तीज: कसैलाई दर, कसैलाई कहर
सिन्धुली: सम्पन्न परिवारका महिला एक महिना अघिदेखि तडकभडक लवाइ र दर खाएर हरितालिका तीज मनाइरहेका छन्। सिन्धुलीका श्रमिक महिला भने बिहानबेलुका छाक टार्नकै लागि दिनरात काममा व्यस्त छन्।
उनीहरूसँग मीठो खाने र राम्रो लगाउने रहरभन्दा बढी बिहान र बेलुकीको परिवारको छाक कसरी टार्ने भन्ने पिरलो छ। सँगैका साथीहरू महँगा गहना, लुगाफाटा लगाएर एक महिना अघिदेखि तीजको दर खान निस्किने क्रम चले पनि उनीहरू भने दैनिक श्रमबाट टाढा हुन सकेका छैनन्।
चाडवाड भनेको हुनेखाने वर्गका लागि मात्रै भएको बुझाइ श्रमिक महिलाको छ।‘ श्रम गरेको दिन खाना पाक्छ, नत्र त बालबच्चा भोकै राख्नुपर्ने पिरलो छ', कमलामाई नगरपालिका— ४ की उषा नेपालीले भनिन्, ‘त्यही भएर चाडको दिन पनि काम गर्न आएका हौं।'
तीजमा माइत जान मन भए पनि बाध्यताले नसकेको उनीहरूको भनाइ छ। सिन्धुलीमा माइतीले चेलीबेटीलाई तीजका लागि ल्याउने र लग्ने क्रम जारी हुँदा प्रायः श्रमिक महिलाहरू गिट्टी कुट्ने, भारी बोक्ने, नाला सफा गर्ने, होटेलमा मजदुरी गर्नेलगायतका काममा व्यस्त देखिन्छन्।
जिल्ला सदरमुकाम माढी बजारमा मात्र दुई सयभन्दा बढी महिला तथा पुरुष श्रकिक छन्।उनीहरूको अनुभवमा तीज पर्व हुनेखानेका लागि देखासिखी गर्न र भड्किलो संस्कृति सिर्जना गर्न मात्र आएको जस्तो लाग्छ।
तीज पर्वमा सम्पन्न वर्ग र गरिब तथा श्रमिकबीच विभेद सिर्जना गरेको श्रमिकहरूको बुझाइ छ। आफ्ना आफन्त भेट्ने, मनका कुरा साटासाट गर्ने र सांस्कृतिक परम्परालाई निरन्तरता दिने तीज पछिल्लो समय भड्किलो र विभेदको पर्व बन्दै गएको बझाइ उनीहरूको छ।