पुरातत्वको पानामा सभ्यताको बिस्कुन
प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतीत सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्व भन्ने गरिएको छ । मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्यो । लेखनकलाको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन् तर लेखन कलाको सुरुवात हुनुभन्दा हजारैां वर्ष पुरानो मानव सभ्यताको इतिहासलाई वैज्ञानिक अध्ययन गर्न पुरातात्विकप्रमाणहरूको नै महत्वपूर्ण भूमिका हुन्छ।
प्रागःमानवको संस्कृति, जीवन पद्धति, आस्था, विश्वास, सामाजिक विकासक्रमको प्रक्रिया र यसको ढाँचा, तात्कालीन वातावरण र पर्यावरणमा आएको परिवर्तन र त्यस परिवर्तनले मानवको शारीरिक तथा मानसिक विकासक्रममा पारेको प्रभाव आदि विषयहरूको प्रामाणिक अध्ययन गर्ने आधार पुरातत्व हो । मूलत प्रागःइतिहासको अध्ययनको महत्वपूर्ण आधार प्रागःमानवले प्रयोग गरेका ढुंगेउपकरण र औजारहरू नै हुन् । साधारण दृष्टिकोणमा प्रस्तर÷पाषाण या ढुंगाको रूपमा लिन सकिने प्रस्तर उपकरण प्रागःमानवको महत्वपूर्ण हतियार हुन सक्छ ।
पुरातत्व अतीत सभ्यताको पूर्णनिर्माण गर्ने आधार हो । प्राप्त सीमित पाषाण हतियारको आधारमा प्राचीन मानव सभ्यताको विश्लेषण गर्नु साधारण अन्दाजमा दुस्साहस र हास्यास्पद हुन सक्छ । तर योबाहेक अरू कुनै विकल्प पनि छैन भन्ने प्राज्ञिक सीमिततालाई स्वीकार गर्नुपर्ने बाध्यता छ । भनिन्छ, कि इतिहासशास्त्रले इतिहासको एक प्रतिशतमात्र अध्ययन गर्छ भने पुरातत्व विज्ञानले इतिहासको ९९ प्रतिशतको अध्ययन गर्छ । पुरातत्व विषय आफैंमा पूर्ण विषय र विधा होइन । यसले मानविकी र विज्ञानका अन्य विविध विषयहरूको सहयोगमा आफूलाई पूर्णता प्रदान गर्ने भएकोले यसलाई विज्ञान केन्द्रित मानविकी वा कला विषयको रूपमा व्याख्या र विश्लेषण गर्ने गरिएको पाइन्छ।
जमिनमुनि दबिएर रहेका पुराना दरबार, मन्दिर, घर, पर्खाल वा अरू मानव निर्मित भौतिक संरचनाको वैज्ञानिक विधिले अन्वेषण र उत्खनन गरी प्राचीन सभ्यताको विश्लेषण गर्नु निश्चय नै कठिन कार्य हो । प्रागः मानवले छाडेर गएका अन्य भौतिक वस्तुहरूको अवशेषको आधारमा प्राचीन सभ्यताको विश्लेषण गर्ने पद्धति र विधिहरू छन् । प्राचीनकालको कुनै एउटा सिक्काको आधारमा त्यस समयको सामाजिक, आर्थिक र धार्मिक इतिहासको गहन अध्ययन गर्न सकिन्छ । कुनै एउटा मूर्ति वा प्रतिमाको विश्लेषण गरेर तत्कालीन सभ्यताको विविध विषयहरूको जानकारी हासिल गर्न सकिन्छ ।
उत्खनन एउटा यस्तो अज्ञात दिशाको अन्वेषणात्मक यात्रा हो जुन यात्रामा यात्रीले प्राचीन सभ्यतालाई आलोकित गर्ने पुरातात्विक प्रमाणहरू प्राप्त गर्छ । यस्ता पुरातात्विकप्रमाणहरूको आधारबाट सभ्यताको पुनर्निर्माण गर्न सकिन्छ ।
भूगोलको भौगोलिकको प्रक्रियाअनुसार जमिनमुनि भौगोलिक स्तरहरू बनेका हुन्छन् । मानव सभ्यताको विकास चरणमा त्यहाँ विभिन्न समूहका मानिसहरूको आवत्जावत भई नै रहन्छ ।
यो क्रम निरन्तर चलिरहँदा अघिल्लो समूहले आफूलाई काम नलाग्ने वस्तुहरू छाडेर जान्छन् । अन्ततः ती छाडिएका वस्तुहरू प्राकृतिक वा अन्य मानवीय (अन्य प्राणीको गतिविधिको कारण समेत) कारणले जमिनमुनि पुरिन गई एक सांस्कृतिक स्तर बन्न जान्छ, यो प्रक्रिया चलिनै रहँदा जमिनमुनि अनेकौं सांस्कृतिक तहहरू बन्न जाने हुन्छन्, जस्को परिणाम जमिनमुनि नै विभिन्न जाति र प्रजातिहरूको एउटा सांस्कृतिक शृंखला तयार भएको हुन्छ । यसरी तयार भएका विभिन्न सांस्कृतिक स्तरहरूलाई कुशल पुरातत्वविद्ले उत्खननबाट पत्ता लगाउँछन् ।
मानव सभ्यताको पाइला परेको जमिनको तहसम्म अध्ययन गर्नु पुरातत्वको परिधि हो । त्यसपछिको जमिनको प्राकृतिक तहहरूसँग पुरातत्वको कुनै सम्बन्ध र सरोकार रहँदैन । ती भिन्नभिन्न कालखण्डमा बसाइ सरिआउने भिन्नभिन्न जाति समूहले छाडेर गएका वस्तुहरूको आधारबाट त्यस सभ्यताको अध्ययन गर्ने आधार मिल्छ । वैज्ञानिक पद्धति र विधिबाट उत्खनन गरिएका यस्ता सांस्कृतिक शृंखलाहरूको विश्लेषण गरी त्यो सभ्यताको निर्माण कहिले र कस्ले गरे ?
तिनीहरू त्यस ठाउँमा कहिले आए ? ती को थिए र तिनको सभ्यता कसरी पतन भयो भन्ने प्रमाण र अन्य सम्बन्धित पौराणिक र ऐतिहासिक सन्दर्भ सामग्रीहरूको तथ्य प्रमाण जुटाएर विश्लेषण गरी निष्कर्षमा पुगिन्छ । प्रागऐतिहासिक सभ्यताको कुनै लिखित दस्तावेज हुँदैन । तर तिनले छाडेर गएका भौतिक वस्तुहरू नै हाम्रा लागि पुरातात्विकव्याकरण बन्दछन् । यिनै पुरातात्विकव्याकरणको सहयोग लिएर (उत्खननकर्ता) पुरातत्वविद्ले प्राचीन सभ्यताको पहिचान र विश्लेषण गर्छ।
पुरातत्व विशुद्ध प्राविधि केन्द्रित प्राज्ञिक विधा हो । यो जहिले पनि धर्म, संस्कृति, जातिगत मूल्य र मान्यताभन्दा माथि उठेर अध्ययन अनुसन्धानको कार्य गर्छ । त्यस विपरीत गर्नु हुँदैन । यदि कसैले त्यस्तो गर्छ भने त्यो पुरातत्वको आचरण र नैतिक परिधिभन्दा बाहिरको कार्य हो । पुरातत्वले प्राप्त प्रमाणलाई आधार मान्दछ । सम्बन्धित संस्कृतिको भावनात्मक मूल्यसँग यसले कुनै सरोकार राख्दैन । जस्तो कुनै जातिले हजारौं वर्षदेखि मानिआएको मूर्त र अमूर्त जीवन्त सांस्कृतिक पर्व र परम्पराहरू भएको ठाउँमा उत्खनन गर्दा, उक्त स्थानको प्राचीनतालाई प्रमाणित गर्ने कुनै पुरातात्विकआधार प्राप्त भएन भन्दैमा त्यस ठाउँको मूल्य र गरिमा घट्ने गरी आमसञ्चारको माध्यममा सम्प्रेषण गर्नु हुँदैन । यदि यस्तो कार्य गरिएमा सामाजिक द्वेष आउन सक्ने सम्भावना रहन्छ र त्यस ठाउँको आस्था र गरिमा माथि नकारात्मक प्रभाव पर्ने खतरा रहन्छ ।
नेपालमा यस्तो प्रकारका समस्यासँग सामना गर्नपर्ने परिस्थितिहरू नआउँलान् भन्न सकिन्न । यस सन्दर्भमा पाटन स्थित पटुकोद्योलाई लिन सकिन्छ । किराँतकालीन ढिस्को मानिएको यस स्थानमा उत्खनन गर्दा किराँतकालीन सभ्यतालाई प्रमाणित गर्ने कुनै प्रमाणहरू फेला नपरेका तथ्य सुन्न पाइन्छ यद्यपि यस स्थानको अनु श्रुति भने अहिलेसम्म पनि कायम छ । नवलपरासीस्थित रामग्राम विश्वप्रसिद्ध बौद्ध पुरातात्विकस्थलको रूपमा विश्वभरि नै प्रख्यात छ । यसको ख्याति र प्रसिद्धिलाई सदाकालसम्म कायम राख्नु राष्ट्रको प्रमुख दायित्व र जिम्मेवारी हो । भगवान् बुद्धको अस्थि धातु राखिएको भन्ने जनविश्वास र बौद्ध साहित्यहरूमा उल्लेखित सन्दर्भलाई सम्मान र सम्बोधन गर्दै यस ठाउँमा उत्खनन गर्दा विशेष ध्यान दिनुपर्छ ।
अझ जमिनमुनि मानव पाइला नपरेको तह अर्थात् प्राकृतिक तहसम्म उत्खनन गरिनु हुँदैन किनभने यदि उक्त स्थानमा कथंकदाचित महामानव गौतम बुद्धको अस्थि अवशेष भेटिएन भने यसको मूल्य र गरिमा घट्न सक्ने डरलाग्दो सम्भावना रहन्छ । यस्को परिणाम उक्त स्थानको मूल्य र गरिमा सदाको लागि गुम्न गई कुनै पनि मूल्यमा यसको गरिमालाई क्षतिपूर्ति गर्न नसकिने हुन्छ । त्यस अर्थ यस्ता सम्भावित समस्याहरूलाई समेत सम्बोधन गर्दै उत्खनन प्रतिवेदनमा मात्र प्राप्त तथ्यको विश्लेषण गर्ने गरिन्छ । कानुनभन्दा माथि संस्कृति हुने भएकाले कतिपय अवस्थामा यस्ता जीवन्त सांस्कृतिक परम्परा रहेका पुरातात्विकस्थलहरूमा उत्खनन गर्दा स्थानीय संस्कृतिसँग सम्बन्धित सरोकारवाला पदाधिकारीहरू, पत्रकार, वुद्धिजीवी र राजनैतिक व्यक्तित्वको रोहवरमा उत्खनन गर्ने गरिएको पाइन्छ।
उत्खनन गरिसकेपछि प्राप्त सामग्रीहरूको विस्तृत अभिलेखीकरण, संरक्षण र संवद्र्धन गर्ने नैतिक दायित्वसमेत उत्खननकर्तामा रहन्छ । अझ उत्खनन गरिसकेपछि प्रतिवेदन प्रकाशन गर्नुपर्ने प्राज्ञिक दायित्व उत्खननकर्ता वा त्यससँग सम्बन्धित संस्थासँग रहन्छ । उत्खनन कार्य अत्यन्त संवेदनशील र जटिल विधा हो । इतिहास संस्कृति र सभ्यतासँग सम्बन्धित यस विधालाई एक अपरेसन थियटरसँग तुलना गर्न सकिन्छ । जमिनमुनिको सभ्यता उजागर गर्ने क्रममा सानो एउटा गल्तीले पनि इतिहास र संस्कृतिको शृंखलालाई हजारौं वर्षको तलमाथि पार्न सक्ने सम्भावना रहन्छ । उत्खनन एउटा यस्तो अज्ञात दिशाको अन्वेषणात्मक यात्रा हो जुन यात्रामा यात्रीले प्राचीन सभ्यतालाई आलोकित गर्ने पुरातात्विकप्रमाणहरू प्राप्त गर्छ । यस्ता पुरातात्विकप्रमाणहरूको आधारबाट सभ्यताको पुनर्निमार्ण गर्न सकिने भएकाले पुरातत्वविद्लाई सभ्यताको विश्लेषक भनिएको हो ।
उत्खननबाट प्राप्त साधारण माटाका भाँडाकुँडाहरूको अध्ययनबाट त्यतिबेलाको सांस्कृतिक शृंखलाको जानकारी हुनुको साथै तत्कालीन समाजभित्र रहेको वर्गीय चेतनाको जानकारी हुन्छ । प्राचीन मानवको कुनै अस्थि अवशेषबाट त्यस मानवको जाति र प्रजातिको मानवशास्त्रीय विश्लेषणको लागि मानवशास्त्रलाई पुरातत्वको अपरिहार्य आवश्यकता पर्न जान्छ । सिन्धुसभ्यता र मेसोपोटामियाजस्ता विश्वको प्राचीन सभ्यताहरू उत्खननबाट नै प्रकाशनमा आएका हुन् ।
आज वैदिक सभ्यतालाई प्रमाणित गर्ने पुरातात्विकप्रमाण हामीसँग नभएता पनि यसको खोजी कार्यको लागि पुरातत्वविद्हरू लागिपरेका छन् । भारतको पुरातत्वविद्हरूले रामायण र महाभारतकालीन सभ्यताको उत्खननमा जुटिरहेका छन् । नेपालमा पुरातत्वको माध्यमबाट लुम्बिनी र कपिलवस्तुबाट बौद्धकालीन सभ्यताको उजागर भइसकेको छ भने उत्तरी हिमाली भूभागमा विशेषगरी हिमाली गुफाहरूमा १६औं शताब्दी ईशापूर्वदेखि १६औं शताब्दी ईश्वीसम्मका सांस्कृतिक शृंखलाहरूको निरन्तरता रहेको तथ्यलाई पुरातत्वविद्हरूले उजागर गरेका छन् ।
मानव सभ्यताको प्राचीन इतिहासलाई प्रकाश पार्ने भौतिक अवशेषहरू अतीतको दर्पण र सभ्यताको बिस्कुन हुन भन्नेमा अतिशयोक्ति नहोला । राज्यको पहिचानको आधार सभ्यता र संस्कृति पनि हो । सभ्यता र संस्कृतिले नै राष्ट्रको गरिमालाई उँचो बनाइरहेको हुन्छ । राज्यको सामाजिक तथा सांस्कृतिक संरचनामा अतीत संस्कृति र इतिहासले प्रभाव पारिरहेको हुन्छ । आज हामीले खोजिरहेको सांस्कृतिक पहिचानको लागि पुरातत्वले प्रभावकारी भूमिका खेल्न सक्दछ । हाम्रो इतिहास कति पुरानो भन्ने सन्दर्भमा संस्कृतिलाई प्रमाणित गर्ने पुरातात्विकप्रमाणहरूबिना पहिचानको प्रश्नहरूलाई मजबुत बनाउन सक्ने सम्भावना कम रहन्छ ।
हिन्दु धर्म र दर्शनले प्रतिपादन गरेका सिद्धान्तहरूलाई अनुसरण गर्ने आर्य जातिका अनेकौं शाखा प्रशाखाहरू, बौद्ध धर्म मान्ने जाति, जनजाति र तिनका अनेकौं सांस्कृतिक अभ्यास, र अन्य अनेकौं प्रकृतिपूजक जाति र जनजातिले फल्ने र फुल्ने सुरक्षित आधार रहेको सांस्कृतिक त्रिवेणीको रूपमा परिचित नेपाल पुरातत्वको लागि खुल्ला संग्रहालय हो । पुरातत्वका पानाहरूमा पुर्खाको इतिहास खोज्दै पहिचानको प्रश्नलाई अझ सशक्त रूपले उठाउन सक्ने आधार पुरातत्व भएकाले यसको महत्व र गरिमालाई स्वीकार गर्नुपर्ने आजको आवश्यकता हो । लिखित प्रमाणबिनाको इतिहास हजुरआमाको दन्त्यकथा जस्तै हुन्छ भने झैं पुरातात्विकप्रमाणले प्रमाणित गर्न सकेमा पौराणिक अनु श्रुति पनि सत्य र तथ्य इतिहास बन्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन।