम्भिक अध्ययनको चरण, डिजाइनको चरण, ठेक्कापट्टा दिने लिने चरण, निर्माणको चरण, सञ्चालन र मर्मतको चरण । कुनै पनि योजना वा निर्माणकार्य हुँदाका न्यूनतम चरण हुन् ।
यी शीर्षकलाई विस्तारमा केलाउने हो भने, प्रत्येक चरणमा बीसौं काम एकपछि अर्को गर्नुपर्ने देखिन्छ । उदाहरणका लागि भनौं न, जुन काम गर्ने सोच बनाइएको छ, अध्ययनमा त्यो सोच कसरी आयो ? किन आयो ? के कारणले गर्दा यसको आवश्यकता पर्यो ? हिउँद वर्षा बाढीपहिरोको सम्भावनालाई कसरी नियन्त्रण गर्ने वा पन्छाउने ? कस्तो बनाउने ? अग्लो-होचो-चिल्लो-खस्रो कस्तो ? बत्ती कहाँ राख्ने, सडक पार गर्ने चिन्ह कहाँकहाँ राखिनेछ ? ढल, मंगाल, कल्भर्ट, पुल कहाँ राख्ने ? कतिवटा राख्ने ?
कस्तो गुणस्तरका सामान प्रयोग गर्ने ? त्यो तयार गर्न कति पैसा लाग्छ ? समय कति लाग्छ ? सबैको जोडघटाउ गुणन भाग लगाइएको हुने रहेछ । ढिलासुस्ती भए के गर्ने ? कति दण्डजरिबाना गर्ने पनि सम्झौता गर्दा तोकिएको हुने रहेछ ।
प्रत्येक निर्माणका इन्च-इन्चमा कसले के गर्ने, कसरी गर्ने, के कस्ता सामग्री प्रयोग गर्ने र त्यो कति समयसम्ममा पूरा हुन्छ भन्नेसम्म पनि अध्ययन हिसाबकिताब गरिएको हुने रहेछ ।
त्यसका साथै त्यो कार्य गर्दा के कस्ता चुनौती आउँछन् ? वातावरणीय तथा नागरिक-सामाजिक-सांस्कृतिक-मानव सुरक्षाका पक्षहरूमा के के कुरामा ध्यान दिनुपर्छ र त्यसका लागि केके गर्ने मात्र होइन कति खर्च हुन्छसम्मको हिसाब हुन्छ भन्ने उल्लेख हुने रहेछ । वातावरणीय पक्षको कुरा गर्दा कुन ठाउँमा कस्ता विरुवा रोप्नुपर्छ भन्नेसम्म पनि पहिल्यै तोकिएकै हुन्छ ।
निर्माण गर्ने ठेकेदार, विशेषज्ञ, जाँचबुझ हरेक पाटोमा निर्माण गर्ने, गुणस्तर निर्धारण र त्यसको प्रत्येक चरणमा जाँचबुझ गरिने प्रावधान गरिएको हुन्छ । तर किन, कसरी र कसले जाँचेको, बनाएको र जाँचपास गरेका ठाउँमा के के भएको छ ? जनता अगाडि जगजाहेर छ !
ब्रम्हलुटको सानो उदाहरण
भर्खरै पत्रपत्रिकामा छापिएको र टेलिभिजनहरूमा देखाइएको एउटा तस्बिरको चर्चा गरौं । राजधानी काठमाडौंको सान मानिने धरहरा ०७२ को भुइँचालोले ढलेपछि सुन्धाराको गोश्वारा हुलाकको छेउमा एक धरहराप्रेमीले सानो रूप बनाएर राखेका छन् । त्यो ठाउँ भएर हिँड्ने प्रत्येक बटुवाले धरहरा यस्तो रहेछ भन्ने देख्न पाएका छौं ।
त्यस्तै त्यत्रै धरहरा, यसै साता सिंहदरबारभित्र पनि बनाएर फलामको बार लगाएर राखिएको तस्बिर सञ्चारमाध्यममार्फत हेर्न पाइयो ।
सिंहदरबारको धरहरा पनि गोश्वारा हुलाकछेउकै धरहराजत्रै रहेको देखियो, तर यसको लागत खर्च सुन्नु हुन्छ ? पाँच लाख रुपैयाँ लाग्यो रे, यो बनाउन !
गोश्वारा हुलाकनिरको बनाउनेले त्यति पैसा खर्चेर बनाएको त पक्कै होइन, तर सिंहदरबारभित्रको धरहराको किन यति धेरै खर्च लाग्यो ? यसको सरल जवाफ सर्वसाधारणले यस्तो दिए, किनभने यो पढेलेखेकाले सरकारी खर्चमा बनाएका हुन् ।
पढेलेखेकाहरू अरूलाई उल्लु बनाउन, तिकडम गर्न अत्यन्त सिपालु हुन्छन् किनभने उसले नै केमा के खर्च गरेपछि आफूले कति कुम्ल्याउन पाइन्छ भन्ने पढे, जाने र बुझेको छ ! अब तपाईं नै भन्नुहोस्, यस्ता भ्रष्टहरूलाई 'भचा कुसी' लैजाने कि 'खासा खुसु' ? एउटै समाधान भाचाकुसी !
बोलीचालीमा भातेकोशी भनिने 'भचा कुसी' वा 'खासा खुसु' नेवारी शब्द हुन् । यसको अर्थ हो, सानो खोलो अथवा खहरे । भचाकुसी काठमाडौंको शोभा भगवती मन्दिरनजिक विष्णुमति नदीको छेउमा छ भने 'खासा खुसु' भक्तपुरमा रहेको त्यस्तै खालको खहरे हो । यी दुवै ठाउँ इतिहासमा एउटै कामका लागि चर्चित छन्, जहाँ भ्रष्ट, पापी, अपराधी, बलात्कारी, ज्यानमारा र यस्तै प्रकृतिका दोषीलाई लगेर जल्लादले ज्यान सजाय कार्यान्वयन गर्दथ्यो । दोषीलाई त्यसैगरी सजाय दिइन्थ्यो, जसरी देवीथानमा पशुबली दिँदा भुत्ते खुकुरीले रेटीरेटी दिइन्छ ।
बहुचर्चित भनाइ नै छ, चाँडो ज्यान जाओस् र सासना कम पाइयोस् र धेरैबेर छटपटाउन नपरोस् भनेर मर्नेले ज्यान लिने जल्लाद वा चण्डाललाई साँध लगाएको वा भर्खरै पाइन हालेको धारिलो हतियारले एकैचोटमा गर्धन छिनाली देऊ 'प्लिज' भनेर काटिनुअघि दक्षिणा चढाउनुपथ्र्यो । खुसी पार्नुपथ्र्यो । दक्षिणा पाएन भने जल्लादले धार मरेको नलाग्ने हतियारले रेटेर अत्यन्तै पीडा दिई सजाय तामेल गर्दथ्यो ।