तीज गीतमा मौलिकता कहाँ छ ?
‘यसपालिको तीजमा तपाईं दोहोरी गीतमा नाच्ने कि रत्यौली गीतमा ? तीजका गीत त बजारमा पाइँदैनन् ।' नेपाली लोक गीत-संगीतबारे राम्रै जानकार एकजनाले यस्तो टिप्पणी गरे । उनको यो टिप्पणीअनुसार पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् भन्ने प्रस्ट हुन्छ । ‘तीज आउनु डेढ महिना अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन्', उनले थपे, ‘तर तीजको मर्म बोकेका गीत भेट्न भने शिला खोजेसरी खोज्नुपर्छ ।'
त्यसो त गायिका बिमाकुमारी दुरा पनि तीजका नाममा बनेका गीत हेर्न त के सुन्न पनि नसक्ने गुनासो गर्छिन् । उनको विचारमा तीज गीतका नाममा उच्छृंखल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढी आएको छ । तीजको गीतमा यसरी विकृति फैलनुमा सञ्चारमाध्यमकै कमजोरी देख्छिन् गायिका चन्द्रकला शाह । ‘तीजका अवसरमा आएका अधिकांश गीत रत्यौली शैलीका छन्', शाहको ठम्याइ छ, ‘यिनलाई सञ्चारमाध्यमले अनावश्यक प्रचार गरिदिएका छन् ।'
पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ । संगीतदेखि भिडियोसम्म धेरै पैसा खर्च गरेर तयार हुने गरेका छन् । ‘प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला । तर, यही कारणले संस्कृति मास्न हुँदैन', शाह तर्क गर्छिन् । निजी सञ्चारमाध्यमले त बजारलाई ध्यानमा राखेर यस्ता गीत बजाउलान् । सरकारी सञ्चारमाध्यमसमेत जिम्मेवार नभएकोमा शाहको चित्त दुखेको छ । भन्छिन्, ‘सरकारले त मौलिक गीतको सम्बद्र्धन गर्नुपर्ने हो ।' उनको पालामा देवीदेवताका नामकरण गरेर गीत गाउने चलन थियो । सुख, दुःख र पीडाका गीतहरू गाइन्थे । भन्छिन्, ‘अहिलेका मान्छेको अगाडि त्यस्तो गीत गाए ‘के गाएको होला' भन्छन् ।'
तीज गीत भन्नासाथ जोडिएर आउने अर्को नाम हरिदेवी कोइराला हो । धेरै समयसम्म हरिदेवीले तीज गीतमा एकछत्र राज गरिन् । एउटा पुस्ता उनकै गीतमा नाचेर तीज मनाई हुर्कियो । सामाजिक र पारिवारिक सन्दर्भलाई जोडेर तयार गरिने उनका गीत घर, परिवार सबैतिर उत्तिकै लोकप्रिय हुन्थे । चेलीको मर्म, दुःख, सुख, खुसी, उमंग र दैनन्दिनको जिन्दगीका सास्तीहरू उनका गीत विषय हुन्थे ।
पछिल्लो समय तीज गीत आफ्नो सन्दर्भबाट टाढा पुगेको गुनासो छ उनको । ‘अहिले त एकअर्काको देखासिकी छ, शिष्टता नै छैन', कोइरालाको टिप्पणी छ । तीज पारिवारिक चाड हो । तर यति बेला बजारमा आएका गीत परिवारसँग बसेर हेर्नलायक नभएको हरिदेवीको गुनासो छ । त्यसो त उच्छृंखलताको भीडमा उनले फाट्टफुट्ट राम्रा गीत पनि भेटेकी छन् । मौलिकता बचाउने गीत आइदिए हुन्थ्यो भन्ने कामना उनी हरेक वर्ष गरिरहन्छिन् । भन्छिन्, ‘गीतमा हाम्रा व्यावहारिक पक्ष समेटिए हुन्थ्यो ।'
गायिका मीरा गिरीले मायाप्रेममा आधारित तीज गीत ल्याएकी छन् । नाच्न मिल्ने छँदैछ, तीजको विषयमा तयार भएको गीत मौलिक भएको दाबी उनको छ । अर्की गायिका सुनिला गुरुङले देशविदेश घुम्ने र घुमाउने विषयमा तीज गीत निकालेकी छन् । तीजका केही विषय घुसाएपछि तीज गीत भइहाल्ने तर्क पछिल्लो पुस्ताका तीज गायिकाहरूको छ । मीरा भन्छिन्, ‘पुरानै शैली अपनाएर भएन, स्टेज कार्यक्रमलाई ध्यानमा राखेर गीत बनाउनुपर्छ ।' सुनिला भने पुरानै पुस्ताले तीज गीतमा विकृति ल्याउने काम गरेको आरोप लगाउँछिन् । अहिलेको पुस्ताले त्यसैलाई पछ्याएको उनको ठम्याइ छ । समयले ल्याएको परिवर्तनसँगै गीतको शैली पनि फेरिएको यी गायिकाहरूको तर्क छ ।
लोक गीत अनुसन्धाता नवीन खड्काका अनुसार नेपाली लोकगीतहरू मुख्यतः निर्गुण र विरहनी भाकामा गाइन्छ । निर्गुणमा धार्मिक गीतहरू पर्छन् । देवीदेवताका नाम लिएर तीज गीत गाउने चलन छ । तीजका गीत विशेष गरी संगिनी भाकामा गाइन्छ । पहिले तीजमा मेलापात, घाँसदाउरा र घरव्यवहारका विषय हुन्थे । अहिले समय फेरिएको छ । यो परिवर्तनलाई तीज गीतले न्याय गर्न सकेको छैन । समसामयिक विषयवस्तुभन्दा उच्छृंखलता भएका गीत बढी आएको उनको ठम्याइ छ । ‘ती त तीज गीत नै होइनन्', खड्का भन्छन् ।
हुन त परिवर्तन हरेक थोकको विशेषता हो । समयक्रमसँगै सामाजिक, राजनीतिक व्यवस्था त फेरिन्छ भने गीतसंगीतमा परिवर्तन नआओस् भन्ने कामना आफैंमा अप्रगतिशील हुनसक्छ । हिजोजस्तै आज पनि तीज गीत भन्नासाथ बुहारीहरूको गुनासो र रोइकराई हुनुपर्छ भन्नु उचित नहुनसक्छ । प्रश्न यत्ति हो, परिवर्तित समयलाई आधुनिक तीज गीतले कत्तिको सम्बोधन गर्न सकेका छन् ?
समयसँगै आएको विकासको, चेतनाको विषयलाई तीज गीतमा समेट्नुको साटो सस्तो हास्यव्यंग्य सिर्जना गर्न कलाकारहरू हौसिएको पुराना पुस्ताका राम्रा मानिएका गायक-गायिकाको टिप्पणी छ । श्रीमान् श्रीमती, प्रेमीप्रेमिकाको विषयमा बनेका अधिकांश तीज गीतले सम्बन्धको खिल्ली उडाएका छन् । जाँडरक्सी, गहना, पहिरन, मोबाइलजस्ता विषयमा हलुका गीतहरू बनेका छन् । ‘रक्सी खार झ्याप', ‘मेरा भेना लाहुरे', ‘नाच्दानाच्दै लभ पर्यो झन्डै उडाइयो' जस्ता गीतले तीजलाई कहाँनिर समेटेका छन् ? प्रश्न उठ्नु अस्वाभाविक होइन ।
तीजको नाममा कति गीत बनेका छन्, कुनै रेकर्ड छैन । गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म भएको खर्चको हिसाब राख्ने कुनै आधिकारिक निकाय पनि छैन । विडम्बना के हो भने यो खर्चले हाम्रो संस्कृतिलाई थोरै भए पनि जगेर्ना गर्नुको साटो झनै कमजोर बनाइरहेको छ । पैसा खर्च गरेपछि जोकोही पनि कलाकार बन्न सक्छन् भन्ने मान्यताले जरो गाड्दै गएकाले पनि कलाकारमा बजारकेन्द्रित सोच बढी र सामाजिक उत्तरदायित्व कम हुँदै गएको एकथरी विश्लेषकको टिप्पणीलाई पूरै गलत मान्न सकिँदैन ।
अरू बेलामा आफ्ना कथाव्यथा पोख्न नपाएका महिलाले तीजका अवसरमा मनको भाव व्यक्त गर्ने मौकाका रूपमा तीज मनाइँदै आएको छ । अहिले महिलाहरू सक्षम भएका छन् । उनीहरूलाई पहिलाको जस्तो समस्या नहोला तर समाजमा अझै थुप्रै विषय ज्यूँका त्यूँ छन् । सधैं रुने रुवाउने गीत गाएर पनि साध्य हुँदैन । अबको तीज गीत दुःखमा रहेका, हरेश खाएका महिलालाई प्रेरित गर्ने खालको हुनुपर्छ भन्ने आवाज युगकै आवाज हो । अहिलेका गीतले तीज केका लागि मनाउने हो भन्ने कुरै बिर्सिएजस्तो छ । पहिले मेलापात गर्ने महिलालाई माइत जाने र मीठोमसिनो खाने, दुःखसुख पोख्ने चाड थियो भने अहिलेका कामकाजी महिलाका लागि कार्यव्यस्तताबाट फुक्काफाल भएर दिदीबहिनीसँगको जमघट र रमाइलो पर्व हो तीज ।