‘ए मेरो हजुर २' को टोली पोखरामा
पोखरा : अभिनेत्री झरना थापाले पहिलोपटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्र टोली प्रचारका लागि पोखरा आइपुगेको छ । चलचित्र ए मेरो हजुर २ भदौ १६ देखि देशभर प्रदर्शनमा आउँदै छ । २० वर्ष अभिनय गरेपछि अभिनेत्री झरना थापाले चलचित्र निर्देशन गरेकी हुन् ।
प्रेम, मित्रता र सामाजिक कथामा आधारित चलचित्र ए मेरो हजुर २ को गीत र ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले दर्शकको मन तानेको निर्देशक थापाले बताइन् । अभिनेता सलोन बस्नेत र सुमन पौडेलले पनि चलचित्रले दर्शकको मन छुने विश्वास गरे ।
चलचित्रको निर्माता सुनीलकुमार थापाले डेढ करोडको लगानीमा चलचित्र निर्माण गरेको बताए । चलचित्र पोखरा, काठमाडौं, मुस्ताङलगायतका क्षेत्रमा चलचित्रको छायांकन गरिएको छ ।