प्रतिभा पलायन र उपेक्षा

 प्रतिभा पलायन र उपेक्षा

‘हाउ भैरव सेभ्ड राम सिङ्स् लाइफ’ घोक्नमै बाह्र बज्ने पंक्तिकारको समयको नेपालको सरकारी शिक्षामा एक फलामे ढोका हुने गरेको एसएलसीले एउटा ठूलो समुदायलाई अवसरबाट सम्पूर्ण रूपमा वञ्चित गरेको छ । मुगुको कुनै सरकारी विद्यालय र काठमाडौंको कुनै निजी विद्यालयको एक समान मूल्यांकन हुने अवैज्ञानिक र केन्द्रीकृत परीक्षा प्रणालीले हजारौं नेपालीलाई प्रभावित पारेको छ ।

युद्धमा होमिएर अयोग्यताको प्रमाणपत्रसहित बाँचिरहेका र खाडीको मरुभूमिमा सस्तो श्रम बेचिरहेका युवा प्रतिभाहीन होइनन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३० प्रतिशत (स्रोत : विश्व बैंक ) ओगट्ने रेमिट्यान्सको प्रमुख हिस्सा देशका यी बेवास्ता गरिएका नागरिकको योगदान हो । प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तह पनि फलामे ढोकाभन्दा कम नभएको तिनको नतिजाले देखाउँछ । त्यसैले आधुनिक नेपालको आर्थिक क्रान्तिको लागि आवश्यक पर्ने यथेष्ट जनशक्तिको निर्माण हुन सकेको छैन । यी सम्पूर्ण फलामे ढोका पार गर्न सफल भएका विद्यार्थीलाई अवसरको कमी, चाकरी र भ्रष्टाचारले बाहिरिने बाटो देखाइदिएको छ ।

स्नातकोत्तरसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयमा गरेर रोजगारको लागि नेपालमा संघर्षपूर्ण समय बिताएर उच्च शिक्षाको अवसरको खोजीमा बिदेसिएका केही उदाहरणबाट सुरु गरौं । घरबाट पैदल उकालोओरालो गर्दै करिब एक घन्टाको हिँडाइपछि थकित भएर विद्यालयमा गणितीय सूत्रहरूको यातानापूर्ण अध्ययन गर्नुपरेका बैतडीका विद्यार्थी भूपेन्द्र रावल अहिले हार्वर्डजस्तो उत्कृष्ट विश्वविद्यालयको मेडिकल स्कुलको डेना—फारबर क्यान्सर इन्स्टिच्युटमा रक्त क्यान्सरको इम्युनोथेरापी विषयमा वरिष्ठ जीव—तथ्यांकशास्त्रीको रूपमा अनुसन्धानरत छन् । उनको समूह रक्त क्यान्सरको भ्याक्सिन, मल्टिपल मेलोमाको औषधीमा सुधार र मस्तिष्क ट्युमरको लागि विकिरण थेरापीको अनुसन्धानमा संलग्न छ ।

त्यस्तै असजताका बीच बैतडीबाटै हार्वर्डसम्म पुगेका दीनबन्धु भट्ट पनि हार्वर्ड विश्वविद्यालयको वाइस इन्स्टिच्युटमा कार्डियो भास्कुलर रोगसम्बन्धी विषयमा अनुसन्धानरत छन् । उनी नानो टेक्नोलोजी, पाउडर फोर्मुलेसन्स र स्प्रे ड्राइङ टेक्नोलोजीबाट औषधि विकासको निर्माण गरिरहेका विषयविज्ञ तथा त्यस क्षेत्रका ज्ञाता हुन् । हार्वर्डजस्तो उत्कृष्ट संस्थामा टिक्न चाहिने शोधको स्तरीयता उल्लेख गर्नुपर्ने विषय होइन ।

एसएलसी अध्ययन गर्दा शिक्षकको अभावमा अंग्रेजी, गणित र विज्ञान विषयको अध्यापन हिन्दी भाषामा गराइएका भूपेन्द्र र दीनबन्धुको हार्वर्डसम्मको यात्रा कसैले सहज गरिदिएको होइन । अमेरिकामा अध्ययन सकेर सन् २००५ मा नेपाल फर्केका र रोजगारको अभावमा पुनः अमेरिका फर्केका दीनबन्धु अमेरिका बस्नुपर्ने कारणबारे भन्छन्, चाकरी गर्नुनपर्ने अवस्थाको रोजगारले स्वाभिमानीलाई स्वतः आकर्षित गर्छ ।

विगत दस वर्षदेखि हार्वर्डमा कार्यरत दीनबन्धु नेपालसँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध हुनुका साथै आफ्नो सीप र अनुभवको नेपालमा प्रयोग गर्ने बाटोको खोजीमा छन् । आफूले आर्जन गरेको ज्ञान नेपाल र नेपालीको हितमा उपयोग गर्ने उपयुक्त मौकाको खोजीमा रहेका भूपेन्द्र भन्छन्, योग्यताको सम्मान नहुने समाजमा योग्य नागरिक आकर्षित हुँदैन ।

बनेपाको एक सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्का विद्यार्थी सोमसागर श्रेष्ठ अमेरिकी संघीय सरकारको ऊर्जा विभागअन्तर्गत ओक रिज राष्ट्रिय प्रयोगशालामा वैज्ञानिकको रूपमा ऊर्जाको प्रभावकारी प्रयोग, संवर्धन र संरक्षण क्षेत्रमा अनुसन्धानरत छन् । यो त्यही प्रयोगशाला हो, जहाँ अमेरिकाले सन् १९४१ मा प्रोजेक्ट म्यानह्याट्टन नाम दिइएको आणविक बम निर्माण गर्ने अति गोप्य योजनाअन्तर्गत आणविक प्रयोगशालाको निर्माण थालेको थियो ।

स्मरण रहोस्, सन् १९३९ मा अल्बर्ट आइन्स्टाइनले आणविक बम बनाउन सकिने अनुसन्धानको जानकारी पाएपछि तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टलाई एक पत्रमार्फत त्यसको जानकारी गराएपश्चात् अमेरिकाले प्रोजेक्ट म्यानह्याट्टनअन्तर्गत आणविक बमको विकास थालेको थियो । भूपेन्द्र, दीनबन्धु र सोमसागर कुनै सम्पन्न वा पहुँचवाला परिवारमा हुर्केका होइनन् । उनीहरूको परिवारसँग कुनै विशेषाधिकारको अनुमतिपत्र पनि छैन । स्वदेशमा आफ्नो प्रतिभासँग साक्षात्कार गराउने शिक्षा अभावमा उनीहरू बिदेसिएका हुन् । आफूले आर्जन गरेको दक्षताले माग गरेको चुनौती प्राप्त भएको ठाउँमा उनीहरू बस्नु नेपालको लागि पनि हितकर हुन्छ ।

शिक्षा आर्जन गरेर विदेशबाट फर्केकाहरूको कथा पनि सुन्न योग्य छैन । एक प्रसंग २०४९÷५० सालतिरको । पंक्तिकारका एक मित्र पूर्वी युरोपको कुनै देशबाट उत्कृष्ट विद्यार्थीको उपाधि लिएर नेपाल फर्के । त्यसबेला नेपालमा अब्बल दर्जाको मानिने शानेवानिको कुनै पदमा उनले लिखित परीक्षामा उच्चतम अंकको सहाराले अन्तर्वार्तामा प्रवेश गरे । युवा उमेरको जोस, युरोपको अध्ययन र अनुभवसहित अन्तर्वार्तामा प्रवेश गरेका उनलाई पहिलो प्रश्न सोधियो- प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको नाम भन्नुस् । असामन्जस्यमा परेर उनले प्रतिप्रश्न गरे- कुन प्रजातन्त्रको प्रसंग हो ०७, १५, १७, ४६ वा ४८ सालको ?

प्रश्न दोहोर्‍याउँछु भनेर प्रश्नकर्ताले प्रश्न उच्चारण गरे । मित्रले भयभीत भएर नम्रतापूर्वक जवाफ दिए- ०७ सालको मोहनशमशेर, १५ सालको बीपी कोइराला, १७ सालको तुलसी गिरी, २०४६ सालको कृष्णप्रसाद भट्टराई र २०४८ सालको गिरिजाप्रसाद कोइराला । सौभाग्यले त्यस अन्तर्वार्तामा असफल भएका उनलाई एक विदेशी कम्पनीले तत्कालीन एक लाखभन्दा बढी मासिकको दरले नेपालमै रोजगार दियो । अहिले कुनै विकसित मुलुकमा उनी एक वैज्ञानिकको पदमा शोधरत छन् । परिस्थितिले जन्माएको त्यो अन्तर्वार्ताको प्रसंगलाई उनले एउटा हाँसो र ठट्टाको सामान्य घटनाको विषयमा लिएका छन् । आफूले आर्जन गरेको ज्ञान र सीपको नेपालमा कुनै दिन सदुपयोग गर्ने उनको अठोट छँदैछ । प्रतिभाको अनादरले प्रतिभाको पलायन निम्त्याएको यो एक सामान्य उदाहरण छ ।

अवसरको खोजीमा प्रतिभाको पलायन एक विश्वव्यापी समस्या हो । भारतीय मूलका सत्या नदेल्ला, सुन्दर पिचाई, इन्दिरा नुयी क्रमशः माइक्रोसफ्ट, गुगल र पेप्सीका सीईओहरू वार्षिक तलब मात्र एक अर्ब रुपैयाँभन्दा बढी लिने केही उदाहरण हुन् । आफ्नो तलब आफैं तोक्ने यिनलाई भारतले आफ्नो भूमिमा रोजगार दिने क्षमता राख्दैन । यी मुगु जिल्लामा जन्मेका भए वा प्रतिस्पर्धी बजार नभएको ठाउँमा भएका भए यिनीहरूको सफलताको यो यात्रा यहाँसम्म पुग्ने थिएन ।

विश्वव्यापीकरणको अहिलेको समयमा क्षमतालाई भूगोलले चाहेर पनि रोक्न सक्दैन । एकातिर मुगु, डोल्पा, हुम्लाजस्ता जिल्लाका सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सत्या, सुन्दर वा इन्दिराको तहमा पुग्ने सम्पूर्ण बाटामा फलामे ढोका लगाइएको छ भने अर्कोतिर कोही फुत्त यो ढोकाबाट उम्किहालेमा त्यसलाई देशमै रोक्न अवसर, बजार र प्रतिस्पर्धा नै छैन । त्यसैले योग्य नागरिकले आफूअनुकूलको बजार खोजेर पलायन हुनु अन्यथा होइन । तिनको दक्षताको उपयोग गर्नसक्ने संयन्त्र भने चाहिन्छ ।

भूपेन्द्र, दीनबन्धु, सोमसागर प्रतिनिधि पात्र मात्र हुन् । अमेरिका, क्यानाडा, जापान, अस्ट्रेलिया, बेलायत आदि विकसित मुलुकहरूमा योग्यता र दक्षताले नेपालीलाई निम्त्याएका उदाहरण थुप्रै छन् । अमेरिकास्थित अनेक विश्वविद्यालयका प्राध्यापकको रूपमा अध्ययन-अनुसन्धान गर्ने प्रवासी नेपालीको संख्या उल्लेख्य छ । देशलाई आवश्यक पर्ने जनशक्तिको निर्माण गर्न छात्रवृत्तिमार्फत नेपालमा चिकित्साशास्त्र र इन्जिनियरिङमा विगतमा ठूलो लगानी गरिएको छ ।

जनताको ज्ञानको स्तर र आयमा वृद्धि नगरी आर्थिक क्रान्ति हुँदैन । साना तथा मझौला उद्यम गर्न पनि रचनात्मक र नवीनतम उपायको लागि स्नातकहरूको सीपमा वृद्धि गर्नुपर्ने हुन्छ । व्यवसायीमा ग्राहकमुखी र श्रेष्ठ कार्यप्रणालीको अनुभव, सीप र उद्यमता पनि चाहिन्छ । आर्थिक क्रान्ति, सुशासन, गुणस्तरीय शिक्षा एकअर्कासँग जोडिएका विषय हुन्, जसको लागि मानव पुँजी चाहिन्छ ।

यसरी छात्रवृत्तिमा अध्ययन गरेका देशका उत्कृष्ट मानिएका विद्यार्थीलाई देशमै रोजगार गर्नुपर्ने बाध्यात्मक व्यवस्थाको अभावमा यो जनशक्तिको उपयोग विदेशीले गरेका छन् । यसको क्षतिको लेखाजोखा भएको छैन । अमेरिकाले अप्सनल प्राक्टिकल ट्रेनिङमार्फत योग्य विदेशी स्नातकलाई आफ्नै देशमा रोक्न गरेको व्यवस्थाको अवधि एक वर्षबाट थपेर दुई वर्ष गरेको छ । योग्य स्नातकलाई अमेरिकाले सजिलै ग्रिनकार्ड उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । क्यानाडा, न्युजिल्यान्ड, अस्ट्रेलिया जस्ता मुलुकमा दक्ष विदेशीलाई सीधै आप्रवासी नागरिकको रूपमा भित्र्याउने कानुनले विकासशील देशका शिक्षित युवालाई आकर्षित गरेर लिएको लाभको अर्कोतिर क्षति हुन्छ । त्यसैले विपरीत प्रतिभा पलायन (पलायन भएकालाई फर्काउने) को आवश्यकता विकासशील देशले यसैबाट सिक्नुपर्ने हो ।

यो मानव पुँजीको क्षतिको महसुस गरेर कतिपय देशले विपरीत प्रतिभा पलायनको उपाय खोजेका छन् । चीनले बिदेसिएको मानव पुँजीलाई आकर्षित गर्न वैज्ञानिक अनुसन्धानको लगानीमा वृद्धि गरेको छ । चीनका कतिपय अनुसन्धान केन्द्रहरूमा आकर्षित सुविधाको व्यवस्था गरिएको छ । प्रतिभा पलायनको विशाल सिकार भएको भारतले विपरीत प्रतिभा पलायनको आवश्यकता देखेर प्रत्येक वर्ष प्रवास दिवस मनाउने गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिभा पलायनलाई प्रतिभा लाभको नाम दिएर डायस्पोरालाई आकर्षित गर्ने अभियान नै चलाएका छन् । चीन र भारतको आर्थिक वृद्धिको कारण पनि यो मानव पुँजी फर्कने प्रक्रियामा मद्दत गरेको छ ।

नेपालमा प्रतिभा फर्केका केही उत्कृष्ट उदाहरण पनि छन् । स्वर्णिम वाग्लेको चर्चा गरिरहनु पर्दैन । स्वतस्फूर्तबाहेक युवा वैज्ञानिकलाई आकर्षण गर्ने हालैको नास्टको अभियान प्रशंसनीय छ । त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक नारायण अधिकारी यसरी नै युरोप—अमेरिकामा अध्ययन गरेर अहिले आफूले अध्ययन गरेको संस्था भौतिकशास्त्र केन्द्रीय शिक्षण विभागमा अध्ययन—अनुसन्धानरत छन् । उनले निजी प्रयासमा बाहिरी अनुदानबाट भौतिकशास्त्र विभागमा कम्पुटर प्रयोगशाला र तिनको लागि चाहिने निरन्तर ऊर्जाको लागि सोलार पावर सिस्टमको निर्माण गरेका छन् ।

कन्डेस म्याटर फिजिक्समा अनुसन्धानरत नारायणले एक सयभन्दा बढी विद्यार्थीलाई स्नातकोत्तर र विद्यावारिधिमा शोध सल्लाह गरिसकेका छन् । आफ्ना विद्यार्थीलाई उत्कृष्ट अनुसन्धानमा प्रेरित गर्न उनले अन्तर्राष्ट्रिय क्षेत्रमा शोधपत्र प्रस्तुत गर्दा लाग्ने यात्रा खर्चको व्यवस्थासमेत गरेका छन् । यसको प्रमुख हिस्सा उनले आन्तरिक र बाह्य अनुदानबाट गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त भौतिकशास्त्रीलाई नेपालमा आमन्त्रित गरेर विभिन्न कार्यशाला गोष्ठी र संगोष्ठी आयोजना गरेका नारायणको त्रिभुवन विश्वविद्यालयमा बसेर गरेको भौतिकशास्त्रको अनुसन्धान आफैंमा उत्कृष्ट दर्जाको छ । नेपालको भौतिकशास्त्र शिक्षामा सुधार ल्याउने अठोट लिएका नारायण भन्छन्, नेपालमा विज्ञान क्षेत्रमा काम गर्ने आर्थिक वातावरण भने छैन ।

देशमै सेवारत जनशक्तिको अनादर गर्न खोजिएको होइन, तर देशको शैक्षिक लगानीले उत्पादन गरेको मानव पुँजीको सानो अंश पनि पलायन हुनु चिन्ताको विषय हो । जनताको ज्ञानको स्तर र आयमा वृद्धि नगरी आर्थिक क्रान्ति हुँदैन । साना तथा मझौला उद्यम गर्न पनि रचनात्मक र नवीनतम उपायको लागि स्नातकहरूको सीपमा वृद्धि गर्नुपर्ने हुन्छ । व्यवसायीमा ग्राहकमुखी र श्रेष्ठ कार्यप्रणालीको अनुभव, सीप र उद्यमता पनि चाहिन्छ । आर्थिक क्रान्ति, सुशासन, गुणस्तरीय शिक्षा एकअर्कासँग जोडिएका विषय हुन्, जसको लागि मानव पुँजी चाहिन्छ ।

नेपाली डायस्पोराले नेपालमा विभिन्न परोपकारी कार्यमा ठूलो योगदान दिएका छन् । पुँजी निवेशको लागि पनि कतिपय डायस्पोरा आकर्षित छन् । त्यसैले आर्थिक क्रान्तिको लागि विभिन्न विधा र क्षेत्रमा काम गरिरहेका नेपाली डायस्पोरालाई आकर्षण गर्ने, उनीहरूसँग संवाद, सञ्चार र विश्वासको वातावरण बनाउने र उनीहरूको दक्षताअनुसारको लक्ष पहिचान गरेर देश विकासका विभिन्न योजनामा उत्प्रेरित गर्नेतर्फ सोच्ने कि ? अवसरको कमी आजको आजै सुधार गर्न सकिने विषय होइन, तर सुरक्षा अव्यवस्था, भ्रष्टाचार र चाकरी प्रथा आजै उन्मूलन गर्न सकिन्छ । हाम्रो नै राम्रो भनेर मानव पुँजीको पलायन गरेर आर्थिक क्रान्ति सम्भव होला र ?
—भट्ट अमेरिकास्थित टेनिसी स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.