किन रोकियो एसपी चौधरीको सरुवा ?

किन रोकियो एसपी  चौधरीको सरुवा ?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखका रूपमा सरुवा गरिसकेका अधिकांश प्रहरी उपरीक्षक (एसपी)ले जिम्मेवारी सम्हालिसकेका छन् । धनुषा प्रमुखमा सरुवा भएकी एसपी मीरा चौधरी भने कहिले त्यता जानुपर्ने भन्नेमा बेखबर छिन् । ‘सरुवा भएकोबाहेक थप केही जानकारी छैन । हाल केन्द्रीय अनुसन्धान ब्युरोमै कार्यरत छु', एसपी चौधरीले अन्नपूर्णसँग भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एसपी चौधरीलाई धनुषा पठाउने निर्णय सच्याउन र हाल प्रमुख रहेका लालमणि आचार्यलाई नै कायम राख्न गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको चर्चा चलेको थियो । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गत भदौ २१ गते आचार्यलाई धनुषा प्रमुख बनाएका थिए । गृहजिल्लामा आफूनिकट आचार्यलाई स्थानीय निर्वाचनसम्म कायम राख्न निधिले नै प्रधानमन्त्री देउवालाई दबाब दिएको स्रोतले जनाएको छ । प्रदेश नम्बर २ को स्थानीय निर्वाचन आगामी असोज २ गते हुँदै छ ।

प्रहरी प्रधान कार्यालयले आफ्नो निर्णयमा कुनै फेरबदल नरहेको स्पष्ट पारेको थियो । गृहमन्त्री शर्माले जिल्लामा प्रमुख भएर गएका एसपीलाई केही दिनअघि मन्त्रालयमै बोलाएर गरेको छलफलमा चौधरीको पनि उपस्थिति थियो । २४ एसपी जिल्लाको नयाँ प्रहरी प्रमुख भएर गएका छन् ।

धनुषाका एसपी आचार्यलाई हेडक्वार्टर सरुवा गरिएको थियो । हेडक्वार्टर उच्च स्रोतका अनुसार गृहले एसपी चौधरीको सरुवा बदर नभए पनि उनलाई तत्काल रमाना नगर्न निर्देशन दिएको छ । ‘यसको मतलब मीराको सरुवा बदर भएको भन्ने होइन तर तत्कालको हकमा उनी धनुषा जाने छैनन्', स्रोतले भन्यो ।
यसले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप बढेको देखाएको अधिकारी बताउँछन् । ‘निर्णय कार्यान्वयन भएन भने संगठन कमजोर हुन्छ । व्यक्तिका लागि संगठनले सम्झौता गर्नुहुँदैन', एक उच्च अधिकारीले भने ।

एसपी आचार्यले भने आफू केही दिनमै हेडक्वार्टर जाने बताए । ‘मै सरुवा हुन इच्छुक छु । अहिले डीएसपी सा'बको पनि बढुवा भएर काठमाडौं गएकाले मैले कसैलाई जिम्मेवारी सुम्पिएर हिँड्ने अवस्था छैन', उनले भने । मध्यमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डीआईजी गणेश केसीले एसपी जिल्ला जाने क्रम जारी रहेको बताए । ‘मीराजी पनि आउँदै हुनुहुन्छ होला । अब दुई-चार दिनभित्र नआए मात्र शंका गर्नुपर्ला', डीआईजी केसीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.