अफगानिस्तानमा महाशक्तिको पराजय
गएको तीन हजार वर्षदेखि अफगानिस्तान विश्वका शक्तिराष्ट्रहरूको माझको युद्ध, शान्ति र शक्ति सन्तुलन रणनीतिको केन्द्रमा छ । अफगानिस्तान प्राचीनकालदेखि नै दक्षिण, एसिया, मध्य एसिया र पश्चिम एसियाको केन्द्र मात्रै होइन, प्राचीन रेसम मार्गको मुख्यद्वार पनि हो । अफगानिस्तानमाथि जसले नियन्त्रण गर्न सक्छ, त्यसले चीन, भारत इरानदेखि मध्यपूर्व र मध्य एसियामाथि समेत नियन्त्रण र प्रभुत्व स्थापना गर्नसक्ने भएकोले अलग्जेन्डर दी ग्रेट, चंगेज खाँ, टिमुर, मुहम्मद गजनी, बाबर लगायतका शक्तिशाली सम्राटहरूका साथै ब्रिटेन, सोभियत संघ र अमेरिका जस्ता मुलुकहरूले आफू शक्ति र प्रभावको उत्कर्षमा पुगेको बेलामा अफगानिस्तानमाथि नियन्त्रण स्थापना गर्ने हरसम्भव कोसिस गरे र गरिरहेका छन् । तर सबैको भागमा पराजय मात्रै परेको छ ।
अमेरिका अफगानिस्तानमा आफ्नो इतिहासकै सबैभन्दा लामो युद्ध लडिरहेको छ । ११ सेप्टेम्बर, २००१ मा अल कायदाको अमेरिकामाथिको अत्यन्त क्रुर र पैशाचिक आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा अड्डा जमाएर बसेका ओसामा बिन लादेनलाई सुम्पन र अलकायदाविरुद्धको अमेरिकी अभियानलाई सहयोग गर्न सत्तारुढ तालिवानलाई आग्रह गर्यो । तालिवानले त्यसलाई अस्वीकार गरेपछि अमेरिकी आक्रमणमा तालिबान पराजित भयो । ओसामा बिन लादेन मारिए तर पनि अफगानीहरू अमेरिका र काबुलमा स्थापित सरकारविरुद्ध लडिरहेका छन् ।
बाराक ओबामाले निर्वाचन अभियानमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर उनले राष्ट्रपतिको शपथ ग्रहण गरेको अर्को वर्ष नै अफगानिस्तानमा अमेरिकी सेनाको संख्या बढाएर एक लाख पुर्याए । डोनाल्ड ट्रम्प पनि त्यही नारा लगाएर आए-तर यही २१ अगस्टमा उनले अफगानिस्तानमा अमेरिकी सेनाको वृद्धि गर्ने निर्णय सुनाए ।
अफगानिस्तानको विराट भूरणनीतिक महत्ववको अवस्थितिको लाभ लिने उद्देश्यले सबैले अफगानीलाई युद्ध सिकाए तर शान्ति र स्थिरता सिकाएनन्
ट्रम्पले हतारमा अफगानिस्तानबाट सेना फिर्ता गरिँदा त्यसले निर्माण गर्ने रिक्ततालाई तुरुन्तै अल कायदा र इस्लामिक स्टेटले भर्ने र अफगानिस्तान पुनः १७ वर्षअघिकै अवस्थामा पुग्ने बताए । ओबामा प्रशासनले हतारमा इराकबाट हट्ने निर्णय गर्दा ठूलो बलिदान र आर्थिक व्ययभारबाट इराकमा अमेरिकालाई प्राप्त सफलता विफलतामा र इस्लामिक आतंककारीहरू आईएसआईएसको शक्ति र सफलतामा रूपान्तरण हुन पुगेको मत ट्रम्पले व्यक्त गरेका थिए ।
एउटा अति निर्धन र अस्थिर मुलुकका साधन र स्रोतविहीन विद्रोहीहरू संसारको सर्वशक्तिमान मुलुक र विश्वका सबैभन्दा शक्तिशाली मुलुकहरूको सैनिक संगठन-नाटोसँग १७ वर्षदेखि लडिरहेका छन्, अमेरिका जस्तो मुलुकको गौरव, शक्ति र प्रभावलाई निरन्तर चुनौतीमाथि चुनौती दिइरहेका छन् । २१ अगस्टमा आफ्नो अफगानिस्तान र दक्षिण एसिया रणनीति घोषणा गर्दै ट्रम्पले पाकिस्तानविरुद्ध सम्भवतः अमेरिकी इतिहासमा नै सबैभन्दा कडा आरोप लगाउँदै पाकिस्तानले हिंसा, ध्वंश र आतंकलाई आ श्रय दिइरहेको र अमेरिकीहरूको हत्या प्रयासमा संलग्न संगठनहरूलाई संरक्षण दिइरहेकाले पाकिस्तानले यसको मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिए ।
ट्रम्पले भारतसँगको रणनीतिक साझेदारी निरन्तर सघन भइरहेको बताए । तर दक्षिण एसियाको दोस्रो आणविक शक्तिसम्पन्न राष्ट्र पाकिस्तानलाई आतंकवादलाई संरक्षण प्रदान गरेको आरोप लगाएर पाकिस्तान सम्बन्धमा राष्ट्रपति ट्रम्प भारतीय दृष्टिकोणमा सहमत भएका मात्र छैनन्, यसको अर्थ भविष्यमा पाकिस्तानविरुद्ध भारत र अमेरिका संयुक्त रणनीति अंगीकार गर्न पनि सहमत भएका देखिन्छन् । दक्षिण एसियाको सामरिक इतिहासमा नयाँ र जटिल कालखण्ड निर्माण गर्दै गरेको बुझ्न सकिन्छ ।
पाकिस्तानविरुद्धको ट्रम्पको आक्रोशलाई भारतको इजरायलसँगको रणनीतिक सानिध्यता र अमेरिकासँगको साझेदारीसँगै जोडेर हेर्नुपर्छ । त्यसमाथि डोक्लाम विवाद, पूर्वी चीन सागर र दक्षिण चीन सागरमा उठेका क्षेत्रीय तनाव तथा विवादहरूमा चीन र भारतका परस्परविरोधी रणनीतिका कारण दक्षिण एसिया र विश्वमा जटिल सामरिक ध्रुवीकरण निर्माण हुँदै गइरहेको छँदैछ ।
ट्रम्पले अफगान रणनीतिमा भारतसँग साझेदारी गर्न आग्रह गरेका छन् । साथै दक्षिण एसिया र समग्र एसिया-प्रशान्त क्षेत्रको शान्ति र स्थिरताको साझा लक्षमा भारत र अमेरिका समानरूपमा प्रतिवद्ध रहेको उल्लेख गरेर त्यस्तो सामरिक धु्रवीकरणलाई रणनीतिक मान्यता प्रदान गरेका छन् । ब्राउन विश्वविद्यालयको हालैको एउटा अध्ययनलाई आधार मानेर सीएनएनका वरिष्ठ लेखक जेन सहादीले उल्लेख गरेअनुसार अफगानिस्तानमा गएको १६ वर्षको अवधिमा दुई हजार अर्ब डलर खर्च गरिसकेको छ । रकमको यो परिमाण भनेको वर्तमान दरमा अफगानिस्तानको अर्को एक सय पाँच वर्ष भन्दा बढी अवधिको कुल गार्हस्थ उत्पादन बराबर हो । कुनै मुलुकको १०५ वर्षको कुल गार्हस्थ उत्पादनबराबरको रकम खर्च गर्दा पनि त्यो मुलुकमा शान्ति र स्थिरता सुनिश्चित हुँदैन भने बुझ्नुपर्छ, त्यहाँ गम्भीर रणनीतिक त्रुटि उपस्थित छ ।
अफगानिस्तानमा सोभियत संघको अपमानजनक पराजय
अफगानिस्तान राजनीतिक स्थिरता, शान्ति र समृद्धिको बाटोमा थियो तर अकस्मात जुलाई १९७३ मा सोभियत संघ समर्थक जनरल मोहम्मद दाउद खाँले सैनिक विद्रोह गरे । राजा जाहिर शाह अपदस्थ भए । अफगानिस्तान गणतन्त्र घोषित भयो । दाउद राष्ट्रपति बने । तर दाउद विस्तारै अमेरिका र पाकिस्तानतिर ढल्किएको अनुभव गरेर सोभियत संघले अप्रिल १९७८ मा आफूले घुसपैठ गराइएको सैनिक अधिकारीहरूको बलमा पुनः बिद्रोह गरायो । जनरल दाउदको हत्या भयो, नुर मोहम्मद ताराकी प्रधानमन्त्री र राष्ट्रपति भए । तराकीका निकट सहयोगी हफिजुल्ला अमिन उपप्रधानमन्त्री बनाइए ।
तर कम्युनिस्टहरूको बढ्दो दबदबा र माक्र्सवादी सामाजिक र आर्थिक कार्यक्रमहरूले जनतामा असन्तोष बढाउन थालेपछि तराकी र अमिनवीच मतभेद बढ्यो । अमिन पाकिस्तान र अमेरिकीहरूसँग निकट भएको अनुभव गर्दै गएको अवस्थामा १९७९ मा हवानामा सम्पन्न असंलग्न शिखर सम्मेलनमा भाग लिएर फर्किने क्रममा तराकी मस्को पुगे । सोभियत राष्ट्रपति लियोनेद ब्रेजनेभले तराकीलाई सर्वशक्तिमान हुँदै गएका अमिनको हत्या गरेर अफगानिस्तानमा पूर्ण नियन्त्रण कायम गर्न दबाब दिएको जानकारहरू बताउँछन् । त्यो सुइँको पाएका र राष्ट्रवादी छवि बनाउँदै गएका अमिनले सेप्टेम्बर १९७९ मा तराकीको सत्ता पल्टाए र आफैं राष्ट्रपति बने । तराकीको हत्या भयो ।
तराकीको हत्या र पाकिस्तान तथा अमेरिकासँग सम्बन्ध सुधार्ने अमिनको प्रतिवद्धताले सोभियत संघको आक्रोशलाई आमन्त्रण गर्यो । सेना र राजनीतिमा सोभियत संघको बलियो पकड उता आम जनतामाझ पाकिस्तान र अमेरिकाको प्रत्यक्ष-परोक्ष सहयोग र समर्थन पाएका कट्टरपन्थी मुसलमानहरूको बढ्दो प्रभावले आमन्त्रण गरेका आन्तरिक असन्तुष्टि, विवाद र तनावबीच २४ डिसेम्बर १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि आक्रमण गर्यो । हफिजुल्ला अमिन मारिए । बाब्राक कर्माल राष्ट्रपति बनाइए ।
अमेरिका, पाकिस्तान, इरान, चीन, साउदी अरवलगायतका मुलुकको सहयोग र समर्थन पाएको र कम्युनिस्ट विचारधाराप्रति कठोर वितृष्णा राख्ने विद्रोही मुजाहिदिनको गतिविधि बढ्दै गयो । कर्मालले स्थिति सम्हाल्न नसकेको कारण सोभियत संघको असन्तुष्टि बढ्दै गएपछि कर्मालले राजिनामा दिए । नोभेम्बर १९८६ मा अफगान गुप्तचर प्रहरी प्रमुख मोहम्मद नजिबुल्लाह राष्ट्रपति बनाइए । तर कसै गरेपछि पनि स्थिति नियन्त्रणमा नआएपछि अन्ततः सोभियत संघले अफगानिस्तानबाट पछि हट्ने निर्णय गर्यो ।
सो युद्धमा १५ लाख सर्वसाधारण र ९० हजार मुजाहिदिन मारिए । १८ हजार अफगान सेना र १५ हजार सोभियत सेना पनि मारिए । घाइते र अंगभंग हुनेहरूको हिसाबै थिएन । सीआईएले सन् २००० मा सार्वजनिक गरेको एउटा गोप्य अध्ययनअनुसार सोभियत संघले अफगानिस्तानमा आक्रमण गरेपछिको ९ वर्षको अवधिमा ५० अर्ब डलर खर्च गरेको थियो ।
स्मरणीय छ, अफगानिस्तानमा सोभियत संघ टिक्न नसक्ने अवस्था आइसकेको थियो । मिखाइल गोर्वाचोभले अफगान समस्या उपचार हुनै नसक्ने क्यान्सर बनेको भनेर आफ्नो सेना फिर्ता गर्ने योजना निर्माण गरिरहँदा सोभियत संघमाथि थप दबाब बढाउने उद्देश्यले अमेरिकाले मुजाहिदिनहरूलाई काँधमा राखेर विमानविरुद्ध प्रहार गर्न सकिने स्टिंगर क्षेप्यास्त्रहरू ठूलो परिमाणमा पाकिस्तानमार्फत उपलब्ध गरायो । त्यस्ता क्षेप्यास्त्रहरूको प्रयोगबाट सोभियत संघका ११८ लडाकु जेट विमान र ? हेलिकप्टरहरू खसालिएकोबारे दी ल्यान्ड अफ बोन्ज नामक पुस्तकमा फ्र्यांक एल. होल्टले उल्लेख गरेका छन् ।
फेब्रुअरी १९८९ सम्ममा सबै एक लाख २० हजार सोभियत सेना सेना फिर्ता भइसकेका थिए । यता सोभियत सेना फिर्ता हुँदै गर्दा मुजाहिदिनहरू मुलुकका विभिन्न क्षेत्रमाथि नियन्त्रण स्थापनागर्दै अघि बढिरहेका थिए । १९९२ मा उनीहरूले काबुल कब्जा गरे । नजिबुल्लाह भागेर काबुलस्थित राष्ट्र संघको परिसरमा शरण लिन पुगे । मुजाहिदिनका विभिन्न गुट र समूहभित्र सत्ता संघर्ष चल्दै जाँदा अन्ततः युवा अतिवादीहरूको संगठन तालिबानले १९९६ मा काबुललाई नियन्त्रणमा लियो । नजिबुल्लाहलाई मृत्युदण्ड दिइयो ।
सोभियत संघविरुद्धको अफगान युद्धको प्रमुख नेता थिए मुल्ला ओमार १९९६ देखि २००१ सम्म तालिवान शासित अफगानिस्तानको नेतृत्व उनैले गरे । ओसामा बिन लादेन र अल कायदालाई अमेरिकाविरुद्ध कुनै गतिविधिमा संलग्न नहुने सर्तमा ओमारले उनीहरूलाई अफगानिस्तानमा शरण दिएका थिए । तर बिन लादेनले ओमारलाई दिएको वचन उल्लंघन गर्दै अगस्ट १९९८ मा केनिया र तान्जानियामा रहेका अमेरिकी राजदूतावासमा बम प्रहार गराए । सयौंको हत्या र हजारौंलाई घाइते बनाएपछि ओमार र बिन लादेनबीच तनाव उत्पन्न भएको थियो ।
तर सेप्टेम्बर ११ को ट्वीन टावरमाथिको आक्रमणपछि अमेरिकाले बिन लादेनलाई सुम्पन गरेको आग्रहलाई अतिथि धर्मविरुद्ध हुने भनेर ओमारले अमेरिकी प्रस्तावलाई अस्वीकार गरेपछि अमेरिका तालिवानविरुद्ध समेत खनियो । सोभियत संघविरोधी युद्धमा अमेरिका र खास गरेर सीआईएनिकटका अर्का एक अग्र पंक्तिका नेता तथा तालिवानको अर्को एउटा घटकका नेता जलालुद्दीन हक्कानी पनि मुल्ला ओमारकै सहयोगी बने ।
अलेग्जेन्डर दी ग्रेटदेखि डोनाल्ड ट्रम्पसम्मको अफगानिस्तान सकस
आज भन्दा दुई हजार चार सय वर्षअघि अलेग्जेन्डर दी ग्रेटले आफ्नो शक्तिशाली सेनासहित वर्तमान अफगानिस्तानको अधिकांश भूभाग समेटिएको तत्कालीन व्याक्ट्रियामाथि आक्रमण गरेका थिए । अफगानिस्तानमा अलेग्जेन्डर तीन वर्षसम्म निरन्तर लडे, ठूलो सैन्य खती बेहोरे । गोडामा बाणलागेर अलेग्जेन्डरको झन्डै मृत्यु भएको थियो । इतिहासकारहरू अनुसार त्यो सबै सुनेर आश्चर्यचकित हुँदै उनकी आमा ओल्याम्पियाजले अलेग्जेन्डरलाई एउटा चिठी लेखिन ( ‘त्यत्रा ठूला र शक्तिशाली साम्राज्यहरूमाथि विजय प्राप्त गर्न तिमीलाई केही घन्टा र केही दिन भन्दा बढी लागेन तर त्यति निर्धन र असभ्य मुलुकमाथि विजय प्राप्त गर्न तिमीलाई यत्रो समय लाग्यो ? '
अलेग्जेन्डरले आमालाई जवाफ लेखे- ‘म त्यस्ता बहादुर मानिसहरूको भूमिमा छु जहाँको हरेक बित्ता जमिन मेरा लागि इस्पातको पर्खाल जस्तै दुर्भेद्य छ । तपाइँले संसारमा एउटा अलेग्जेन्डरलाई जन्म दिनुभयो, तर यहाँका हरेक आमाको कोखबाट अलेग्जेन्डरहरू जन्मिन्छन् ।' ९ मार्च २०१४ मा बीबीसीको अनलाइन संस्करणमा विलियम डलरिमपलले उल्लेख गरेअनुसार अक्टोबर १९६३ मा ब्रिटिस प्रधानमन्त्री हेरोल्ड म्याक्मिलनले एलेक डगलस ह्युमलाई पदभार सुम्पँदै गर्दा भनेका थिए, ‘प्रिय मित्र जबसम्म अफगानिस्तानमाथि आक्रमण गर्दैनौ तबसम्म मात्रै तिमी सुरक्षित छौं ।' १८३८ देखि १९१९ को बीचमा ब्रिटेनले तीनपटक अफगानिस्तानमा आक्रमण गर्यो । तीनै पटक नराम्रोसँग पराजित भयो । डलरिमपल अनुसार ब्रिटेनले अफगानिस्तानमा जस्तो लज्जास्पद हार अन्यत्र कहीं बेहोरेको छैन ।
संसारको सबैभन्दा ठूलो भूभागका सम्राट अलेग्जेन्डर र कुनै समय संसारको सबैभन्दा ठूलो भूभागमा उपनिवेश कायम गर्न समर्थ मुलुकका निवर्तमान प्रधानमन्त्रीले गरेको उपरोक्त टिप्पणी अफगानीहरूको परिचयका लागि पर्याप्त हुनुपर्छ । १९८६ देखि १९८९ सम्म पाकिस्तानमा सीआईए प्रमुख भएर बसेका मिल्ट बियरडेनको एउटा रोचक लेख इन्टरनेसनल हेराल्ड ट्रिब्युनमा मार्च ३१, २००४मा प्रकाशित थियो । सो अनुसार पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रको अत्यन्त दुर्गम २७ हजार वर्ग किलोमिटर भूभागमा संसारका सबैभन्दा स्वतन्त्र ६० लाख पस्तुन या पठान जातिका मानिसहरू बस्दछन् । बिना कुनै बाह्य अवरोध र खास ठूलो बसाइसराइबिना उनीहरू त्यहाँ २० हजार वर्षदेखि बसिरहेका छन् ।
धनुस-वाणको आविष्कार भएदेखि नै पस्तुनहरू सधैं हातहतियारले सम्पूर्ण रूपमा सुसज्जित रहेर बस्ने गरेका छन् । उनीहरूका मूलतः तीन प्रमुख प्रतिवद्धता छन् - अतिथि धर्म, कठोर प्रतिशोध भावना र जातीय सम्मानको चेतना । यिनै तीन प्रतिवद्धताका कारण अलेग्जेन्डरदेखि पारसी,मंगोल, मुगल सम्राटहरूसहित ब्रिटेन सोभियत संघ अमेरिकी सेना सबैले अफगानिस्तानमा ठूलो पराजय र त्राषद् क्षति बेहोरेका छन् । अफगानिस्तानका जनता र सरकारहरूले अकल्पनीय क्षति नबेहोरेका होइनन, तर मुलुक भने अपराजित रहेको छ ।
निश्चित हो ! तालिवानीहरू सैनिकरूपमा अमेरिकामाथि विजय प्राप्त गर्न सक्दैनन् तर रक्तबीज जस्ता तालिवानीहरूलाई अमेरिकाले १६ वर्षसम्म पनि पूर्णत पराजित गर्न सकेको छैन ।
गएको मार्च २७ मा क्यानाडाको एउटा प्रमुख दैनिक ग्लोब एन्ड मेलमा अफगानिस्तान युद्धमा वीरताको किर्तिमान राखेका एक सोभियत सैनिक अधिकारी रूस्लान औसेभले भनेका छन्- ‘१९८५मा नै अफगानिस्तानमा सफल हुन सकिँदैन भन्ने हामीलाई लागिसकेको थियो, त्यसपछि हामी कसरी फर्किने भन्नेमा लाग्यौं र हामीलाई अफगानिस्तानबाट फिर्ता हुन मात्रै पनि अर्को चार वर्ष लाग्यो ।'
‘हामीले जस्तै अमेरिकाले पनि इतिहासको शिक्षा ग्रहण गर्न सकेन' भन्दै औसेभले अर्को अत्यन्त महत्ववपूर्ण कुरा उठाएका छन्—जसअनुसार अफगानिस्तानमा स्थिरता र न्यूनतम शान्ति र व्यवस्था कायम गर्न पनि त्यहाँको धरातलमा लड्न उच्च प्रशिक्षित कम्तीमा आठ लाख सेना आवश्यक छ । स्पष्ट छ, अमेरिकालगायत कुनै मुलुक वा नाटो जस्तो कुनै संगठन त्यो संख्याको सेना अफगानिस्तानमा तैनाथ गर्ने राजनीतिक, आर्थिक र सैनिक र व्यवस्थापन क्षमता राख्दैन ।
अर्का सोभियत सैन्यअधिकारी इगोर ग्रिगोरेभिचको भनाइलाई पनि पौल कोरिङ्ले ग्लोब एन्ड मेलमा प्रस्तुत गरेका छन् । उनका अनुसार अफगान युद्ध रूसीहरूका लागि अझैपनि कठोर राष्ट्रिय त्राषदी, अपमान र पीडा बन्ने गरेको छ । त्यत्रो कष्ट सह्यौं, बलिदान गर्यौं, तर ती बलिदानप्रति कुनै गौरब गर्न सकिरहेका छैनौ । बरू अत्यन्त लज्जित छौं ।'
इतिहासले सावित गरेको छ, आक्रमणको उद्देश्यले अफगानिस्तानमा प्रवेश गरेका हरूकालागि त्यहाँबाट बाहिर निस्कनु एउटा असम्भव कार्य हो । ग्रिगोरेभिच भन्छन्-अफगानीहरूमाथि विजय प्राप्त गर्नु असम्भव छ, अलेग्जेन्डर दी ग्रेटले सकेनन, ब्रिटेनले सकेन, हामीले सकेनौं र अमेरिकीहरूले पनि सक्ने छैनन्, कसैले सक्ने छैनन् । निश्चित हो ! तालिवानीहरू सैनिकरूपमा अमेरिकामाथि विजय प्राप्त गर्न सक्दैनन् तर रक्तबीज जस्ता तालिवानीहरूलाई अमेरिकाले १६ वर्षसम्म पनि पूर्णत पराजित गर्न सकेको छैन ।
अफगानिस्तानको विराट भूरणनीतिक महत्ववको अवस्थितिको लाभ लिने उद्देश्यले सबैले अफगानीहरूलाई युद्ध सिकाए तर शान्ति र स्थिरता सिकाएनन् । त्यसैको परिणाम वर्तमान अफगानिस्तान हो । जस्तोसुकै पीडा, कष्ट, संघर्ष र बलिदान गरेर पनि आफ्नो मुलुकको गौरव र स्वाभिमानका लागि संसारको कुनै पनि शक्तिसँग टक्कर लिने अफगानीहरूको असाधारण सामूहिक चेतना र प्रतिवद्धतासामू कतै अमेरिका ग्रिगोरेभिचको भविष्वाणीलाई सही सावित त गर्दै छैन ?
—भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटजिक स्टडिज (निस)सँग सम्बद्ध छन् ।