भाइरल ज्वरोका बिरामी बढे
सन्धिखर्कः अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ।
हाल दैनिक रुपमा जिल्ला अस्पतालको ओपीडीमा एक सय २० देखि एक सय ५० भन्दा बढी र ईमरजेन्सीमा दैनिक ५० देखि ७० जना गरी दुइ सय देखि २ सय २० जना भाईरलका बिरामीहरू अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका चिकित्सक जगन्नाथ तिवारीले बताए। १५ शैय्याको जिल्ला अस्पतालमा भुइँमा तथा बेन्चमा गरी ४० जनालाई भर्ना गरेर उपचार गरिरहेको उनले बताए।
जिल्ला अस्पताल संगै, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा पनि भाइरल ज्वरोका बिरामी बढेको बताइएको छ।
अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा. तिवारीले माक्स लगाएर हिड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान आग्रह गरे।