साहित्यकार र राजनीति
साहित्यकार चोखो हुनुपर्छ र उसले राजनीतिमा प्रवेश गर्नु हुँदैन भन्ने महोदयहरू तथा महोदयाहरू हाम्रो समाजमा यथेष्ट सङ्ख्यमा भेटिन्छन् । तर साहित्यजस्तो सामाजिक उत्थानमा पूर्ण रूपले समर्पित विषयलाई सीमित गर्नु निकै नै अनुत्तरदायी र अनुपयुक्त सोचाइ हो, किनभने राष्ट्रको इतिहास, त्यसभित्रका जनताका धार्मिक, सामाजिक तथा सांस्कृतिक उत्थानका कुराहरू राजनीतिको विशिष्ट अध्ययन, अन्वेषण र आलोचनाबिना थाहै पनि पाइँदैन । त्यसै हुनाले साहित्यकारले समाजको समष्टिगत चित्रण गर्दा राजनीति त्यसभित्र पर्छ पर्छ ।
हो, यहाँ राजनीति भन्ने विषयलाई अचेलका कतिपय व्यक्तिहरूले स्वार्थमा लिप्त सङ्कीर्ण मनोवृत्तिका समूहहरूका गतिविधिहरूलाई नै सोचेका हुन्छन् । आजभोलि प्रशासनको लगाम समातेर राजनीतिलाई घोडाजस्तै निहुरिन बाध्य तुल्याउँदै र त्यसमाथि निर्धक्क चढ्दै सामान्य जनतामाथि निर्धक्क कुदाउँछन् अनि जनताको शोषण गरेर मनपरि शासन गर्छन् । सर्वसाधारण जनताको उत्थानमा गर्नुपर्ने खर्च ठाडै प्रशासनका धूर्त समूहको रामरमितोमा प्रयोग गरी राष्ट्र र जनताको उछित्तो काढ्दै हाम्रो समाजका शठहरू राइँदाइँ मच्चाइरहेका छन् ।
हो, यहाँ जनतालाई झुक्याउने, उनीहरूको काँध चढेर स्वार्थी वर्ग वा समूहको पक्ष लिँदै तथा साधारण जनतालाई खाल्डामा छिराएर सामन्त र ठूलाठालु भनाउँदाहरूलाई नयाँनयाँ गाडीमा चढाउने, विदेश घुमाउने र बहुमूल्य हीरामणिमाणिक्यले सिँगार्ने धूर्तहरूको शासनलाई यहाँ पूर्ण रूपले अस्वीकार गरेमा मात्र राजनीतिले सर्वसाधारण नेपाली जनताको पक्षमा बाटो देखाउन सक्छ ।
हाम्रा महान् पुर्खा पृथ्वीनारायण शाहले साह्रै हृदय पगाल्ने गरी जनताका पक्षमा उद्गार पोखेका थिए, ‘मेरा साना दुःखले आज्र्याको यो मुलुक होइन यो त सबै थर, जात र जातिको साझा फूलबारी हो ।' नेपाल यहाँका समस्त जातजातिको साझा स्नेहस्थल हो, फूलबारी हो र यहाँ सबै समान छन् । हाम्रो वैदिक धर्मले पनि हामीलाई सगर्व सिकाएको छ, “माता च पार्वतीदेवी, पितादेवो महेश्वर, बान्धवा मानवा सर्वे स्वदेशो भुवनत्रयम्” अर्थात् “माता हुन् पार्वती हाम्री, पिता हाम्रा महेश्वर, सबै मानवबन्धु हुन् दाजुभाइ सबैतिर ।”
राजनीतिलाई उक्त स्नेहमय अर्थमा साहित्यले ग्रहण गर्नुपर्छ भन्ने मेरो हार्दिक धारणा छ । राजनीतिले साहित्यलाई बाटो देखाउने कुरो प्रशासनिक कुचक्रको र्याइँर्याइँ हो । मेरो विचरामा साहित्यले नै धर्म, संस्कृति, कला, मानवीय उत्थान तथा प्रगतिमा मार्गदर्शन गर्नसक्छ । अङ्ग्रेजीमा एउटा उखान छ— मुसा मार्ने साँचो निर्माण गर्ने मान्छे जंगलको बीचमा घर बनाएर बसेछ भने पनि जनताले उसको घरदैलासम्म बाटो खनेर पुर्याउँछन् । भनाइको अर्थ के भने कुनै लेखकले आफ्नो प्रतिभाको सदुपयोग गरेर जनताले मन पराउने कृतिहरू जन्मायो भने उसलाई सबैले ठूलो आदर गर्नेछन् ।
हाम्रा जनता पनि आफ्ना जनप्रिय साहित्यकारहरूको सम्मान गर्न कहिल्यै पछि परेका छैनन् । लेखकले सर्वप्रथम हाम्रो राष्ट्रिय हित वा कर्तव्यप्रति सचेत हुनु र सम्मान गर्नुपर्छ । समाजलाई तपाईं केही दिन सक्नुहुन्छ भने पहिले नै मर्यादा नखोज्नुहोस् । समाजलाई दिनुहोस्, सकेसम्म सेवा गर्नुहोस् अनि हेर्नुहोस् तपाईंप्रति समाजको कस्तो दृष्टिकोण हुँदो रहेछ । आफ्नै मात्र हितका कुरा गरेर, आफ्नै मर्यादा खोजेर र आफूले मात्रै अधिकार लिन तम्सेर समाजमा डम्फु बजाइहिँड्नु साहित्यिक कर्तव्य होइन । लेखकले कर्तव्य पूरा गर्नुपर्छ, उत्तरदायित्व इमानदारीसाथ वहन गर्नुपर्छ र राष्ट्र तथा विश्वलाई पनि केही दिन सक्नुपर्छ । त्यसपछि मात्र हितको कुरो उक्काउनु श्रेयष्कर हुनेछ ।
साहित्यिक सभामा राजनैतिक उच्च ओहदाका मानिसहरूलाई डाकेर भाषण दिन लगाउने चलनलाई पनि विश्लेषण गर्नुपर्ने देखिन्छ । कुनै समय थियो जब सोभियत सङ्घमा त्यसका नेता स्तालिनलाई देवता मानिन्थ्यो । उनी भाषामा पुस्तक लेख्थे, प्रशासनमा विशेषज्ञता देखाउँथे, राजनीतिमा सिद्धान्तका व्याख्याहरू छपाउँथे । फलामे अनुशासनमा बाँधिएका उनका शिष्यहरू विश्वभरि स्तालिनका भनाइलाई वेदवाक्य भनी प्रचार गर्थे र पछ्याउँथे । केहीपछि चीनमा माओत्सेतुङ निक्ले जसको ‘रातो पुस्तक' साम्यवादको गीता हुन पुग्यो ।
बाटामा हिँड्दाहिँडदै मोटरको इन्जिन बन्द भयो भने चालकले माओको राजनीतिक ‘रातो पुस्तक' उचित निर्देशनका लागि पल्टाउँथ्यो । वायुयान उड्दाउड्दै इन्जिन बन्द भएका बेला पनि ‘रातो पुस्तक' पल्टाई उद्धार खोज्नेहरू पनि थिए होलान् ? तिनको के गति भयो होला— हामी आज कल्पना गरेर हाँस्न सक्छौं । एउटै व्यक्तिलाई सम्पूर्ण विषयको विशेषज्ञ वा सर्वज्ञ मान्ने यस्तो परम्परा घृणित निरङ्कुशताका तानाशाही पारा हो र साहित्यमा यस्तो निरङ्कुशताको निर्देशन पस्यो भने सुकेनाशका कीटाणुले फोक्सो सिध्याएझैं हुन के बेर ?
मन्त्री हुनेबित्तिकै जे विषयमा पनि भाषण र निर्देशन फलाक्नु हास्यको पात्र मात्र हुनु हो । अनि यस्तो हास्यको सिर्जना गर्न तम्सनेहरू सिर्जनशीलताका विरोधी र ताक परे तिवारी नत्र गोतामेहरू हुन् जो साहित्यजस्तो उच्च विषयलाई पनि समसामयिक स्वार्थान्धतावश राजनीतिकरण गरिरहेछन् । साहित्यको विकास व्यक्तिगत स्वतन्त्रताको विकास हो, प्रतिभा र बुद्धिको विकास हो र मानवता तथा हार्दिकताको विकास हो । यस क्षेत्रमा फगत प्रतिभा र लगनशीलताको नेतृत्व हुनुपर्छ, प्रशासन वा राजनीतिको प्रवेशले हृदयमा डढेलो लाग्छ, मस्तिष्कमा पैरो जान्छ र बुद्धिमा कीरा पर्छ ।
जसले चौबीस घण्टाभित्र एक सेकेन्डसम्म पनि साहित्यका विषयमा ध्यान दिएको हुँदैन वा जसले साहित्यको नाउँमा ‘स' लाई पनि चिनेको छैन त्यस्ता प्रधान अतिथिका भाषण सुनेर र त्यस्तालाई सम्मान गरी साहित्यका महारथीहरूलाई अपमान गर्दै लेखकको हित गरेँ भन्नु माथि भनेझैं इन्जिन बन्द हुँदा मोटरबाट ओल्र्हेर के कारणले इन्जिन बन्द भएको रहेछ भन्ने बुझ्न र त्यस बाधालाई हटाउनतिर नलागेर निर्देशक महोदयको ‘रातो पुस्तक' पल्टाई रामवाण ओखती खोज्नुजस्तै हो, अथवा राजनीतिको लौरो टेकेर पद पड्काई प्रज्ञाको अवहेलना गर्नु र जनताका आँखामा छारो हाल्नु पनि हो ।