दरौंदीको पानी
काठमाडौं: त्यही प्रेमको चर्चा हुन्छ जुन प्रेममा त्याग हुन्छ। प्रेमकथा नबोकेको कुनै इतिहास पनि छैन। भनिन्छ, युद्धले इतिहासको गोरेटो कोर्छ । थपिदिँदा बेस हुन्छ, प्रेमका गुलाफहरूले त्यो गोरेटो सम्झिनलायक बनाइदिन्छन्। जसरी सत्रौं शताब्दीको गोर्खा राज्यकालीन प्रेमकथाले त्यो समय सम्झाइरहेछ। नेपाली इतिहासको त्यो प्रेमकथा अहिले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ- ‘दरौंदीको पानी’ नाममा।
तत्कालीन गोर्खा राज्यका राजा राम शाहकी रानी र लखन थापाको प्रेमकथा नाटकको मुख्य कथा हो। नाटकमा त्यसबेलाको परिवेश, घटना र परिघटना चित्रण गरिएको छ। त्यसबेलाका सानासाना राज्यबीचको द्वन्द्व र त्यसले सर्वसाधारण प्रजामा परेको प्रभाव नाटकले उजिल्याउँछ। युद्धको विभीषिकाले प्रताडित जोडी हुन्छन्- लीले र लखन।
चराजस्तै प्रेमको स्वतन्त्र पखेटा हालिरहेको जोडीलाई लमजुङे सेनारूपी सिकारीले छुटाइदिन्छ। विवाहका लागि लीलेलाई माग्न जाँदा उसको मृत्युको खबरले मर्माहत भएको लखन गोरखनाथको आ श्रममा पुग्छ। गुरु गोरखनाथको चेलो भएर ज्ञानआर्जन गरेपछि गुरुकै निर्देशनअनुसार राजा राम शाहको सेवाका लागि दरबार पुग्छ। नाटकमा लखन दरबार पुग्नु र योगीको जस्तो व्यवहार गर्नुलाई रहस्यमयी बनाइएको छ।
दरबारमा आफ्नी प्रेमिकालाई महारानीको रूपमा देख्दा लखन झल्यास्स हुन्छ। तर, उसकी प्रेमिका लीले महारानी लीलावती भइसकेकी हुन्छे । राजा र रानीको दासी भएर लखनले आफ्नो प्रेमको धर्म पूरा गरिरहन्छ। दरबार र राजा रानीको रक्षा गरिरहन्छ । यो कथाले नाटकमा प्रेममा हुने त्यागको उत्कृष्ट स्वरूप देखाएको छ। लखनले आफ्नो ज्ञानको धर्म तोडेर लीलेलाई बचाउन खोज्नुले संसारमा प्रेमभन्दा ठूलो धर्म कुनै हुँदैन भनेर देखाएको छ। प्रेममा प्राप्तिमात्र हुँदैन, यो त्यागको स्वरूपमा पनि जीवन्त रहन सक्छ भन्ने देखिन्छ।
नाटकले त्यतिबेलाको राजाहरूको प्रवृत्ति पनि देखाएको छ। राम शाहले राज्य विस्तार र सुरक्षालाई ध्यानमा राखेर जेठी रानी विवाह गरे पनि प्रेमिल मन पोख्ने ठाउँ लीलावतीमा भेट्छन्। राजाहरूको लडाइँमा प्रजाको मिचाइँ हुन्छ भनेर लमजुङे सेनाले गोर्खाली प्रजामाथि गरेको ज्यादतीले देखाएको छ।
खेतबारी, मानापाथीमा बलियाले कमजोरलाई हेप्ने प्रवृत्ति, राजाले माना पाथी, न्यायको थिति स्थापित गरेको महत्वपूर्ण पक्षलाई नाटकले समेटेको छ। राजदरबारमा हुने शक्तिको खेलमा श्रीमतीले श्रीमान्को हत्या गराउनसम्म पछि नपर्नेसम्मको क्रूर परिस्थितिलगायत त्यतिबेला सम्पूर्ण सामाजिक परिवेशलाई नाटकले बोकेको छ।
विषयवस्तुको गहिराइ अनुहारसँग कलाकारको अभिनय नपुगेको भने दर्शकलाई खट्किन सक्ने विषय हो। लीले, लीलावती र व्यापारीको भूमिका निभाएकी नमिता घिसिङले चरित्रलाई न्याय गर्न सकेकी छन्। अजस्र ढुंगानालाई राजाको र प्रयास बान्तवा राईलाई लखन थापाको भूमिका सुहाएको छ। अशान्त शर्माको लेखन र निर्देशनमा तयार भएको नाटकमा कमल देवकोटा, विना थापा, अस्मिता खनाल र वीरेन्द्र मुखियाले अभिनय गरेका छन्।