बबई नदीमा बाढीको खतरा बढ्यो : पानीकाे तह खतराको बिन्दुमाथि
बर्दिया : अविरल वर्षाका कारण बबई नदीमा बाढीको खतरा बढेको छ। बर्दियाका अधिकांश गाउँ जलमग्न हुँदा बबई नदी आसपासका बासिन्दा त्रासमा छन्।
धेरै गाउँ जलमग्न भएका छन् भने गुलरियास्थित भादापुलमा पानीको अवस्था खतरामा पुगेको छ। पछिल्लो मापन अनुसार पानीको सतह ७.४९ पुगेको छ। यो खतराभन्दा माथि हो।
सल्यानको घैयाबारीमा बिहान आएको पानी बबई चेपाङसम्म आइपुगेको छ। त्यो पानी भादापुलमा आइपुग्न ६ घन्टा समय लाग्ने भएकाले राति १० बजेसम्म बाढीको खतरा रहेको कर्णाली रिभर बेसिङ नेपालगञ्जका हाइड्रोलोजिस्ट सिनियर राजेश महतोले जानकारी दिए।
बाढीका कारण बर्दियाको लालपुर, पण्डितपुर, लडकनियाँ, बालापुरलगायत गाउँ बाढीको जोखिममा छन्। बर्दिया प्रहरीले सुरक्षाका निम्ति सबै तयारी अवस्थामा रहेको बताएको छ। ‘सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेका छौँ’, डीएसपी युवराज खड्काले भने।