विराटनगरको फोहोर उठाउँदै जनप्रतिनिधि

विराटनगरको फोहोर उठाउँदै जनप्रतिनिधि

विराटनगर: विराटनगर महानगरपालिकाका प्रमुख मेयर भीम पराजुली आइतबार बिहानै महानगरका कर्मचारी र सुरक्षाकर्मी सहित विराटनगरको बरगाछीमा भेटिए।

हातमा ग्लोब्स (पञ्जा) लगाएर निस्किएका उनी पसिनाको धारा छुटाउँदै सुरक्षाकर्मी र सुरक्षा अधिकारीसंगै फोहोर उठाउन व्यस्त थिए। उनीसंगै गर्मीको प्रवाह नगरिकन फोहोर उठाउँदै थिए मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख एसपी भेषबहादुर शाह। लगातारको वर्षासंगै आएको भीषण बाढीले विराटनगरमा थोपरेको फोहोर उठाउन उनीहरु व्यस्त थिए। विराटनगरको फोहोर तत्काल व्यवस्थापन नगरिए महामारी फैलन सक्ने चेतावनी चिकित्सकहरुले यस अघि नै दिइसकेका छन्।

‘विराटनगरमा आएको बाढीले धेरै घर डुबानमा परे। घर डुबानसंगै बाढीले सबै ठाउँमा फोहोर थोपरिदियो,’ मेयर पराजुलीले भने, ‘फोहोरको डंगुर गन्हाएर अहिले विराटनगरमा हिंडिसक्नु र बसिसक्नु छैन। त्यही भएर सबैसंग हातेमालो गर्दै फोहोर व्यवस्थापनमा सक्रियता बढाइएको हो।’

उनका अनुसार बाढीले थोपरेको फोहोरको दुर्गन्धका कारण विराटनगर लगायत आसपासका क्षेत्रमा विभिन्न रोगको महामारी फैलने खतरा बढेर गएको छ। फोहोरका कारण सर्वसाधारण पीडित हुन थालेपछि स्थानीय निर्वाचनमा जनताले दिएको मतको कदर गर्दै सडकमा फोहोर उठाउन जनप्रतिनिधी आँफै खट्न थालेको उनको स्पष्टोक्ति थियो।

भारी वर्षासंगै आएको बाढीले फोहोर थोपरेको एक सातापछि विराटनगरको फोहोर संकलन गरेर व्यवस्थापन गर्नका लागि जनप्रतिनिधी र सुरक्षा अधिकारीहरु आफै ‘फिल्ड’ मा खटिन थालेका हुन्। हातहातमा ग्लोब्स लगाएर सडक र सडकको किनारा एवं घरघरका पेटीमा थुप्रिएका फोहोर उठाउन उच्च अधिकारी खटिन थालेका हुन्। फोहोर व्यवस्थापनमा आफै उपस्थित हुन थालेको भन्दै विराटनगर बासीले जनप्रतिनिधी र सुरक्षा अधिकारीको प्रशंसा गर्न थालेका छन्।

मेयर पराजुलीले बाढीले सबै भन्दा बढी फोहोर थोपरेको ठाउँलाई प्राथमिकतामा राखेर व्यवस्थानको काम सुरु गरिएको बताए। ‘विराटनगरमा धेरै फोहोर थोपरिएको छ । वर्षा र बाढीका कारण सातादेखि फोहोर उठाउन सकिएको छैन,’ उनले भने, ‘फोहोर नउठ्दा मानविय स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । सडकमा थोपरिएको फोहोरले मानिसलाई आतजावत र सवारी साधनलाई आवागमनमा समेत समस्या हुँदै आएको छ ।’

फोहोरका कारण जनतामा कुनै पनि समस्या नहोस भनेर सर्वपक्षिय सहमतिमा फोहोर व्यवस्थापनको काम सुरु गरिएको जानकारी पराजुलीले दिए। यसलाई अभियानकै रुपमा अघि बढाइएको जानकारी दिंदै उनले फोहोर व्यवस्थापन नहुन जेल सम्म निरन्तरता दिइरहने बताए।

फोहोर व्यवस्थापनका लागि पहिलो चरणमा तीन ठाउँमा नगरपालिकाका कर्मचारी सहितको अलगअलग टोली परिचालित छ। सुरक्षाकर्मीलाई पनि अलगअलग ठाउँमा परिचालन गरिएको छ। विराटनरको बरगाछीदेखि रोडशेष सम्म सशस्त्र प्रहरी, तीनपैनीदेखि रोडशेष सम्म नेपाल प्रहरी, हनुमानस्थानदेखि सिंघिय खोला सम्म नेपाली सेनाको टोली परिचालित छ।

सशस्त्रको नेत्रृत्व सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख भेषबहादुर शाहा, नेपाल प्रहरीको नेत्रृत्व मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी र सेनाको नेत्रृत्व सूर्य दल गण थालाहाका प्रमुख सेनानी इन्दिबर विष्टले गरेका थिए। सुरक्षा अधिकारीले नेत्रृत्व गरेको सुरक्षाकर्मीको टोलीमा सरफाईका लागि ठूलो संख्यामा नगरपालिकाका कर्मचारी पनि परिचालित रहेको एसपी बिसीले बताए।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राई र पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख डीआईजी जानकीराज भट्राईले सबै ठाउँमा थुप्रिएको फोहोर संकलनमा जुटेर सर्वसाधारणलाई सम्भावित जोखिम र फैलन सक्ने विभिन्न रोगको महामारीको संक्रमणबाट जोगाउन सक्रियता बढाउन मातहतका युनिटहरुलाई निर्देशन समेत दिएका छन्। मेयर पराजुली र प्रजिअ आचार्यले विराटनगरका सबै ठाउँमा पुगेर फोहोर संकलनमा सहयोग गर्दै फोहोर व्यवस्थापनको अनुगमन पनि गरेका थिए।

सरसफाईमा सक्रिय टोलीले आइतबार मात्रै विराटनगरमा थुप्रिएको मध्ये एक सय १० मेट्रिक्टन फोहोर संकलन गरेर ब्रहम्मापूरा स्थित डम्पिङ साईडमा व्यवस्थापन गरिएको जानकारी मेयर पराजुलीले दिए। कुहिने र नकुहिने फोहोरलाई अलगअलग रुपमा संकलन गरेर व्यवस्थापन गर्न थालिएको उनले बताए। विराटनगरमा सामान्य अवस्थामा दैनिक ७० मेट्रिक्टन फोहोर उत्पादन हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.