जरामा लुकेको सम्पदा
सम्पदास्थल कहाँ ? कुन वस्तु-तत्व मात्र सम्पदा तत्व ? सम्पदाका गर्भगृह कस्तो हुँदो रहेछ ? तीनै जिज्ञासाले जिज्ञासु बनाइदिन्छ यो चेतलाई ! चेत त त्यस्तो तत्व रहेछ— अदृश्य, अस्पृश्य, दुर्बोध; तर बोधगम्य ! बोधगम्य— अमूर्त ! तीनै अदृश्य, अस्पृश्य, दुर्बोध, अमूर्त सम्पदा गर्भमाथि विचरण गर्न पुग्छु । एक विचरण यो ! अनेक चरण उचालिँदै उचालिँदैका रफ्तार ! निरन्तर लगन ! लगन-संकल्प ! संकल्प प्रतिबद्ध प्रण ! प्रतिबद्ध प्रण— अनवरत लगाव ! अनवरत लगावका संकल्प आफ्नै मनमा कसिने लगाम ! आत्मनियन्त्रण ! आत्मनियन्त्रण संकल्पित मनका प्रतिबद्धता ! यिनै तत्वबोधमा सम्पदा गर्भगृहका घुनो मिल्दो रहेछ भन्ठानी यस्तै बुझ्न थालेँ ।
अदृश्य, अस्पृश्य, बोधगम्य तर दुर्बोध अमूर्त वस्तुतत्व सरोकार बन्न पुग्यो मेरो ! मेरो भन्नु कहाँ सब थोक मेरै बनाउने, सोहोर्ने जमर्को हुनु ? मेरो भन्नु त म जस्तै आम महरूकै मेरो बनाउने चेष्टा न हो ? हुँदै हैन कुनै वस्तु तत्व निजी आफ्नैमात्र ! निहित निजी केही हुन्न । हुनै सकेन यहाँ ! खोइ र शक्तिशाली शासकहरूका बागडोर सदाबहार बनेका ? कहाँ सुनिएका छन् र अचुक बोलीका हुकुम परमांगी आदेश, परमादेशको ठोकुवा, हुकुमहरू प्रतिध्वनित भइरहेका ? कहाँ गए ती शाहनशाही नौलखा जुहाराती नवरत्ने हारमाला ? कतिलाई त अत्तोपत्तो नै हुन्न । त्यस लखनवी लुटको उपज-नौलखा नवरत्ने हार ! जे दृष्टि गोचर बने देखिए, भेद्य बने । जे भेद्य बने स्पर्श गरिए, भए । मूर्त रहे, बने । जे लुप्त रहे दुर्भेद्य बने । जे दुर्भेद्य बने अमूर्त रहे । अमूर्तलाई छुन, देख्न पाइन्न । सकिन्न पनि कुनै सुरतले पनि ।
अमूर्त मूर्त पार्न अन्तर चेतका चैतन्य चाहिएको हुन्छ । सामान्यतः समाज सबल छ दार्शनिकहरू अमूर्त वस्तुतत्व सार दुहुन्छन्, चाख्छन्, बताउँछन्, व्याख्यान दिन्छन् । सत्य कुरो सरासर यो ! दार्शनिकहरू ब्रह्म-विवेक उपयोग गर्छन् । जहाँ विवेकशील ब्रह्म प्रस्फुरण हुन्छन्, त्यहाँ अन्तरचेत उघ्रन्छन् । जहाँ अन्तरचेत उघ्रन्छन्, त्यहाँ आत्मदर्शन हुन थाल्छन् । आत्मदर्शनमै त खुल्छन् विश्वदर्शनका आयामहरू । तिनै दर्शनका आयाम हुन् अमूर्तताभित्रका मूर्तमान अवस्थाका यी पर्दाहरू ! हामी तिनै मूर्त र अमूर्त परिवेशका रुप, रंग, ढाँचाकाँचाविहीन जराजुरी माथिको विमर्शमा छौं ।
जरामा लुकेको सम्पदा कसैको सजीव सरोकारी बहस बन्यो । तिनमा मन पसालेँ, पोखिरहेछु । जराजुरी सुकेका निर्जीव रूखका बुटाबुटी, हाँगाबिँगाका बेढंगी अवशेष... ! बेपर्वाह फालिएका मुढामुढीका अवशेष-अवशान ! धेरै असंख्यहरूका अनास्थाका आख्यान बनेका ! बेहद असरोकारी सरोकारका वस्तु ! तिनमाथि केही माझ एक श्रेष्ठ नरेन्द्रबहादुर श्रेष्ठका चिन्तन चेतका सरोकारी सम्पदा स्रोत बन्न पुग्छन् । क्या पागलपनका प्रलापझैं । लाग्न सक्छ, जो कसैलाई-जसलाई चिन्तन चेतका चमकदमकका व्याख्या आउन्न । जसलाई धूलोको पनि धूलो-अणु जो दुर्भेद्य छ अणुको पनि महाअणुभित्र महाशक्तिमान विकिरण व्याप्त रहन्छन् ।
क्या अकथनीय आख्यानमाथि अर्थको बोधितत्व विज्ञान मनोज्ञान ! विज्ञान गर्भ बहुलठ्ठीपनको अस्पष्ट, किरमिर रेसा जसले रेखाकार हुन्नन् पाउन सकेका; तिनबाटै उद्भव हुन्छन् चमत्कारी उज्ज्वल विज्ञानसम्मत सिर्जनाहरू ! इतिहास बक्छन् सबैसबै रसमय सृजनाका सम्पदा सारगर्भित आख्यान यस्तै छन्, हुन्छन् ! यिनै र यस्तै विश्लेषणका धारहरूले चोख्याइरहन्छ यी चिन्तन चेतका धारलाई ! पौडिरहेछु यस घडी !
जराजुरीमा प्राण छैन, हुन्न ! निष्प्राण, निस्तेज जराजुरीमा जीवनदान दिनुको नाम— कलाकारिता ! प्राण उस्तै उस्तो ! मौनता ध्यानमग्नताका प्रज्ञापन । ध्यानमग्नता चिन्मय अवस्था ! ध्यानमग्नता-एकाग्रता । जहाँ एकाग्र आसन छ; त्यहाँ एकान्त आ श्रम बन्छ । कुटी योगी ऋषिमुनिका एकान्त ध्यान, उपासनास्थल— केन्द्र ! तपस्यास्थल जहाँ तपस्वीका तेज टुसाउँछ, पलाउँछ, झाँगिन्छ-पीपलबोट जत्तिकै । गुरुकुल पद्धति अनुरूपका प्राकृत कुटी कस्दैनन् एकाइसौं शताब्दी अचेल ! नरेन्द्रका कुटी आफैंले बनाएको घर आफ्नै ! राष्ट्रकवि माधव घिमिरे अक्षरांकन गर्छन् श्रेष्ठका जरामा अर्थ खोज्दै नियालेर । ‘कलाले भरिएको नक्सालस्थित उनको घरलाई मैले त मन्दिर नै भन्ने गरेको छु । उनको कलामा आफ्नो युगको तस्बिर छ । कुनैमा राजनस्तिक नेताको अनुहार छ त कुनैमा आध्यात्मिक चेत छ । कस्तो विलक्षण आँखा होला उनको ? ’
प्रसंगवश राष्ट्रकविज्यूले उल्लेख गर्नुभयो, कला लाभका निम्ति होइन, कलाकै निम्ति समर्पण हो भन्ने उनको दर्शन हो । आफू स्वयं कलाकार÷साहित्यकार भएकोले ओझेल परेका प्रतिभालाई प्रकाशमा ल्याएका छन् उनले । यो उनको साहित्य÷कलाप्रतिको अनुराग हो... कविज्यूले नरेन्द्रका कलाप्रतिका अनुरागी चेत उजागरेर कला दर्शन उघारिदिनुभएको छ । कला कलाकै निम्ति समर्पणभन्दा अगाडि पनि सर्छ; सरिरहेको हुन्छ । एकै कलाकारद्वारा कुँदिएका कलाकृति उनकै कला र कलाकारितामा मात्र आबद्ध रहिरहन्नन् ।
कलाकारका कलाकृति कलाकारबाट उन्मुक्ति पाएर समाज, राष्ट्र र अन्तर्राष्ट्रसम्म नै व्याप्तिन पुग्छन् । त्यस स्थिति, परिवेश र परिस्थितिमा क्रमशः कलाकारका ती कलाकृतिहरू वैयक्तिक कला सर्जक-कलाकारका एकल पहल, समुदाय, समाज, राष्ट्र र अन्तर्राष्ट्रसम्म नै व्याप्तिन पुग्छन्, पुगिरहेका हुन्छन् । यस परिप्रेक्ष्यमा नियाल्दा ‘कला लाभका निम्ति होइन, कलाकै निम्ति समर्पण हो’ हेतुमै सीमाबद्ध कसरी रहन्छ ? यसरी नियाल्दा कला जीवन बन्न थाल्छ । समुदाय बन्न पुग्छ । समाजको चाहना, रुचि र अपैक्षा बनिसकेको हुन्छ ! हुन्न र ?
कला जीवन दर्शन गर्ने सिर्जना बन्न पुग्छ । यस परिवेशमा ! जीवन दर्शनका सीप, शैली, अभिव्यक्ति अभिव्यञ्जना त हो— कलाकारका कलाकृति ! आफू र आफ्ना समुदाय, समाजका चक्ला पार नगरी राष्ट्रव्यापी बन्न पुगोइन्न । आफ्नै सानु परिधि पार गरी अर्को अर्को घेरामा पुग्न र प्रवेश गर्ने प्रयाण बहुविधीकरण÷गुणात्मक प्रयासका जमर्को कसो नहुँदो हो ? बहुविधीकरण निम्ति गुणात्मक प्रयास अवश्यम्भावी छ । गुणात्मक प्रयासमै बहुविधीकरण सम्भव हुन्छ । कला र कलाकारिताका बहुविधीकरण कला संरचनाका प्रविधि, शिल्पशैलीको अभिव्यञ्जनामा प्रयुक्त विधिविधानका वैविध्य भित्रबाट उद्भव हुन्छ, भइरहन्छ । कला साधनामा जीवनदर्शन त्यहीँ गर्न सकिन्छ जहाँ कलाकृतिले यथार्थलाई शिष्ट, सौम्य र शालीन शिल्पशैली प्रयुक्त गर्न सकेका हुन्छन् । नरेन्द्रका शिल्प साधना यतै कतै अभिमुख छन्, उन्मुख रहेको आभास पाइरहेछु, स्वाद लिइरहेछु ।
कलाकारको स्वस्थ कल्पना र तर्कमा जराजुरी, मुढामुढी, ठुटाठुटी र प्राणहीन शुष्क हाँगाबिँगामा नवजीवन सञ्चार हुन थाल्दो रहेछ । सुकेका, आफालिएका सिङ न पुच्छरका कसिंगर टुसाउन थाल्छन् । निरन्तरका लगनशीलतामा कलाकारका आत्मविश्लेषणभरि सिर्जना मूर्त रूप लिन पुग्छन् । कतिपय उनका कलाकृति मूर्त रहेर पनि सबै आँखाका नानीमा ती उत्तिकै मूर्तता पाउन सकिरहेका हुन्नन् । मूर्त नै अमूर्त भइरहन्छन् । मूर्त रूपका आकारहरूमा अमूर्तता बल्झिएर अमूर्त कला बन्न पुग्दो रहेछ । मूर्तमान र अमूर्तमान बीचका अस्पष्ट रेखाका मिहिन रेसा यसरी लत्पतिएको हुँदो रैछ कि तिनका भेउ पाउन पनि हम्मेहम्मे पर्दो हुँदो छ । यसका लागि कलाकारका साधनाका मूल तत्व, उनलाई प्रभावित आमूल वातावरणजन्य प्रभाव र त्यसबाट उब्जेका चिन्तन चेतहरूमाथि मनन, विश्लेषण गर्नुपर्ने नै हुन्छ । नरेन्द्रका जराजुरी, ठुटामुढाको विवेचना युक्त सिर्जनाले हामीजस्ता सर्वसाधारण अवलोकनकर्तासित गरिरहेका अपेक्षा यिनै नभए पनि यस्तै यस्ता त होलान्— अनुमानका हनुमान भाब्न सकिँदो हो ।
श्रेष्ठ, नरेन्द्रबहादुरका बहादुरी उनीभित्रका कलाअनुराग, प्रयोगधर्मितामा, मूर्तिएका जराजुरी, ठुटाठुटी, मुढामुढीभित्रबाट प्रस्फुटित हुन्छन्, भएका छन् । तिनबाट प्रस्फुटन भएका काष्ठकारिताका अनुपम आकृति, अनुहारका सजीवन अनुभूति प्राप्त हुन थाल्छ हेर्दाहेर्दै गहिरिएर । गहिरिएर हेर्नु गहिरिएर हेर्नु देख्नुको लगनशील चिन्मय चिन्तका आधार बन्दो रहेछ । गहिरिएर हेर्नु देख्नसक्ने दक्षता बढाउने मूलभूत प्रविधि बनेको छ ।
लाग्छ, नरेन्द्रका कलाकारीमा यिनै तत्वमाथि चिन्तन चेतको बाहुल्य अन्तरनिहित छ, पक्कै । एकै चेतभित्र अनेक आयामिक विवेच्य, जराजुरी बटुलबाटुल गर्नसक्ने क्षमता सन्निहित रहनु ईश्वरीय देन बन्छ । उनका कवित्ववान खुबीसित भावनात्मक उन्मेषहरू प्रस्फुटन हुन्छन् । काष्ठकलाका कारिगरितामा पूर्वीय जीवनगाथाका सूत्रधुर सम्मि श्रण पाइन्छन् । उनका रंगकर्मी धर्मितामा सौर्य किरणका सप्तरेखा केलाउने प्रशस्ती भेटिन्छन् । कलाकारी क्षमताविहीन बनेर नि कला समीक्षण अपूरो हुनु अनौठो बनोइन, सम्भवतः !