नरेन्द्र मोदीमा डोभाल प्रभाव

नरेन्द्र मोदीमा डोभाल प्रभाव

दोस्रो विश्व युद्धपछिको जटिल राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा विदेश नीति, आन्तरिक र बाह्य सुरक्षा चुनौती र दायित्वहरूबारे गहन अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रपतिलाई सल्लाह दिने उद्देश्यले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले १९४७ मा राष्ट्रिय सुरक्षा परिषद् गठन गरेका थिए । उनका उत्तराधिकारी ड्वाइट आइजनहावरले १९५३ मा पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरे।

KESHAV-prd-bhattarai-copy_14हेनरी किसिन्जर जस्ता विश्व राजनीतिका मर्मज्ञ साथै ब्रेन्ट स्कोक्रफ्ट, जिबिग्न्यु ब्रिजेन्सकी, कोलिन पावेल जस्ता विदेश नीति, कूटनीति र सुरक्षा मामिलाका दिग्गजहरूले राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा विश्व राजनीति, कूटनीति र रणनीतिक परिवेशलाई नयाँ दिशा दिए । त्यसबाट आफू पनि बदलिए र अमेरिका र दुनियालाई पनि बदले ।

पीभी नरसिंह रावले भारतको आवश्यकता र उसको आकार, क्षमता र प्रभावअनुरूपको आर्थिक विकास र समृद्धिको ढोका खोले । मुलुकको आर्थिक सामथ्र्य बढ्नु भनेको उसका सुरक्षा चुनौती र आवश्यकताको पनि विस्तार हो । त्यसैले रावले सुरु गरेको भारतको विकास र समृद्धिको मार्गलाई निरन्तरता दिन अटलबिहारी बाजपेयीले सुरक्षा र विदेश नीतिमा नयाँ क्षितिज उघार्नु आवश्यकता देखे । १९९८ मा आणविक युद्ध क्षमता आर्जन गर्ने राष्ट्रहरूको सूचीमा सामेल भए ।

शीत युद्धको समाप्ति र सोभियत संघको विघटनले भारतले दुई दशकदेखि प्राप्त गर्दै आएको अघोषित सुरक्षा छाता हराएको थियो । त्यसले मूलतः एसिया र पूर्वी युरोपमा नयाँ भूराजनीतिक र रणनीतिक परिवेश निर्माण गरायो । अमेरिका सर्वशक्तिमान राष्ट्र बन्यो । ऊता पाकिस्तानको आणविक क्षमता र चीनको आर्थिक, राजनीतिक र सैनिक क्षमतामा असामान्य विस्तार हुँदै गएपछि भारतका आन्तरिक र बाह्य सुरक्षा चुनौतीहरू झनझन् जटिल बन्दै गए ।

त्यस अवस्थामा जुनसुकै प्रभाव, क्षमता र दक्षताको राजनीतिक व्यक्तिका लागि पनि राष्ट्रिय सुरक्षाका भिन्न जटिल पहलुहरूमा प्रवेश गर्न र तिनलाई उचित निष्कर्षमा लैजान सम्भव नहुने भएकोले भाजपाले आफ्नो १९९८ को निर्वाचन घोषणा पत्रमा राष्ट्रिय सुरक्षाका विभिन्न पक्षहरूबारे निरन्तर अध्ययन र विश्लेषण गर्ने, राजनीतिक तथा आर्थिक सुरक्षा खतराबारे सरकारलाई निरन्तर परामर्श दिने उद्देश्यको राष्ट्रिय सुरक्षा परिषद् स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

अगस्ट २०१४ का नरेन्द्र मोदीलाई नेपालले कसरी प्राप्त गर्ने ? भारतले तिनै मोदीलाई कसरी उपलब्ध गराउने ? यो दुई प्रश्नको उत्तर नेपाल र भारतले एक अर्कालाई दिन सके भने र त्यही अनुभव भारतले अन्य छिमेकीहरूसँग साझेदारी गर्न सकेमा भारतको विश्वशक्ति बन्ने मार्गमा क्षेत्रले बलियो सहयोग गर्न नसक्ने कुनै कारण देखिँदैन ।

निर्वाचनमा भाजपा विजयी भएपछि बाजपेयी सरकारले १९९९ मा राष्ट्रिय सुरक्षा परिषद्को गठन ग¥यो । लामो कूटनीतिक पृष्ठभूमिबाट भारतको विदेश सचिव र मुख्यसचिव समेतको अनुभव हासिल गरेका पुगेका ब्रजेश मि श्रलाई भारतको पहिलो राष्ट्रिय राष्ट्रिय सुरक्षा सल्लाहकार हुने सौभाग्य जुट्यो । उक्त सरकारमा मि श्र बाजपेयीपछिका दोस्रा शक्तिशाली मानिस मानिन्थे ।

बाजपेयीपछि मनमोहन सिंह प्रधानमन्त्री भए तर प्रधानमन्त्रीको शक्ति र सत्तामा कांग्रेस अध्यक्ष सोनिया गान्धीको शक्तिशाली साझेदारी रहेको अवस्थामा प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको शक्ति र प्रभाव स्वाभाविक रूपमा नियन्त्रित हुन पुगेको थियो । तर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले ब्रजेश मि श्रले भन्दा पनि बढी शक्ति र प्रभाव उपयोग गरिरहेका जानकारहरूले बताउने गरेका छन् । अमेरिकी साप्ताहिक ब्लुमबर्गमा नतालिए ओबिको पियर्सनले सेप्टेम्बर १९, २०१६मा डोभाललाई भारतको दोस्रो शक्तिशाली व्यक्ति बताएकी छन् ।
विश्वका सबै प्रमुख राष्ट्रहरूमा बृहत सञ्जाल बनाएको अमेरिकी पत्रिका बिजिनेस इनसाइडरमा इन्डिया ब्युरोले १९ सेप्टेम्बर २०१६ मा उल्लेख गरेअनुसार पनि डोभाल मोदीपछिका भारतका सर्वाधिक शक्तिशाली व्यक्ति हुन् ।

भारतको विदेश नीतिमा राष्ट्रिय सुरक्षा सल्लाहकारको हैसियतको एउटा उदाहरण हेरौं-
प्रधानमन्त्री अटलविहारी उदार भारतीय हिन्दु राष्ट्रिय चेतनाका प्रवक्ता थिए र नेपाली राजसंस्था प्रशंसक र प्रवल समर्थक थिए ।

तर प्रचण्ड र बाबुराम भट्टराईले ब्रजेश मि श्रसमक्ष नेपालका राजाहरू भारतको सुरक्षा र विकाससम्बन्धी महत्वपूर्ण हितहरूको विपक्षमा रहेकाले राजालाई हटाउन भारतले सहयोगगरेमा आफूहरू सधैं भारतका त्यस्ता हितहरूको पक्षमा रहने लिखित कबुलियतनामा गरेपछि ब्रजेश मि श्र नेपालमा राजसंस्था अन्त्य गर्न र माओवादीहरूलाई सहयोग र संरक्षण दिन तयार भए र बाजपेयीलाई समेत त्यसमा सहमत गराएको सिद्ध हुन आउँछ ।

विष्मयको कुरा के छ भने, प्रचण्ड र बाबुरामसँग बाजपेयी सरकारले नेपालबाट राजसंस्था अन्त्य गर्न माओवादीहरूसँग गुप्त सहमति गरेकोबारे भाजपाका वरिष्टतम् नेता तथा सरकारमा बाजपेयीपछिका दोस्रो वरियताका नेता तथा तत्कालिन भारतीय उपप्रधान र गृहमन्त्री लालकृष्ण आडवाणीलाई पनि रत्तिभर थाहा नभएको कुरा २००८मा प्रकाशित उनको पुस्तक ‘माई कन्ट्री माई लाइफ’ले बताउँछ ।

ajet-dowel-7-page-22-aug-page

प्रधानमन्त्रीप्रति प्रत्यक्ष उत्तरदायी राष्ट्रिय सुरक्षा सल्लाहकार र रअका प्रमुखको कुरै छोडौं स्वयं गृहमन्त्रीप्रति उत्तरदायी हुने इन्टेलिजेन्स ब्युरोले समेत मि श्रको प्रभाव र दबाबमा रहेर सोबारे आफ्नो तालुक मन्त्रीलाई जानकारी नगराएको देखियो ।
बुझ्नुपर्छ, नेपालबाट राजसंस्था हटाउन माओवादीलगायतका राजसंस्थाविरोधी शक्तिहरूसँग सहकार्य गर्ने भाजपा सरकारले अवलम्बन गरेको नीतिलाई नै पछि आएर मनमोहन सोनिया सरकारले कार्यान्वयन गरेको हो ।

मोदीको विदेश नीतिमा डोभाल डक्ट्रिनको संयोजन

क्षेत्रका हरेक मुलुकहरूसँगको भारतको सम्बन्धमा सुरक्षाको पक्ष प्रवल बनेर आउने गरेकोले राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको भूमिका र शक्तिमा वृद्धि भइरहेको छ ।१९ सेप्टेम्बर २०१६ मा अमेरिकी साप्ताहिक ब्लुमबर्गले भारतीय हित र सरोकारमा सहयोगी धारणा नराख्ने र छिमेकीहरूका प्रति कठोर नीति अवलम्बन गर्ने कट्टर राष्ट्रवादी छविका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई जासुसी साहित्यका मिथक बनेका जेम्स बण्ड जस्तै बताएको छ । उत्तर पूर्वी भारतको विद्रोही गतिविधिलाई अन्त्य गर्नेदेखि लिएर जरनैल सिंह भिन्डरावाले नेतृत्वको सिखहरूको आतंककारी समूहविरुद्धको भारत सरकारको सैन्यकारबाहीको सफलताका लागि डोभालले केन्द्रीय भूमिका निर्वाह गरेको बताइन्छ ।

भित्र वा बाहिरबाट मुलुकले सामना गरेका हरेक संकट समाधानको जुनसुकै जिम्मेवारी र जस्तोसुकै खतरा सामना गर्नका लागि पनि डोभाल सधैं तम्तयार रहने गरेको जानकारहरू बताउँछन् ।
पाकिस्तानमा एउटा मुसलमानको रूपमा भेष बदलेर सात वर्ष बस्नेक्रममा आफ्नो पहिचान लुकाउन उनले प्लास्टिक सर्जरी गरेको ब्लुमबर्गले उल्लेख गरेको छ । भारतको आन्तरिक जासूसी संगठन इन्टेलिजेन्स ब्युरोको प्रमुखको पदबाट अवकास पाएपछि विवेकानन्द इन्टरनेसनल फाउन्डेसनको स्थापना र सञ्चालन गरेर बसेका डोभाल २०१४मा भएको भारतको संसदीय निर्वाचनमा नरेन्द्र मोदीका निकट सहयोगी थिए ।

मूलतः डोभाल डक्ट्रिन भनेको आफ्ना महत्वपूर्ण रणनीतिक उद्देश्यहरूका लागि भारतले सैनिक रणनीति अवलम्बन गर्नु हो । अब्जर्भर रिसर्च फाउन्डेसनका लागि बेदव्यास मोहन्तीले गएको जुलाई २० मा लेखेअनुसार भनेको भारतका क्षेत्रीय हितहरूमाथि फरक नपर्ने अवस्थामा मात्रै छिमेकीहरूसँगको सम्बन्धमा कूटनीतिलाई प्राथमिकता दिनु हो । पाकिस्तानसँगको सम्बन्धमा भारतको कठोर दृष्टिकोण र डोक्लाम तनावमा भारतले अवलम्बन गरेको नीति डोभाल डक्ट्रिनअनुरूप भएको मोहन्तीको धारणा छ ।

२८ अक्टोबर २०१५ मा फ्रन्टलाइनमा एजी नुरानीले उल्लेख गरेअनुसार डोभाल डक्ट्रिनअन्तर्गत भारतीय सुरक्षाका तीन मोड छन्-पहिलो प्रतिरक्षात्मक मोड, दोस्रो प्रतिरक्षात्मक-आक्रामक मोड र तेस्रो, आक्रामक मोड ।

भारतको तुलनामा पाकिस्तानका रणनीतिक दुर्वलताहरू धेरै भएकोले भारत जब प्रतिरक्षात्मक मोडबाट आक्रामक-प्रतिरक्षाको मोडमा प्रवेश गर्दछ त्यसलाई पाकिस्तानले सामना गर्न नसक्ने पुग्ने डोभालको भनाइ छ । उनी भन्छन्-पाकिस्तानले अब कुनै मुम्बई घटना घटायो भने त्यसको मूल्य उसले बलुचिस्तानबाट चुक्ता गर्नेछ ।

अगस्त २०१५मा एउटा सम्बोधनमा डोभालले भनेका छन्-‘भारतले आफ्नो क्षमता भन्दा निकै थोरै बल प्रयोग गर्ने गरेको छ । उनका अनुसार भारतले आफ्नो क्षमताभन्दा कम र बढी शक्ति प्रयोग गर्न खोज्नु हुन्न, तर आफ्नो क्षमतामा विस्तार गरेर आफ्नो प्रहारलाई शक्तिशाली बनाउन पनि छोड्नु हुँदैन । उनी भन्छन्- ‘भएको शक्ति प्रयोग नगर्नु र शक्ति नहुनु बराबर हो, गोजीमा ५० हजार भएर पनि भोकै मर्नु बरावर हो ।’

डोभाल व्यक्तिगत नैतिकता र राज्यको मूल्य प्रणालीमा भिन्नता देख्दछन् । राज्य अत्यावश्यक छ, तसर्थ राज्य-रक्षा अपरिहार्य र सर्वोपरी छ । त्यसैले, व्यक्तिगत नैतिकता राज्य र समाजको बृहत हितमा बाधक बन्न सक्दैन । आत्मरक्षाका लागि जुनसुकै साधन र माध्यम प्रयोग गर्न पनि राज्य स्वतन्त्र छ ।

डोभाल कानुनलाई अक्षरमा भन्दा आशयमा बुझ्ने गर्दछन् । नियम, कानुन र पारम्पराको बन्धनबाट मुक्त रहेर मुलुकको सर्वोच्च हितलाई सुनिश्चित गरिरहनु डोभालको प्राथमिकता रहने गरेको छ ।
भनिन्छ, सुरक्षा मामिलामा डोभालको विराट अनुभव, विलक्षण कार्य क्षमता, विश्वसनीयता र उच्चस्तरको देशभक्तिका कारण अन्य राष्ट्रिय सुरक्षा सल्लाहकारको तुलनामा डोभालले धेरै शक्ति र प्रभाव उपयोग गरिरहेका छन् ।

त्यसैले भारतको विदेश र रक्षा नीतिमा डोभालको बलियो पकड छ । विदेश सचिव सुब्रमन्यम जयशंकर डोभालको निकट सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । मुलुकको विदेश नीतिलाई आन्तरिक स्थिरता, समृद्धि र सुरक्षामा केन्द्रित गर्ने मोदीको लक्षमा उनका राष्ट्रिय सुरक्षा सल्लाहकारको असाधारण निष्ठा र क्षमताको संयोजन भएको छ ।

भारतको विदेश नीति र खास गरेर दक्षिण एसियाई नीतिमा मोदीले सुरुमा उत्साहजनक आरम्भ गरेका थिए । तर छिट्टै अजित डोभालको नेतृत्वमा विदेश मन्त्रालयको कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रले त्यसलाई साविककै स्थितिमा लगिदिए ।

मोदीको क्षेत्रीय रणनीतिक परिवेश र नेपाल

मोदी असाधारण सम्भावना बोकेका राजनेता देखिन्छन् । छोटै अवधिमा उनी भारतको एउटा प्रान्तको मुख्य मन्त्रीबाट विश्व नेता बन्न पुगेका छन् । त्यसैले तीन वर्षको कार्यकालमा मोदीबारे भारत र विदेशमा जति पुस्तकहरू लेखिएका छन्, अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूमा उनीबारे जति सामग्रीहरू प्रकाशित छन् - त्यति सम्भवत अर्को कुनै भारतीय प्रधानमन्त्रीबारे लेखिएन ।

अमेरिकाको ब्रुकिङ इन्स्टिच्युटको इन्डिया सेन्टरले गत मे महिनामा आयोजित एउटा अन्तरक्रियाको निष्कर्षअनुसार मोदीको विदेश नीति व्यक्तिगत महत्वाकांक्षाबाट प्रेरित छ । साथै विदेश नीतिलाई वैचारिक आग्रहबाट मुक्त राख्न र राष्ट्रिय हितको प्रमुख साधन बनाउनमा उनको सम्पूर्ण ध्यान केन्द्रित छ ।

उदय महुर्कर लिखित र यसै वर्ष प्रकाशित ‘मार्चिङ् विथ अ बिलियन’ मा उल्लेख भएअनुसार प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले भारतीय विदेश नीति र कूटनीतिलाई बिल्कुलै नयाँ ऐतिहासिक गन्तव्य निर्धारण गर्न इतिहासकै सबैभन्दा ठूलो आक्रामक कूटनीतिक अभियान आरम्भ गरेका थिए ।
सोअनुरूप विश्वका प्रमुख शक्ति राष्ट्रहरूसहित भारतका लागि राजनीतिक, आर्थिक, संस्कृतिक, सुरक्षा,व्यापारिक र रणनीतिक महत्व राख्ने सबै सानाठूला सबै मुलुकहरूको सूची तयार गरियो । ती मुलुकमा भ्रमण गर्न सम्बन्धित मन्त्रीहरू खटिए ।

उनीहरूलाई मोदीको विश्व दृष्टिअनुरूप भारतको अधिकतम् राष्ट्रिय हित सुनिश्चित हुनेगरी सम्बन्ध विस्तार गर्न र त्यस्ता प्राथमिकताका क्षेत्रका मुलुकका कुनै मन्त्री वा प्रमुख नेतासँग निकट मित्रता स्थापना गरेर त्यस्तो सम्बन्धमार्फत ती मुलुकहरूमा रणनीतिक सम्बन्ध विस्तार गर्न निर्देशन दिइएको थियो ।

गौत्तम मुखर्जीले पायोनियरमा उल्लेख गरेअनुसार मे २०१४ मा शपथ ग्रहणदेखि अगस्ट २०१६ को अवधिमा प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुषमा स्वराजले एक सय पचास मुलुकको भ्रमण गरेका थिए । अन्य केन्द्रिय मन्त्रीहरूले ६८ मुलुकको भ्रमण गरे ।

तर भारतको प्रमुख राष्ट्रिय समस्या र चुनौती भनेको उसको छरछिमेक हो । हरेक मुलुकसँगको द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षको संलग्नतालाई स्वीकार नगर्ने भारत सात दशकदेखि पाकिस्तानलगायत दक्षिण एसियाका आफ्ना छिमेकीहरूसँगको सम्बन्धमा चीनसँग जोडेर हेर्ने विरोधाभासपूर्ण कूटनीतिक र रणनीतिक नीति अवलम्बन गरिरहेको छ । आफ्नो मुलुकलाई स्वतन्त्र रूपमा हेर्ने भारतीय नीति नहुन्जेल क्षेत्रका अन्य मुलुकहरूले पनि स्वाभाविक रूपमा चीनसँगको सम्बन्धमा भारतलाई जोडेर नै हेर्ने गरिरहेका छन् । त्यसले क्षेत्रमा विश्वास र सद्भावको वातावरण निर्माण हुन दिएको छैन ।

विश्वको प्रमुख राजनीतिक, आर्थिक र सैनिक महाशक्तिको हैसियतमा उक्लिसकेको चीनसँगको सम्बन्ध वर्तमान र भविष्यका लागि पनि भारतको विदेश र रक्षा नीतिको सबैभन्दा ठूलो चुनौती हो । विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाले वर्तमानमा प्रदर्शन गरिरहेको आन्तरिक राजनीतिको चरित्र तथा विदेश र रक्षा नीतिमा देखाएको अनिश्चितताले उसका साविकका सामरिक साझेदार राष्ट्रहरू समेत अन्यौलमा रहेको अवस्थामा भारतका लागि अमेरिका त्यति ठूलो रणनीतिक भर र बल नहुन सक्दछ । त्यसैले भारतले चीन र रूससँग मित्रतापूर्ण सम्बन्ध राखेरै मात्र अमेरिकासँगको सम्वन्धमा नयाँ क्षितिज उघार्न सक्ने देखिन्छ ।

आम नेपालीको मनमा एउटा प्रश्न छ-अगस्ट २०१४ मा प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदी नेपालमा आउँदा उनी नेपाली जनताको मन मष्तिष्कमा असाधारणरूपमा प्रिय र सम्मानित छवि निर्माण गर्न सफल भएका थिए ।
तर तिनै मोदी कसरी तीन महिनापछि नेपाल आउँदा बिल्कुलै फरक भएर आए ? अझ मधेसकेन्द्रित दलहरूसँग रणनीतिक मोर्चाबन्दी गर्दै भूकम्पले थिलथिलो बनाएको नेपाललाई आर्थिक नाकाबन्दी लगाउन पनि पछि हटेनन्, किन ?

बुझ्न सकिन्छ- मानव सभ्यता जत्तिकै पुरानो नेपाल र भारतबीचको सम्बन्ध कुनै राजनीतिक विचार, दर्शन र मान्यता भन्दामाथिको हो । पहिलो भ्रमण अवधिमा नेपाल-भारत माझको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धको गहनतालाई गहिरो आध्यात्मिक चेतनाका मोदीको मन र मुटुलाई आप्लावित गरिरहेको थियो । नेपालको संसद्मा उनले त्यसैलाई अभिव्यक्ति दिए र नेपाली जनताको हिरो बन्न सकेका थिए ।

तर तीन महिनापछि मोदी प्रधानमन्त्री भएर आए । दीर्घकालीन रणनीतिक लक्ष बोकेर नेपाल आए । अजित डोभाल र अन्य सुरक्षा निकायको बोस भएर आए ।साथै के पनि हो भने, आफ्नो निर्वाचन क्षेत्रका लागि स्कुल र कलेजका भवन, सानातिना विकास संरचना र एम्बुलेन्सका लागि आर्थिक सहयोग र छोराछोरी तथा निकट नातेदारका लागि विभिन्न विषयमा छात्रवृत्तिको लागि दूतावास धाउने मन्त्री, सांसद र अन्य माथिल्ला नेताहरूले मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण र केही छात्राहरूलाई साइकल वितरण गर्ने कार्यक्रमलाई सफल हुन दिएनन् । ती स्थानहरूमा मोदीको भ्रमणले हासिल हुने बहुपक्षीय उपलब्धि र निर्माण हुने अवसरहरूबारे नेपाल सरकार र यहाँको राजनीतिक क्षेत्रले बुझेन । सम्भवतः नेपालको कुनै राजनीतिक क्षेत्र मोदीको असाधारण लोकप्रियताबाट तर्सियो ।

अगस्ट २०१४ का नरेन्द्र मोदीलाई नेपालले कसरी प्राप्त गर्ने ? भारतले तिनै मोदीलाई कसरी उपलब्ध गराउने ? यो दुई प्रश्नको उत्तर नेपाल र भारतले एक अर्कालाई दिन सके भने र त्यही अनुभव भारतले अन्य छिमेकीहरूसँग साझेदारी गर्न सकेमा भारतको विश्वशक्ति बन्ने मार्गमा क्षेत्रले बलियो सहयोग गर्न नसक्ने कुनै कारण देखिँदैन ।
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्रयाटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन् )

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.