'पूर्वाधारका कारण १३औं साग रोकिँदैन '

'पूर्वाधारका कारण १३औं साग रोकिँदैन '

राजेन्द्रकुमार (राजन) केसी नेपालको राजनीतिमा चर्चित नाम हो। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा १० वर्षे सशस्त्र युद्ध लडेका र पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'लाई पराजित गरेपछि केसीले ठूलै चर्चा बटुलेका थिए। काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद केसीले २२ दिनअघि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समालेका थिए। जीवनमा पहिलोपटक मन्त्री बनेका केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समालेलगत्तै २४ दिनभित्र नेपाली खेलकुदमा नयाँ अनुभूति गराउने घोषणा गरेका थिए।उनले तोकेको समयसीमा सकिनै लाग्दा नेपाली खेलकुदको वास्तविकता र उनको भावी योजनामा केन्द्रित रहेर अन्नपूर्ण पोस्ट्का लागि गरिएको कुराकानीको सम्पादित अंश:

तपाईं युवा तथा खेलकुदमन्त्री यस्तो बेलामा हुनुभएको छ, जति बेला खेलकुदका विभिन्न निकायमा विवाद उत्कर्षमा छ। खेलकुदभित्रका विवाद र त्यसको समाधानका लागि तपाईंले कस्तो योजना बनाउनुभएको छ?

विवाद जुनसुकै क्षेत्रमा पनि हुन्छ। खेलकुद क्षेत्र पनि विवादबाट मुक्त छैन। खेलकुद क्षेत्रको मुख्य काम भनेको खेलका माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनु हो। यसका लागि खेलाडीलाई स्वस्थ प्रतिस्पर्धामा उतार्नुपर्छ। खेलाडीले खेल्ने अवसर पाउनुपर्छ। यो काम भयो भने अरू विवाद विस्तारै समाधान हुँदै जान्छन्। चाहे व्यक्तिगत तवरमा होस् या योजनाबद्ध रूपमा नै किन नहोस्, खेलकुदभित्रका विवाद न्यूनीकरण हुँदै जानेछन्। खेलकुदका माध्यमबाट राष्ट्रलाई कसरी चिनाउने र खेलाडीको जीविकोपार्जनमा के-कस्ता काम गर्ने भन्ने सवालमा मैले स्पष्ट खाका बनाएको छु। यही खाकाअनुसार खेलकुदलाई अगाडि बढाउने योजनामा छु।

 तपाईंले बनाउनुभएको खाकाको कार्यान्वयन त राष्ट्रिय खेलकुद परिषद्मार्फत हुन्छ, परिषद्का सदस्यसचिवसँग तपाईंको सम्बन्ध कस्तो छ?

राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष पनि म नै हुँ। परिषद्मा उपाध्यक्ष, सदस्यसचिवका साथै अन्य सदस्य पनि छन्। खेलकुद परिषद् एकजनाले मात्र चलाउने निकाय होइन। सबैले मिलेर काम गर्ने हो। अध्यक्षको हैसियतमा मैले गर्नुपर्ने काम कर्तव्य मैले गर्छु र परिषद्ले गर्न काम त्यहीँबाट हुन्छ। परिषद्बाट हुन नसकेका कामको नैतिक जिम्मेवारी लिन पनि म तयार छु।

अहिलेको सबैभन्दा ठूलो दायित्व भनेको १३औं दक्षिण एसियाली खेलकुद (साग) हो। तोकिएकै समयमा साग सम्पन्न गर्न दुईवटा समस्या देखिएको छ, एउटा ओलम्पिक कमिटीको विवाद र अर्को भौतिक पूर्वाधार। यी दुवै समस्यालाई कसरी सम्बोधन गर्ने योजना बनाउनुभएको छ ?

भौतिक पूर्वाधारका विषयमा मन्त्रालयले गम्भीर चासो देखाएको छ। नेपालले तेस्रोपटक आयोजना गर्न लागेको सागलाई सफलतापूर्वक सम्पन्न गर्न धेरै चरणमा छलफल भएको छ। सागलाई नै लक्षित गरी विभिन्न पूर्वाधार निर्माणको काम सुरु भएको छ। भौतिक पूर्वाधार निर्माणमा राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालय युद्धस्तरमा लागेको छ। यसबाहेक विभागीय टोलीसँग रहेको पूर्वाधारलाई पनि सागका लागि प्रयोग गरिनेछ। त्यसैले पूर्वाधारकै कारणले साग प्रभावित हुँदैन। यसमा सबै ढुक्क भए हुन्छ।

१३औं साग निर्धारित समयमै हुन्छ भनेर तपाई आफैं भने कत्तिको विश्वस्त हुनुहुन्छ?

१३औं साग निर्धारित समयमै हुन्छ, यसमा शंका नगर्न सबैसँग आग्रह गर्छु। सागका लागि केही पूर्वाधार फास्ट ट्र्याकबाट निर्माण गर्नुपर्ने अवस्था छ। यसबाहेक धेरै पूर्वाधार तयारी अवस्थामै छ। सेना र प्रहरीसँग भएका पूर्वाधार तयारी अवस्थामा छन्। यसका साथै पोखरामा पनि केही खेल सञ्चालन गर्न पूर्वाधार तयारी अवस्थामा छ। त्यसैले १३औं साग निर्धारित समयमै आयोजना हुनेमा म ढुक्क छु।

१३औं सागका विषयमा बजेट भाषणमा केही पनि सम्बोधन भएन। मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले यसको दोष एकअर्कामाथि लगाउँदै आएका छन्, यसलाई तपाईंले कसरी लिनुभएको छ?

यस्तो केही विवाद मैले देखेको छैन। केही समयअघि मैले नै शिलान्यास गरेको हिटिङ स्विमिङ पुल कार्यक्रमभित्रै थियो । कीर्तिपुरको बहुउद्देशीय कभर्डहल पनि कार्यक्रमकै एउटा पाटो हो। यसैगरी परिषद्को प्रशासनिक भवनको शिलान्यास पनि कार्यक्रमअनुसार नै भएको हो। यसबाहेक भूकम्पले क्षति पुगेका दशरथ रंगशालाको भीआईपी प्यारापिट लगायतका संरचना निर्माणको काम पनि कार्यक्रमअनुसार नै अगाडि बढिसकेको छ। त्यसैले पूर्वाधार निर्माणका काममा मन्त्रालय र परिषद्बीच वादविवाद हुन्छजस्तो मलाई लाग्दैन। अर्को कुरा, १३औं साग खेलकुद परिषद् र खेलकुद मन्त्रालयले मात्र गर्ने होइन; साग खेलकुद राष्ट्रले गर्ने हो। यसमा राष्ट्रको पनि प्रतिष्ठा जोडिएको हुन्छ । त्यसैले बजेटको कमीले १३औं साग रोकिन्छजस्तो मलाई लाग्दैन।

यसमा सरकारी प्रतिबद्धता बलियो छ त?

एकदमै बलियो छ। सरकारी प्रतिबद्धता बलियो भएकै कारण १३औं साग तोकिएकै समयमा हुन्छ भनेर मैले भनेको हुँ।

नेपाली क्रिकेट निलम्बित अवस्थामा छ, यसको फुकुवाका लागि के काम गर्नुभएको छ?

क्रिकेट विवाद समाधानका लागि पहल भइसकेको छ। विधान परिमार्जनका लागि क्रिकेट संघको साधारणसभा सुरु भएको छ। अब क्रिकेटले गति लिन्छ र विवादको गुञ्जायस छैन।

नेपाली खेलकुदमा खेलभन्दा बढी राजनीति हावी हुन्छ भनिन्छ, तपाईंले चाहिँ के पाउनुभयो ?

नेपाली खेलकुदमा यसअघि के भयो भन्ने कुरामा म ध्यान दिन्नँ। खेलकुदमा राजनीतिकरण हुनु हुँदैन भन्ने मेरो मान्यता हो र यो मान्यतामा म अडिग छु।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदै हुनुहुन्छ, अहिलेसम्म सरकारप्रमुख र राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा खेलकुदका एजेन्डाले स्थान पाएको देखिँदैन, यसपटकको भ्रमणमा खेलकुदका एजेन्डा समेटिएका छन् त ?

छिमेकी राष्ट्रको औपचारिक भ्रमण हुँदा खेलकुदका एजेन्डाले पनि स्थान पाउनुपर्छ भन्ने मेरो चाहना हो। भारत भ्रमणमा खेलकुदका बारेमा केही छलफल त होला तर, यही एजेन्डामा छलफल हुन्छ भन्ने निश्चित छैन।

संघीय संरचनाअनुरूप खेलकुदलाई अगाडि बढाउन के-कस्ता काम भइरहेका छन्?

संविधानमा तीन तहको सरकारको अवधारणा ल्याइएको छ। स्थानीय तह, प्रदेश र केन्द्र सरकार। धेरै निकाय तहगत संरचनामा गइसकेका छन्। स्थानीय निकायको पनि चुनाव भइसकेको अवस्थामा खेलकुद पनि संघीय संरचनामा जानैपर्छ। यसका लागि हामीले काम पनि अगाडि बढाइसकेका छौं।

साग आयोजनासँग जोडिएको अर्को पक्ष ओलम्पिक कमिटीको विवाद पनि हो, ओलम्पिक विवाद समाधानका लागि कस्तो पहल हुँदैछ?

विवादित दुवै ओलम्पिक कमिटीका पदाधिकारीसँग कुरा गरिरहेको छु। दुवै कमिटीको प्रतिनिधित्व हुने गरी एउटा तदर्थ समिति गठन गर्ने र एक वर्षभित्र चुनाव गर्ने योजना बनाएको छु। अहिले कमिटीको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। अदालतबाट विवाद समाधान हुने गरी फैसला भयो भने त भइहाल्यो; भएन भने पनि अदालतको फैसलापछि काम सुरु गर्नेछु।

खेलकुद परिषद्मा संघहरू दर्ता हुने क्रम रोकिएको छैन, भर्खरैमात्र पनि एक १८८औं संघ दर्ता भएको छ। तपाईंले भने खेलकुद संघहरू घटाउँछु भन्दै आउनुभएको छ, संघहरू घटाउन सम्भव देख्नुभएको छ?

संघका विषयमा खेलकुदको विधेयक नै ड्राफ भएको छ। ड्राफमा एक खेल एक संघको अवधारणा छ। विधेयक पास भएपछि ऐन बन्छ र त्यसपछि अनावश्यक संघहरू स्वतः निष्क्रिय हुनेछन्। एक खेल एक संघको नीति कडाइका साथ अवलम्बन गरिनेछ।

विधेयकमा नयाँ कुरा के-के छन्?

विधेयकले ऐनको रूप लिएपछि खेलकुदमा भएका धेरैजसो विकृति आफैं निर्मूल भएर जानेछन्। विशेष नयाँ कुराभन्दा पनि संघीय संरचनाको ढाँचामा खेलकुदको तहगत अवस्था सिर्जना होस् र पारदर्शी र स्वतन्त्र रूपमा खेलकुद क्षेत्र अगाडि बढोस् भन्ने विषयहरू नै छन्।

खेलकुदमा निजी क्षेत्रलाई भित्र्याउनुपर्छ भनेर भन्दै आउनुभएको छ, यसका बारेमा केही बताइदिनुस् न?

निजी क्षेत्रका उद्योग व्यवसायलाई खेलकुदसँग जोड्ने काम सुरु गरेको छु। खेलाडीको वृत्ति विकास र रोजगारीका लागि सरकारले मात्र नसक्ने भएकाले निजी क्षेत्र खासगरी कर्पोरेट हाउसलाई खेलकुदमा भित्र्याउन लागिपरेको छु।

जिम्मेवारी समालेलगत्तै २४ दिनभित्र नयाँ अनुभूति दिलाउँछु भन्नुभएको थियो, तपाईंले खेलकुद मन्त्रालय सम्हालेको २3 दिन पुगिसकेको छ, अहिलेसम्म के-कस्ता काम गर्नुभयो?

लामो समयदेखि खेलकुद परिषद्ले खेलकुदको हितमा काम गर्न सकेन । खेलकुदमा राजनीतिकरण गर्ने काममात्र भयो। राम्रा खेलाडीलाई पनि हतोत्साहित गर्ने काम भयो भन्ने सन्दर्भमा २४ दिनभित्र नयाँ अनुभूति दिलाउँछु भनेको हुँ। २२ दिनको अवधिमा मैले धेरै काम गरिसकेको छु। खेलकुदको आमूल परिवर्तनका लागि थुप्रै कार्ययोजना बनाइसकेको छु । सूक्ष्म रूपले अध्ययन गर्नुभयो भने तपाईंहरूले पनि पक्कै नयाँ अनुभूति पाउनुहुनेछ। मैले २४ दिनमा २४ तले भवन बनाउँछु भनेको थिइनँ। २४ दिनभित्र खेलकुदमा नयाँ अनुभूति पाउनुहुनेछ भनेको हुँ। म मन्त्री भएर आएपछि कीर्तिपुरमा ८२ करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय कभर्डहलको शिलान्यास भइसकेको छ। अर्को महत्वपूर्ण कुरा, त्रिभुवन विश्वविद्यालयमा स्पोर्टस् साइन्सको पढाइ सुरु हुँदैछ। बहुउद्देश्यीय कभर्डहल स्पोर्टस् साइन्सका लागि पनि उपयुक्त हुनेछ। यसले पक्कै पनि नेपाली खेलकुदलाई दीर्घकालसम्म फाइदा पुर्याउनेछ।

पौडी खेलाडी गौरिका सिंहको विषयमा पनि तपाईंले अडान लिनुभएको कुरा आएको छ, गौरिकालाई राष्ट्रिय पौडी प्रतियोगितामा सहभागी गराउन तपाईंले अडान लिनुभएकै हो?

गौरिका सिंहलाई खेलाउनुपर्छ भनेर मैले अडान लिएको होइन। मैले त पहिले प्रकाशित भइसकेको टाइसिटअनुसार नै प्रतियोगिता सञ्चालन हुनुपर्छ भनेर अडान लिएको हुँ। गौरिका सिंह नेपालको राष्ट्रिय प्रतियोगिता खेल्न नेपाल आएकी थिइन्। उनी आएपछि पहिले प्रकाशित भइसकेको टाइसिटलाई फेरेर उनलाई प्रतियोगितामा सहभागी हुन नदिने प्रपञ्च पौडी संघले रचेको रहेछ। मैले त्यसमा अडान लिएँ र पहिले प्रकाशित भएकै टाइसिटअनुसार खेल सञ्चालन गर्न निर्देशन दिएँ। त्यसपछि तोकिएकै समयमा खेल भयो। प्रतियोगितामा कसैलाई जिताउन र हराउनभन्दा पनि मैले गलत प्रवृत्तिलाई निरुत्साहित गर्न कदम चालेको हुँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.