घर भत्किदा एकै परिवारका तीन बालिकाको मृत्यु
नेपालगन्ज : रातभरिको वर्षाले बाँकेको राप्ती सोनारी गाउँपालिका ४ मा एउटा घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । कबिराज थारुका तीनजना छोरीको शब बिहान घरका भित्ताले च्यापिएको अवस्थामा फेला परेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा १२ वर्षीया अन्जु थारु, ९ वर्षीया सरीता थारु र ७ वर्षीया सुस्मिता थारु रहेका छन् ।
बाबु कबिराज थारु कामको शिलशिलामा पोखरामा छन् भने घर भत्किन थालेपछि आमा फूलकुमारी थारु भागेर ज्यान जोगाएकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्धारमा खटिएका छन् । जिल्लाका विभिन्न स्थान डुबानमा परेको तथा केही ठाउँमा भौतिक क्षतिहरु भएको जानकारी प्राप्त भएपनि एकीन विवरण आइनसकेको प्रहरी प्रमुख तामाङले जानकारी दिए ।