सांसदका तीज : नगरौ तीज मेला
पहाडमा जन्मेकाले नेवार भए पनि क्षेत्रीबाहुनले मनाउने सबै चाडपर्व उनको परिवारले पनि मनाउने गथ्र्यो । तर, नेपाली काँग्रेसकी सांसद ओमदेवी मल्ललाई आमाले व्रत बस्नु भने पनि तीजमा व्रत बस्ने र नाँच्ने रहर खासै जागेन । पछि गएर तीजमा साथीभाइलाई शुभकामना आदानप्रदान गर्ने र व्रत बस्ने गरे पनि पञ्चमी पूजा भने उनले पोहोरदेखि मात्रै लगाउन थालेकी हुन् । तर, यसपालि बाढीमा मुलुक डुबेको अवस्थामा तीजको रमझममा भुल्ने मन उनलाई छैन । तराईमा आएको बाढीले कतिको काख रित्तिएको छ भने कतिको सिन्दूर पुछिएको छ । त्यसैगरी वर्षभरि खाने अन्नबाली बाढीले सिध्याएको छ ।
यस्तो अवस्थामा तीजमा रमझम गर्ने पैसा बचाएर बाढीपीडितका लागि सहयोग गर्नसके त्योभन्दा बढी पुण्य कुनै कुरामा हुँदैन जस्तो लाग्छ उनलाई । ‘एक लाखभन्दा बढी घर खत्तम भइसके, अहिलेसम्म उद्धारसम्म गर्न सकिएको छैन । खाना त परै जाओस् पानी पनि पिउन पाएका छैनन्', सांसद मल्लले भनिन्, ‘सकेसम्म पानी र सुक्खा खाना भए पनि पुर्याउनुपर्छ भनेर हामीले सरकारसँग माग गरेका छौं र आफूले पनि तीजको खर्च जोगाएर पीडितमाझ पुर्याउने प्रयास गरौं ।' तीजको दिनमा सबै महिला कर्मचारीलाई बिदा दिए पनि आफू कार्यालय गएर काम गर्ने गरेकी मल्लले बेलुकी आरती गरेपछि मि श्री काँढा, दूध र फलफूल खाने गरेकी छन् ।
तीजको बेला नेपाली महिलाले व्रत बसेर आफ्नो पति र परिवारका लागि कामना गर्ने गरे पनि यसपटक बाढीपहिरोको मारमा परेका सम्पूर्ण नेपालीको सुखशान्तिको पनि कामना गर्ने निधो उनले गरेकी छन् । भूकम्पपछिका दिनहरूमा पाल टाँगेर भए पनि बस्ने ठाउँ थियो । तर, अहिले त्यो अवस्थासमेत नभएकाले बाढीपीडितका पीडा झनै गहिरो छ । यस्तो अवस्थामा पीडितलाई सकेसम्म कुन माध्यमले सहयोग गर्ने भन्नेमै व्यस्त रहनुपर्ने भएकाले तीजका कार्यक्रम भनेर अतिथि बोलाइएका कार्यक्रममा नजाने निर्णय उनले गरिसकेकी छन् । नेकपा एमालेका सांसद सिन्धु जलेसाले तीजकै अवसरमा म्युजिक भिडियोसमेत बजारमा ल्याइसकेकी छन् । हिजोआज पुरुषमात्रै नभई धेरै महिला पनि बिदेसिने क्रम बढेको छ ।
कोही घरेलु कामदार त कोही कुनै कम्पनीमा अनि कोही नर्स लगायतका पेसामा विदेश जाने गरेका छन् । जुनसुकै प्रयोजनका लागि गएको भए पनि कतिको घरबार बिग्रिएको त कतिको बालबच्चाको बिचल्ली भएको अनि कति त तनावका सिकार भएका छन् । यसरी बिदेसिएका महिलाको चकनाचुर भएको सपनालाई तीज गीतमार्फत प्रस्तुत गर्न खोजेको सांसद सिन्धुले बताइन् । तीजलाई लोकसाहित्यको विधाका रूपमा हेर्ने यी सांसदले तीजमा लोकलयमा आधारित गीत महिलामाझ ल्याउनुपर्छ भन्ने मान्यताले आफ्नै शब्द र लय संकलनमा बजारमा उक्त म्युजिक भिडियो ल्याएकी हुन् ।
‘नाच्न त नाचिन्थ्यो तर फुर्सद छैन', जिल्लाका कामले व्यस्त गायिका सांसदले तीज मनाउन फुर्सद नभएको गुनासो यसरी पोखिन् । आफ्नो पदीय जिम्मेवारीले गर्दा सबैभन्दा ठूलो दायित्व जनताका समस्या समाधान गर्नु नै भए पनि संस्कृति जगेर्ना गर्नका लागि बोलाएको ठाउँमा भ्याएसम्म जाने गरेको उनले बताइन् । प्रगतिवादी धारबाट आएका कारण उनले व्रत भने आजसम्म बसेकी छैनन् । व्रत बसेर धर्म हुन्छ भन्ने भन्दा पनि सन्देशमूलक गीत गाएर समाजलाई कसरी परिवर्तन गर्ने भन्नेमै उनी लागिन् । समयअनुसार सबै कुरा परिवर्तन हुनुपर्छ भन्ने उनको पनि सोच हो । तर, परिवर्तनको नाममा तीजलाई भड्किलो पारेर परम्परामा विकृति भित्र्याउनुभन्दा यसलाई सभ्य र सुसंस्कृत पारामा मनाउनुपर्छ भन्ने उनको मान्यता छ ।
माइतीमा छँदादेखि नै आमासँगै तीज मनाउँथिन् नेपाल लोकतान्त्रिक फोरमकी सांसद कल्पना चौधरी । परम्परादेखि चलिआएको चलन भएकाले दर खाने, व्रत बस्ने र ऋषिपञ्चमीको पूजासमेत गर्छिन् उनी । तर, यो अन्य कुनै कारणभन्दा पनि विशुद्ध रूपमा संस्कृति बचाउनमात्रै गरेको उनको भनाइ छ । महिलाले पतिका लागि दिनभर निराहार व्रत बस्ने चलन महिला सशक्तीकरणका विरुद्ध रहेको ठान्ने यी सांसदले भने पानी र फलफूल खाएर व्रत बस्ने र आफ्नो घरपरिवार र देशकै भलाइको कामना गर्ने गरेकी छन् । यसपालि बाढीले उठिबास लगाएकाले तीज मनाउने जाँगर उनमा पनि खासै छैन । तथापि सामान्य रूपमा साथीभाइलाई शुभकामना दिएर वर्ष दिनको चाडलाई सुखशान्तिको चाडका रूपमा होहल्ला नगरी मनाउन उनले सुझाव दिइन् ।
काठमाडौंमा मात्रै नभई हिजोआज अन्य जिल्लामा पनि बजारतिर तीजमा निकै तडकभडक गर्ने चलन बढेको छ । तर, यो तडकभडकले आजसम्म छुन सकेको छैन जुम्लाकी माओवादी सांसद गोमा कुँवरलाई । बाटोमा हिँड्दै गर्दा कहिलेकाहीँ उनी पनि नाचगान देख्छिन् । यसो नजर लगाइहाले पनि समय दिएर नाच हेरिरहने उनको बानी छैन । महिलाले वर्षभरि गरेका पाप काटेर पुण्य कमाउन तीजमा पूजााआजा गर्ने भन्ने धार्मिक मान्यता छ । यो पटक्कै चित्तबुझ्दो नभएको बताउँदै उनले प्रश्न गरिन्, ‘पुरुषले गरेको पापका लागि पुण्य कमाउन के गर्ने त ? ' रक्सी खाएर आएर सधैं पत्नी पिट्ने पतिकै लागि निराहार व्रत बस्नुपर्ने चलनलाई उनी अन्यायपूर्ण संस्कारको संज्ञा दिन्छिन् ।
सानैमा भूमिगत भएकी गोमाले ठूलो हुँदै जाँदा यो विभेदपूर्ण रहेछ भन्ने पनि बुझ्दै गइन् । त्यसैगरी घरमा आमाले पनि खासै नमनाउने हुनाले उनलाई तीजको रमझमले कहिल्यै छोएन । काठमाडौंका धनीलाई तीज गहना र सारी प्रदर्शन गर्ने मेलाजस्तो भए पनि गरिबलाई आफ्नो गीत गाउने कला हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन लाजमर्दो अवस्था भएकाले यसले समाजमा विभेद भित्र्याउने उनको धारणा छ ।