तेस्रोलिंगी छोरीहरुको तीज मम्मी पिंकीसँग

तेस्रोलिंगी छोरीहरुको तीज मम्मी पिंकीसँग

नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई यसपालिको तीज सेलिब्रेसन अरू बेलाभन्दा कसरी फरक बनाउन सकिन्छ भन्ने पिरलो परेको छ । योपटक केही नयाँ गरौं भन्ने सोचिरहेकी छन् उनी । तेस्रोलिंगी समाजका सम्पूर्ण छोरीहरूको आमाको भूमिकामा रहेकी पिंकीलाई थुप्रै तेस्रोलिंगी छोरीहरूलाई दर खुवाउनु त छँदैछ, दरसँगै अरू के रमाइलो गर्ने भन्ने सरसल्लाहमा पनि व्यस्त छिन् उनी । उनका छोरीहरूले सोध्न थालिसके- मम्मी सारी किन्ने कि अरू नै लगाउने ?

घरपरिवार र समाजले तेस्रोलिंगी समाजलाई बहिष्कार गर्ने भएकाले आफ्ना थुप्रै छोरीहरूले तीज, दसैं, तिहारजस्ता राष्ट्रिय पर्वहरूमा न्यास्रो मानेको गुरुङले बताइन् । उनी भन्छिन्, ‘यस्तो बेलामा यो समुदायका साथीहरू एक्लो महसुस गर्छन् । त्यसैले सबैको दुःखपीडा भुलाउन एकअर्काको समस्या सुन्दै तीज मनाउने गरिएको हो ।' उनले महिलाहरूले जस्तो बूढाले, सासूले गरेको खटनपटन र दुव्र्यवहारको बिलौना नगर्ने बताइन् । ‘हाम्रो विवाह पनि हुँदैन, माइत पनि जाँदैनौ । ब्लु डायमन्ड सोसाइटी माइतीघर हो, पीर बिसाउने ठाउँ । त्यसैले सबै यहीँ जम्मा हुन्छौं', उनले भनिन् ।

लमजुङ बिचौर घर भएकी पिंकीले २९ वर्षको उमेरसम्म आफ्ना इच्छा आकांक्षालाई दबाएर राख्नुपर्दाको पीडा भुलेर यस्ता खालका चाडपर्व मनाउनुमा छुट्टै रमाइलो लागेको बताइन् । आफ्नो जस्तै पीडा भोग्ने अन्य साथीहरूका लागि पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको हो, नीलहीरा समाजले । परिवारको सम्झना आउने तर घर जान नसक्ने अवस्था हुन्छ । उनका अनुसार नीलहीरा समाजले तीजमा खुला निमन्त्रणा गर्छ । करिब दुई सयलाई पुग्ने खानेकुराको चाँजोपाँजो पनि मिलाएको हुन्छ । सबैजना चिटिक्क परेर आउँछन्, बेस्सरी नाच्छन् । प्रेमी र श्रीमान् हुनेले व्रत बस्छन् । शिवको मन्दिर जान्छन् । चिटिक्क परेर सिँगारिन्छन् । पिंकीलाई भने खासै मेकअप गर्न आउँदैन । उनले केवल फाउन्डेसन र गाजल लगाउने गरेको बताइन् ।

नीलहीरा समाजको स्थापनाकालदेखि नै आबद्ध भएकाले पिंकीको काम भनेको यो समुदायका सबैलाई राम्रो बाटो देखाउने, सम्झाउने, सिकाउने पनि हो । अरूभन्दा उमेरले पनि पाको भएकाले उनलाई मम्मी भन्ने गर्छन् अरू । धेरैले मम्मी भनेर सम्बोधन गरेकोमा आफूलाई खुसी लागेको पिंकीले बताइन् ।
परम्परा र संस्कृति जोगाउने नाममा नचाहिँदो ढोंगचाहिँ गर्न नहुने उनको तर्क छ । उनी भन्छिन्, ‘मेरो आमाले बुवाका लागि व्रत बसेको, खुट्टाको पानी खाएको कहिल्यै देखिनँ तर जीवनकालमा बाआमाले झगडा पनि गर्नुभएन ।'

अनावश्यक रूपमा परम्परालाई मोड्दैमा सम्बन्ध राम्रो नहुने उनी बताउँछिन् । भन्छिन्, ‘माया, सद्भाव, स्वच्छता हुन्छ भने त्यसैमा भगवान् हुन्छ ।' त्यसैले उनलाई कसैका लागि व्रत बस्न मन लाग्दैन । तेस्रोलिंगी महिलालाई खुलेर स्वीकार गर्ने कोही लोग्नेमान्छे नदेखेपछि उनलाई सम्बन्धमा रहिरहन पनि मन लागेन । उनी दोस्रो पुस्ताको मार्गनिर्देशक बन्दैछिन् ।

तेस्रोलिंगी व्यवसायी मेघना लामाले आफ्नै रेस्टुरेन्ट पिंक टिफानीमा दर कार्यक्रम गर्ने तयारी गरेकी छन् भने तीज मनाउन मम्मी पिंकीसँग नीलहीरा समाज जाने तयारीमा छिन् । यसपटकको तीजमा आफ्नो प्रेमीको लामो आयुका लागि व्रत बस्ने योजना रहेको उनले बताइन् । उनको प्रेमी हाल नेपालबाहिर भए पनि उनको सुस्वास्थ्य र दीर्घायुका लागी आफू व्रत बस्न चाहेको उनले बताइन् । सबै रंगीविरंगी सारी, कुर्ता लगाएर पशुपति जान रमाइलो हुन्छ । तीजलाई उनी खुसी व्यक्त गर्ने दिनका रूपमा हेर्छिन् । यसपटक पनि अरू बेलाजस्तै मम्मी पिंकीसँग तीजमा नाच्न उत्साहित बनिसकेकी छन् ।

यसपटक मिस पिंक एनी लामाको तामझाम अगल छ । किनकि तीजमा ब्वाइफ्रेन्डको लामो आयु होस् भनेर व्रत बस्ने तयारीमा छिन् उनी । उनले तीजमा सारी, कुर्ता लगाएर चिटिक्कै पर्दा बेहुली भएको महसुस हुने बताइन् । आफूले डिजाइन पढ्दै गरेकाले आफंैले डिजाइन गरेको पहिरन लगाउन मन पराउँछिन् उनी । सारी लगाउन राम्रो लागे पनि उनलाई सारी सम्हाल्न आउँदैन ।

उनले सारीलाई सेक्सी ड्रेसका रूपमा चित्रण गरिन् । सारी परम्परागत सुन्दर पहिरन हो । तीजको दिन भने नीलहीरा समाजमा पुग्छिन् । नाच्दै, गाउँदै दर खान खुब रमाइलो लाग्छ उनलाई । साथीहरू सबै मिलेर मम्मीसँग दर खान झनै रमाइलो लाग्ने उनले बताइन् । सबै मिलेर सुखदुःखको कुरा गर्ने, साथीसंगीहरूसँग मनका कुरा सेयर गर्न पाउँदा मन हलुका पनि हुन्छ । तीजमा मटर पनिर, चिकेन कबाब, आलु तामालगायतका स्वादिला खानेकुरा पनि बनाउने गरेको उनले बताइन् । ‘यस्ता चाडपर्वमा झनै हामीहरूले साथ खोजिरहेका हुन्छौं', एनीले भनिन् ।

तेस्रोलिंगीका रूपमा राम्ररी खुलिनसकेकी चितवनकी खुश्बु गुरुङले भने अन्नपूर्णसँग फोटोसेसन पनि गराइन् । उनलाई खुल्न मन छ तर घरमा भन्न सकेकी छैनन् । परिवारले जे भने पनि खासै पर्वाह नभएको बताउँदै उनले भनिन्, ‘यसपटक तीज मनाउने हो । तीजका लागि लेहेंगा पनि तयार गरिसकेँ ।' उनी पनि ब्लु डायमन्डलाई आफनो घरजस्तो मान्छिन् भने पिंकीलाई मम्मी नै भन्छिन् । पहिलोपटक खुलेर तीज मान्न आतुर रहेकी छन् उनी ।

पाटन मंगलबजारकी रुक्साना कपाली नीलहीरा समाजमा ६ महिनादेखि आबद्ध छिन् । अठार वर्ष पुगेकी उनले नेवारी समाजमा हुर्किएकाले तीजको बारेमा धेरै जानकारी नभएको बताइन् । उनले यसपटकको तीजमा केही सिक्दै रमाइलो गर्ने अपेक्षा राखेकी छन् । नीलहीरा समाजमा उनले तेस्रोलिंगीको हकअधिकारका विषयमा रेडियो कार्यक्रम बनाउँदै आएकी छन् ।

मेघना, एनी, खुश्बु, शिला, रुक्सानाजस्ता दोस्रो पुस्ताका तेस्रोलिंगी छोरीहरूले समाजलाई चुनौती दिएर आफ्नो पहिचानका लागि यही समाजमा स्थापित हुन चाहेका छन् । यसका लागि मम्मी पिंकीले निर्माण गरिदिएको मार्गदर्शनले अझ सजिलो भएकोमा सहमति जनाउँछन् उनीहरू । तेस्रोलिंगीहरूको पनि अरूको जस्तै चाहना र रहर हुन्छ । दुःख र पीडा हुन्छ । त्यसलाई व्यक्त गर्न चाहन्छन् उनीहरू । अनि चाडपर्वमा रमाउन चाहन्छन् भन्ने सन्देश दिन चाहेका छन् । यस्ता संस्कारले आफूहरूलाई समाजमा स्थापित गर्न झनै सहयोग पुग्ने अपेक्षा राखेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.