किसुनजीको चिठी

किसुनजीको चिठी

प्रिय साथीहरू,
जीवनको उत्तरार्धमा मैले नेपाली कांग्रेससँगको नाता तोडें तर जतिसुकै निरपेक्ष रहन्छु भने पनि आफ्नो लगानी र जवानी खर्च गरेको पार्टीको आजको दूरवस्था देखेर मेरो अन्तरमनले प्रतिक्रिया नजनाइरहन सकेन । २०३४ देखि ०५३ सम्म कांग्रेसको कार्यवाहक सभापति र ०४८ को आठौं महाधिवेशनबाट म पार्टी सभापति भएकाले पनि कांग्रेससँग मेरो भावनात्मक सम्बन्ध गाँसिएको छ । १९०३ सालमा कोतपर्व गराएर जंगबहादुर राणाको नेपाली राजनीतिमा उदय भएपछि त्यस काण्डकी मुख्य खलनायिका कान्छी महारानी राज्यलक्ष्मीसँगै राजा राजेन्द्रविक्रम शाहलाई जंगबहादुरले काशीवास पठाइदिए । यसअघि दरबारमा पाण्डे, थापा र बस्नेतहरूबीच राजाबाट सत्या हत्याउने र एकले अर्कोलाई सिध्याउने षड्यन्त्रको शृंखला चलिरहेको थियो । गोरखाका राजाकै पालादेखि मेरो पुर्खाहरू दरबारमा राजपुरोहित भएका कारण पनि यस विषयमा म जानकार थिएँ ।

पृथ्वीनारायण शाहले बाइसी र चौबीसी राज्यहरूलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका हुन् । यसै समयमा विस्मार्कले जर्मनी एकीकरण गर्दै थिए भने बेलायतले भारतमा इस्ट-इन्डिया कम्पनी स्थापना गरी ‘भारत वर्ष' माथि कब्जा जमाउँदै थियो । निष्कासित राजारानीको राजपुरोहितका रूपमा मेरा पिता विश्वनाथ भट्टराई पनि सँगै काशीवास गएका हुन् । मेरा पिता संकटाप्रसाद पनि पकनाजोलका दुईतीनवटा घर बेचबिखन गरेर उतै रहनुभयो । पुरोहित पेसाबाट मेरा दुई आमापट्टिबाट ६ छोरी र चार भाइको ठूलो परिवार धान्न धौधौ थियो । चन्द्रशमशेरले बनाएको धर्मशालामा हाम्रो सिंगो परिवार आश्रित थियो । धेरै कष्टकर जीवन भोग्दै हामीले आफ्नो अध्ययन चालू राख्यौं । साहिँला दाइ गोपालप्रसाद र मैले वनारस हिन्दु विश्वविद्यालयबाट स्नातक पास गर्‍यौं ।

महात्मा गान्धी नेतृत्वको ‘भारत छोडो' आन्दोलनमा गोपाल दाइ तीन वर्ष थुनामा रहनुभयो भने केही दिन म पनि थुनामा परें । सन् १९४२ मा बीपी र गणेशमान सिंहसँग मेरो परिचय भयो । जीवनपर्यन्त म उहाँहरूकै साथ रहें । पहिला राष्ट्रिय कांग्रेस र २००६ मा नेपाली कांग्रेसको संस्थापक सदस्य भएँ । २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा गोरखाबाट पराजित भए पनि बीपीले मलाई सभामुख बनाउनुभयो । त्यसैवापत ०१७ साल पुस १ गतेको ‘शाही कु' पछि म लगातार सवा नौ वर्ष जेल परी २०२६ चैत २४ गते रिहा भएँ । जेलबाट छुटेको बाह्र दिन मात्र पुगेको थियो, विद्यार्थी भाइबहिनीले नेपाल विद्यार्थी संघको सम्मेलनको उद्घाटन गर्न आग्रह गरे । जोखिम मोलेर स्वयम्भुस्थित एक पाटीमा संघको उद्घाटन गरें । त्यही संघका उत्पादनहरू आज पार्टी र सरकार दुवै सम्हालिरहेका छन् । यसले आत्मगौरवको अनुभूति पनि भइरहेको छ । तर जुन आदर्श र उद्देश्यका साथ कांग्रेस स्थापना भयो, त्यसबाट ऊ स्खलित भएको देखेर पीडाबोध पनि भएको छ ।

बीपीको ०३९ साउनमा निधन भएपछि गणेशमानजी, म र गिरिजाबाबुसमेत नेतात्रयका काँधमा पार्टीको जिम्मेवारी आयो । ०४५ सालको सत्याग्रह हुँदै ०४६ को शान्तिपूर्ण जनआन्दोलन कांग्रेसकै नेतृत्वमा सम्पन्न भयो । ०४६ चैत २६ गते राजा वीरेन्द्रले हामी आन्दोलनकारी नेताहरू गणेशमान सिंह, म, गिरिजाबाबु र वाममोर्चाको तर्फबाट साहना प्रधान र राधाकृष्ण मैनालीलाई भेटघाटको लागि बोलाउनुभयो । वार्ताका क्रममा राजा अत्यन्त उदारताका साथ प्रस्तुत हुनुभयो । विदेशीसामु घुँडा टेक्नुभन्दा आफ्नै जनताका पक्षमा खडा भएर एक राष्ट्रवादी राजाको भूमिका देखाउनुभयो राजाले ।

उहाँले आमनिर्वाचन सम्पन्न गराउने उद्देश्यको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न गणेशमानजीको नाम प्रस्ताव गर्नुभयो । तर गणेशमानजीले ‘आफ्नो उमेर र स्वास्थ्यका कारण' भन्दै त्यसमा असमर्थता जनाई उल्टो मलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो । मैले १३ महिनाको निर्धारित अवधिभित्रै नेपालको संविधान जारी गरी आमनिर्वाचन सम्पन्न गराएँ । चुनावमा म स्वयंसमेत नेकपा एमालेका महासचिव मदन भण्डारीसँग मैदानमा उत्रें र झीनो मतान्तरले (७५१) ले पराजित भएँ । चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो । बहुमत प्राप्त नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीको स्वाभाविक दाबेदार हुनुहुन्थ्यो । गणेशमानजी चुनावै लड्नुभएन ।

२०४८ साल पुस दोस्रो साता प्रधानमन्त्री गिरिजाबाबुको एकल निर्णयबाट ६ जना क्याबिनेट मन्त्रीहरू हटाइए । कांग्रेस विभाजनको प्रस्थान विन्दु यही थियो । मन्त्री छान्ने अधिकार प्रधानमन्त्रीकै हुने संसदीय मान्यता भए पनि पार्टीभित्र शक्ति सन्तुलनतर्फ उहाँको ध्यान पुगेन । टनकपुर सम्झौताले पार्टीभित्र विवाद चर्कियो । अझ ०५० सालको उपनिर्वाचनमा पार्टीकै अन्तर्घातका कारणले विद्यादेवी भण्डारी (हाल ः राष्ट्रपति) सँग झीनो मतले म हार्न पुगें । पार्टीभित्र गणेशमानजी र म एकतिर अनि गिरिजाबाबु अर्कोतिर हुन पुग्यौं । पार्टी विभाजनको सँघारमा पुग्यो । पार्टी सभापति र प्रधानमन्त्रीको दुई गुटबीच सडकमा नाराबाजी घन्कियो । कुटाकुटको स्थितिसमेत आयो । गणेशमानजीको प्रधानमन्त्रीलाई कारबाही नै गर्नुपर्छ भन्ने अडान थियो । म दुवै नेताको चेपुवामा थिएँ । अपमानका घुड्का पिएर, घातअन्तर्घातका पीडालाई विस्मृतिमा राखेर पार्टी फुट्नबाट जोगाएँ । कांग्रेसको संस्थापक सदस्य र वर्तमानमा पार्टी सभापतिको नाताको मैले जिम्मेवारी बहन गरें । सायद मलाई त्यो तागत ईश्वरप्रतिको गहिरो आस्था र नैतिक बलका कारण प्राप्त भएको हुनुपर्छ ।

सत्ताको लागि मैले कहिल्यै पनि मूल्यमान्यतासँग सम्झौता गरिनँ । स्थापनाकालदेखि नै प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षमा उभिएँ । तर आजको अवस्थाको कारक कांग्रेसीजनले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्न तयार हुनु हो । यसर्थ कांग्रेसले आफूलाई सच्याओस् ।

०५१ सालमा पार्टीमा अर्को दुर्घटना भयो । सरकारको नीति तथा कार्यक्रममा धन्यवादको प्रस्ताव संसद्मा रहेका हाम्रै पार्टीका छत्तीसजना सांसदहरूको अनुपस्थितिका कारण विफल भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकतर्फी रूपमा संसद् विघटनको सिफारिस र मध्यावधि निर्वाचनको घोषणा गर्नुभयो । आफ्नै पार्टीको बहुमत छँदाछँदै मध्यावधि निर्वाचनको घोषणा आत्मघाती निर्णय थियो । केही कांग्रेसका र एमाले सांसदहरू (६९ जना) मिलेर संसद् विघटन नहोस् भनेर राजाकहाँ निवेदन दियौं । सर्वोच्च अदालतमा प्रधानमन्त्रीको निर्णयविरुद्ध मुद्दा दायर गर्‍यौं ।

सर्वोच्चले प्रधानमन्त्रीकै पक्षमा निर्णय गर्‍यो । हाम्रो केही सीप लागेन । अन्ततः ०५१ कात्तिक २९ गते मध्यावधि चुनाव भयो । आफ्नो साख गिराउने छत्तीसजनासमेतलाई उम्मेदवारी दिइने सर्तमा यो विभाजनको स्थितिबाट कांग्रेस त बचायौं, तर जनकांग्रेसका नाममा कांग्रेस हराउने अभियानमा गणेशमानजी लाग्नुभयो । उनान्नब्बे सिट ल्याएर एमाले पहिलो र बयासी सिट ल्याएर कांग्रेस दोस्रो भयो । एमालेको अल्पमतको सरकार, शेरबहादुरको नेतृत्वको संयुक्त सरकार, एमाले-राप्रपाको सरकार, कांग्रेस-राप्रपाको सरकार हुँदै राजनीतिक रूपले अस्थिरता, विसंगति र विकृति मौलाउने कालखण्ड बन्यो यो अवधि ।

 

०५६ सालमा गिरिजा नेतृत्वको सरकारले संसदीय निर्वाचन गरायो । भावी प्रधानमन्त्रीको रूपमा मेरो नाम अगाडि सारियो । कांग्रेसले सम्मानजनक बहुमत ल्याएर ०४८ को निर्वाचनको कीर्तिमान कायम राख्यो । म वीरगन्ज निर्वाचन क्षेत्रबाट विजयी भएँ । म स्कुल, कलेजदेखि मनिटरमा पनि नजितेको मानिस, जीवनमा पहिलो र अन्तिमपटक मैले चुनाव जितें । ०४८ को पार्टी सभापति निर्विरोध भएको हुँ । वास्तवमा म सदैव पराजित तर विजयी नेता हुँ ।

पूर्वघोषित प्रधानमन्त्रीको उम्मेदवार भएका कारण म संसदीय दलको नेतामा निर्विरोध चुनिएँ । ०५६ मा म दोस्रोपटक प्रधानमन्त्री बनें । माओवादी जनयुद्ध उत्कर्षमा थियो । शान्तिपूर्ण वार्ताद्वारा हत्या हिंसाको राजनीति अन्त्य गर्ने हेतुले मैले शेरबहादुर देउवाको संयोजकत्वमा वार्ता समिति पनि बनाएँ । संयोगले ०५२ सालमा ४० सूत्रीय माओवादीको माग अस्वीकार गर्ने प्रधानमन्त्री उनै देउवा थिए । ०५६ चैतमा करिब दुई हप्ताका लागि पेरिस जाने मेरो कार्यक्रम थियो । पार्टी सभापति गिरिजाप्रसादले संसदीय दलमा मेरोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चलखेल गर्न लाग्नुभयो । मसमक्ष दुई विकल्प थिए- मध्यावधि निर्वाचन घोषणा या राजीनामा । मैले पछिल्लो विकल्प रोजें । मैले संसद् विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरिनँ ।

नेपाली कांग्रेस एक ढिक्का रहोस् र संसद्ले पूर्ण कार्यकाल पूरा गरोस् भनेर मैले संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएँ । भीम मल्लकै समयदेखि मुलुकको हित गर्ने र भलो चिताउनेहरूको दुःखद् अन्त्य भोग्न नेपालीहरू अभिशप्त छन् भन्ने अभिव्यक्ति दिएँ मैले सदनमा । ०५८ को नेपाली कांग्रेसको विभाजनले म पुनः मर्माहत हुन पुगें । कांग्रेसको जीवित एक मात्र संस्थापक सदस्य हुँदाहुँदै पनि मैले सार्थक भूमिका निर्वाह गर्न सकिनँ । ०५८ असोज १८ गते निर्वाचित शेरबहादुर देउवाको सरकार भंग गरियो । राजकीय अधिकार फेरि राजाको हातमा पुग्यो ।

यो शाही कदमपछि ०६२÷६३ को जनआन्दोलनको फलस्वरूप विघटित संसद् राजाको घोषणाले स्थापित भयो । ०६२ मार्गमा सात दल र माओवादीबीच भारत सरकारको प्रायोजनमा बाह्रबुँदे सहमति भयो । सायद यसै सहमतिमा टेकेर संविधानसभाको चुनावमार्फत गणतन्त्रमा जाने गोप्य सहमति भएको थियो । यही आधारमा ०६४ असोज ८ गते दुवै कांग्रेस (नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक) एकीकरण भयो र असोज ९ गतेको दुवै कांग्रेसका कथित महासमिति बैठकले राजतन्त्रको विषयमा निरपेक्ष रहने प्रस्ताव पारित गर्‍यो । ०३ सालदेखि नेपाली कांग्रेसले अवलम्बन गरेको संवैधानिक राजतन्त्रको नीति परित्याग गर्‍यो । यसै दिनदेखि मैले भारी मन लिएर नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरें ।

संसदीय दलको नेता शेरबहादुर देउवालाई बनाउनेदेखि ०५१ मा छत्तीसे समूहको संरक्षण गर्नमा मेरो भूमिका थियो । ०५७ मा पोखरामा सम्पन्न दसौं महाधिवेशनमा सभापति पदमा गिरिजाबाबुको खिलाफ मैले नै शेरबहादुरलाई नै समर्थन गरेको थिएँ । तर आज कांग्रेस र सत्ता नेतृत्व मैले सदैव सद्भाव राख्ने व्यक्ति हुँदासमेत नेपाली कांग्रेसको साख भने इतिहासमै सबैभन्दा नराम्रोसँग गिरेको देख्दा मलाई आत्मग्लानी भएको छ । सत्ताको लागि मैले कहिल्यै पनि मूल्यमान्यतासँग सम्झौता गरिनँ । स्थापनाकालदेखि नै प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षमा उभिएँ । तर आजको अवस्थाको कारक कांग्रेसीजनले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्न तयार हुनु हो । यसर्थ कांग्रेसले आफूलाई सच्याओस् । यसो गरे मात्रै मेरो मृतात्माले शान्ति पाउला !

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.