फेरिँदै तीज शैली

फेरिँदै तीज शैली

आध्यात्मिक सोचकी उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा तीज धार्मिक आस्थाका साथ मनाउने योजनामा छिन् । उनको शब्दमा तीज व्रत बस्ने, शिवजीको पूजा गर्ने, आफन्त तथा साथी भेटघाट गर्ने पर्व हो । तर, यस वर्ष तीजको मुखैमा देशमा महाविपद् आइलागेको छ । बाढीपहिरोका कारण गाँस न बास भएर मानिसको बिचल्ली भएको छ ।

दिदीबहिनीहरूले तीजका धेरै खर्च कटौती गरेर सघाउन आएकोमा खुसी व्यक्त गर्दै उनले भनिन्, ‘शुक्रबारमात्रै डेढ करोड रुपैयाँ संकलन भयो, यसअघि एक करोड ।' १० करोड रुपैयाँ सहयोग जुटाउने अभियानमा लागेको उनले बताइन् । तीजमा गरिने खर्चलाई केही कम गरेर भए पनि उनीहरूको सहयोग जुट्नुपर्ने उनको भनाइ छ ।

बाढीपहिरोले बिचल्ली भइरहेको बेला तीजलाई तडकभडकभन्दा पनि सामान्य रूपले मनाएर पीडितको सहयोगमा जुट्न उनले महिला दिदीबहिनीलाई आग्रह गरेकी छन् । तीज महिलाका लागि विशेष पर्व हो । तीज नेपाली महिलाको शक्ति, स्वतन्त्रता र संकल्पको चाड भनिए पनि पछिल्लो समय तीजको शैली फेरिएको छ । परम्परागत धार्मिक आस्थाभन्दा पनि तीजका नाममा विकृतिहरू देखिन थालेका छन् । पुराना परम्परा विस्थापित भएका भएका छन्, तीजको दर पाँचतारे होटल र विभिन्न पार्टी प्यालेसमा हुन थालेको छ । फेसन सो गर्ने पर्वका रूपमा तीज विकास हुँदै गएको छ ।

धार्मिक आस्था र आफन्तसँगको भेटघाटका रूपमा लिने भनिए पनि आजकल तीज सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । परम्परागत चाडमा निराहार व्रत बस्ने प्रचलन कम हुँदै गएको छ । एक महिना अघिदेखि गरिने तीजको खर्चले विपन्न वर्गका महिलालाई मात्र नभई सम्पन्न कामकाजी महिलालाई समेत पिरोल्न थालेको छ ।

एक महिना अघिदेखि दर खाने÷खुवाउने परम्पराले समाजमा विकृति नै ल्याएको एभरेस्ट इन्सुरेन्सकी कन्सलटेन्ट रमा दाहाल बताउँछिन् । रमाइलो गर्ने बहानामा भड्किँदै गएको तीजले कमजोर आर्थिक अवस्था भएका महिलामा मनोवैज्ञानिक असर सिर्जना गरिदिएको उनको भनाइ छ । ‘अरूलाई असर नपर्ने गरी आफ्नै रीतिरिवाज, हैसियत र परम्पराअनुसार तीज मनाऊँ', उनले भनिन्, ‘व्रत बस्नुपर्छ, रमाइलो गर्नुपर्छ ।' भगवान्प्रति आस्था पनि छ । धर्म तथा संस्कृतिलाई जोगाएर राख्न भए पनि यस्ता पर्वको प्रवद्र्धन गर्नुपर्छ । सन्तुष्टि र वर्षभरि आफूबाट भएका गल्तीहरूमा माफ पाऊँ भनेर उनी पञ्चमी पूजा लगाउँछिन् । तिजमा आफन्तलाई कपडा र अन्यलाई चुरापोते जस्तो सौभाग्यका सामग्रीहरू बाँड्छिन् । आफ्नो लागि भने कपडा किन्ने गरेकी छैनन् ।

तीज खुसियालीको पर्व भएकाले माइती आएकी चेलीलाई मिष्ठान्न खुवाएर रमाइलो गर्न सुरु गरिएको हो । पुर्खाहरू खेतीबारीमा व्यस्त रहने हुँदा महिलालाई एक दिन आराम गरेर रमाइलो गराउने उद्देश्यले सुरु भएको दर खुवाउने चलन अहिले भने पार्टी प्यालेस र होटेलहरूमा भव्य रूपमा हुने गरेको छ । आफ्नो हैसियत बिर्सेर नयाँ डिजाइनका कपडा र गरगहनाको प्रदर्शन गर्न महिलाहरू प्रतिस्पर्धी बनेको देखिन्छ ।

हाम्रो अमूल्य समयलाई क्षमता वृद्धि र सीप विकासमा लगाएर प्रतिस्पर्धी बन्नुपर्ने सन्देश नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको छ । ‘टेलिकममा पनि आइतबार तीज कार्यक्रम मनाइयो', उनले भनिन्, ‘सबै कार्यालयमा अहिले तीज कार्यक्रम मनाउने चलन चलेको छ ।' यो ठीक हो तर भड्किलो पाराले नमनाउन उनको आग्रह छ । तीजलाई पनि सिर्जनात्मक रूपमा विकास गर्न सक्नुपर्छ, न कि लिनेदिने पर्वका रूपमा । सधैं महिलाहरू आरक्षणका भरमा माथि जाने होइन, शिक्षा र सीप एवं बौद्धिकताले अघि बढ्नुपर्ने उनको भनाइ छ ।

चाडपर्व आआफ्नो स्तरअनुसार मनाउन पाउनुपर्छ । त्यसो भन्दैमा टोल थर्काएर दिनरात दर खुवाउँदा अन्य छिमेकलाई असर पर्छ भन्ने जिम्मेवारी बोध हुन आवश्यक छ । एकले अर्कासँग प्रतिस्पर्धा गरेर चाडपर्व मनाउँदा फजुल खर्चले गलत बाटोबाट भए पनि आयआर्जन गर्नैपर्ने सामाजिक दबाब बढाएको छ ।
तीजलाई सांस्कृतिक पर्वका रूपमा चिनिने भएकाले यसलाई मनाउनु परम्परा धान्नु पनि हो । विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र सफलताको कामना गर्दै र अविवाहित महिलाले भगवान् शिवजस्तै पति पाइने आस्थासँग तीज पर्व जोडिएको छ ।

आजकल महिला शिक्षित भइसकेका छन् । शिक्षासँगै महिलाको स्वतन्त्रता पनि बढ्दो छ । उनीहरू आआफ्नै शैलीमा परिवारसँग बसेर चाडपर्व मनाउन चाहन्छन् । तर पनि खर्चको हिसाब गर्ने हो भने तीज महँगो चाड बन्दै गएको छ । दरका रूपमा खाइने खीर, अचार, पुरी तथा तरकारी अब बिरानो भइसके । खीरको स्थान पुलाउले लिएको छ ।

शुद्ध शाकाहारी खाना खाएर मनाइने तीजमा अहिले मासुका परिकार जोडिन थालेका छन् । यसले आफ्नो स्तर कायम गर्ने दम्भ पनि महिलामा हुनसक्छ । नराम्रा पक्षलाई समयअनुसार सुधार्दै देशको पहिचान बोक्ने संस्कृतिलाई बचाइराख्न उत्तिकै आवश्यक भएको नेपाल क्रेडिट एन्ड कमर्स बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत वन्दना पाठकले बताइन् ।

‘तीजमा म पहिला निराहर व्रत बस्थेँ, पछि दूध र फलफूल खाएर बस्न थालेकी छु', उनले भनिन्, ‘व्रत वस्नु भनेको आस्था हो तर अहिले धान्नै नसक्ने गरी फेसनजस्तो भएको छ, योचाहिँ अनावश्यक विकृति हो । ‘पहिलाको तीज सम्झँदा अझै मन फुरुंग हुन्छ । पूजा लगाउँदा दियो नपुगेर प्लेटमा समेत बत्ती बाल्ने गरेको पाठकले बताइन् । ३०÷३५ जनाको समूह हुन्थ्यो अहिले त्यस्तो छैन, सबै आआफ्नै काममा व्यस्त छन् । पञ्चमीको पूजा सकिएपछि उनलाई सबैभन्दा बढी सन्तोष लाग्थ्यो । तीजको व्रतले सबै महिला दिदीबहिनीलाई उत्तरोत्तर प्रगतिको कामना गर्नुपर्ने उनले बताइन् ।

तीजमा विशेष गरेर सौभाग्यका सामानहरू साथी तथा इष्टमित्रमा आदानप्रदान गरिन्छ, यो अत्यन्न राम्रो पक्ष हो । यो सामीप्यताअनुसार दिने प्रचलन बसेको छ । तीजको विशेषता भनेकै माइत जाने, दर खाने, आफन्तसँग भेट्ने तथा रातै भएर सजिने हो । तीजलाई परिवारको सुखशान्ति तथा दीर्घायुको कामना गरी मनाइने पर्वका रूपमा लिने गरेको यूएनडीपीकी नेसनल प्रोजेक्ट मेनेजर सालिनी त्रिपाठीले बताइन् । ‘मलाई भगवान्प्रति श्रद्धा र आस्था दुवै छ । तीज म श्रद्धाका साथ मनाउँछु तर आफ्नो लागि भने केही पनि किन्दिनँ', उनले भनिन्, ‘तीजको नाममा नचाहिँदो फजुल खर्च गर्नु राम्रो होइन ।' त्योे खर्च अन्य क्षेत्रमा लगाएर आफू सक्षम बन्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय कार्यालयका पुरुष साथीहरूले महिलालाई दर खुवाउने चलन चलेको छ । यसले भ्रातृत्वको भावनालाई अझ प्रगाढ बनाएको छ । हिन्दुहरूले मनाउने भए पनि अहिले सबै धर्म र जातजातिले तीज मनाउने गरेका छन् । यसले सामाजिक सद्भाव जीवन्त राखेको छ ।

माइत आएकी चेलीलाई मिष्ठान्न खुवाएर रमाइलो गर्न सुरु भएको चाड हो, तीज । घरका सबै खेतीबारीमा व्यस्त रहने हुँदा महिलालाई एक दिन आराम गरेर रमाइलो गराउन सुरु भएको तीजको दर खुवाउने चलन अहिले भने पार्टी प्यालेस र होटेलहरूमा भव्य रूपमा हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.