दलित मुद्दा : स्वाभिमान र अधिकार

दलित मुद्दा : स्वाभिमान र अधिकार

आदिवासी जनजाति अगुवाहरूसँगको भेटघाट र कुराकानी हुँदा उनीहरूको प्रश्न हुन्छ- भाषा, धर्म, क्षेत्र, जातिलगायतका पहिचानवादी आन्दोलन दलितको हो कि होइन ? यसलाई दलित आन्दोलनले कसरी हेर्ने गर्छ ? दलित मुक्तिका निमित्त क्रियाशील र संघर्षरत व्यक्ति, अधिकारवादी संस्थामाथि यी प्रश्न गरिरहँदा आफैंमा पनि प्रश्न उठ्छ, 'कथित दलित' हाम्रो पहिचान हो र ? दलित मुक्ति आन्दोलनको उद्देश्य 'दलित' वर्ग स्थापित गर्नको निमित्त हुँदै होइन ।

 

कथित दलित, वर्ग-समुदायमाथि हुने गरेका जातीय विभेद, छुवाछूत, भेदभाव, अन्याय, अत्याचारबाट मुक्ति र राज्यको नीतिनिर्माण गर्ने तह र राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका भएका कर्मचारी, सुरक्षा अंगहरू, प्रशासन, न्यायालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच इत्यादि प्रमुख सवाल हुन् । शूद्र, अछूत, सानो जाति, दलित पनि कतै पहिचान हुन सक्छ ? दलित एक विशेष अवस्था र परिस्थिति हो । त्यसकारण यस्तो स्थितिबाट मुक्ति, मानवीय र सभ्य व्यवहार, समानता र समावेशीकरण मात्रै दलित मुक्तिको सवाल हो । तसर्थ दलित मुक्तिको प्रमुख मुद्दामा स्वाभिमान र अधिकार महत्वपूर्ण सवाल हुन् ।

दिग्भ्रमित मुक्ति संघर्ष

कथित दलित वर्ग र समुदायको मूल उत्पत्ति अनार्य र गैर हिन्दु समुदाय हो । मूलवासी र तत्कालीन शासक वर्ग हो, दलित । कल, बल र छलपूर्वक आर्यवंशको शासन सत्ता सुरु भएसँगै सिन्धु सभ्यतामा नश्लीय शासन हुन थाल्यो । आर्यवंशको कपटपूर्ण युद्धमा हार्न पुगेका र हार स्वीकार नगरेको जाति वंशलाई शूद्र बनाइयो । कैयन् जाति, आदिवासी जंगल पस्न बाध्य भए । त्यसरी शूद्र, पानी नचल्ने, छुन नहुने जाति बनाई ती समुदायको इतिहास मेटाउने कार्य भयो । फलस्वरूप शूद्र र दास जाति (महिला) लाई धेरै वर्षसम्म सम्पत्ति, शिक्षालगायतका हक अधिकारबाट वञ्चित गराइयो ।

समानता, सम्मान, न्याय स्वतन्त्रता, समावेशीकरण विभेदबाट मुक्तिका निम्ति दलित वर्ग र समुदायको समष्टिगत आन्दोलनको परिकल्पना गर्न ढिलाइ गर्नु हुँदैन ।

कथित दलित वर्ग र समुदायका भाषा, धर्म, जात, जाति, पेसा, क्षेत्र, वर्ग, समुदायको हकअधिकार प्राप्तिका सबै आन्दोलन आफ्नै आन्दोलन हो । विभेद, छूवाछूत, अन्याय आदिबाट मुक्तिको तत्काल जरुरी छ । महिलाहरू समान हकको निमित लडे पनि उनीहरू त महिला नै रहने हुन् । तर दलित सधैं दलित रहने या रहनैपर्दछ भन्ने मुद्दा होइन र हुनै सक्दैन । दलित दृश्य, बोली, व्यवहार, रंग, पहिरन, शारीरिक बनोट आदिका आधारमा पहिचान गर्न सकिने वर्ग होइन । दलित त नश्लवादी र ब्राह्मणवादी चिन्तनले कृत्रिम रूपमा छुट्ट्याएको गलत सोच र व्यवहार मात्रै हो ।

प्रकृति, संस्कृति र राजनीतिको प्रभावले मानिसबीच भिन्नता देखा परे । नेपालको मात्रै होइन, विश्वका कमै मुलुकका जनता होलान्, जुन एकथरी मान्छेको रगतमा अर्को प्रकारको जातिको रगत नमिसिएको होस् । शूद्रहरूका हकमा पनि कालान्तरमा विभिन्न जाति, समुदाको रक्त मि श्रण हुन पुग्यो । आर्य, मंगोल, द्रविड, मुस्लिम, इसाईलगायतका समुदाय, धर्मसँग नश्ल मि श्रण भयो र आजको दलित वर्ग-समुदाय भ्रमित बन्न पुग्यो । त्यसकारण स्वाभाविक रूपमा दलित वर्ग र समुदायले आफ्नो मुक्ति संघर्षको लक्ष्य 'मानवतावाद' नै बनाउनु आवश्यक छ ।

खुला समाज निर्माण गर्नु सबैको दायित्व हो । पितृसत्ता या बाबुको थर सन्तानमा जोड्नैपर्ने सामन्ती व्यवस्था अन्त्य गर्ने दिशातर्फ लाग्नुपर्छ । व्यक्तिले आफ्नो नाम पछाडिको थर आफ्नो इच्छाबमोजिम लेख्न पाउनुपर्छ । उदाहरणको लागि रामप्रसाद कोइरालाको छोराले हरिप्रसाद विकल्प, प्रकाश प्रतीक किन नलेख्ने ? बाबुको थर लेख्नैपर्ने व्यवस्था पुरुषप्रधान र विभेदी छ । थर लेख्न पाउने, परिवर्तन गर्न पाउने सबैको अधिकार हो । यस्तो व्यवस्था तत्काल गर्न जरुरी छ ।

फेरि कैयन्ले प्रश्न गर्ने गर्दछन्- दलित मुद्दा त समानता पो हो त, जाति, थर नै मास्न कहाँ पाइन्छ ? आखिर दमाई, कामी गाइने, वादी, चमार, मुसहर, दुसाध, डोम इत्यादि सभ्य शब्द होइनन् । हिजो जुनसुकै उद्देश्यले राखिएको भए पनि यी थर रहुञ्जेल त व्यावहारिक समानता प्राप्त हुने सम्भावना देखिन्न ।

दलित मुक्ति संघर्ष दिग्भ्रमित छ र विरोधाभासमा फसेको छ । समानताको आवाज उठाउने संघ÷संस्था र व्यक्तिहरू बलपूर्वक आन्तरिक विभेदविरुद्धको आवाजलाई निषेध गर्दैछन् । दलित वर्ग र समुदायभित्रको विभेद र छुवाछूतसमेत कहालीलाग्दो छ । यस्तो अवस्थामा भोलि दलितभित्रकै एक जाति र अर्को जातिबीच द्वन्द्व मात्रै होइन, संघर्ष गर्नैपर्ने स्थिति नबन्ला भन्न सकिन्न । आन्तरिक समानता र समावेशीकरण दलित वर्ग र समुदायको मुक्ति आन्दोलनको मुख्य एजेन्डा बन्न सकेको छैन । यो दुःखद मात्रै होइन, दलित मुक्ति आन्दोलनको असफलताको एक प्रमुख कारण पनि हो ।

मुद्दाको राष्ट्रियकरण

नेपालको संविधानले सबै प्रकारका जातीय विभेद अन्त्य गर्ने परिकल्पना गरेको छ । त्यति मात्रै होइन, सार्वजनिक र निजी दुवै स्थानमा जातीय भेदभावलाई दण्डनीय अपराध मान्दै त्यस्तो गरेमा जेल सजाय वा आर्थिक दण्ड वा दुवै सजाय हुन सक्ने व्यवस्थासमेत गरेको छ । विडम्बना, दलित युवायुवतीले गैरदलितसँग प्रेम, विवाह गरेको निहुँमा यातना, अत्याचार सहनुपरेको मात्रै होइन, हत्या गरिएका उदाहरण प्रशस्तै छन् । दलितहरूले गोठ छोएकोमा र चियापसलमा गिलास नमाभ्mदा कुटिनुपर्ने विडम्बनापूर्ण अवस्था अझै छ । काठमाडौंलगायतका सहरहरूमा दलित भएकै कारण डेरा नपाइने अवस्था अझै छ ।

दलित मुक्ति संघर्षमा सीमित व्यक्ति संघ, संगठनको वर्चस्व र आन्तरिक विभेदजस्ता कारणले दलित मुक्तिको सवाल राष्ट्रियकरण हुन सकेको छैन । ६०-६५ लाख दलितको प्रतिनिधित्व एक मन्त्री, दुई-चारजना सांसद, पाँचजना कर्मचारीले गर्न सक्दैन । मधेस विद्रोहले मधेसीलाई हेप्ने र विभेद गर्ने प्रचलनमा परिवर्तन हुँदै गइरहेको छ । मधेस र मधेसीका समस्या राष्ट्रिय मुद्दा बनिसकेका छन् । दलित आन्दोलन पनि त्यस्तै सबल हुनु आवश्यक छ ।

सीमित समयको निम्ति दलित समुदायको जातीय महासंघ निर्माण गरी मुद्दालाई राष्ट्रिय स्तरमा उठान गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । दलित गैरसरकारी संस्था महासंघ, गैरसरकारी संस्थाहरू र पार्टीका भ्रातृ संगठनहरूमा दलितभित्रकै विश्वकर्मा, परियार र मिजारजस्ता सीमित जातिहरूको वर्चस्व बन्न पुगेको छ । त्यसकारण समावेशी खालको स्वतन्त्र दलित जातीय महासंघ निर्माण गर्नुपर्ने देखिन्छ ।

पहाडका पाँच दलित जाति र मधेसका २० भन्दा बढी दलित वर्ग समुदायमा सूचीकृत जातिको सामूहिक र क्रमिक नेतृत्व रहने गरी यस्तो महासंघ निर्माण गर्न सकिन्छ । दलित मुद्दा कथित दलित वर्ग र समुदायको मात्रै सरोकारको विषय होइन । यो त सभ्य मानवतावादी, न्यायप्रेमी, सबै जाति, वर्ग र समुदायको सरोकारको विषय हो । यसबारेमा अरू जाति र समुदायलाई सचेत बनाउनु पनि आवश्यक छ ।

स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउनु मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । कथित दलितको इतिहास, संस्कृति, भाषा, मौलिक परम्पराको षड्यन्त्रपूर्वक नास गराइएको हो । अझै पनि मौलिक संस्कृतिको अवशेष भेट्न सकिन्छ भन्ने अध्येताहरू पनि छन् । समानता, सम्मान, न्याय स्वतन्त्रता, समावेशीकरण विभेदबाट मुक्तिका निम्ति दलित वर्ग र समुदायको समष्टिगत आन्दोलनको परिकल्पना गर्न ढिलाइ गर्नु हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, विधिको शासन, संविधानवादको कार्यान्वयनसँगै दलित वर्ग र समुदायको स्वाभिमान र अधिकारको मुद्दा स्थापित गर्दै कार्यान्वयन गरी अघि बढ्नुपर्छ । तब मात्रै राष्ट्रले भन्ने गरेको दिगो, विकास, स्थायित्व, स्थायी शान्ति र समृद्धि प्राप्त हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.