माफी मागिन् माइलीले
विश्वविख्यात पपस्टार माइली साइरसका फ्यान उनीसँग रिसाएका छन्। ‘टिन च्वाइस अवार्ड'मा सहभागी हुन अस्वीकार गरेपछि उनका फ्यानहरू रिसाएका हुन्। ट्विटरलगायतका सामाजिक सञ्जालमा उनका फ्यानहरूले कार्यक्रममा सहभागी हुन अस्वीकार गर्नुको कारण खुलाउन पनि आग्रह गरेका छन्।
२३ वर्षीया पपस्टार माइलीले अवार्डको अन्तिम समयमा मात्रै सहभागी हुने योजना रद्द गरेकी थिइन्। आफ्ना फ्यानहरूले उक्त अवार्डमा सहभागी हुन नसकेको विषयमा चासोका साथ विषय उठान गरेपछि माइलीले इन्स्टाग्राममार्फत ‘टिन च्वाइस अवार्ड'मा सहभागी हुन नसकेकोप्रति माफी मागेकी छन्।‘
कार्यक्रममा आउने चाहना भए पनि उपस्थित हुन नपाएकोमा आफूलाई पनि दुःख लागेको उनले उल्लेख गरेकी छन्।
यसै साता आफ्नो म्युजिक भिडियो रिलिजका कारण व्यस्त हुनु परेको उनले बताएकी छन्। ‘म सधैंभरि मेरा फ्यानहरूको मुहारमा हाँसो र उज्यालो छर्न चाहन्छु', उनले भनेकी छन्।
टिन च्वाइस अवार्डमा माइलीसहित ६ जना मनोनयनमा परेका थिए। उनले संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनलाई पनि सम्मान गर्ने कार्यक्रम थियो। अवार्ड हन्टर सिंगरका रूपमा समेत चिनिएकी माइलीले यसअघि १८ वटा प्रतिष्ठित अवार्ड जितिसकेकी छन्। गायनमात्रै होइन, उनको बोल्ने शैलीलाई विश्वभरका युवाले प्रेरणाका रूपमा लिने गर्छन्। एजेन्सी