सिँचाइ सुविधाले बढ्यो आम्दानी
धनकुटा : खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका-१ सफाइटारका कुलबहादुर खड्का दुई दशकअघिसम्म घरमा आवश्यक खाद्यान्न/नुनतेल ल्याउन पैदल हिडेर धरानस्थित चतराबजार झर्थे । समतल परेको फाँट भए पनि बाली लगाउन सिँचाइ अभाव हुँदा उनको खेतीयोग्य जमिन बाँझै हुन्थ्यो । अकासेपानीको भरमा मकैबाली लगाउने स्थानीयले धनकुटा, मुलघाट र चतरा बजार पुगेर खाद्यान्न र तरकारी खरिद गरी ल्याउँथे ।
अहिले यहाँको परिस्थिति बदलिएको छ । सिँचाइ आयोजना सञ्चालन भएपछि कुलबहादुर खड्कालगायत ५२ घरपरिवारको खेतीयोग्य फाँट बाह्रैमास हरियो देखिन्छ । सफाइटारबाट पारी साँगुरीगढी गाउँपालिकाको आहालेस्थित लेमलेमा खोलाबाट ल्याएको पानीले सिँचाइ हुन थालेपछि स्थानीयले व्यावसायिक तरकारी र खाद्यबाली लगाएर मनग्गे आम्दानी गर्न थालेका छन् । कुनै बेला तरकारी र खाद्यान्न ल्याउन मुलघाट र चतराबजार पुग्ने यहाँका वासिन्दा अहिले तरकारी बेच्न ती ठाउँ पुग्छन् ।
सफाइटारमा ५२ घरपरिवारको बसोबास छ । त्यहाँका सबै घरपरिवारले व्यावसायिक तरकारी र खाद्यबाली लगाउँछन् । सिजनअनुसार खाद्यबालीमा धान, मकै, कोदो, भटमास, गहुँ र तरकारीबालीमा आलु, खुर्सानी, गोलभेँडालगायत छन् । एउटा घरले तरकारी बिक्री गरेर वर्षदिनमा कम्तीमा दुईदेखि अढाइ लाख रुपैयाँ भित्र्याउने गरेको स्थानीय रेवत भण्डारीले बताए ।
लेमलेमा खोलाको पानीलाई करिब चार सय मिटर पक्की कुलोबाट झोलुंगे पुलभन्दा तीन सय मिटरमाथि शिरमा इन्टेक ट्यांकीमा ल्याइएको छ । ट्यांकीमा रहेको पानीलाई फलामे पाइपबाट तमोर नदीको झोलुङे पुल हुँदै करिब सात सय मिटर सफाइटारभन्दा केही माथि इन्टेक ट्यांकीमा खसाइएको छ । सो ट्यांकीबाट तीनवटा ब्लकमार्फत पानी वितरण गरिएको छ । सो योजनाबाट करिब ५० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । स्थानीयले पालो सिस्टममा कुलोको पानी चलाइरहेका छन् ।
स्थानीय कुलबहादुर खड्काका अनुसार पहिले खेती लगाउन आकाश हेर्नुपथ्र्यो । प्रकृतिलाई पर्खेर खेती गर्नुपर्ने वाध्यता थियो । उनले भने, ‘लेमलेमा खोलामा खेर गइरहेको पानीलाई सफाइटारमा ल्याएर सिँचाइ गर्न सकिन्छ भनेर स्थानीयले २०५३ सालमा सरकारसँग सिँचाइ योजनाको माग गरेका थिए । तर खोला तमोर नदीभन्दा पारी रहेकाले पानी ल्याउन झोलुंगे पुलको आवश्यकता थियो ।' झोलुंगे पुल कार्यक्रमअन्तर्गत २०५३ सालमा पुल बन्यो । त्यसपछि पारीबाट सिँचाइ योजना आयो । सिँचाइ र पुल सँगसँगै निर्माण सुरु भयो । वारी/पारी दुवैबाट पुल र सिँचाइ आयोजना सम्पन्न गरेर २०५६ साल भदौ १ गते पानी ल्याउन सफल भएको उनले बताए ।
‘खेतमा पानी आउँदा घर-घरमा दीप प्रज्ज्वलन गरी खुसीयाली मनायौं । आकाशलाई हेरेर खेती गर्ने परम्परा तोडियो । आफू अनुकूल खेती गर्न थाल्यौं । वैशाखमा लगाउने खेतीलाई सिँचाइ सुविधा पुगेपछि चैत, फागुनमा लगाउन थाल्यौं । भदौमा भित्रिने मकै जेठमै भित्रिन थाल्यो । खेतीलाई आफ्नो अनुकूल लगाएर किसानले आर्थिक लाभ लिन थाले । परम्परागत रूपमा खुर्सानी खेती गथ्र्यौं । त्यतिबेला असारमा पानी पर्थ्यो। खुर्सानी रोप्थ्यौं । आज हामी पानी आएपछि फागुन चैतमा खुर्सानी रोपेर बिक्री गर्न थाल्यौं । अहिले प्रत्येक घरले आलु, टमाटर, बन्दागोभीलगायत खेती गर्छौं', उनले भने ।
तर पाँच वर्षअघि झोलुंगे पुल जीर्ण भएका कारण उक्त सफाइटार सिँचाइ आयोजना बन्द भयो । त्यसपछि दुई वर्ष सिँचाइ आयोजना बन्द भयो । २०७१ सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालय धनकुटाले झोलुंगे पुल क्षेत्र कार्यक्रमअन्तर्गत ३३ लाख रुपैयाँको लगातमा नयाँ झोलुंगे पुल बनाइदिएपछि पुनः सिँचाइ आयोजना सञ्चालन भयो । सोही वर्ष सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाको १० लाख ५० हजार रुपैयाँको लागतमा आयोजनाको पुनः मर्मत भयो ।
सफाइटार सिँचाइ आयोजना पहाडी जिल्लाका लागि नमुना सिँचाइ आयोजना भएको डिभिजन सिँचाइ विकास कार्यालय धनकुटाका सिनियर एसोसिएसन अर्गनाइजर बुद्धीमान लिम्बुले बताए । उनले भने, ‘पहाडी क्षेत्रमा उपयुक्त योजना नै यही हो । किनभने डिप बोरिङ खर्चालु हुन्छ । पानीको स्रोत पनि धेरै ठाउँमा हुँदैन । वारीपारी भएको स्रोतलाई सदुप्रयोग गर्न यस्ता योजना सञ्चालन गरियो भने तमोर र अरुण नदीका फाँटजस्तै पहाडका टार पनि सिञ्चित हुन्छन् ।'