जलस्रोतमा नदी विज्ञानको समायोजन
गएको साता देशभर मनसुन सक्रिय भई बाढीपहिरोले रोद्ररूप प्रकट गरेका समाचारहरू तराई तथा पहाडी जिल्लाहरूबाट आए र आइरहेका छन् । यस्ता खालका प्राकृतिक विपत्तिबाट हरेक वर्ष नेपालमा अर्बौंको क्षति र सयौं पशु तथा मानिसको मृत्यु हुने गरेको छ । जब मनसुन सक्रिय हुन थाल्छ तब विकासका कार्यक्रमको चर्चा पनि सुरु हुने रमाइलो तथ्य हामीसामु छ । यस्तै प्रसंगमा गएको साता मात्रै कोसी नदीमा फेरि अर्को बाँध निर्माण गरिने समाचार पत्रपत्रिकाहरूमा प्रमुखताका साथ छापियो ।
सप्तकोसीमा सन् १९६० ताका बनेको बाँध अहिले सञ्चालनमा छ । त्यसको जीवन अवधि (५० वर्ष) सकिसकेको चर्चा पनि नभएको होइन । बाँधको आयु समाप्ति भए पनि त्यसका संरचनाहरू अझै कयौं वर्ष चल्नसक्ने अवस्थामै छन् । तर नदी प्रवाह, बाँध निर्माण, पानीको बहाबमा थपघट र त्यसको प्रभाव साथै पानीसँगै बहने बालुवाको परिमाण र त्यसबाट परेको प्रभाव कैयन् गुणा बढी रहेको तथ्य बुझ्न जरुरी छ । अहिले अवस्थित बाँधभन्दा करिब ३० किलोमिटरमाथि सुनसरीको चतरामा अर्को नयाँ बाँध बनाउने चर्चा सुन्दा यो नयाँ प्रस्तावित बाँधको आवश्यकतालाई मुख्य त्यहाँ अवस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको मुहानमा पानीको उपलब्धतासँग जोडिएको छ ।
विभिन्न अध्ययनअनुसार कोसीको सतह गहिरिएर सोही कारणले त्यहाँ अवस्थित सिँचाइ आयोजनामा पानी उपलब्धता कमी भएकाले त्यसको निराकरण गर्न नयाँ बाँधको आवश्यकता रहेको छ । यो विषय नै प्रस्तुत गरिएका पुल बन्नुअघि र पुल बनेपछिका तस्बिरहरू विश्लेषण गर्दा पूर्णरूपमा सन्तुष्ट हुन सकिने अवस्था देखिँदैन ।
दुई वर्षअघि चतारामा निर्माण भएको कोसी पुलको तलमाथि करिब पाँच सय मिटर छेत्रमा चित्रमा देखाइएजस्तै गुगल अर्थमा उपलब्ध तस्बिरबाट के भन्न सकिन्छ भने नदीको प्रवाह, त्यहाँका बगर र तटबन्धहरू र यिनको प्रक्रियामा हुने विज्ञानलाई पुल निर्माणले असर गरेको निष्कर्ष निकाल्न सकिन्छ । पुल निर्माणको क्रममा नदीमा भएका निर्माण प्रक्रिया र अस्थायी बाँधहरूले साथै पुल निर्माणपश्चात् पुलभन्दा माथि बायाँतर्फ बनाइएको स्पर र पुलका स्थायी पिल्लरहरूले नदीको बहावलाई प्रत्यक्ष असर गरेको देखिन्छ र त्यसैको प्रतिक्रियास्वरूप नदीको बीचमा बालुवा र गिटीको थुप्रो (मिडिल च्यानल बार) बनेको तथ्य नै सत्यताको नजिक छ ।
यस अवधारणालाई संसारभरि खोला, नदी र आसपासका भूभागहरूका विभिन्न आयामहरू निरीक्षण तथा विश्लेषण गरी तस्बिरहरू प्रकाशन गर्ने कम्प्युटर मोडेल एक्वामोनिटरले अस्थायी बाँध निर्माणअघि र पछिका प्रकाशित तथ्यांकहरूले थप पुष्टि गरेको देख्न सकिन्छ । यसरी निर्माण भएका मिडिल च्यानल बारको कारणले पानीको बहाब दुई भागमा बाँडिएको तर दुवैतर्फको भँगालाहरूमा पानीको मात्रा असन्तुलित रहेको हुँदा सिँचाइ मुहानतर्फ पानीको उपलब्धतामा कमी देखिएको हो भन्ने हाम्रो निष्कर्ष छ । साथै नदीमा हुने यस्ता खालका प्रभावहरू नदीको सानो क्षेत्र वा स्थानीय खालका समस्याका रूपमा हुने गर्दछन् र यस्ता खाले समस्यालाई नदीको सम्पूर्ण क्षेत्रमा रहन्छ भनिए किन गर्न सकिन्न ?
बाँध सञ्चालनमा वैज्ञनिक विधिको कमी, तटबन्धको नियमित मर्मत अभाव, नदीआसपास अव्यवस्थित जनसंख्या वृद्धिले नदीमा जनसंख्याको अत्यधिक हस्तक्षेप नै अहिले देखिएका मुख्य चुनौतीहरू हुन् ।
नदीको प्रभाव त्यहाँका अन्य प्रक्रियाहरू जस्तै नदीको पिँध, बारहरू, नदीका डिलहरू आदिलाई नयाँ बन्ने संरचनाले गर्ने असरहरूलाई संरचना बन्नुभन्दा अघि समग्र रूपमा विश्लेषण गरिएको भए आज त्यहाँस्थित सिँचाइको मुहानमा पानी उपलब्धताको कमी हुने समस्या देखिने थिएन । सुनसरी र सप्तरीको सिमाना भीमनगरमा सन् १९६० तिर भारतद्वारा निर्माण गरिएको बाँध पनि एकातिर त्यसको उमेर सकिइसकेको (५० वर्ष) र अर्कोतर्फ त्यस बाँधको माथिल्लो तटमा पनि बालुवा थुप्रिने प्रक्रियाले निकै चुनौती देखिएको छ ।
बाँध निर्माणपश्चात् नदीको बहाब स्थिर भएपछि बालुवा थुप्रिएर दसौं किलोमिटरसम्मको भूभाग टापु बनेको, नदीको पिँधआसपासको जमिनभन्दा अग्लो भएको, पानीको बहाबको दिशा धेरै अस्थिर रहेको जस्ता समस्या विगत लामो समयदेखि पहिचान भएको हो तर त्यसको व्यवस्थित समाधान नहुँदा सन् २००८ मा कोसी नदीको देब्रेतर्फको तटबन्ध फुटी नेपाल र भारततर्फको लाखौं हेक्टर जमिनमा डुबान, सयौं व्यक्तिको हताहती र अर्बौंको धनमाल क्षति भएको थियो । बाँध सञ्चालनमा वैज्ञनिक विधिको कमी, तटबन्धको नियमित मर्मत अभाव, नदीआसपास अव्यवस्थित जनसंख्या वृद्धिले नदीमा जनसंख्याको अत्यधिक हस्तक्षेप नै अहिले देखिएका मुख्य चुनौतीहरू हुन् । अब माथि प्रस्ताव गरिएको नयाँ बाँध पनि यी र यस्ता धेरै समस्या साथै लिएर आउने निश्चित छ, जसलाई समयमै उचित व्यवस्थापन नगरे हाम्रोजस्तो देशनिम्ति ठूलो विपत्ति सिर्जना हुने पक्का छ ।
कोसी र चताराको धार्मिक महत्वव, कोसी टप्पु वन्यजन्तु आरक्ष र त्यसमा रहेको जैविक विविधता साथै त्यसमा हुने असरहरू नै अब बन्ने बाँधको मुख्य चासो हुने देखिन्छ । कोसी टप्पु आरक्षमा रहेका सयौं थरीका जनावर तथा जलचरहरूमा नदीमा फेरबदल हुने पानीको बहाबले प्रत्यक्ष असर गर्नेछ । त्यस्तै संसारभरि नै अधिक बालुवा ओसार्ने भनी कहलिएको कोसीमा बालुवाको मात्रा र आयतनका साथसाथै भौगर्भिक रूपमा धेरै कमसल जमिन प्रस्तावित बाँधको माथिल्लो तटीय इलाकामा धेरै नजिक रहेकाले अत्यधिक बालुवा र गिट्टी उत्पादन भई बाँधतर्फ बहने हुँदा सोमाथिको भूभाग छिटै भरिने सम्भावना छ । त्यसैले बाँधभन्दा माथिल्लो र तल्लो तटीय भूभागमा नदीमा पर्ने अल्पकालीन र दीर्घकालीन प्रभावको विश्लेषण आयोजनाको अध्ययनका क्रममा गम्भीर रूपमा गर्न जरुरी छ ।
नदीमा हुने प्रक्रियालाई विस्तृत रूपमा वैज्ञानिक तवरले अध्ययन र नदीमा हुने सबै प्रक्रियालाई सूक्ष्म रूपमा बुझ्न नसक्दा नै नयाँ निर्माणले व्यापक असर गरेको हो । अझ नेपालको सन्दर्भमा आफ्नो अवस्थति नै भैगर्भिक रूपमा निकै जटिल र नाजुक रहे पनि विकास निर्माण क्रममा नीति निर्माताहरूले आवश्यक नदीको वैज्ञानिक अध्ययनमा ध्यान दिन ढिलाइ भइसकेको छ । प्राकृतिक रूपमा प्रवाह भइरहेको नदीलाई कुनै पनि संरचना निर्माणले त्यसको सन्तुलनमा खलल पुर्याउने हुँदा सो संरचनाको निर्माण पछिको नदीमा हुने अल्पकालीन र दीर्घकालीन प्रभावबारे अग्रिम जानकारी हुन अति नै आवश्क छ । त्यसैले कुनै पनि प्रस्तावित नयाँ निर्माण र त्यसबाट हुने असरहरूको विश्लेषणबिनाको निर्माणले दिगो विकास हुन सक्दैन भन्ने तथ्य बुझ्न अब धेरै ढिलाइ भइसकेको छ । त्यसैले जलस्रोतको समग्र विकासलाई नदी विज्ञानको आयामसँग आयोजनाहरूलाई सुरुआतदेखि नै समायोजन गर्दै अगाडि बढ्दा नै सोको दिगो विकासको ढोका खुल्ने निश्चित छ ।
—लेखकद्वय जियोमरफोलजिकल सोसाइटी अफ नेपालसँग सम्बन्धित छन् ।