संसदीय समितिमा रोकियो चिकित्सा विधेयक

संसदीय समितिमा रोकियो चिकित्सा विधेयक

काठमाडौं : मनमोहनसहित अन्य पाँचवटा मेडिकल कलेजलाई सम्बन्धन दिलाउने गरी टुंग्याइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा रोकिएको छ ।

समितिको कार्यदलले डा. गोविन्द केसीको मागविपरीत टुंगो लगाएको विधेयकले केसीका माग सम्बोधन नहुने तर्क गर्दै कांग्रेस, माओवादी केन्द्र, मधेसकेन्द्रित दलका सांसदले मस्यौदा पारित गर्न रोकेका हुन् । समितिकी सभापति रञ्जुकुमारी झा संसद् बैठक सात दिन स्थगित हुने भएकाले बिहीबार नै समितिबाट संशोधित विधेयक पारित गराउने र एक प्रतिनिधि तोकेर तुरुन्त संसद् बैठकमा प्रस्तुत गर्ने योजनामा थिइन । तर, कांग्रेस, माओवादी केन्द्र, मधेसकेन्द्रित दलका सांसदले यसरी ऐन आउँदा झन् जटिलता थपिने चेतावनी दिएपछि सभापति झा पछि हटेकी थिइन् । शुक्रबार बिहान ८ बजे पुनः बोलाइएको समितिको बैठकमा बिहीबार अनुपस्थित शिक्षा र स्वास्थ्यमन्त्री पनि सहभागी हुनेछन् ।

‘संशोधित विधेयक पारित गरेपछि संसद् लामो समय चल्दैन । डा. केसीले अनशन तोड्नुहुन्न । त्यसले झन् जटिलता निम्ताउँछ', कांग्रेस सांसद तेजुलाल चौधरीले बैठकमा भने, ‘विधेयक सकारात्मक भए पनि अनशनरत डा. केसीको माग सम्बोधन गर्दैन । त्यसैले हतार गर्नुभन्दा राम्ररी छलफल गरेर अघि बढौं ।' केसीको मागविपरीत हतारमा विधेयक टुंगो लगाउँदा त्यसपछिको परिणाम झन् गम्भीर हुने भन्दै माओवादी सांसदले पनि आपत्ति जनाएका थिए ।

यसअघि कार्यदलले चिकित्सा शिक्षा ऐन जारी हुनुपहिले मनसायपत्र प्राप्त गरी पूर्वाधार तयार गरेर निरीक्षणसमेत भइसकेका निजी मेडिकल कलेजलाई सम्बन्धन दिने बाटो खुला गर्दै विधेयकलाई अन्तिम रूप दिएको थियो । यो प्रावधानलाई संसद्ले मान्यता दिए शिक्षा मन्त्रालयबाट मनसायपत्र प्राप्त गरी भौतिक पूर्वाधार तयार पारेका र नेपाल मेडिकल काउन्सिलबाट निरीक्षण भई सकारात्मक पत्र पाएका काठमाडौंका चार र उपत्यकाबाहिरको एक प्रस्तावित मेडिकल कलेजले सम्बन्धन पाउने अवस्था बनेको थियो । यो प्रावधानबाट प्रस्तावित मनमोहन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, पिपुल्स डेन्टल मेडिकल कलेज र झापाको बीएन्डसी मेडिकल कलेजले लाभ लिन सक्ने थिए ।

प्रत्येक प्रदेशमा सरकारी लगानीमा शिक्षण अस्पताल स्थापना गर्ने र मेडिकल कलेज नभएको प्रदेशमा पाँच वर्षभित्र सञ्चालन गर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । केसीले माथेमा कार्यदलको सुझावअनुसार काठमाडौं, भक्तपुर, ललितपुरमा अबको १० वर्षसम्म निजी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य माग अघि सारेका छन् ।

केसी समर्थकसहितको छलफल

समितिका एक सदस्यका अनुसार कांग्रेस, माओवादी केन्द्रका सांसद रातभर छलफल गरेरै भए पनि शुक्रबार समितिबाट संशोधित विधेयक पारित गर्न नदिन जुटेका छन् । बानेश्वरको एक होटेलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, डा.केदारभक्त माथेमा, डा.भगवान कोइराला, डा.केसीका समर्थकसहितको छलफल भएको थियो । छलफलमा सहभागीले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे छलफल गर्ने भएका छन् ।

सरकारी चिकित्सकले सेवा नदिने

अनशनरत केसीको जीवनरक्षाका लागि उनीसमर्थक चिकित्सकले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवामा संलग्न नहुने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघको आकस्मिक बैठकले केसीको जीवन धरापमा पर्दा पनि सरकार र सांसदहरू संवेदनहीन भएको भन्दै सेवामा सल‌‌‌ंग्न नहुने निर्णय गरेको हो । संघका अध्यक्ष डा. दीपेन्द्र पोण्डेले केसीका माग सम्बोधनमा बेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा होमिनुपरेको बताए ।

रेजिडेन्ट्स एसोसिएसन अफ न्याम्सले पनि आकस्मिकबाहेकका सेवामा भाग नलिने जनाएको छ । सरकारी चिकित्सकसहित त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले साउन १८ गतेदेखि अध्ययन÷अध्ययापन ठप्प पारेका छन् ।

मेडिकल एसोसिएसन विपक्षमा

नेपाल मेडिकल एसोसिएसन भने केसीको मुख्य मागको विपक्षमा उभिएको छ । यसअघिका अनशनमा सरकारसँग सम्झौता गराउन प्रभावकारी भूमिका निर्वाह गर्दै आएको एसोसिएसनले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै विधेयक आउनुपर्ने जनाएको छ । अब १० वर्षसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मागमा आफूहरू सहमत नरहेको अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । केसीले भनेझै विधेयक आयो भने हजारौं नेपाली युवा अध्ययनका लागि बिदेसिन बाध्य हुने उनले बताए ।

निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाका सञ्चालकले केसीले भनेजस्तै गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन बने त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । विधेयकका बुँदामा छलफल गर्न बिहीबार बसेको बैठकमा एसोसिएसन अफ प्राइभेट मेडिकल कलेजका अध्यक्ष डा. सुरेश कनौडियाले आफूहरूको सहमतिबिना ल्याइने विधेयक मान्य नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.