नेपाल-भारत सम्बन्धका अहम् सवाल

नेपाल-भारत सम्बन्धका अहम् सवाल

 

अहिलेको प्रधानमन्त्रीको भारत यात्रा सद्भाव भ्रमण हो । किनकि यो कुनै विशेष परिस्थितिले निम्त्याएको र कुनै विशेष समस्या समाधान गर्नको लागि वा कुनै विशेष एजेन्डामा छलफल हुने गरी हुन लागेको होइन । नेपालको प्रधानमन्त्री भएपछि निकट मित्रराष्ट्रसँगको सम्बन्धको व्यापकतालाई दृष्टिगत गरी गर्न लागिएको यो भ्रमणको उद्देश्य विश्वासको वातावरणको नवीकरण गर्नु हो ।

bhes-bahadur-thapabhes-bahadur-thapa_1कूटनीतिमा सद्भाव भ्रमणको पनि महत्वपूर्ण भूमिका हुन्छ । राजनीतिक नेताहरूको व्यक्तिगत तहमा सम्बन्ध राम्रो भयो भने दुई मुलुकबीचको सम्बन्धलाई पनि सुमधुर बनाउन मद्दत गर्छ । भारतमा धेरै समयपछि बलियो सरकार छ । भारतीय जनता पार्टी नेतृत्वको सरकारमा उसको गठबन्धनका दलहरू भएको भए पनि भाजपा एक्लैको भारतीय संसद्को तल्लो सदन लोकसभामा स्पष्ट बहुमत छ । त्यसैले भारतमा अहिले दरिलो प्रशासकीय संयन्त्र छ ।

त्यहीमाथि नेपालको परिवर्तनप्रति सद्भाव राख्दै प्रधानमन्त्री मोदी नेपाल आए । उनी आउनुअघि १५÷१६ वर्षसम्म भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिएनन् । मोदीले त्यस भ्रमणको बेला नेपाल बुद्धभूमि र शान्तिभूमि हो भनेर दिएको मन्तव्य सम्बन्ध सुधारको राजनीतिक संकेत थियो । हुन त उनले यहाँ आएर त्यस्तो वक्तव्य दिएको केही समयपछि त नाकाबन्दी नै भयो । अब सम्बन्ध मोदीले पहिल्यै भनेअनुसार हुन्छ कि हुन्न, त्यो हेर्न बाँकी छ । भारतको नेपालसँगको सम्बन्ध 'कोर्स करेक्सन’ मा छ भनिएको छ ।

सम्भावित विषय

यस भ्रमणमा अहिलेसम्म भएका सहमति र समझदारीको कार्यान्वयन पक्ष कहाँ पुगेर अड्किएका छन् भनी समीक्षा हुनेछ । यो भ्रमणमा नयाँ सम्झौता हुनेभन्दा पनि पहिल्यै भइसकेका सहमति कार्यान्वयनमा तीव्रता दिने प्रयास हुनेछन् । गएको २० वर्षजतिमा भारतका सरकारी र निजी क्षेत्रले नेपालको विकासमा साझेदारी गर्ने भनेर धेरै सहमति गरेका छन्, तर ती कार्यान्वयन भएका छैनन् । यसले गर्दा दुवै देशका सरकारी संयन्त्रहरूप्रति जनविश्वास कम हुँदै गइरहेको छ । कार्यान्वयनमा तीव्रता दिएर यस्ता कमजोरी हटाउनुपर्नेछ ।

प्रधानमन्त्रीको भ्रमणअगाडि नेपाल, भारत र बंगलादेशमा धेरै धनजनको क्षति हुने गरेर बाढीले असर पारेको छ । भारतसँग यसबारेमा सहकार्य गरेर यस्तो प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने उपायको बारेमा पनि छलफल हुन सक्छ ।

डोक्लाममा भएको भारत चीनबीचको विवाद नेपालको लागि राम्रो हुँदै होइन । तर नेपालले त्यसलाई लिएर धेरै आत्तिनु पर्दैन । त्यो विवादमा दुवै छिमेकीले हाम्रो भूमिका खोजेका छैनन् र त्यसमा चासो राख्ने, अग्रसर हुने र भूमिका खोज्ने काम नेपालले गर्नु हुँदैन । उनीहरूले सोधेको खण्डमा यो विवाद शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने प्रतिक्रिया दिए हुन्छ, नसोधेको बेलामा चुप लागेर बसेकै बेस हुन्छ ।

भारत नेपालभन्दा धेरै ठूलो छ । त्यहाँका केही प्रान्त नै नेपालभन्दा ठूला छन् । तर यसैकारण नेपाल र भारत यसमा सार्वभौमिकताको हिसाबले बराबर होइनन् भन्न मिल्दैन ।

सन् १९६२ मा भारत र चीनको सीमायुद्ध भएको बेला नेपाली भूमिको प्रयोग यी दुवै मुलुकका लागि फाइदाजनक हुन सक्थ्यो । तर पनि त्यतिबेलाको नेपालको नेतृत्वका कारणले नेपालको भूमिमा टेकेर उनीहरूले एकअर्कालाई हान्ने प्रयत्न गर्न सकेनन् । हामीले तटस्थता र पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व अवलम्बन गर्दै आइरहेका छौं । हाम्रो विदेश नीतिमा यत्तिको लागि मात्र ठाउँ छ, अरू विकल्प छैनन् ।

प्रधानमन्त्रीको भ्रमण तय भइसकेपछि विशेष एजेन्डा नभएको र सरकार परिवर्तन हुनासाथ किन भ्रमणमा जानुपर्‍यो भनेर पनि प्रश्न उठाइएका छन् । यस्ता विषयमा छलफल त भ्रमण तय हुनुअघि नै हुनुपथ्र्यो । अब त भ्रमणलाई सार्थक र राष्ट्र हितमा बनाउनेतर्फ छलफल केन्द्रित हुनुपर्छ । भ्रमणलाई विवादित बनाएर उपलब्धि हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नु हुँदैन ।

भारतका चाहना

भारतले नेपालबाट खोजेको सुरक्षाको प्रत्याभूति हो । भारतको भलो नचाहने तत्वहरूले नेपाल भूमिलाई प्रयोग नगरून् भन्ने चाहना हो । व्यापार गर्ने, बजार खोज्ने त स्वाभाविकै हो । भारतले नेपाललाई अत्यन्तै घनिष्ट मित्र भन्छ, तर त्यो घनिष्टतालाई अलिक बढी नै 'आत्मीय’ बनाउन खोज्दा हस्तक्षेपको अनुभूति पनि हुन्छ । नेपालमा एक किसिमको लघुताभास उत्पन्न गर्ने प्रयत्न पनि हुन्छ । त्यसबाट मुक्ति पाउनेचाहिँ नेपालमै भर पर्छ । त्यसको लागि चाहिने आन्तरिक सामाजिक, आर्थिक विकास नेपालले प्राप्त गर्न सकेको छैन ।

भारतमा नेपालप्रति संकीर्ण सोचाइको कमी छैन, तर त्यो भारतको राष्ट्रिय नीति होइन । नेपाल भारतको सानो छिमेकी हो, ब्याकयार्ड (करेसाबारी जस्तो) हो भन्नेहरू पनि छन् । मेरो अनुभवले के भन्छ भने प्रशासकीय एकाइ र सुरक्षा निकाय त्यसबाट ग्रसित छन्, तर राजनीतिक नेतृत्वले त्यस्तो सोचाइ लिएको खासै पाइँदैन ।

नेपाल, भारत र बेलायतबीच गोर्खाली सेना भारतीय सेनामा रहने त्रिपक्षीय सहमति भएको छ । भारतले आफ्नो सुरक्षाको लागि त्यसमा निरन्तरता चाहन्छ होला । अन्यत्र आकर्षक अवसर पाए भने नेपाली युवाहरूले त्यसमा पनि रुचि नदेखाउलान् ।

नेपालको आशा

क्षेत्रफल, जनसंख्या र सैनिक शक्ति, व्यापार आदिमा असमानता भए पनि ठूलो छिमेकीसँग व्यवहार गर्दा नेपालले राजनीतिक रूपमा समान व्यवहारको अपेक्षा गर्छ । बीचबीचमा कुनै दलको सरकार वा व्यक्तिले अलिअलि दायाँबायाँ गरे पनि नेपाली परराष्ट्र नीतिको मूलधारबाट विचलित भएको देखिँदैन । यसैकारणले नै नेपालले आफ्नो अस्तित्व जोगाएर बस्न सकेको हो । कसैको पक्ष लिएर नेपालले आफ्ना छिमेकी र शक्तिशाली राष्ट्रहरूलाई चिढ्याएको छैन र कसैको हैकममा बसेको पनि छैन ।

नेपालको भारत नीति नभएको त होइन, तर नेपालले भारतबाट चाहेका धेरै कुरा पूरा गर्ने चातुर्य भने देखाउन सकेको छैन । जस्तो- भारतसँग स्पष्ट सीमा निर्धारण गर्ने कुरा गर्छौं, तर सुस्ता, कालापानीलगायतमा समस्या छन् । सीमा नीति छैन भन्ने पनि होइन । नीति भएकाले नै समस्या प्रकाशमा आएका हुन् । यात्रा कठिन छ, सहज छैन । तर नेपालको विदेश नीति नै छैन भन्ने भनाइ सही होइनन् ।

राज्यको पहिलो जिम्मेवारी आफ्ना नागरिकप्रति हुन्छ । किनकि नागरिक नभई देश हुँदैन । राज्यले आफ्ना नागरिकको सुरक्षाको जिम्मा लिने र नागरिकलाई अवसर दिने गर्नुपर्छ । दोस्रो- राष्ट्रलाई स्पष्ट रूपमा सीमा छुट्टिएको भूभाग चाहिन्छ । निर्दिष्ट भूभाग नभएको राष्ट्र हुँदैन । अहिलेको नेपालको भूभाग बेलायतसँग लडेर जोगाएको हो । सुगौली सन्धिमा नेपालले आफ्नो ठूलो क्षेत्रफल गुमायो, पछि जंगबहादुरको पालामा नयाँ मुलुक नेपालमा आएपछि नेपालको स्पष्ट भूभाग छ ।

तेस्रो- प्राकृतिक स्रोत, स्थल, जल र आकाश सबैको समुचित प्रयोगबाट जनताको जीवन सजिलो बनाउने कुरा । यी तीनवटा कुरामा हामी सबल नभइन्जेल राष्ट्रको सम्प्रभुता त्यति बलियो हुन सक्तैन । यी तीनमध्ये कुनै कुरामा कमजोरी भयो भने राज्य कमजोर हुन सक्छ । राष्ट्र कमजोर हुनेबित्तिकै अरू बलिया राष्ट्रले फाइदा लिन चाहिहाल्छन् । आफ्नो क्षमता बढाउन नेपालले अरू मुलुकको सहयोग चाहन्छ ।

राज्यको ध्यान नागरिकको सुरक्षा र कल्याणमा हुनुपर्छ । विदेश नीति राज्यका यी लक्ष्यहरू हासिल गर्ने साधन हो । नेपालले अरू शक्तिशाली राष्ट्रहरू र भारतबाट चाहने कुरा पनि यिनै हुन् ।

सम्बन्धको इतिहास

भारतले नेपालसँगको सम्बन्धलाई बेलायतकालीन औपनिवेशिक धारणाले हेर्नुको कारण छन् । भारतमा बेलायती उपनिवेश थियो । बेलायतले छोडेर गएपछि भारत स्वतन्त्र भयो, तर औपनिवेशिक शासकले बनाएको संयन्त्र पूरै परिवर्तन हुन सकेन । त्यसैले साम्राज्य गयो तर साम्राज्यको तुसचाहिँ अझै पनि छ । भारतको नेपालप्रति जस्तोसुकै सोचाइ भए पनि त्यसलाई हामीले ग्रहण गर्नुपर्छ भन्ने छैन । नेपाल सार्वभौमसत्तासम्पन्न र स्वतन्त्र भएको भारतले मात्रै होइन, बाँकी विश्वले पनि मान्यता दिएर हो ।

एकपटक जवाहरलाल नेहरूले नेपालका हिमाल भारतको सुरक्षा प्रणालीका फ्रन्टियर (किल्ला) हुन् भन्दा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले तत्कालै प्रतिवाद गरेपछि नेहरूले माफी मागेका छन् । सम्बन्ध कुन स्तरमा राख्ने भन्ने कुरा भारतले के गराउन चाह्यो मात्रै भन्दा पनि हामीले के गर्‍यौं भन्ने कुरामा पनि निर्भर हुन्छ । हामीले लघुताभास लिएर नेपाल सानो मुलुक हो, ठूलो मुलुकले भनेको मान्नुपर्छ भन्यौं भने त्यो आत्मसमर्पणवादी धारणा र अभिव्यक्ति हुन्छ ।

नेपालको आन्तरिक राजनीतिमा समस्या देखिँदा नेपालका संस्थापनइतरका राजनीतिक शक्तिले भारतको सहयोग र समर्थन खोजेका थिए । ती शक्तिका नेता भारतमा बसेका पनि थिए र नेपालमा प्रजातन्त्र ल्याउन भारतको सहयोग थियो । त्यसरी सिर्जना भएको वैचारिक निकटताको फाइदा भारतले उठाउन खोज्नु हुँदैन । भारतको स्वतन्त्रताको संघर्षमा पनि धेरै मुलुकले सहयोग र समर्थन गरेका थिए । यसको मतलब उनीहरूले भारतबाट फाइदा उठाउनुपर्छ भन्ने होइन ।

कुनै बेला भारतका कर्मचारी आएर राजा त्रिभुवनका सचिव हुन्थे, नेपालीहरूले तिनीहरूका मातहत रहेर काम गर्नुपथ्र्यो । राजा त्रिभुवनले जनताको प्रजातन्त्रको संघर्षलाई साथ दिने क्रममा भारतको सहयोग लिएका हुन् । त्यसपछि भारतीय नागरिकलाई राजाको सल्लाहकार राख्ने, नेपालमा भारतीय सेनाको मिसन राख्ने, नेपालको चीनको तिब्बतसँगको उत्तरी सीमामा भारतीय सेनाका चेकपोस्ट राख्ने काम भए । राजा महेन्द्र आएपछि नेपाली भूमिबाट भारतीय सेनाका मिसन र चेकपोस्टहरू हटे ।

त्यसपछि स्वावलम्बी राष्ट्रिय भावना जागृत हुँदै गयो । हामीले हाम्रो सार्वभौमसत्ताको अनुभव गर्ने र प्रदर्शन गर्ने अवसर पायौं । त्यसपछि नेपालले राष्ट्रिय स्वाभिमानलाई अगाडि राखेर गर्दै आएको कसरत जगजाहेर छ ।

जस्तो- सन् १९५० को सन्धि समान छैन भनेर हामीले भन्दै आइरहेका छौं । भारत नेपालभन्दा धेरै ठूलो छ । त्यहाँका केही प्रान्त नै नेपालभन्दा ठूला छन् । तर यसैकारण नेपाल र भारत यसमा सार्वभौमिकताको हिसाबले बराबर होइनन् भन्न मिल्दैन ।

सन् १९५० को सन्धि नेपालमा बन्द प्रणाली भएको र जनताको भावना अभिव्यक्त हुने परिस्थिति नभएको बेलामा राणाकालका अन्तिम प्रधानमन्त्री मोहनशमशेर राणाले आफ्नो व्यक्तिगत र जहानिया शासन टिकाउने आशामा गरेका थिए । त्यसैले त्यो सन्धि समान छैन र नेपाली जनताको भावना प्रतिविम्बित गर्दैन भन्ने प्रस्ट देखिन्छ । सन्धि भएलगत्तै सानै भए पनि बौद्धिक समुदायले सन्धि असमान भएको भनेर विरोध गरेका थिए । त्यस्ता भावना राणाशासनकालमै, प्रजातन्त्र आएपछि, पञ्चायतकालमा, प्रजातन्त्रको पुनस्र्थापनापछि अहिलेसम्म निरन्तर रूपमा अभिव्यक्त हुँदै आइरहेका छन्।

बीपी कोइराला र मनमोहन अधिकारीले पनि भारतसँगको यो सन्धि असमान छ भनेका थिए ।
नेपाल भारतको सन् १९५० को सन्धि हुँदा भारत पनि भर्खर स्वतन्त्र भएर राष्ट्रको रूपमा विकासक्रममै थियो । त्यस्तो बेलामा भएको सन्धिलाई समयानुकूल र अहिलेका बदलिँदो यथार्थअनुरूप बनाउने प्रयत्न भइरहेको छ ।

सन् १९५० को सन्धि असमान भए पनि नेपालको भारतसँगको सम्बन्धलाई भुटानलगायत अरू कसैसँग तुलना गर्नु उचित हुँदैन । भारत स्वतन्त्र हुनुअगाडि नै सन् १८१६ मा सुगौली सन्धि र सन् १९२३ मा चन्द्रशमशेरको पालामा नेपालले स्वतन्त्र राष्ट्रको रूपमा भारतका बेलायती शासकसँग सम्झौता गरेको इतिहास छ । नेपाल नेपालीहरूले नै आफ्नै पौरखले आर्जेको देश हो । यस्तो स्वाभिमानी तरिकाले बनेको मुलुकमा परावलम्बी धारणाको काम छैन ।

खुला सीमा

नेपाल र भारत जसरी सीमा जोडिएका र खुला सीमा भएका मुलुकमा सामान्य सीमा विवाद हुनु स्वाभाविक हो । खुला सीमाका फाइदा र बेफाइदा दुवै छन् । खुला सीमालाई कसरी व्यवस्थापन गर्ने भनेर दुवै पक्ष बसेर अध्ययन गर्नुपर्छ, हुँदै पनि होला । अहिले सीमा व्यवस्थित छैन । भारतले सीमा क्षेत्रमा कतिपय ठाउँमा सीमा सुरक्षा बल राखेर र अन्य तरिकाले कडाइ गर्दै गइरहेको छ । त्यो सीमालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ।

प्रबुद्ध समूह

करिब ७० वर्षको संवादपछि नेपाल र भारत सन्धि पुनरावलोकनलगायत सम्बन्धका अरू विषयमा छलफल गर्न राजी भएका छन् । यसअघि विदेश सचिवस्तरमा यस्ता विषयमा कुरा गर्ने जिम्मेवारी दिइएको थियो । तर उनीहरूबीच भेट हुँदा उनीहरूले कहिल्यै पनि सन्धिजस्तो गम्भीर विषयमा कुरा गर्न सकेनन् ।

यसलाई पहिलोपटक प्रधानमन्त्री मनमोहन अधिकारीले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका बेला छलफलको एजेन्डा बनाए । त्यसपछि बाबुराम भट्टराई, सुशील कोइराला र केपी ओली प्रधानमन्त्रीको रूपमा भ्रमणमा गएको बेला पनि यस विषयको संवादले निरन्तरता पायो । यसैको फलस्वरूप प्रबुद्ध व्यक्तिको समूह गठन भयो, नेपाल र भारत दुवैतिर ।

दुवै देशका टोलीले गम्भीर अध्ययन गर्दैछन् । छलफलको चरणमा रहेकाले कस्ताकस्ता विषयमा कसरी छलफल हुँदै छ सबै भन्नु उचित नहोला, तर महत्वपूर्ण ठानिएका कुनै पनि विषयमा खुला हृदयले निर्धक्क भएर छलफल भइरहेको छ । यो प्रक्रियामा राजनीतिज्ञ, बुद्धिजीवी, थिंकट्यांक, समाजसेवी सबैसँग परामर्श गरिएको छ । दुई वर्षको समयावधिमध्ये एक वर्ष सकिन लागेको छ । नेपाल टोलीको संयोजकको नाताले भन्नुपर्दा सकारात्मक ढंगले अगाडि बढिरहेको छ ।

प्रबुद्ध समूहको गठन नै विगतमा देखिएको विसंगति र विमतिबाट पार पाउनको लागि भएको हो । यो सुरु हुनु नै सुधारको संकेत हो । प्रबुद्ध समूहलाई सन् १९५० को सन्धि मात्र होइन, सुरक्षा, पानी र अन्य विषयमा पनि सिफारिस गर्न सक्ने म्यान्डेट छ । प्रबुद्ध समूहको सिफारिसका कारण अहिलेको नेपाल भारत सम्बन्धको स्तरमा सुधार हुन्छ, तर कुन अवस्थामा पुगिन्छ तोकेर अहिल्यै भन्न सकिन्न । त्यो वार्ताद्वारा आपसी सहमतिमा पुग्ने विषय हो ।

सन् १९५० को सन्धिमा त सुधार गर्ने ठाउँ नै छैन, खारेज गर्ने मात्रै प्रावधान छ । दुवै देशबीच सम्बन्ध सुमधुर भएकाले खारेज गर्न दुवै देशले रुचि देखाएनन् । खारेज गर्दा सम्बन्धमा चिसोपन देखिएला भनेर नेपाल दच्किन्छ । भारतीयहरू भने सन् १९५० को सन्धि उनीहरूको लागि ठीकै रहेको बताउँछन् । नेपाललाई बेठीक लागे सन्धि नेपालले खारेज गरे भइहाल्यो नि भन्छन् । यसरी संवाद सुरु हुनुअगाडि नै बाधा पुर्‍याउने वातावरण बन्ने गरेको थियो । त्यस्तो अवस्थाबाट माथि उठेर अहिले नेपाल र भारत छलफल गर्न राजी भएका छन् । यसले सकारात्मक मोड लिएको छ । दुवैतर्फका प्रबुद्ध समूह मिलेर प्रतिवेदन दुवै सरकारलाई दिएपछि कुन प्रकारको निर्णय लिइन्छ, त्यो समयले नै बताउनेछ ।
(कुराकानीमा आधारित)




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.