बदलिँदो फेसन
महिलाको स्वतन्त्रताको चाड मानिने तीजमा उनीहरूले खुलेरै किनमेल गर्न थालेका छन् । हरेक वर्ष तीजमा नयाँनयाँ फेसन आइरहेका हुन्छन् । काजल क्रिएसनकी फेसन डिजाइनर काजलले यसपालि धेरै लेहँगा बनाएकी छन् । यसपालि सारीभन्दा लेहँगाको फेसन चलेको छ ।
धागोको वर्क गरिएको लेहँगा उनको नयाँ डिजाइन हो । रातै रङ भन्ने छैन । बीचमा हरियो, रातोमा रानी, आकाशेजस्ता रङको संयोजनको नौलो प्रयोग रुचाइएका छन् । तीज आउनुभन्दा एक महिना अघिदेखि काजललाई फुर्सद नै छैन । अहिले महिलाहरू साधारणभन्दा डिजाइनर पहिरन लगाउँछन् । भीडमा फरक देखिने रहर सबैको हुन्छ । गाउन, स्पेसल सारी पनि महिलाको रोजाइमा परेका छन् ।
काजलले यसपालि अर्को नयाँ डिजाइन पनि सिर्जना गरेकी छन् । धोतीवाला कुर्ता सुरुवाल विथ आँचल । जिपर भएको सारी तीजको फेसनमा निकै माग भएको काजलले बताइन् । लगाउन सजिलो, लगाएर नाच्न सजिलो भएकाले जिपरवाला सारी धेरैले मन पराएका छन् । युवतीहरूले छोटो ब्लाउज र लेहँगा मन पराएका छन् । टमी देखाएर लगाउने लेहँगा युवतीहरूको रोजाइमा परेको छ ।
अलि लामो ब्लाउज र लेहँगा प्रौढ महिलाहरूले मन पराएका छन् । डिजाइनर पहिरन बनाउन धेरै खर्च लाग्छ भन्ने सोचिन्छ । अहिले कम मूल्यमा पनि डिजाइनर पहिरन बनाउन सकिन्छ । थोरै पैसामै अरूभन्दा फरक देखिन सकिने काजल बताउँछिन् । उनले यसपालि आठ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँसम्मका सारी बनाएकी छन् । लेहँगा भने २० हजार रुपैयाँसम्मका छन् ।