नेपाल-भारत सम्बन्ध : सम्झौता हुन्छ, कार्यान्वयन हुँदैन

 नेपाल-भारत सम्बन्ध : सम्झौता हुन्छ, कार्यान्वयन हुँदैन

नेपाल-भारत सम्बन्ध सधैंजसो बहस र छलफलको विषय बन्ने गरेको छ । यो विषय कहिले चुलिन्छ, कहिले मत्थर हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ देखि ११ सम्म भारत भ्रमणमा जाने घोषणा भएसँगै पुन: नेपाल-भारत सम्बन्धबारे बहस चुलिएको छ । के हुन् यो सम्बन्धका जटिलता ? के-के हुन् यसका आयाम ? अनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा के हुन् ? यी र यस्तै विषयमा अन्नपूर्ण मिडिया नेटवर्कको दैनिक पत्रिका'अन्नपूर्ण पोस्ट्' र'एपी वान एचडी' टेलिभिजनले संयुक्त रूपमा राउन्ड टेबल वार्ता आयोजना गरेको थियो ।

राउन्ड टेबलमा नेपाल-भारत प्रबुद्ध समूहका संयोजक एवं पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत डा. भेषबहादुर थापा, भारतका लागि पूर्वराजदूत डा. लोकराज बराल, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. प्रकाशशरण महत र सुरक्षाविद् डा. दीपकप्रकाश भट्टसँग अन्नपूर्ण पोस्ट्का सम्पादक राजाराम गौतम, एपी वानका समाचार प्रमुख टीकाराम'यात्री', अन्नपूर्ण पोस्ट्का समाचार सम्पादक विकास थापा, एपीवानका जीवन काफ्लेलगायत सहभागी थिए । राउन्ड टेबलको वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ, यो वार्ता एपी वान टेलिभिजनमा शनिबार बेलुका साढे ६ बजे र आइतबार दिउँसो २ बजे हेर्न सकिनेछ

डा. भेषबहादुर थापा
मुख्यत: सद्भाव भ्रमण हो । त्योभन्दा टाढा नजाउँ । दुईपक्षीय विषयमा केन्द्रित रहेर समकालीन विषयमा विचार आदानप्रदान हुन सक्ला । तर, केही उपलब्धिभन्दा पनि सम्बन्धमा प्रगाढ गराउने प्रक्रियाकै निरन्तरता हो ।

डा. लोकराज बराल
अहिले देखा परेको जल्दाबल्दा समस्यालाई प्रमले कसरी प्रस्तुत गर्नुहुन्छ भन्नेले धेरै विषय निर्धारण गर्छ । कतिपय सन्दर्भमा तत्कालिक समस्याले प्रभाव पनि पार्छ । जस्तो अहिले बाढीको विषय आइरहेछ । तथापि दीर्घकालीन विषयमा कुराकानी होला जस्तो लाग्दैन ।

डा. प्रकाशशरण महत
नेपाल भारत सम्बन्धका यति धेरै आयाम छन् नयाँ प्रधानमन्त्री आउनासाथ धेरै फरक आइहाल्छन् भन्ने हुँदैन । सम्बन्धका विविध विषय र आयामहरूमा कहाँ छौं, अझै रहेका समस्या र विषयलाई सम्बोधन र कार्यान्वयन गर्दै कसरी अगाडि बढाउन सक्छौं ? यसै विषयवस्तुमा रहेर भारतको नेतृत्व र नेपालको नेतृत्वबीचमा सम्बन्धको समीक्षा हुन सक्छ । खासगरी, भूपरिवेष्ठित देशको रूपमा हाम्रो समस्या स्वाभाविक रूपमा धेरै छन् ।

कनेक्टिभिटी, जलस्रोत, डुबानलगायतका तमाम विषयहरू छन्, त्यस्तै सहयोगलाई कसरी छिटो कार्यान्वयन गर्ने भन्ने विषयमा दुई देशका नेतृत्व केन्द्रित हुनुपर्छ । नयाँ विषय थप्दै जानुभन्दा पनि भएकोलाई कार्यान्वयन गर्दै जानुपर्छ र भएका समस्या घटाउँदै जानुपर्छ भनेर मैले सुझाव दिएको छु।

डा. दीपकप्रकाश भट्ट
विश्व राजनीति नै अहिले परिवर्तन भइरहेको छ । परिवर्तित सन्दर्भमा नेपाल-भारत सम्बन्ध बुझ्न जरुरी छ । हामीले लामो समयदेखि पारस्परिक सम्बन्ध त भन्यौं तर लामो समयदेखि छलफलबाट टुंगिनुपर्ने विषय पनि नटुंगिएको धेरै छ, चाहे त्यो सीमा व्यवस्थापनको होस् वा आवत्जावतको । प्रत्येक वर्ष बर्खायामममा बाढीको समस्या देखिन्छ । प्रत्येक प्रधानमन्त्री भारत गएको देखिन्छ ।

अहिलेको भ्रमण गुडविल भिजिट नै हो । निकै लामो समयदेखि पेन्डिङमा रहेका विषयलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनको लागि वातावरण बनाउन सके राम्रो हुन्छ ।
हरेक वर्ष प्रधानमन्त्री फेरिनासाथ भारत भ्रमणमा जाने प्रचलन देखिएको छ । त्यो आवश्यक हो कि होइन ? त्यस्तै डा.बरालले लेख्नुभएको छ, हामी विदेश नीतिमा स्पष्ट हुन सकेका छैनौं । त्यसको कारण के होला ?

डा. बराल
नेपालको भारत नीति छैन भनेर २०४६ को आन्दोलन हुने बित्तिकै लेखेको थिएँ । त्यसमा म अहिले पनि अडिग छु । भारतको नेपाल नीति छ । उसले यो-यो सन्धिले हामीलाई गाइड गर्छ भन्छ । ऐतिहासिक फ्रेमवर्कले हामीलाई निर्देशन गर्छ भन्छ । यसमा तपाईंलाई केके समस्या पर्‍यो भनेर सोध्छ । हामी भने कहिले सन्धि खारेज गर्ने भन्छौं, कहिले पुनरावलोकन गर्ने भन्छौं ।

सन् १९५० को सन्धि पुनरावलकोन गर्ने भनेर मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक चर्चा भएको हो । दुवै देशका विदेश सचिवस्तरमा बसेर पुनरावलोकन गर्ने भनिएको थियो । अहिले त दुवै देशका विज्ञ सम्मिलित प्रबुद्ध समिति पनि छ । भारतीयहरू जहिले पनि तपाईंहरू प्रष्ट हुनुहुन्न भन्छन् । हामीमा अस्पष्टता छ । कि त चाहिँदैन भन्नुपर्‍यो । पुनरावलोकन गर्ने हो भने कुन सन्दर्भमा गर्ने भन्नेमा प्रष्ट हुनुपर्‍यो । सुरक्षा क्षेत्रमा हो कि ? खुला सिमानाको सन्दर्भमा हो कि ? खुला सिमाना पनि नियमन गर्ने हो कि बन्द नै गर्ने हो ? यसमा स्पष्ट हुनुपर्‍यो । बढी दलीयकरण भएकाले आवश्यक चिन्तन, अध्ययन भएको छैन ।

नेपालमा अलि बढी फर्मलाइज गर्ने चलन छ । भारत भ्रमण त के नै हो र ? बिहान गएर बेलुका आउन सकिन्छ, एक रात बस्न पनि सकिन्छ, अनौपचारिक-औपचारिक जे पनि हुन सक्छ । यसरी तामझाम देखाउन जरुरी छैन । अब अहिले अनावश्यक चर्चा गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमण, देशै बेचेर आउने हो कि ? सम्म चर्चा गरिएको छ । त्यस्तो त बीपी कोइरालालाई पनि भनिएको थियो । त्यस्तो ठीक होइन । आत्मविश्वास हुनुपर्‍यो । राष्ट्रिय उद्देश्य यो हो भन्नेमा सहमत हुनुपर्‍यो ।

डा. थापा
प्रधानमन्त्री भारत जाने भनेपछि किन जाने प्रश्न उठ्ने गरेको छ । जहिले पनि उठ्छ तर जाने तय भइसकेपछि । त्यो अलि ढिला भयो । दोस्रो सन्दर्भ सन्धिको हो । नेपालले सन्धिबारे प्रश्न उठाउन थालेको ४७ वर्ष भइसक्यो । जहिले पनि पुनरावलोकन गर्ने भनिन्छ । परराष्ट्र सचिव स्तरमा गर्ने भनियो । तर दुई देशका परराष्ट्र सचिव कहिल्यै सँगै बसेनन् । अहिले आएर बाबुराम भट्टराई, सुशील कोइराला र केपी ओली गरी तीनजना प्रधानमन्त्रीको समयमा त्यो विषयले द्विपक्षीय तहमा निरन्तरता पायो ।

अन्त्यमा, सरकारी संयन्त्रलाई जिम्मा लगाउनुको साटो निष्पक्ष रूपमा अध्ययन गरेर एउटा निष्कर्षमा पुग्न प्रबुद्ध समिति गठन भएको हो । अहिले पहिलोपटक दुवै पक्षमा बसेर बुँदाबुँदामा छलफल भएको छ । तर, यो यति संवेदनशील विषय छ तुरुन्तै आमजनतासम्म ल्याएर बहस गर्न गाह्रो छ । जेहोस् यो प्रक्रियाले सकारात्मक मोड लिएको छ । भारत पक्ष पनि यो विषयलाई एउटा टुंगोमा पुर्‍याउन सकारात्मक छ भन्ने हाम्रो बुझाइ छ ।

डा. महत
दुई देशबीच धेरै अन्तरसम्बन्ध छन् । त्यस्तो अन्तरसम्बन्धले केही अप्ठ्यारो पनि ल्याउँछ । तर, तिनलाई समाधान गर्न सकिन्छ । प्रधानमन्त्री कतिपटक भ्रमणमा जाने भन्ने प्रश्न होइन । जतिपटक जाँदा पनि हुन्छ । जति धेरै राजनीतिक नेतृत्वबीच जति धेरै सम्बन्ध, आदानप्रदान हुन्छ त्यो लाभदायक नै हुन्छ । हामीले के कुरा गर्ने, केमा जोड दिने भन्नेमा चाहिँ सचेत हुनुपर्छ । जहाँसम्म खुला सीमाको सम्बन्ध छ यसको धेरै ठूलो फाइदा पनि छ ।

एकपटक सीमा नियमन गर्ने भनेर नेपालगन्जमा परिचयपत्र प्रणाली राख्न खोज्दा नेपालीलाई नै धेरै समस्या पर्‍यो । हाम्रा मान्छे नै बढी जाँदा रैछन् । त्यसैले यथार्थको धरातलमा उभिएर सम्बन्ध निर्माण गर्ने, विषय पहिचान र प्राथमिकीकरण गर्ने हो भने अन्योल हट्छ । नेपालमा नेपाल-भारत सम्बन्धको विषयलाई लिएर धेरै राजनीतीकरण गर्ने गरिएको छ । त्यो आवश्यक छैन । मैले देखेको छु, कूटनीतिक टेबलमा हाम्रा आवश्यकता र प्राथमिकतामा केन्द्रित नहुने तर आन्तरिक राजनीतिको थिएटरमा अतिरञ्जित किसिमबाट प्रस्तुत हुने गरिएको छ ।

बाबुराम भट्टराईले २०५२ सालमा बुझाएको ४० बुँदे मागमा नौ बुँदा भारतसँग सम्बन्धित थिए । पछि उहाँ नै प्रधानमन्त्री हुँदा भारतको लगानीलाई सुरक्षा गर्नुपर्छ भनेर सम्झौता गर्नुभयो । हामीलाई भारत, चीन सबैको लगानी चाहिन्छ, ती लगानीको पनि सुरक्षा गरिनुपर्छ । नेपालमा २००७ सालदेखि नै नेपाल-भारत सम्बन्धमा आफू अगाडि बढ्न उपयोग गरिने राजनीतिक मुद्दामात्र बनाइयो।

सम्बन्धित ठाउँमा बुँदागत रूपमा हाम्रो राष्ट्रिय आवश्यकता र अधिकार राख्न जरुरी छ । त्यसरी विषयवस्तु राखेपछि भारत पक्ष पनि सम्बोधन गर्न तयार छ । बाढीकै सम्बन्धमा पनि हामीले प्राकृतिक नदीनालालाई सहज रूपमा बहन दिउँ भनेपछि दुवै पक्षको संयुक्त टोली बनाएर निरीक्षण गर्ने सहमति भएको छ । हाम्रोमा सत्ता परिवर्तन छिटोछिटो हुने र त्यससँगै ब्युरोक्रेसीमा पनि परिवर्तन हुने हुँदा फलो अप हुन सकेको छैन । इन्स्टिच्युसनल मेमोरी (संस्थागत स्मृति) मै कमी छ।

पुष्पकमल दाहाल प्रधानमन्त्री र तपाईं (महत) परराष्ट्रमन्त्री भएको सरकारको पालामा भारतसँग २५ बुँदे सहमति गर्नुभएको थियो । त्यसको ११ नम्बरको बुँदामा'ठूला अन्तर्राष्ट्रिय मुद्दामा दुवै देशको एउटै धारणा हुनेछ' भन्ने उल्लेख छ ।

यसको प्रयोजन के हो ?

डा. महत
हामीले धेरै अन्तर्राष्ट्रिय मामिलामा हाम्रो समान धारणा हुन्छ भनेका छौं । धेरैमा भनेको हो सबैमा त भनेका छैनौं । चीनसँग संयुक्त वक्तव्य जारी गर्‍यौं भने, त्यहाँ पनि लेख्छौं । हरेक विषयमा शंकाको दृष्टिकोण अपनाउन र अतिरञ्जित गर्न जरुरी छैन ।

डा. भट्ट
प्रधानमन्त्री भइसकेका र फेरि प्रधानमन्त्री हुने लाइनमा भएका व्यक्तिले पनि'भारतले माइक्रोम्यानेजमेन्ट गर्छ','चाबी अन्तै छ' जस्ता वाक्य बोल्दा जनमानसमा धेरै सनसनीपूर्ण बन्न गएको छ । त्यसो नगर्दा राम्रो हुन्छ । त्यस्तै भारतले हामीलाई कसरी हेर्छ भन्ने पनि हो । भारतकै वरिष्ठ पत्रकारहरूले लेखेको र सम्पादकीयमा लेखेको हेर्दा उनीहरूले पनि कतिपय विषयलाई अतिरञ्जित बनाएको पाइन्छ । नेपालमा सत्ता फेरिनासाथ'भारतविरोधी सरकार ढल्यो' भनेर समेत लेखेका हुन्छन्।

हाम्रोमात्र जनताले फरकफरक धारणा राख्छन् भन्ने होइन । राष्ट्रिय हितको विषयमा पनि भारतीयहरू एक छन् भन्ने म देख्दिनँ । चीन र पाकिस्तानको विषयमा युद्ध भइसकेकाले ती विषयमा एक जस्तो देखिन्छन् । अरू देशसँगको सम्बन्धमा भारतमा पनि पार्टीगत र पार्टीभित्र पनि गुटगत स्वार्थ देखिन्छ । हामी त संक्रमणकाल, तरल अवस्थामा भएकाले बढी देखिएको हो । हामी आत्तिन पनि जरुरी छैन ।

यो भ्रमणको उपलब्धि के हुन सक्छन् ? त्यस्तै डोक्लाम विषयमा दुवै छिमेकी देशअर्को देशसँगको त्रिपक्षीय बिन्दुमा गएर कन्फ्लिक्टको स्थितिमा देखिन्छन् । यही सन्दर्भमा चिनियाँ मन्त्री आएर घुमाउरो दबाब पनि दिनुभएको छ । तटस्थताका लागि यो भ्रमणमा प्रधानमन्त्रीले खेल्ने भूमिका के हुन्छ ?

डा. महत
हामीले भारतसँग सम्बन्धित धेरै विषयबारे लामो समयदेखि चर्चा गरिआएका छौं । तिनलाई प्राथमिकीकरण गर्नु जरुरी छ । तत्कालीक रूपमा हामीले सम्बोधन गर्न सकिने केके हुन्, त्यसमा पहिला जोड दिनुपर्छ । त्यस्तै दीर्घकालीन रूपमा हाम्रो रणनीति के हो भन्नेमा पनि स्पष्ट हुन जरुरी छ । जस्तै सन् १९५० को सन्धिको विषय छ, त्यसमा हाम्रो खास धारणा के हो ? त्यही सन्धिको पनि सबै बुँदा त अनावश्यक होइन । समय सान्दर्भिक नभएको, अनावश्यक विषय हटाउने हो ।

त्यसबारे हामी नै पहिला स्पष्ट हुन जरुरी छ । यी विषयलाई केन्द्रमा राखेर सम्बन्धको समीक्षा गर्न जरुरी छ । त्यस्तै हामीले हाम्रो परराष्ट्र सचिव र भारतीय राजदूतको टोली बनाइएको छ जसले नियमित सहयोग कार्यान्वयन गर्ने र देखिएका अवरोध सुल्झाउने तय गरिएको छ । जहाँसम्म डोक्लामको विषय हो, हामी दुई छिमेकीको बीचमा छौं, उहाँहरूको सम्बन्धले हामीलाई राम्रो हुन्छ ।

उहाँहरूबीच द्वन्द्व बढ्यो भने उहाँहरूलाई त घाटा हुन्छ नै, हामीलाई पनि घाटा हुन्छ । अहिलेको युगमा युद्ध विकल्प पनि होइन । चीन-भारतजस्ता ठूला देशबीच युद्ध विकल्प होइन । विकल्प वार्ता नै हो । हामीले वार्तामै जोड दिन्छौं । नेपालको प्रधानमन्त्रीले दुवै देशको नेतृत्वलाई भन्ने त्यही नै हो ।

डा. बराल
सन् १९५० को सन्धिमा'दुई देशमध्ये कुनै एकलाई तेस्रो शक्तिले हानि पुर्‍याउन खोजे दुवै मिलेर प्रतिकार गर्ने' उल्लेख छ । त्यो चीनलाई ध्यानमै राखेर लेखिएको हो । तर, सन् १९६२ मा युद्ध हुँदा भारतले सन्धिको आधारमा नेपाललाई संलग्न हुन जोड दिएन । सन् १९७१ को भारत-पाकिस्तान युद्धमा पनि भारतले नेपाललाई कुनै दबाब दिएन ।

डा. थापा : सो सन्धिमा त्यस्तो छैन ।

डा. बराल : होइन छ ।'टु अभोइड थ्रेट' भनेको छ । तर, भारतले कहिल्यै पनि नेपाललाई तटस्थ नबस्न दबाब दिएको छैन । त्यसैले वार्ताकै विषय ठीक छ । त्यसो त म युद्धको सम्भावना नै देख्दिनँ ।भारतसँग गरिएको सन्धि-सम्झौताको कार्यान्वयनको पक्षमा उसकै कमजोरी बढी देखिन्छ ।

जस्तै, कोसीको पश्चिम तटबन्ध सप्तरी क्षेत्रको सुरक्षाका लागि बनाइएको थियो । त्यसको अवधारणा नेपाल उँचो भूभागमा भएकाले कोसीको पानी भारततिरै जाने भन्ने थियो । तर, भारतले रेगुलेट नगरेकै कारण उल्टो भयो । जसले गर्दा हनुमाननगरदेखि तिलाठीसम्मको भूमि कोसीकै कारणले डुबानमा परेको छ ।

झन्डै १६ किलोमिटर लामो नेपाली भूमिमा रहेका ६ वटा गेट रेगुलेट गर्ने दायित्व भारतकै हो । जसले गर्दा कोसीको पानी जहिले नेपालतिर आयो । यसअघिका सप्तरीको प्रमुख जिल्ला अधिकारीले भारतीय अधिकारीलाई हिउँदमै भेटेर सचेत गराउनुभएको रहेछ । तर, वास्ता गरिएन । त्यस्तै स्थिति छ लक्ष्मणपुर बाँधको पनि । नेपाल र भारतका सहसचिवस्तरको बैठक र पछि त्यसलाई सचिवस्तरले सम्बोधन गरेको बैठकले त्यहाँका नदीनालालाई नियमित बहन दिने सहमति भएको थियो सन् २००७ मा । जसका कारण बाँकेका १२ वटा गाविस सधैं डुबानमा पर्छन् । सम्झौता हुन्छ
भारत पक्षबाटै कार्यान्वयन हुँदैन किन ?

डा.महत : जलस्रोतको विषय निकै महत्वपूर्ण छ । जति पनि सन्धि-सम्झौता छन्, पहिला त नेपालले तत्कालीक रूपमा पाउनुपर्ने भनेर उल्लेख छ त्यसमा जोड दिनु जरुरी छ । र, भविष्यमा जे जति संशोधन गरिनुपर्नेछ त्यो गर्न जरुरी छ । कार्यान्वयनको विषयमा उच्च महत्व दिन आवश्यक छ । हामीले यो विषय उच्च तहमा महत्वका साथ उठायौं । त्यसैले पूर्वदेखि पश्चिमसम्मै जहाँ-जहाँ प्राकृतिक बहावमा थुनछेक भएको छ, संयुक्त निरीक्षण गरेर निकास निकाल्ने भनेर सहमति गरेका छौं।

त्यसलाई निरन्तरता दिन तल्लो तहसम्मै जागरुक हुनुपर्‍यो । हाम्रो कर्मचारीतन्त्रमा अलि बढी उदासीनता छ, त्यो हटाउनुपर्‍यो । अर्कोतर्फ, कोसीमा जमिनको सतह बढिसकेकोले पनि समस्या आएको छ । अहिले मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु । हामीसँग ठूलो जलस्रोत छ, भारतलाई पानी सुरक्षाको समस्या छ । त्यसैले एउटा अम्ब्रेला एग्रिमेन्टको प्रस्ताव गरेको छु । त्यो भनेको जति पनि बाँधयुक्त ठूला प्रोजेक्ट नेपालमा बन्छन्, त्यसबाट सुक्खा मौसममा नेपालबाट भारतमा बग्ने पानीबापत नेपालले केही सहुलियत पाउँछ । त्यो भयो भने बर्खा मौसममा हुने बाढी पनि कम हुन्छ। त्यस्तो अम्ब्रेला एग्रिमेन्ट भयो भने हरेक पटक भारतसँग सम्झौता गर्दा विवाद पनि हुँदैनथ्यो ।

डा. भट्ट : नेपाल-भारत सम्बन्धमा असमझदारी हुनुको मुख्य कारण सम्झौता हुने कार्यान्वयन नहुनु हो । एकीकृत महाकाली सन्धिको विषयमा ठूलो विवाद भयो । त्यतिबेला भारतले बनाइदिन्छु भनेको सडक अहिलेसम्म बनाइदिएको छैन । टनकपुरबाट थप पाउनुपर्ने बिजुली हामीले पाएका छैनौं ।

डा. थापा : प्रबुद्ध समूहको अभ्यासको क्रममा हामीले जानकारहरू, पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञसँग सरसल्लाह गरेका छौं । सबैभन्दा अप्ठेरो कहाँ छ भने, नेपालको राष्ट्रिय सहमतिको मूल बिन्दु के हो भन्नेमा आम सहमति छैन । हाम्रो मानसिकता यति विभाजित छ जसले कुनै पनि अहम् मुद्दामा हाम्रो साझा धारणा बन्नै सकेको छैन । जुनबेला हाम्रो राजनीति कुण्ठित थियो, त्यतिबेला यस्तो विभाजन थिएन किनभने हुकुमले राजनीति चल्थ्यो । विविधतामा जाँदा सहमति जुटाउने अभ्यास न नेता लागे, न जनता ।

त्यस्तै जनतालाई सुसूचित गरेर सही निर्णय लिन सकिन्छ भन्ने बोध कुनै पनि नेता वा कर्मचारीतन्त्रमा भएन । अहिले विभाजन राजनीतिक तह र प्रशासनमा मात्र होइन जनताकै तहमा पनि छ । यसमा कसैको पनि ध्यान दिएको छैन । जानुपर्ने ध्यान पार्लियामेन्टको हो । भारतमा'अल पार्टी ककस'ले निर्णय गर्ने चलन छ । अहम् प्रश्न हो- प्रधानमन्त्री जाँदा राष्ट्रिय हितको विषयलाई प्राथमिकता दिनुभएको छ कि आफ्नो समूहको ? म ६ वर्ष राजदूतको रूपमा भारतमा बस्दा दुईजना राजा र चारजना प्रधानमन्त्री पुग्नुभयो । त्यतिबेला भारत जुन विषयमा प्रवेश गर्दा दृढता र धारणा देखियो । हामीमा भने जहिल्यै पनि सहानुभूति, सद्भाव खोज्ने देखियो । संवादको यो विषमताले हामी जहिल्यै पछाडि पर्ने गरेका छौं ।एक वर्षको समीक्षा गर्दा प्रबुद्ध समितिले नेपाल-भारत सम्बन्धलाई निष्कर्षमा पुर्‍याउन सहयोग पुर्‍याउन के कस्ता काम भए ?

डा. थापा : प्रावधान नै नभएको प्रबुद्ध समिति बन्यो, त्यो ठूलो उपलब्धि हो । यसको निष्कर्ष के आउँछ अहिल्यै भन्न सकिन्न । यो भारतको पनि चाहना रहेको बुझिन्छ । सकारात्मक बाटोमा प्रवेश भएको छ कहाँ पुगिन्छ भन्न सकिन्न ।

सन् १९६२ मा भएको भन्दा अहिले आन्तरिक शक्ति-संरचनामा व्यापक परिवर्तन आइसकेको छ । चीन-भारतको विवादमा नेपालले कत्तिको तटस्थता कायम राखिरहन सक्ला ?

डा. भट्ट : अहिले विश्व पहिलेजस्तो छैन । बहुपक्षीय सम्बन्धहरूमा गइसकेको छ । छिमेकीहरूको विवादले'लिपु लेक'को प्रसंग पनि उठेको छ । हामीले उठाउन नसकेको मुद्धा उनीहरूले उठाइदिएका छन् ।भारतसँगमात्र निर्भर हुँदा हामी आर्थिक रूपमा कति अगाडि जान सक्छौं ?

डा. महत : कोही पनि जानीजानी निर्भर हुने होइन । हामी परिस्थितिगत रूपमा भारतसँग बढी निर्भर हुनु परेको हो । चीनसँगको बाधकको रूपमा रहेका प्राकृतिक बाधालाई हटाउन हामी लागिपरेका छौं।

डा. भट्ट : संविधानमा हामीले समाजवादतर्फको यात्रा भनेका छौं । विकास र समृद्धिको बाटोमा गएनौं भने राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ, दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्छ । नवउदारवादी आर्थिक नीतिलाई लामो समयसम्म जोड दिँदा हामी पछि पर्‍र्यौं, झन् परनिर्भर भयौं ।

डा. महत : अहिले हामीले जे गरेका छौं त्यही खुला तन्त्रले हो । जनतालाई जति सामाजिक सुरक्षा दिएका छौं, त्यही नीतिले हो । निजी क्षेत्रबाट कति कर आउँछ तपाईंलाई थाहा छ ? नवउदारवाद हामीले ल्यायौं । त्यसको उपभोग सबैभन्दा बढी तपाईंहरूले गर्नुभएको छ ।

डा. बराल : हाम्रो परम्परागत चिन्तन कायम नै छ । परिस्थिति फेरिँदो छ । नेपाल-भारत सम्बन्ध जटिल छ । त्यो बुझ्ने गरी मेकानिज्म बन्न आवश्यक छ, सरकारी र गैरसरकारी दुवै क्षेत्रमा । भारतसँगको व्यापार त झन्झन् घटेको छ । हाम्रो उत्पादन नै छैन । संस्थाहरू कमजोर भइरहेछन्् । हाम्रो आन्तरिक परिस्थिति नै ठीक ठाउँमा छैन । हामीले सक्षमता हासिल नगरी र नयाँ ढंगले नसोचिकन अघि बढ्न सकिँदैन ।
भ्रमणको एक साता पनि छैन । यसको बुँदागत एजेन्डा के के छन् ? सन्त्रास पनि छ, त्यसलाई कसरी चिर्नुपर्ला ?

डा. महत : सन्त्रास मान्नुपर्ने कुनै कारण छैन । सत्तापक्ष राष्ट्र र जनताको हितमा छैनन् भनेर कृत्रिम जनमत सिर्जना गर्ने कोसिस भएको छ । त्यसले दीर्घकालीन रूपमा राष्ट्रलाई फाइदा गर्दैन । हामी राष्ट्रवादी हौं । राष्ट्र र नेपाली जनतालाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्ने हो । नेपालको आवश्यकता, स्वार्थ र अधिकारलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्ने हो ।

प्रधानमन्त्रीको यो भ्रमणको मूल उद्देश्य पनि अधुरा विषयवस्तु, कार्यान्वयन नभएका विषयलाई तदारुकताका साथ कार्यान्वयन गर्नेमा केन्द्रित हुनेमा जोड दिनुपर्छ ।

भ्रमणका मूल मुद्दा हुन् : व्यापार र पारवहनमा बेलाबेलामा आएका समस्यालाई कहिल्यै पनि बाधा नआउने विश्वास सिर्जना गर्ने, विद्युत् व्यापार निर्वाध गर्ने र व्यापारिक नाकाहरू बढाउने, विशाखापट्टम सम्झौता भइसकेको छ, त्यसलाई प्रयोगमा ल्याउने । जहाँसम्म सुरक्षा संवेदनशीलताको विषय छ हामी सचेत छौ । दुई छिमेकीबीचको विवाद वार्ताबाटै टुंगो लगाउने हो ।

डा. भट्ट : प्रधानमन्त्रीको भ्रमणमा सबै सम्बोधन गर्न नसकिएला, मुख्य मुद्दाहरूलाई प्राथमिकीकरण गर्दा राम्रो होला । जस्तै ९८ प्रतिशत सीमा विवाद समाधान भएको छ भनिएको छ । बाँकी विवाद टुंगो लगाउन सकिन्छ ।
(प्रस्तुति: लक्ष्मण श्रेष्ठ)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.