नेसनलको सम्बन्धनविरुद्ध चिकित्सक संघ : स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी
काठमाडौं : नेपाल चिकित्सक संघले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने विवादास्पद निर्णय तत्काल खारेज नभए देशभरका स्वास्थ्य संस्थाको सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले सरकार र आफूसँग पटक-पटक भएको सम्झौताविपरीत मापदण्ड नै पूरा नगरेको र पूर्वाधार कमजोर रहेको कलेजलाई सम्बन्धन दिए मुलुकभरका सरकारी र निजी स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले १२ साउनमा नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । परिषद्ले सर्वोच्च अदालतको आदेश, प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूबाट आएको निर्देशन र चिकित्साशास्त्र अध्ययन संस्थानको सहमतिपछि नेसनललाई सम्बन्धन दिने निर्णय गरेको दाबी गर्दै आएको छ । निर्णय सार्वजनिक हुनेबित्तिकै आपत्ति जनाएको संघले शनिबार आकस्मिक रूपमा बोलाएको कार्यकारी समितिको बैठकबाट विभिन्न दबाबमूलक कार्यक्रम गर्ने र त्यसबाट पनि सम्बन्धन दिने निर्णय फिर्ता नलिए सेवा नै ठप्प पार्ने गरी कडा आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।
संघका महासचिव डा. लोचन कार्कीले त्रिभुवन विश्वविद्यालयबाट हचुवाको भरमा कलेजलाई सम्बन्धन दिने निर्णय भएकाले त्यो फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘जहाँ मेडिकल कलेज छैन, त्यहाँ मात्रै मेडिकल कलेज खोलिनुपर्छ । सरकारले हामीसँग जनसंख्या र भूगोलको आधारमा अहिलेसम्म मेडिकल कलेज नभएको स्थानमा मात्र सञ्चालन गर्ने भन्दै सम्झौता गरेको थियो', डा. कार्कीले अन्नपूर्णसँग भने' ‘सम्झौता कार्यान्वयन भए मात्र आमनागरिक गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा पुग्छन् ।
डा. कार्कीले गहन अध्ययनविना जथाभावी सहरमा मात्र मेडिकल कलेज खोलिए समग्र नेपालको मेडिकल शिक्षासमेत धाराशयी बन्ने उनको भनाइ छ । ‘सहरकेन्द्रित मात्रै शिक्षा र स्वास्थ्य सेवाविरुद्ध हामी वर्षौंदेखि लडिरहेका बेला जथाभावी बस्नसमेत नमिल्ने अपार्टमेन्टमा सञ्चालनमा आउन लागेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरियो । जुन हामीलाई स्वीकार्य छैन,' त्रिविको यो जसरी पनि निर्णय फिर्ता हुनुपर्छ । त्यसका लागि हामी जुनसुकै कदम अपनाउन तयार छौं ।'
संघले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि पटक-पटक आन्दोलन गरेको थियो । डा. गोविन्द केसीको अनशनका बेला सरकारलाई उनीसँग सम्झौता गराउनसमेत संघले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । तर, पटकपटक आन्दोलन गर्दा पनि सरकारी सम्झौता कार्यान्वयन नभएको भन्दै संघले आपत्ति जनाएको हो । संघले प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउने, विवादास्पद सम्बन्धनका विषयमा निरीक्षणमा गएका संलग्न चिकित्सकसँग छलफल गर्ने र शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)आबद्ध संघसंस्थासँग छलफल गरेर आन्दोलनलाई निर्णायक बनाउने घोषणा गरेको छ ।
सोमबारदेखि देशभरका सम्पूर्ण सरकारी, निजी तथा प्राइभेट स्वास्थ्य संस्थामा कालोपट्टी बाँधी काम गर्ने र त्यसपछि पनि माग सुनुवाइ नभए बन्दलगायत आन्दोलनमा उत्रिने निर्णय संघले गरेको हो । त्यसका लागि तयार रहन संघका मुलुकभरका शाखालाई पनि पत्राचार गरिएको हो ।