सुन्तली संकलन गर्दै, धुर्मुस बाँड्दै

सुन्तली संकलन गर्दै, धुर्मुस बाँड्दै

काठमाडौं : सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर चर्चित छ । तस्बिर हो, सीताराम कट्टेल ‘धुर्मुस'को । बाढीमा फसिरहेका जनतालाई सहयोग गरिरहेका देखिन्छन् उनी । बाढीपीडितका लागि राहत बाँड्न धुर्मुस पूर्वी तराईका जिल्लामा पुगिरहँदा कुञ्जना घिमिरे ‘सुन्तली' काठमाडौंमा राहत संकलन गरिरहेकी छन् । बिहीबार पाटनमा हाइल्यान्ड कफी सपको शाखा उद्घाटन गरेर राहत संकलन गरिरहेकी कुञ्जना कफी टेबलमा भेटिइन् ।

कफी सपले बाढीपीडितको सहयोगार्थ धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । फाउन्डेसनमा अहिलेसम्म करिब चालीस लाख रुपैयाँ संकलन भइसकेको सुन्तलीले जनाइन् । उनका अनुसार सहयोग आउने क्रम जारी छ । सर्वसाधारणले एकएक बोरा गरेर संकलन गरेको राहत सामग्री फाउन्डेसनलाई दिएको उनले बताइन् । फाउन्डेसनप्रति सर्वसाधारणको विश्वास बढिरहेको उनले उल्लेख गरिन् । यसअघि फाउन्डेसनले भूकम्पपीडित र मुसहर बस्तीलाई सहयोग गरेकाले पनि जनतामा संकलन गरेको राहत सही ठाउँमा पुग्छ भन्ने विश्वास बढेको हो । संकलित राहत लिएर सुन्तली शुक्रबार बर्दिबासतिर लाग्नेछिन् ।

धुर्मसलाई बाढीग्रस्त क्षेत्रमा जाँदा हुनसक्ने खतराको परवाह नगरी त्यसतर्फ जाने आँट आफैंले दिएको सुन्तलीले बताइन् । कलाकार भएर पनि थुप्रै अग्रजले गर्न नसकेको सामाजिक उत्तरदायित्व धुर्मुस-सुन्तलीले गरेको भन्दै कलाकार शिवहरि पौडेलले उनीहरूको प्रशंसा गरे । आँखाभरि आँसु बनाएर सुन्तलीले झन् बढी उत्तरदायी बढेको महसुस गरेको बताइन् । ‘सरकारले गरेन भनेर बाटो हेरिरहने हामी कस्ता नागरिक ? सबैले आआफ्नो तर्फबाट सहयोग गरौं न', उनले आग्रह गरिन् । गाड्ने जमिन नपाउँदा आफ्नै सन्तानलाई बगाउने बाबुआमाको पीडाले उनलाई असाध्यै पोलेको छ ।

आफ्नै आँखाअगाडि सन्तानको मृत्यु देख्नुभन्दा ठूलो पीडा के होला र ? भन्छिन्, ‘हरेक वर्ष आमाबाबुले सन्तानको र सन्तानले आमाबाबुको मृत्यु आफ्नै आँखाअगाडि देख्नु परेको छ', आँखाभरि आँसु बनाउँदै उनले भनिन्, ‘कति वर्ष यसरी बग्न दिइरहने ? ' सरकारले गर्ला भन्ने आश गर्नुभन्दा नागरिकलाई आफैं जिम्मेवार हुन आग्रह गरिन् उनले ।

त्यसो त धुर्मुस-सुन्तली उद्धार तालिमप्राप्त होइनन् । भन्छिन्, ‘हामीलाई स्विमिङ आउँदैन, सरकार त्यहाँ पुग्दैन, मरे मरिन्छ, हामी मरे पनि ती बालबालिका बचाउन सकियो भने भोलि तिनीहरू देशका लागि धुर्मुस-सुन्तली बन्नेछन् ।' उनीहरूको सामाजिक कार्यको अनुसरण धेरै कलाकारले गरेका छन् । ‘धुर्मुस-सुन्तली मात्र नभई सबैले यस्तो काम गर्न सकिन्छ', भन्ने चेतना बढ्दैछ । सहयोगको यो पहलले धेरै पीडितले उद्धार पाउनेछन् । त्यसमै खुसी छ धुर्मुस-सुन्तली दम्पती ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.