भारत–चीन सम्बन्ध र नेपालको भूराजनीतिक जटिलता
सन् १९९० मा सोभियत संघको विघटन र शीतयुद्धको समाप्ति पछि विश्व एकध्रुवीय भएको व्याख्या अगाडि आएको थियो । तर विश्व राजनीतिले अहिले बहुध्रुवीय बाटो समातेको छ । हाम्रा दुई ठूला छिमेकी देशहरु भारत र चीन आफैमा बहुध्रुवीय विश्वको एकएक केन्द्र हुने प्रयत्नमा छन् । दुबै देशसँग ठूलो भूभाग, जनसंख्या र अर्थतन्त्र छ । दुबै देश एकअर्काका लामो समयदेखिमा प्रतिस्पर्धी पनि हुन् । हामी यी दुई देशका बीचमा छौं । तसर्थ हाम्रो भूराजनीतिक जटिलता बिशिष्ट प्रकारको छ ।
पछिल्लो चरणमा चीनले ‘वन बेल्ट, वन रोड इनिसिएटिभ’को अवधारणा अगाडि सारेको छ । उत्तरतिरबाट नेपालका विभिन्न नाकाहरुसम्म चिनियाँ मोटरबाटो र रेल आइपुग्दैछन । तर भारत चीनको यो योजनाबाट खासै सन्तुष्ट छैन । भारतले अहिलेसम्म ‘ओबिओआरआई’ मा सहमति जनाएको छैन । भारत त्यसो भएमा हिमालय दक्षिणमा आफ्नो बजार घट्ने र चीनको प्रभाव फैलिने भयमा छ । ठीक यही मनोवैज्ञानिक समस्याका बीच भुटानको दोक्लाम द्वन्द्व सामुन्ने आएको छ । केही वर्ष अघि भारत र चीनले नेपालको सहमति विनै नेपालको लिपुलेकलाई द्विदेशीय व्यापारिक मार्गका रुपमा विकास गर्ने आपत्तिजनक सहमति गरेका थिए । आज उनीहरु भुटानको दोक्लाम क्षेत्रलाई आधार बनाएर एकअर्काप्रतिको मनोवैज्ञानिक द्वैषलाई व्यक्त गरिरहेका छन् ।
भारतसँग नेपालका कयौं द्धिपक्षीय समस्याहरु छदैछन, लेपुलेकबारेको सहमतिले भारत–चीन दुबैको नेपालप्रतिको दृष्टिकोणलाई संदिग्ध बनाउँछ । भुटानी सार्वभौमसत्ताको सम्मान गर्नु चीन र भारत दुबै देशको उत्तिकै दायित्व हो । तर शक्तिराष्ट्र बन्ने महत्वाकांक्षाको रणनीतिक आधार बन्न सक्ने जुनसुकै विषयमा दुबै देशले आफ्ना धैर्यता र मर्यादाहरु गुमाउन सक्ने जोखिम बढेको छ । यस्तो अवस्थामा नेपालले आफ्नो भूराजनीतिक जटिलतालाई गम्भीरतापूर्वक बुझ्न सक्नु पर्दछ । बहुतै सचेत र शान्त कुटनीति अबलम्बन गर्न सक्नु पर्दछ । नाजायज विषयको डटेर प्रतिरोध गर्न सक्नु पर्दछ । देशभित्रका आन्तरिक द्वन्द्व र राजनीतिक समस्याहरुको अबिलम्ब समाधान गरी देशलाई एकताबद्ध पार्न सक्नु पर्दछ । अरुले चलखेल गर्न सक्ने ठाउँ कसैका लागि पनि बाँकी छोड्न हुन्न । भारत र चीन दुबै तर्फका संभावना र संवेदनशीलतालाई बुझी नेपाललाई ‘दुई ठूला अर्थतन्त्रबीचको गतिशील पुल’ बनाउने नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्दै जानु पर्ने हुन्छ ।
नयाँ शक्ति नेपालको राजनीतिक दस्तावेजबाट ।
नोट प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमण हुन लागेको सन्दर्भमा सान्दर्भिक लागेकोले यो सामग्री यहाँ प्रस्तुत गरिएको छ ।