पहिरोको त्रासले ६६ घरपरिवार दुई दिनदेखि विस्थापित
गोरखा: गाउँमाथिबाट झरेको पहिरोले पुरिने त्रासले श्यामचेतका ६६ घरधुरीका बासिन्दाले दुईदिनदेखि घर छाडेका छन्।
शुक्रबार बिहानदेखि झरेको पहिरोले पुरिने जोखिम बढेपछि आरुघाट गाउँपालिका १ श्यामेचतका ६६ घरका बासिन्दा छिमेकीको घरमा आश्रय लिएर बसेका मान्बु प्रहरी चौकीका असई रेशबहादुर थापाले जानकारी दिए।
निरन्तर पहिरो गएपछि शनिबार इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टरको नेतृत्वमा थप मद्धत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १२ जनाको टोली शनिबार पहिरो गएको मचाङ सामुदायिक बन पुल्चोङडाँडामै रहेका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
'गाउँमाथिको ६६ घर रहेको एउटा टोल उच्च जोखिममा छ' पहिरो क्षेत्रमा रहेका प्रहरी असई थापाले भने ‘पहिरोको बीच भागबाट पानीको मुल फूटेपछि माटोसहितको लेदोले गाउँलाई थप जोखिममा पुर्याएको हो। गाउँदेखि करिब दुई सय ५० मिटर माथिको डाँडाबाट पहिरो झरिरहेको छ।'
श्यामचेतमा १७० घरधुरी छन्।भूकम्पले चिराचिरा बनाएको पुल्चोङडाँडा पानी बर्सिएपछि भासिएको हो। प्रहरी टोलीले पहिरोबाट बच्न गाउँलेलाई सचेत गराएको छ।
गाउँलेहरुले अन्नपात, लत्तकपडा छिमेकीको घरमा सुरक्षित गरी राखेका छन्। ‘अहिले पानी पर्न छाडेको छ।
पानी पर्न रोकिएको खण्डमा पहिरो बढ्न पाउँदैन। पानी पर्यो भने घरहरु बगाउन सक्छ' असई थापाले भने।