घुम्ती शिविरमा नागरिकता लिनेमा महिला बढी
पाटन(बैतडी) : जिल्लाको पाटन नगरपालिका–२ की लक्ष्मी खत्री शुक्रबार पाटन नगरपालिकामा पुगिन् । नेपाली नागरिकताको प्रमाण पत्र समेत नगरपालिकामा पाइने भएपछि उनी निकै दंग थिइन् । जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर मार्फत नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेपछि ग्रामीण क्षेत्रका महिलालाई निकै सजिलो भएको छ ।
सदरमुकामसम्म पुग्न नसक्ने ग्रामीण क्षेत्रका महिलाका लागि घुम्ती शिविरले सजिलो भएको स्थानीयबासी पार्वती पन्तले बताइन् । उनले भनिन् ‘अझै पनि जागिर खाने र केही अन्य रोजगारीमा भएका महिलाले मात्रै नागरिकता बनाउने चलन छ । घरको काम गर्ने महिलाहरुले सदरमुकाम गएर नागरिकता बनाउँदैनन् । अहिले नगरपालिकामै घुम्ती शिविर मार्फत नागरिकता बनाउन पाउँदा निकै सजिलो भएको छ ।’
पाटन नगरपालिका–१ सकारकी विपना भट्टराईले पनि घुम्ती शिविरमै नागरिकता बनाइन् । उनले भनिन् ‘शिविर सञ्चालन हुँदा उमेर पुगेका हामीजस्ता धेरै महिलाले नागरिकता बनाउन पायौं । यसले हामीलाई धेरै सजिलो भएको छ ।’
जिल्ला प्रशासन कार्यालयले हाल जिल्लाका विभिन्न स्थानीय तहमा घुम्ती शिविर मार्फत नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । उनले भने ‘निर्वाचन आयोगले स्थानीय तहमै फोटो सहितको मतदाता परिचयपत्र वितरण गर्न थालेपछि स्थानीय नागरिकलाई सजिलो होस भन्ने उद्देश्यले घुम्तीशिविर मार्फत नागरिकता वितरण गर्न थालेका हौं । फोटो सहितको मतदाता परिचयपत्र बनाउन नागरिकता अनिवार्य भएकाले घुम्ती शिविर सञ्चालन गरेका हौं ।’
शिविरमा नागरिकता लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने ‘ग्रामीण क्षेत्रका धेरैजसो महिलाले सदरमुकाम आएर नागरिकता बनाउन सक्तैनन् । त्यसैले घुम्ती शिविरमा नागरिकता बनाउने महिलाको संख्या बढी देखिएको छ ।’
जिल्लाको डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन गरिएको घुम्ती शिविरबाट पाँच सय बढी नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने ‘घुम्ती शिविरमा साना बच्चा भएका महिला, गर्भवती महिला तथा अपांगता भएका व्यक्तिलाई सजिलो भएको छ ।’ जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि यही साउन २९ गते घुम्तीशिविरमार्फत नागरिकता वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
नेपाली नागरिकताको प्रमाणपत्र आफ्नै स्थानीय तहमा प्राप्त भएपछि धेरै सजिलो भएको पाटन नगरपालिका २ की पार्वती खत्रीले बताइन् ।