करोडौं डलरका युवा 'नेइमार'

करोडौं डलरका युवा 'नेइमार'

राम्रा खेलाडीलाई भित्र्याउने दाउमा क्लबहरूले जति पनि रकम खर्च गर्ने परिपाटीले आर्थिक रूपमा क्लब नै धराशायी बन्न थालेपछि यूईएफएले क्लबहरूलाई फाइनान्सियल फेयर प्लेको बन्देज लगाएको हो।

तपाईं हाम्रो कुरा नगरौं। यी युवाको कुरा गरौं जसको मूल्य हजारमा होइन, लाखमा पनि होइन, करोडमा, त्यो पनि डलरमा पक्का गरिएको छ।

ब्राजिलियन युवा स्ट्राइकर नेमार स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग अनुबन्ध भएका छन्। नेमारलाई पेरिस ल्याउन पीएसजीले बार्सिलोनालाई मात्रै १९ करोड ८० लाख पाउन्ड तिरेको छ, जसको नेपाली मूल्य २६ अरब २९ करोडभन्दा बढी हुन्छ।

त्यसबाहेक नेमारले प्रतिसाता पाउने पाँच लाख ९६ हजार पाउन्ड र अन्य भत्ता थप्दा पीएसजीले नेमारमाथि खर्च गर्ने रकम अझै करोडौं नाघ्नेछ। त्यसअघि नै २५ वर्षीय यी ब्राजिलियन युवा विश्वकै सर्वाधिक महँगा फुटबलर बनिसकेका छन्।

नेमारको पीएसजी अनुबन्ध गत वर्ष विश्वकीर्तिमान बनाएको फ्रान्सेली पल पोग्बाको युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडको अनुबन्धभन्दा एक सय १७ मिलियन युरोले बढी महँगो बन्यो।

पीएसजीले एकजना नेमारमाथि खर्च गरेको यो रकमबाट विश्वमा के मात्रै सम्भव छैन ? यत्ति पैसाले हार्वर्ड विश्वविद्यालयका चार हजार एक सय ५७ विद्यार्थीलाई आवास, खाना, ट्युसन फीलगायत सम्पूर्ण खर्च बेहोरेर एक वर्षसम्म पढ्न पुग्छ।

नामिबियाका प्रत्येक जनतालाई एक-एक थान कफी टेबल किनिदिन पुग्छ। अमेरिकाको ओहियो राज्यका प्रत्येक नागरिकलाई एक-एक पप्पी किनिदिन पुग्छ। नेपालीका लागि त यो रकमले अझ धेरै कुरा किन्न सम्भव छ।

युरोपमा नेमारको यो दोस्रो क्लब हो । उनी स्पेनी लिगपछि यो सिजनबाट युरोपको अर्को प्रतिष्ठित फ्रान्सेली लिग वान खेल्ने छन्।

सन् २०१३ मा घरेलु क्लब सान्तोषबाट बार्सिलोनासँग अनुबन्ध हुँदा पनि नेमारको अनुबन्ध रकम ठूलै थियो। त्यस बेला उनी चार करोड ८६ लाख पाउन्डमा आफ्नो बाल्यकालदेखिको क्लब छाडेर युरोपतर्फ लागेका थिए। उनको यो अनुबन्ध विश्वकै महँगो अनुबन्धमध्ये छैटौं स्थानमा पर्छ।

त्यति बेलै नेमारका लागि अर्काे स्पेनी क्लब रियल म्याड्रिडले बार्सिलोनाको भन्दा निकै धेरै रकमको प्रस्ताव गरेको थियो । रियलको प्रस्तावले त्यति बेलै नेमारलाई विश्वकै सर्वाधिक महँगा खेलाडी बनाउने थियो। यद्यपि नेमारले थोरै रकमको बार्सिलोनाको प्रस्ताव स्वीकार गरेका थिए।

पीएसजीले अन्तर्राष्ट्रिय फुटबलका यी कुशल खेलाडीमाथि खर्चिएको रकमले युरोपेली फुटबल बजारमा ठूलो तरंगमात्रै ल्याएन, धेरै सन्देश पनि दिएको छ । यसले नेमारमाथि पैसाका लागि क्लब परिवर्तन गरेको आरोपसमेत लागेको छ।

सन् २०१३ मा स्पेन आउँदा नेमारले रियलको ठूलो रकमको प्रस्ताव अस्वीकार गर्दै आफूले पैसाभन्दा पनि फुटबललाई रोजेको सन्देश दिन खोजेका थिए । यसपटक उनले ठूलो रकमका लागि त्यही बार्सिलोना त्यागेका छन्।

नेमारले यसको जवाफ त दिइसकेका छन्। उनले आफूले पैसाका लागि पीएसजी नरोजेको स्पष्टोक्ति दिइसकेका छन् । यद्यपि, उनका आलोचकहरूको चित्त अझै बुझेको छैन। नेमार पक्षका आलोचकहरू भने अझै पनि उनले फुटबलकै लागि क्लब रोजेका तर्क पेस गर्छन्।

नेमार पक्षधर आलोकहरूको तर्क छ— बार्सिलोनामा नेमार लियोनल मेसीको छायामा परे। चार वर्षअघि क्रिस्टियानो रोनाल्डोको छायामा पर्ने डरले रियल म्याड्रिड नजान सुझाव दिनेहरू बार्सिलोनामा पनि नेमार मेसीको छायामा परेको तर्क गर्छन् । त्यसैले उनीहरू भन्ने गर्छन्-रियलमा क्रिस्टियानो रोनाल्डो र बार्सिलोनामा मेसीको जस्तो छवि पीएसजीमा नेमारको हुनेछ र नेमारको नेतृत्वमा पीएसजी चाँडै नै युरोपकै शक्तिशाली क्लब बन्नेछ ।

पीएसजीको महत्वाकांक्षा र नेमार
फ्रान्सेली लिग वान युरोपकै प्रतिष्ठितमध्येको लिग हो, जहाँ पीएसजी अहिलेसम्मकै सर्वाधिक सफलमध्येको टोली मानिन्छ। यद्यपि फ्रान्सबाहिरको प्रतिस्पर्धामा भने पीएसजी केही पछि नै छुटेको छ।

सन् २०११ बाट हो पीएसजीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न सुरु गरेको, जुन बेला कतारी व्यापारीहरूको संस्था कतारी स्पोर्ट्स इन्भेस्टमेन्टले पीएसजीको आधाभन्दा बढी स्वामित्व किनेको थियो। कतारी स्पोर्ट्स इन्भेस्टमेन्ट र अध्यक्ष नसर अल खेलइफीले नेतृत्व लिएपछि पीएसजी फ्रान्सको मात्रै होइन, विश्वमै धनीमध्येको क्लब बनेको छ।

लगानी बढेसँगै खेलइफीले क्लबको उदेश्य पनि प्रस्ट पारेका छन्, दुईचार वर्षभित्रै टोलीलाई घरेलु लिगको च्याम्पियन र युरोपेली च्याम्पियन्स लिगको उपाधि दाबेदार टोली बनाउने।

कतारी स्पोर्ट्स इन्भेस्टमेन्ट्सले नेतृत्व लिएको तेस्रो वर्षबाट घरेलु लिग जित्न सुरु भएको पीएसजीले निरन्तर चार उपाधि जितिसकेको छ। साथै गत वर्ष सशक्त प्रदर्शन गर्दै युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलसम्म पुगेको पीएसजीले पहिलो लिगको खेलमा बार्सिलोनालाई ४-० ले पराजित गरेको थियो । दोस्रो लिगमा ६–१ ले पराजित भएपछि मात्रै पीएसजी त्यहाँभन्दा माथि उक्लिनबाट रोकिएको थियो।

घरेलु लिगमा निरन्तर दबदबा कायम गर्ने उद्देश्यमा सफल दखिए पनि पीएसजीलाई युरोपेली क्लब प्रतियोगिताको उपाधिविहीन यात्राले भने अझै सताउन छोडेको छैन । त्यसमाथि युरोपेली फुटबलमा रियल, बार्सिलोना वा म्यानचेस्टर युनाइटेडले हात पारेको सफलता र त्यो प्रतिष्ठा युरोपेली उपाधि नजिती प्राप्त गर्न नसकिने पनि उसले बुझेको छ।

त्यसैले गत वर्ष आफ्नो टोलीलाई असम्भव प्रायः मानिएको अवस्थाबाट च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै घर फर्काउन निर्णायक प्रदर्शन गरेका नेमारमाथि पीएसजीले ठूलो रकम खर्च गर्‍यो।

अनुबन्ध सफल भएपछि क्लब र नेमार दुवैले च्याम्पियन्स लिगको उद्देश्य पूरा गर्ने दाबी गरेका छन् । क्लबले भनेको छ, ‘युरोपकै सशक्त टोली बन्ने र उपाधि जित्ने टोली बन्ने उद्देश्यमा नेमारको आगमनले उद्देश्य नजिक पुगेको अनुभव भएको छ।'

त्यसमा नेमारले थपेका छन्, ‘मेरा सहकर्मी र टोलीलाई ममाथि गरेको अपेक्षाअनुसार सबै उपाधि जित्न मेहनत गर्नेछु। क्लबलाई अझै सफल बन्न सहयोग गर्नेछु।' पीएसजीको प्रस्ताव स्पेन पुग्दा बार्सिलोनाले शंका व्यक्त गरेको थियो।

कम्तीमा यति ठूलो रकममा पीएसजीले युरोपेली फुटबल महासंघ (यूईएफए)को फाइनान्सियल फेयर प्लेको बन्देजलाई पार गर्नेमा बार्सिलोना र स्पेनी लिगको शंका थियो।

राम्रा खेलाडीलाई भित्र्याउने दाउमा क्लबहरूले जति पनि रकम खर्च गर्ने परिपाटीले आर्थिक रूपमा क्लब नै धराशायी बन्न थालेपछि यूईएफएले क्लबहरूलाई फाइनान्सियल फेयर प्लेको बन्देज लगाएको हो, जहाँ क्लबहरूले आफ्नो आम्दानी र त्यसले आवश्यक खर्च धान्ने गरी मात्रै खर्च गर्न दिने गरेको छ।

पीएसजीले भने यीलगायत सबै बाधा पार गर्दै अघिल्लो साता नेमारलाई राजधानी पेरिसमा सार्वजनिक गर्न सफल बन्यो । सिजन सुरु हुनुपूर्व नै पीएसजीले आफ्ना समर्थक र शुभचिन्तकलाई खुसी बन्ने गतिलो कारण दियो।

स्पेनी लिग र बार्सिलोनाको शंका चिर्दै पीएसजीले युरोपेली फुटबल बजारमा अर्को सन्देश पनि दिएको छ, कुनै पनि अर्थमा पीएसजीले चाँडै नै युरोपेली फुटबलमा राज गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.