आशावादी नेपाली म्याराडोना
नेपालले कहिले विश्वकप फुटबल खेल्ला ? आमनेपाली फुटबल समर्थकको मनमा हरपल उब्जने प्रश्न हो यो । समर्थकको यस्तै प्रश्नले नेपाली फुटबलका म्याराडोना नामले परिचित पूर्व फुटबलर मणि शाहलाई पनि हरदम चमोटिरहन्छ रे । तर मणि अहिले मैदानमा छैनन् । आफू मैदानमा सक्रिय नभए पनि नेपाली फुटबल माथि उठ्नेमा भने उनी आशावादी देखिन्छन् । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण जित्दाका नायक मणि नेपाली खेलाडीमा प्यासन नमरेको बताउँछन् । ‘हाम्रो पाला र अहिलेको फुटबलमा धेरै फरक छ । हामी पहिला देश भनेर खेल्थ्यौं । खल्तीमा पैसा हुन्थेन । डाइटको नाममा एक प्लेट चनाको भर । तैपनि मैदानमा भिड्दा पहाडै फोड्छु भन्ने आँट आउँथ्यो', मणि सम्झन्छन् ।
नेपालको फुटबल बीचमा खस्किए पनि अहिले तुलनात्मक रूपमा राम्रो रहेको उनको ठम्याइ छ । अहिले राष्ट्रिय टोलीमा पनि राम्रा खेलाडी रहेको उनी बताउँछन् । ‘हामीले सन् १९९३ मा भएको छैटौं सागमा स्वर्ण जितेका थियौं । त्यसपछि नेपालले एकैपटक बाह्रौं सागमा आएर स्वर्ण जितेको छ । त्यतिबेला पनि हामीले भारतलाई हराएका थियौं । नेपालले पछिल्लो साग जित्दा पनि भारतलाई नै हराएको हो । अहिले मिडिया धेरै छन् । खेलाडी मिडियामा छाएका छन् । खेलाडीले अवसर पाएका छन् । कमाइ पनि राम्रै गरेका छन् । नियमित लिग भयो भने फुटबलको स्तर अझै माथि जान्छ । नयाँ खेलाडी पनि आउँछन्', अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा उनी आशावादी देखिए ।
मणिका आँखामा अहिले गोलरक्षक किरन चेम्जोङ, मिडफिल्डर र रक्षकमा खेलिरहेका रोहित चन्दजस्ता राम्रा खेलाडी टोलीमा छन् । उनीहरूको खेल कुनै युरोपियनको भन्दा कम छैन । ‘टोलीका सबै खेलाडी १९÷२० कै छन् । केवल एन्फाको व्यवस्थापन राम्रो भयो भने नेपाली फुटबल माथि उठ्ने धेरै आधार छन्', मणिले भेटको सुरुआतमै बताए ।
नेपालमा नेपालकै प्रशिक्षकलाई विश्वास नगर्ने अर्को नराम्रो बानीले भने उनी केही दुःखी बनेका छन् । ‘राजुकाजी शाक्य नै हाम्रो टिममा भएको बेला साग जित्यौं । फेरि पछिल्लो साग राजु प्रशिक्षक भएको बेला जितेका हौं । के अब नेपाली प्रशिक्षक नराम्रो भन्न मिल्छ ? ' उनले प्रश्न गरे, ‘हाम्रो पालामा फुटबल व्यावसायिक नभए पनि खेलाडीलाई जर्मनी, रूसलगायत देशमा लगेर अभ्यास गराइन्थ्यो । अहिले पनि मौका त दिइएको छ तर बलियो टोलीसँग अभ्यास गर्दा आफ्नो खेल पनि बलियो हुन्छ । यसलाई एन्फाले ध्यान दिनुपर्छ ।
अहिले राष्ट्रिय टोलीलाई जापानमा खेल्ने मौका दिइएको छ, यो धेरै राम्रो पक्ष हो ।' हाल राखेपअन्तर्गत फुटबल प्रशिक्षकको जिम्मेवारीमा रहेका मणि सन् १९९० को दशकका चर्चित खेलाडी हुन् । उनले सन् १९८५ देखि सन् १९९८ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेले । त्यसबीचमा उनले दुई वर्ष टोलीको कप्तानी पनि सम्हाले । शाहकै जादुमय फ्रिकिक प्रहारले नेपालले सन् १९९३ को साग खेलकुदमा स्वर्ण पदक जितेको थियो, जुन नेपाली फुटबलको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पनि हो ।
मणिले उक्त दक्षिण एसियाली खेलकुदमा भारतविरुद्ध विश्वस्तरीय फ्रिकिक प्रहार गरेका थिए । उनको त्यो फ्रिकिक गोलले नेपाली फुटबलको कीर्तिमानी इतिहास लेखियो । बंगलादेशको ढाकामा भएको सागको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै थियो । नेपालले फुटबलको फाइनल खेल्नुअघि कुनै पनि खेलमा स्वर्ण जित्न सकेको थिएन । फुटबलमा स्वर्ण नजित्ने हो भने नेपाल स्वर्णविहीन अवस्थामा घर फर्कन बाध्य हुने थियो ।
प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालविरुद्ध पहिलो हाफमा अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपालका उमेश प्रधानले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । तर चौरासीऔं मिनेटमा भारतका आईएम विजयनले गोल गर्दै खेललाई पुनः २-१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि नेपाली टोली एकाएक स्तब्ध बन्यो । प्यारापिटका समर्थक निराश देखिए ।
‘मानिसमा सास छउन्जेल आस हुन्छ भनेझैं हाम्रो पनि आस मरेको थिएन । फुटबलमा ९० मिनेटभित्र जे पनि हुनसक्ने कुरा बाँकी नै थियो । आखिर त्यस्तै भयो', ५० वर्षीय मणिले विगत सम्झिए, ‘हाम्रो टोलीले हरेश खाएन । खेल सकिन दुई मिनेट बाँकी थियो । नेपालले करिब ३५ यार्ड लामो फ्रिकिकको अवसर पायो । प्रशिक्षकले फ्रिकिक हान्ने अनुमति मलाई नै दिएका थिए । मेरो लामो फ्रिकिक प्रहारले सोझै जाली चुम्यो । गोलपोस्टको देब्रे साइड च्यापेर मैले गरेको प्रहारलाई भारतका गोलरक्षकले बचाउने प्रयास त गरे तर त्यो निकै कठिन भएकाले उनी सफल हुन सकेनन् । त्यो खुसीको क्षण सम्झँदा अहिले पनि मलाई आनन्द लाग्छ ।'
मणिको फ्रिकिक गोलपछि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकियो । अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन सकेन । खेल टाइब्रेकरमा गयो, जसमा नेपालले भारतलाई ४-३ गोलले हरायो र उपाधि जित्यो । मणिले टाइब्रेकरमा पनि गोल गरे । सिनियर टोलीले फुटबलतर्फ जितेको यो पहिलो उपाधि पनि हो । त्यतिबेला साग फुटबलमा सिनियर टोलीले प्रतिस्पर्धा गर्थे । अहिले टोलीमा तीनजना सिनियर र बाँकी यू- २३ खेलाडीले खेल्ने प्रावधान राखिएको छ । त्यतिबेला अर्जेन्टिनाका म्याराडोनाले जस्तै कर्ली कपाल पालेका मणि झट्ट हेर्दा म्याराडोनाजस्तै देखिन्थे । उनी आफैं म्याराडोनाका असली फ्यान पनि हुन् । आफूलाई नेपाली म्याराडोना भनेको सुन्दा उनलाई मन पनि पर्छ ।
१३ वर्ष राष्ट्रिय फुटबल टोलीमा बिताएका मणिले ६ जना विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिने मौका पाए । आफ्नो खेलमा निखारता ल्याउने काम भने ब्राजिलका प्रशिक्षक सान्तोष र आइरिस प्रशिक्षक जो किन्नरले गरेको उनी बताउँछन् । टोट्टनहामका खेलाडीसमेत रहेका किन्नरले मणिको पोजिसन नै परिवर्तन गरिदिए । सधैं स्ट्राइकरमा खेलिरहेका मणिलाई किन्नरले मिडफिल्डमा झारे ।
अहिले गोलरक्षक किरन चेम्जोङ, मिडफिल्डर र रक्षकमा खेलिरहेका रोहित चन्दजस्ता राम्रा खेलाडी टोलीमा छन् । उनीहरूको खेल कुनै युरोपियनको भन्दा कम छैन । मणि शाह, पूर्व फुटबलर
‘स्ट्राइकरमा खेलिरहेको मलाई एक्कासि मिडफिल्डमा झार्दा नरमाइलो लागेको थियो तर प्रशिक्षकले मेरो स्किल मिडफिल्डमा राम्रो देखे । किन्नरले सुट कडा हान्छ भनेर मलाई झारेका रहेछन् । मिडफिल्डमा खेलेपछि म फ्रिकिकको विशेषज्ञ नै भएँ । पछि ब्राजिलका प्रशिक्षक सान्तोष छोटो समयको लागि नेपाल आएका थिए । उनी झनै कडा अभ्यास गराउँथे । अभ्यासका क्रममा मलाई दैनिक दुई सयवटा फ्रिकिक हान्न लगाइन्थ्यो । त्यतिबेला मेरो तौल स्वात्तै घट्यो', मणि भन्छन् ।
सान्तोषको त्यही ट्रेनिङले उनको फ्रिकिक प्रहार गर्ने शैलीमा आमूल परिवर्तन पनि ल्यायो । यसले गर्दा मणि कर्नर किक, फ्रिकिक र पेनाल्टी प्रहारमा सधैं पहिलो रोजाइमै परे । बुबा लक्ष्मण शाहका कारण खेलकुदमा लागेका मणिले नेपालको आरसीटी, एनआरटी, फ्रेन्ड्स, ब्वाइज युनियन, आरएनएसीलगायतका क्लबबाट फुटबल खेले । उनले लामो समय मनाङ मस्र्याङ्दी क्लबबाट पनि व्यावसायिक फुटबल खेले । मनाङलाई ‘सी' बाट ‘ए' डिभिजनसम्म पुर्याउन र ‘ए' मा पुग्नासाथ उपाधि दिलाउन मणिको ठूलो योगदान छ ।
मणिप्रेरित मनाङले त्यतिबेला ‘सी' देखि ‘ए' डिभिजनसम्म पुग्दा एक गोल पनि खाएन । उनको खेल जीवनको यो आफैंमा अविस्मरणीय क्षण हो । उमेर समूहदेखि राष्ट्रिय टोलीमा सबै स्तरका खेल खेलेका मणिले सन् १९९८ मा फुटबल खेलबाट सन्न्यासको घोषणा गरे । २०५२ सालदेखि राखेपको फुटबल प्रशिक्षक भएका मणि अहिले पनि सानो गौचरन जान्छन् । कुनै टोलीको प्रशिक्षणको जिम्मा नलिए पनि उनको मन पर्ने क्लब मनाङका खेलाडीको अभ्यास हेर्छन् र सुझाव पनि दिन्छन् ।
‘नेपालभन्दा कमजोर देशहरू विश्वकपसम्म पुगेका छन् । हाम्रा खेलाडीमा पनि त्यो क्षमता छ । नेपाली फुटबललाई माथि उठाउन एन्फाको व्यवस्थापन पक्षमा आमूल परिवर्तन हुनुपर्छ । एन्फा व्यवस्थापनमा फुटबल बुझेको मानिस छैन । एन्फामा आफ्नालाई काखा र अरूलाई पाखा गर्ने परम्परा छ । म पनि त्यसको सिकार भएँ', मणिले दुःखेसो पोखे । एन्फामा १२ वर्ष उपाध्यक्षको भूमिकामा रहेका मणि मौका पाए आफू अझै फुटबलको नेतृत्व गर्न तयार रहेको बताउँछन् ।