कीर्तिपुरमा ८३ करोडमा बहुउद्देश्यीय कभर्डहल

कीर्तिपुरमा ८३ करोडमा बहुउद्देश्यीय कभर्डहल

काठमाडौं : पर्याप्त भौतिक पूर्वाधारको अभावमा मुलुकको खेलकुद क्षेत्रले अपेक्षित गति लिन नसकिरहेको अवस्थामा सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को हाताभित्र सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने भएको छ । देशको खेलकुद क्षेत्रको समग्र बजेट नै करिब दुई अर्ब रुपैयाँको हाराहारीमा रहेको अवस्थामा कीर्तिपुरमा ८३ करोड रुपैयाँको लागतमा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्न लागिएको हो ।

कुल ७४ रोपनी पाँच आना दुई पैसा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त बहुउद्देश्यीय कभर्डहलको दर्शक क्षमता पाँच हजार रहेको छ । बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि ल्यान्डस्केपिङ, पार्किङ र रिटेनिङ वालबाहेक ८२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । खेलाडी र खेल हेर्न आउने दर्शकको सुविधालाई ध्यानमा राखी कभर्डहल क्षेत्रमा २४ रोपनी जग्गा पार्किङका लागि छुट्याइने भएको छ । पार्किङमा तीन सय ३५ वटा गाडी र तीन सय ८७ वटा मोटरसाइकल राख्न सकिनेछ ।

बहुउद्देश्यीय कभर्डहलको डिजाइन अरनिको डिजाइनर्स एन्ड प्लानर्स गोंगबुले तयार पारेको हो । विभिन्न इन्डोर खेल खेल्न सकिने कभर्डहलमा अन्तर्राष्ट्रिय स्तरको जिम हल, सेमिनार हल, प्रशासनीक भवन, पुनर्ताजगी कक्ष, खेलकुद शिक्षा विभाग, मिटिङ हल, म्याच अफिसियल कक्ष, खेलाडीको चेन्जिङ कक्ष, मिडिया कक्ष, इन्डोर प्राक्टिस कक्ष्लगायतका संरचना निर्माण गरिनेछ ।

कभर्डहलको मंगलबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शिलान्यास गरे । मन्त्री केसीले १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी निर्माण हुन लागेको उक्त बहुउद्देश्यीय कभर्डहल तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्ने गरी तीव्रगतिमा काम थाल्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् । मन्त्री केसीले कभर्डहल निर्माणका क्रममा गुणस्तर र समयसीमामा कुनै पनि प्रकारको सम्झौता नहुने बताए ।

मन्त्री केसीले राष्ट्रिय गौरवको क्षेत्रका रूपमा रहेको खेलकुदमा पूर्वाधार निर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । राखेपका सदस्यसचिव केशवकुमार विष्टले राखेप र त्रिविको साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने उक्त बहुउद्देश्यीय कभर्डहलको निर्माणकार्य आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थ खनियाँले पूर्वाधार निर्माण भएपछि त्यसको रेखदेख, व्यवस्थापन र संरक्षणमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कभर्डहल सन् २०१९ को मार्चअघि नै निर्माण सम्पन्न गर्नुपर्ने चुनौती रहेकाले फास्ट ट्र्याकबाट काम थाल्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । उनले बहुउद्देश्यीय कभर्डहल निर्माण भएपछि त्रिविलाई स्पोर्ट्स विश्वविद्यालयका रूपमा विस्तार गर्न सहयोग पुग्ने धारणा पनि व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा त्रिविका पूर्वउपकुलपति प्रा. हीराबहादुर महर्जन, रजिस्ट्रार डिल्लीराज उप्रेती र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.