पश्चिम कोही पूर्व घर, आँगन तर एउटै हो.....
नयाँ दिल्ली: पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो... गोपाल योन्जनको गीत, संगीत र स्वर रहेको सदाबहार यो गीतले छरिएर नेपालीहरु जता बसेपनि नेपाल आमाकै सन्तान हो भन्दै एक सुत्रम बाँध्न खोजेको छ।
सम्मुन्नत विकासतर्फ अग्रसर भएको नेपालको राष्ट्रियता पनि यही हो। अनुशासन र जवाफदेहीताको अभ्यास हुन सके मात्र मुलुक अग्रगामी विकासतर्फ लम्कने विश्वास युवा नेताहरुको रहेको छ। देश विकास नभएसम्म राष्ट्रियताका कुरा गौण हुने उनीहरुले बुझेका छन् । तर राजनीति भित्रको कुसंस्कारलाइ एकै पटक उखालेर फाल्न नसके पनि हजुरबुबा, बुबा र आफूसम्मको पुस्ताले भोगेको रगतको क्रान्ति आफ्नो सन्ततिलाइ छाडेर नजाने अडानमा छन् उनीहरु।
राजनीतिले समाजलाइ अलग पार्न खोज्छ तर संस्कृतिले मानिसलाइ एकआपसमा जोडेको छ। भारतमा सीएमा अध्ययनरत विद्यार्थीहरुले मानवीय नातालाइ संस्कृतिसँग जोडेर तराई, पहाड, हिमालका सबै नेपालीका लागि सहयोग आह्वान गरेका थिए।
भर्खरै नेपालमा आएको बाढीबाट क्षति पुगेका नेपालीहरुको सहयोगमा आफनो दायित्व सम्झेर नयाँ दिल्ली स्थित आइटीओ स्काउट भवनमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुले सहयोग संकलन गरे। संकलित ३ लाख ३२ हजार ८ सय ९२ रुपैया सीए नेपाल विद्यार्थी संघ भारतका अध्यक्ष गिरु न्यौपानेले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैन्सिंह महरलाइ हस्तान्तरण गरे।
नेपाली कांग्रेस निकट सीए विद्यार्थी संगठनले आयोजना गरेको भएपनि नेपालीलाइ सहयोग गर्न विद्यार्थीहरुलाइ राजनीतिक विभाजनले छेकेको थिएन्। वास्तविक राष्ट्रियताको परिभाषा पनि यही नै हुनुपर्ने हो।
सहयोग संकलन अघि तराइ, हिमाल, पहाडमा बहुसंस्कृति, भाषा र जातीलाइ समेटेर निर्देशित नाटकको प्रस्तुति देखाएर उनीहरुले सहयोगको लागि हौस्याए । राजनीतिक झैझगडामा फसेका सबै जाती र दललाइ एकताबद्ध भएर बाढी पीडितको सहयोगमा आह्वान गरिएको सन्देश सहितको सो नाटकले देशको अहिलेको अवस्था र समस्याबाट निकासमा युवाहरुको भुमिकालाइ देखाउन खोजेको थियो।
भारतका नेपालीहरुका लागि सहयोगी भुमिकामा रहेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहका सहयोगी तथा नेपाली कांग्रेस निकट नेपाली युवा नेता सन्दीप रानाको अवधारणा रचिएको सो नाटकलाइ भारतीय कलाकार तथा निर्देशक सुदीप बेनर्जीले निर्देशन गरेका थिए। नेपाल र नेपालीको भावनालाइ बुझेर बेनर्जीले निर्देशन गरेको नेपाली भाषाको सो नाटकले नेपाल र भारतबीचको भाषिक सम्बन्धको निकटता सजिलै बुझाइदियो।
कार्यक्रमका लागि नेपालबाट निम्त्याइएका अतिथि युवा नेताहरु नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा र नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले देश विकासमा आर्थिक विकासको महत्वलाइ उजागर गर्दै सीए विद्यार्थीहरुले खेल्न सक्ने भुमिकाका बारेमा प्रकाश पारेका थिए। शर्माले नेपाली जनता राजनीति डिप्रेसनमा रहेको भन्दै लोकतन्त्रको जगेर्ना गर्न डेमोक्रेट सीएहरुको भुमिका अहम् हुने धारणा राखे। समाजको आर्थिक पारदर्शीताका लागि सीएहरुको भुमिका औल्याउँदै उनले उग्र बामपन्थीहरुको हालिमुहालीले नेपाल बिग्रिएको आरोप पनि लगाए।
देश विकासको लागि युवाहरुले लोकतान्त्रिक दलहरुको दास कार्यकर्ताको रुपमा काम गर्न नहुने भन्दै सन्दीप रानाले युवाहरुलाइ हौस्याए। मुख्य राजनीतिक दलका नेतृत्वहरु सत्ता जोगाउने दाउमा रहेको आरोप लगाउँदै उनले भने, ‘राजनीति सत्ता प्राप्तिका लागि होइन, समृद्ध नेपालको परिकल्पनाको लागि गर्नुपर्छ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा नेपाली विद्यार्थी संगठनको गठन र त्यसका लागि गरेको संघर्ष स्मरण गर्दै मुलुकको विकासमा भारतमा रहेका विभिन्न संगठनका विद्यार्थीहरुले भुमिका खेल्न सक्ने बताए।
युवाले मुलुकमा परिवर्तन चाहने हो भने परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, सीए पढिरहेका नेपाली विद्यार्थीहरु नेपाल फर्किनुपर्छ। विदेशमा उच्च शिक्षा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरुले नेपाल फर्किनका लागि वातावरण बनाउन विद्यार्थीहरुले माग गरेका थिए।