बाटो बिराएको बिद्यार्थी आन्दोलन सच्याउने उपाय : खल्तीका नेता छोडौ,जनमतलाई रोजौ

बाटो बिराएको बिद्यार्थी आन्दोलन सच्याउने उपाय : खल्तीका नेता छोडौ,जनमतलाई रोजौ

२१ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक नेतृत्व चयन नयाँ विधिबाट गर्ने बहस शुरु भएको छ । अन्तिमसम्म बहस, कता जान्छ, यकिन गर्ने अबस्था छैन् । तर, पनि अहिले नेतृत्व चयनको विषयमा जुन बहस भैरहेको छ, संगठनको जीवन, क्षमतावान नेतृत्व विकास र विद्यार्थी आन्दोलनका लागि सुःखद छ । सुःखद यसकारण कि ‘क्वाटर’ बाट नभएर नेतृत्व ‘हल’ बाट चयन गर्ने बाटोमा संगठन जान थालेको छ ।

इतिहासमै पहिलो पटक अखिल क्रान्तिकारीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनको कार्यविधि तयार भएको छ । सम्मेलनमा प्रतिनिधि बनेका सवै विद्यार्थीलाई आन्तरिक चुनाव लागिसकेको छ । तर, नेतृत्व चयनपूर्व हामीले गर्नुपर्ने केही यस्ता कार्यभार छन्, त्यसको सही दिशा तयार गरेरमात्र हामी नेतृत्वमा केन्द्रित हुनुपर्ने अबस्था छ । भावी अध्यक्ष को भनेर सवै छलफलमा जुटेका छन् ।

मुख्य प्रश्न ‘किन भावी अध्यक्ष ?’ भन्ने हो । र, प्रश्नको जवाफ खोज्ने हो । राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन प्राविधिक कुरा मात्रै होइन । यो आउँदो समयानूकल संगठन निर्माण गर्ने कुरा हो र चुनौतिलाई स्वीकार गर्न सक्ने कुशल नेतृत्व चयनको विषय पनि हो । समग्रमा यो संगठनको भविष्यसँग जोडिएको विषय हो ।

संगठनको भविष्य, आन्दोलनका एजेन्डा र शैक्षिक क्षेत्रको सुधारमा संगठनको भूमिका सुनिश्चत गर्ने थलो हो, राष्ट्रिय सम्मेलन । तर, दूर्भाग्य नीतिमा भन्दा नेतृत्वमा बढी बहस हुने खतरा देखिन थालेको छ । नीति र नेतृत्ववीचको सन्तुलनसहितको राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारीको विरासतसहितको संगठन बनाउन सक्छौँ र नेतृत्व चयन गर्न पनि । राष्ट्रिय सम्मेलनबाट हामीले गर्नुपर्ने केही महत्वपूर्ण कार्यभार छन् । यी कार्यभार पुरा गर्न सक्ने नेतृत्व चयन हाम्रो आबश्यकता हो ।

 

 

उदारणका लागि अहिलेको अबस्थामा सरकारी क्याम्पसको तूलनामा नीजि क्याम्पसमा विद्यार्थी सख्या निकै धेरै छ । नीजि स्कूलमा विद्यार्थीको केन्द्रीकरण छ । तर, त्यहाँ विद्यार्थी संगठन छैनन् । कमिटी बनेका छैनन् । त्यहाँ नेतृत्व बनेको छैन् । नीजि कलेजमा रहेका धरै विद्यार्थीलाई नेपालको राजनीतिक इतिहास, विद्यार्थी संगठनको महत्व र यसको विरासतवारे बताउने संयन्त्र हामीकहाँ बनेका छैनन् । सवै विद्यार्थी संगठन सरकारी क्याम्पसमा केन्द्रित छन् । एक किसिमले विद्यार्थी संगठन र आन्दोलन एकातिर छ भने विद्यार्थीहरु अर्कोतिर छन् । यो अन्तरविरोधको समाधान हाम्रो २१औं राष्ट्रिय सम्मेलनको मुद्दा हुनुपर्छ । यहीँ खालको कार्यक्रम हामीले दिन सक्नुपर्छ ।

दीर्घकालीन महत्वका शैक्षिक आन्दोलनबाट विद्यार्थी संगठनहरु भाग्न खोजेको महशुस हुन्छ । विद्यार्थीहरु त्यसबेला सडकमा देखिन्छन्, जतिबेला नीजि स्कूलले शुल्क बृद्धि गर्छन । विद्यार्थी नेताहरु त्यसबेला सडकमा आउँछन्, जतिबेला तेलको मुल्य बृद्धि हुन्छ । मतलव प्राविधिक कुरामा विद्यार्थी संगठन अल्झिरहेका छन् । तर, शिक्षाको पुनसर्रंचनासहितका नीतिगत र दीर्घकालीन महत्वका विषयमा विद्यार्थी संगठनहरुले पेचिलो आन्दोलन गरेको पाइँदैन । परिणाम स्वरुप नेपालमा पार्टीको इतिहास भन्दा पुरानो र लामो इतिहास रहेको विद्यार्थी आन्दोलन शैक्षिक एजेन्डामा धेरै पछाडि छ । क्रान्तिकारीले यस्ता मुद्दाको नेतृत्व गर्न सक्ने नीति र भावी नेतृत्व खोज्नुपर्छ । यो परीक्षणमा पास वा फेल जे हुन्छौँ, अखिल क्रान्तिकारीको भविष्य यहीँबाट तय हुन्छ ।

यूवाहरु सधै विद्रोही बन्नुपर्छ भन्ने मान्यता छ । तर, हाम्रो विद्यार्थी संगठनहरुमा यूवापनको अभाव देखिन्छ । सर्मपणवादी सोच र दास प्रवृतिका शिकार बन्ने अबस्था छ्, विद्यार्थी संगठन र तिनका नेताहरुमा । यो घेरा तोड्ने नीति र नेतृत्व यतिबेलाको आबश्यकता हो । उदारणका लागि माउ पार्टी सत्तामा रहँदा सडकबाट टाँढा हुने र पार्टी विपक्षीमा हुँदा आबश्यकता भन्दा पनि उपस्थितिका लागि सडकमा देखिने विद्यार्थी आन्दोलनको समस्या छ । पार्टीसँगै सत्तापक्ष र विपक्षी हुने विद्यार्थी आन्दोलनले सही दिशा दिन सक्दैन ।

यो तोड्ने हैसियत र क्षमताको नेतृत्व आज सवै विद्यार्थी संगठनमा चाहिएको छ । शेरबहादुर देउवाले गरेका खराव निर्णयको विरोधमा नैनसिंह महरले सडकमा आएर नारावाजी गर्ने हैसियत भएको नेविसंघ सम्भव छ कि छैन ? केपी ओलीले गरेका सवै जायज–नाजायज निर्णयलाई नविना लामाले सहर्ष स्वीकार गर्नुपर्ने परिस्थिति छ । प्रचण्डका निर्णयको सकुर्लरमात्र पढ्ने सीमाबाट नरेन्द्र न्यौपाने बाहिर निस्कन सक्छन कि सक्दैनन् ? यो पेचिलो प्रश्नको जवाफसहित हामीले राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्न सक्छौँ कि सक्दैनौँ, हाम्रो सामु आएको यक्ष प्रश्न हो । यसका लागि सही मुद्दाको पहिचान पहिलो आबश्यकता हो र ती मुद्दा लागु गर्न सक्ने क्षमतावान नेतृत्वको खोजी समाधान हो ।

विद्यार्थी आन्दोलनमा निर्णय क्षमता चाहिन्छ । सही समयमा सही निर्णयको अपेक्षा गरिएको हुन्छ । तर, नेपालका विद्यार्थी संगठनहरुले आफ्नो अनुकुलता खोज्ने समस्या छ, जसले समग्र शिक्षा नीतिमा फेरबदल र विद्यार्थी हितमा सहयोग गर्दैन । उपयुक्त समयमा उपयुक्त निर्णय विद्यार्थी नेतृत्वको क्षमतासँग जोडिन्छ । उदारणका लागि डा.गोविन्द केसी प्रकरणमा विद्यार्थी संगठनहरुको भूमिका प्रभावकारी देखिएन् । डा.केसीले उठाएका माग शिक्षासँग जोडिएका छन्, ती माग जायज वा नाजायज के हुन ? यो बहसको विषय हुन सक्छ । तर, विद्यार्थी संगठनहरुले माग जायज वा नाजायज के हुन भनेर निक्र्यौल निकाल्न सक्नुपर्छ र आफुलाई त्यहीँ तरिकारले उभ्भाउनुपथ्र्यो । तर, यसमा पछाडि देखिए ।

विद्यार्थी आन्दोलनमा कहीँ न कहँ समस्या छ भन्नेमा पूर्वविद्यार्थी नेताहरु गगन थापा र रवीन्द्र अधिकारीहरुका भनाईले संकेत गर्छन । जस्तो कि, केही समय अगाडि गगन थापाले विद्यार्थी संगठन असान्र्दभिक भएको टिप्पणी गरेर नयाँ बहस अगाडि सारेका थिए । उनी आफै विद्यार्थी आन्दोलनका बलमा यो उचाईँमा पुगेका नेता हुन् । उनले यो विषय यत्तिकै उठाएका होइनन्, बरु आजका विद्यार्थी संगठनमा देखिएका समस्यालाई संकेत गरेका हुन् । त्यस्तै एमाले नेता रवीन्द्र अधिकारीले सार्वजनिक कार्यक्रममा विद्यार्थी र शिक्षक संगठन विघटन गर्नेसम्मको अभिव्यक्ति दिए । यहीँ तरिकाले विद्यार्थी संगठन चल्ने हो भने यस्ता संगठन आबश्यक नहुँने उनको भनाईले आजका विद्यार्थी संगठनमा रहेका समस्याहरुको संकेत गरेको रुपमा हेरिनु नै उपयुक्त हुन्छ । थापा र अधिकारी दुवै आफ्ना जमानाका सडक आन्दोलनबाट उदाएका यूवा नेता हुन् । ती दुई नेताको भनाईको संकेत आजका विद्यार्थी संगठन र नेतृत्वमा रहेकाहरुले बुझ्नुपर्छ ।

शिक्षाको विकेन्दिीकरणमाथि विद्यार्थी संगठनको ध्यान पुगेको छैन् । जस्तो कि, केही अनौपचारिक तथ्याङ्कलाई मान्ने हो उच्च शिक्षा अध्ययन गर्ने करीव ५३ प्रतिशत विद्यार्थी काठमाडौंमै छन् । त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक मध्ये २२ वटा क्याम्पस काठमाडौंमै छन् । पहिलो कुरा देशको सवैभन्दा ठूलो विश्वविद्यालयका हरेक जिल्लामा आंगिक क्याम्पस छैनन् । कर्णाली अंचलभर एउटा मात्र आंगिक क्याम्पस छ । शिक्षाको यस्तो असमानुपातिक विषय आज विद्यार्थी संगठनमा पेचिलो मुद्दा छैन् । राज्यले शिक्षामा गरेको लगानीको सदुपयोगमाथि बहसमा विद्यार्थी संगठनको अगुवाई हुन सकेको छैन् । राज्य लगानी गरेका शैक्षिक संस्थाप्रति नभई नीजि कलेजतिर विद्यार्थी आर्कषण बढ्दै जानु हामीले निर्माण गर्न खोजेको शैक्षिक वातवरणको विरुद्ध छ ।

अहिलेको शिक्षा प्रणालीले युवा जनशक्तिहरू पलायन गराईरहेको छ । यस्तो शिक्षाले मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्न सम्भव छैन् । शिक्षा क्षेत्रमा राज्यले गरेको लगानीबाट उत्पादित जनशक्तिहरू अर्काे मुलुकले विना लगानी उपयोग गरेर तीव्र आर्थिक विकास गरिरहेका छन् । यसमा हामीले चासो दिने कि नदिने ? पुल्चोक क्याम्पसका इन्जिनियर अमेरिका र युरोपतिरजाने । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट उत्पादित डाक्टरहरु विदेश भासिने । यस्तो खालको शिक्षा प्रणालीमा हामीले कहिले सुधार गर्ने ? यो आफै हुँदैन । कसै न कसैले दवावको राजनीतिक शुरु गर्नुपर्छ । प्लस टू पढेर विदेश जानेहरु त कति छन कति, देशमै केही गर्नसकिन्छ भनेर उनीहरुलाई आश्वत पार्न सक्ने विद्यार्थी संगठन भएनन् । हामीले यो बहस गर्ने कि नगर्ने ?

मानव पुँजी निर्माण र यसको उच्चतम उपयोग समुन्नत राष्ट्रका लागि अनिवार्य शर्त हो । यसको लागि गुणस्तरीय शिक्षा अपरिहार्य हुन्छ । गुणस्तरीय शिक्षामार्फत मानव पुँजी निर्माण र यसको उच्चतम उपयोगबाट मात्र मुलुकले समृद्घि हासिल गर्न सक्छ । राज्यको प्राथमिकता सबैमा शिक्षाको पहुँच पुर्याएर मुलुकलाई समुन्नत राष्ट्रमा रूपान्तरण गर्नका लागि शिक्षा क्षेत्रमा लगानी बढाउन जरुरी छ । यस तर्फ विद्यार्थी संगठनले सरकार र आफ्ना माउ पार्टीमाथि दवाव बढाउनुपर्ने अबस्था छ । हामीलाई आज वैज्ञानिक, प्राविधिक, व्यावसायिक एवं उद्यममूलक शिक्षा चाहिएको छ । शैक्षिक संस्थामा आवश्यक पूर्वाधारमा ध्यान दिनुपर्ने अबस्था छ ।

अखिल क्रान्तिकारीको विरासत गरीव, किसान, मजदुर र सीमान्तकृत समुदायका छोराछोरीको शिक्षा र भविष्यसँग जोडिएको छ । यो संगठनका मुद्दा ती समुदायको हित अनुकल हुनुपर्छ । माओवादीले जनयुद्ध शुरु गर्दा सहीद भएकाको छोरा–छोरी अहिले कलेज तहको विद्यार्थी छन् । उनीहरु आफै पनि २१औं सम्मेलनमा प्रतिनिधि छन् । उनीहरु अखिल क्रान्तिकारी कस्तो बनाउने भन्ने बहसमा आफै सहभागी हुँदैछन् । सम्मेलनको प्रतिनिधिका रुपमा उनीहरुको सम्मेलनप्रति गहिरो चासो रहनेछ । यसकारण विगतमा उठाइएका मुद्दाबाट क्रान्तिकारी पछाडि हट्न सम्भव छैन । सम्मेलनको ध्यान यहाँ पनि जान जरुरी छ ।

र, नेतृत्व चयनकै कुरा गर्दा हामीसँग धेरै सीमा पनि छन् । नेविसंघ र अखिलले प्रयोग गरेको ‘सम्पूर्ण चुनाव’ बाट हामी बच्नुपर्छ । पैसाको बलमा, शक्तिको बलमा नेतृत्व हत्ताउने रोग संगठनमा प्रवेश गराउनु हुँदैन । यसले विकृत मात्र निम्ताउँछ । चुनाव निर्मम हुन्छ । सम्मेलनमा चिटिक्क परेको र आर्थिक रुपले सवल उम्मेदवार र दूरदराजको संघर्षपूर्ण जीवन विताएको अर्को उम्मेदवारवीचको अस्वभाविक प्रतिस्पर्धाबाट संगठनलाई बचाउनुपर्ने अबस्था छ । हामीले यो ‘निर्मम’ चुनावको खतराबाट बच्ने विकल्प दिन सक्नुपर्छ । यसको सही विधि भनेको इमान्दार र क्षमतावान नेतृत्व चयन हो । सम्मेलनले इतिहासको सम्मान गर्दै भविष्यको जोखिमसँग जुध्न सक्ने नेतृत्व पनि छान्नुपर्नेछ । यो वीचमा धेरै कुरा बदलिएका छन्, त्यसको छाया संगठनमा देखिनुपर्छ ।

शिक्षा क्षेत्रमा देखिएका विकृति एवं विसंगतिहरू हटाउनका लागि वर्तमान शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो पर्छ । यो सुधार गर्न सक्ने हैसियत भएका विद्यार्थी संगठन आजको आबश्यकता हो । र, संगठनहरुमा यस्तो मोर्चाको नेतृत्व अखिल क्रान्तिकारीले गर्न सक्नुपर्छ । यो मोर्चा सम्माल्ने नेतृत्व हामीले दिन सक्नुपर्छ ।

लेखक अखिल क्रान्तिकारीमा केन्द्रीय सचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.