माङलाकले ल्याए 'लिम्बुनी गाउँ'
काठमाडौं: कवि राज माङलाक कविता-कृति 'लिम्बुनी गाउँ' लिएर पाठकमाझ आएका छन्। राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङ, अन्नपूर्ण टुडेका सम्पादक बसन्त बस्नेत, साहित्यकार भुवनहरि सिग्देल, समीक्षक प्रकाश थाम्सुहाङले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरे।
शिखा बुक्सले प्रकाशन गरेको कृतिमा 'साँवा खोलाको गीत', 'अक्षरहरूको मौलो' र ‘समय सन्नाटामा: मध्यदिनको सडक समाधि' गरी तीन खण्डमा कविता संग्रहित छन्। प्राज्ञ मुकारुङले यस संग्रहका कविता अध्ययन गर्दा ज्ञानको क्षितिज फराकिलो हुने टिप्पणी गरे। 'तपाईंहरूले लिम्बुवानको चर्चा सुन्नुभएकै छ।
यो कृति पढ्दा लिम्बुवान बुझिन्छ', कवि मुकारुङले टिप्पणी गर्दै भने, 'लिम्बुवान भूगोल मात्र होइन, एउटा ठूलो सभ्यता रहेछ भन्ने यो कृतिले देखाउँछ। यस अर्थमा लिम्बुवानका लागि कवि सफल देखिनुहुन्छ।' समालोचकहरुले यस्ता फरक पाटोलाई पनि देखाइदिए पाठकलाई सजिलो हुने उनको भनाइ थियो।
सम्पादक बस्नेतले कवि माङ्लाकले पूर्वमा रहेर साहित्यमा उचाइ लिएको उल्लेख गर्दै मूलधारले अब गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। 'उहाँहरूले पाँचथरबाट साहित्यिक पत्रिका प्रकाशन÷सम्पादनदेखि काव्यिक अभियान सञ्चालन गर्नुभयो', उनले भने, ‘उहाँहरूमा काठमाडौंको मोह पनि देखिएको छैन । अब मूलधारले गम्भीर रूपमा लिनुपर्छ।'
कवि माङलाकले कवितामा लिम्बू सौन्दर्य झल्काएको उल्लेख गरे । ‘कवितामा आफूलाई र आफ्नै समाजको खोजी गरियो कि !', उनले कृतिमा लेखेका छन्, ‘यसैर यसमा लिम्बुवानी उठबस र जनजीवन बढी छन्।'