अब नाट्यकर्मीलाई बिमा
काठमाडौं : नेपाली नाट्यकर्मीहरूका लागि कार्यस्थलमा हुने दुर्घटनाका लागि एक लाख रुपैयाँको बिमा गरिने भएको छ । नाट्यकर्मी महासंघद्वारा राजधानीमा आयोजित कार्यक्रममा महासंघ र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता भएको छ । नाट्यकर्मी महासंघले मासिक रूपमा आयोजना गर्न सुरु गरेको 'नाट्य विमर्श' कार्यक्रमअन्तर्गत पहिलो शृंखलामा 'नाट्यकर्मीको सामाजिक सुरक्षा' विषयक बहस सञ्चालन गरिएको हो ।
कार्यक्रममा नाट्यकर्मी हरिहर शर्माले नाट्यकर्मी महासंघले नाट्यकर्मीको हितका लागि अहिलेसम्म कसैले नसोचेको कार्यक्रम ल्याएको बताए । उनले नाट्यकर्मीको काम नाटक गर्नु भएकोले जस्तोसुकै परिस्थिति आए पनि नाटक गरिरहनुपर्ने बताए । अर्का नाट्यकर्मी अशेष मल्लले नाट्यकर्मीको सुरक्षाको कार्यक्रम संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले ल्याउनुपर्ने भए पनि प्रतिष्ठान सानातिना कार्यक्रममै अल्मलिएको बताए ।
प्रतिष्ठानको लागि आफूहरूले आन्दोलन, अनशन आदि गरेर स्थापना भए पनि अहिले यसको क्रियाकलाप र कार्यक्रम हेर्दा औचित्य नभएजस्तो देखिएको तर्क गरे । 'यसरी राजनैतिक भर्ती केन्द्रका रूपमा मात्र हो भने बरु यसको बजेट गाउँपालिकाको वडाध्यक्षलाई हस्तान्तरण गरिदिए हुन्छ, प्रज्ञा प्रतिष्ठानभन्दा त वडाध्यक्षले बढी राम्रो काम गर्छन्', मल्लले भने ।
विमर्शका लागि नाट्यकर्मीको सामाजिक सुरक्षा विषयमा कार्यपत्र पेस गर्दै महासंघका महासचिव राजेन्द्र रिमालले नाटक गर्दागर्दै नाट्यकर्मीको मृत्यु भएमा वा दुर्घटना भई घाइते भएमा त्यसलाई कसले सम्बोधन गर्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।
नाट्यकर्मीको सुरक्षाका लागि तीन किसिमको कार्यक्रम ल्याउनुपर्ने उनले औंल्याए । घटना हुनै नदिने पूर्वतयारी, भइहाले तत्कालीन उद्धारको योजना र त्यसपछि आवश्यक क्षतिपूर्तिको कार्यक्रम अनिवार्य गर्नुपर्ने बताए ।
महासंघका अध्यक्ष विजय विस्फोटले गैरसरकारी संस्थाले सञ्चालन गरिरहेको सडकनाटक कार्यक्रममा सहभागी हुने नाट्यकर्मीको अनिवार्य दुर्घटना बिमा गरेकै हुनुपर्ने दिशामा महासंघ लाग्ने बताए । नाट्यकर्मीको बिमा नगरिएको सडक नाटक स्वीकृत गर्न नदिनेसमेत बताए । उनले महासंघको स्थापनापश्चात् भएका उपलब्धिका बारेमा बहस कार्यक्रममा जानकारी पनि गराए । बहसमा सहभागी नाट्यकर्मीले सुरक्षा र बिमासम्बन्धी विभिन्न जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानले नाट्यकर्मीको समस्याका बारेमा अझ बढी नजिकबाट बुझ्न महासंघसँग सहकार्य गरी बहसको थालनी गर्न खोजेको बताए । बहसमा थापाले नाट्यकर्मीको समस्या पहिचान, समस्याको कारणको पहिचान र समस्या समाधानको कार्ययोजना बनाई अघि बढ्नुपर्ने औंल्याए । कार्यक्रममा महासंघका उपाध्यक्ष प्रवीण पुमाले बहस कार्यक्रमको बारेमा बताएका थिए भने बिमा कम्पनीका तारा चौलागाईंले बिमा सम्बन्धमा बोलेका थिए ।