कागेश्वरी मेलामा दर्शनार्थीको भीड
गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल लिएर राजधानीकै उत्तरपूर्वी कागेश्वरीमा अवस्थित कागेश्वर महादेवलाई स्नान गराएपछि आफ्नो धार्मिक यात्रा तथा मनोकामना पूर्ण हुने विश्वास रहिआएको छ ।
यही आस्था र विश्वास लिएर प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन दर्शनार्थी कागेअष्टमी मेला भर्न पुग्छन् । कागेश्वरीले एकपल्ट गोसाइँकुण्डमा भेटिएका दर्शनार्थीलाई भदौ १३ गते कागेअष्टमीका दिन फेरि यहाँ मिलाप गराइदिन्छ । कागको रूपमा रहेका कागेश्वर महादेवको यहाँ स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता छ।
महादेवका ६४ लिंगमध्ये एक प्रमुख रहेको कागेश्वरी महादेवको दर्शनले मनोकामना पूर्ण हुने आस्थाका साथ यहाँ भक्तजनको भीड लागिरहन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी पर्यटकीय तथा धार्मिक स्थल सुन्दरीजल र मणिचुडसँगै जोडिएको छ । कागेश्वरीको शिरमा पुग्दा त्यहाँको मनमोहकताले मनै प्रफुल्लित गराई स्वर्गीय आनन्दको आभास गराउँछ ।
समग्र उपत्यकाको मनमोहक दृश्यावली अवलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभव लिन तथा आकर्षक ग्रामीण भेग नियाल्न, सुन्दर झरना र नदीको कलकल आवाज र मेलम्ची खानेपानी आयोजनास्थल, बीपीले जेलजीवन बिताएका बीपी संग्रहालयजस्ता विविधताले सम्पन्न कागेश्वरी क्षेत्र कुनै निपुण कालिगढको उत्कृष्ट सिर्जनाझैं लाग्छ ।
श्रीस्वस्थानी व्रतकथामा कागेश्वर महादेवको आराधनाको महत्ववको व्याख्या गरिएको छ । शिवजीको अपमान सहन नसकी यज्ञकुण्डमा प्रवेश गरी प्राण त्याग गरेकी सतीदेवीको मृत शरीर काँधमा बोकी अति शोकमा डुबेर यताउता भौंतारिइरहने क्रममा यस स्थानमा आइपुग्दा उहाँको मुटु पतन भयो । यस स्थानमा सेनपिठ उमादेवी अष्टबक्रायोगिनी कागेश्वर महादेव उत्पत्ति भए र शिवशक्ति स्वरूपले रहे ।
उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पूजाआजा गर्दा महादेव प्रसन्न रही वरदान माग भन्नुभयो । तब नवग्रहले हामी मानवका जीवनमा आउने हरप्रकारका घटनाका उत्तरदायी बन्न सकौं र तिनका जीवनमा लाभ तथा हानि हाम्रो कारणले नै होस् भनी मागे र सो वरदान प्राप्त गरेकाले यहाँको महादेवको दर्शनले नवग्रह दशा शान्ति रही शुभफल मिल्ने मान्यता छ ।
यस महादेवस्थानमा रहेको सेन पर्वत अर्थात् कागेश्वरी पहाड चढ्नाले मात्रै १० गाई दान गरे बापतको फल मिल्ने पुराणमा उल्लेख भएकाले यहाँको धार्मिक आस्थाको गरिमा अझ अटल रहन्छ । धार्मिक मान्यताअनुसार कागले मानिसलाई छुँदा अशुभ मानिन्छ, कागको बिष्टा शरीरमा परेमा अनिष्ट हुनसक्छ र कागको मैथुन देखेमा अपशकुन लाग्छ भन्ने उक्ति विद्यमान रहेकाले सो प्रकारका दोषलाई कागदोष मानिन्छ र यस्तो कागदोषबाट मुक्ति पाउन वर्ष दिनभर कागदोष लागेका मानिस यहाँ आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाई पूजाआजा गरी अनिष्टता निवारण गराउँछन् ।
यसैगरि अको कथनअनुसार सत्ययुगमा महादेब र पार्वती वनबिहार गर्न निक्लनुभयो । वनबिहार गर्दागर्दै महादेवले पार्वतीलाई छल गरि सेन पर्बत अर्थात यहि कागेश्वरी पहाडको गुफामा आई तपस्या गर्न थाल्नुभयो । एकाएक शिवजी अन्र्तध्यान भएपछि चिन्तित पार्वतीले ध्यानदृष्ट्रिले पत्ता लगाएपछि सेतो कागको रुप धारण गरि ब्रम्मर्तिथ अर्थात ढकाल खोला र बागमति नदिको संगमस्थलमा स्नान गरि जल चुच्चाले च्यापि महादेवलाई चढाएपछि प्रसन्नताकासाथ कागेश्बर महादेबका नामले प्रसिद्दि रहनेछ भनि दुई दम्पति बनबिहार गर्न थाल्नुभयो ।
स्थानियबासीहरुको एक अर्को व्याख्यान अनुसार परापुर्वकालमा कुनै गोठालोको गाईको दुध दिनप्रतिदिन घट्दै गएपछि उसले चियोचर्चो गर्दा सेतो कागले दिनहुँ दुध यहि गुफामा चढाएको देखि आश्र्चयले सो स्थानमा जमिन खोतल्दा शिबलिगं भेटेपछि कागले पुजाअर्चना गरेको महादेबलाई कागेश्वर महादेबको रुप मानि नियमित पुजाआजा चलाउन थालियो ।
कागेश्वरी पुग्न पुरानो बसपार्कबाट आलापोटसम्मको करिब डेढ घण्टाको बसयात्रा गरेपछि जरिबुट्टे, दुधेगाँउ हुँदै फेदिमा रहेको रामकृष्ण मन्दिरको दर्शन गरि कागेश्वरी गाँउ हुदै करिव आधा घण्टा उपत्यकाको मनोरम दृश्यपान गर्दैम उकालो यात्रा पार गर्दा समय बितेको थाहा हुन्न । त्यस्तै पुरानो बसपार्कबाटै सुन्दरीजलको बसयात्रा या पुरानो बसपार्कबाटै आलापोट हुँदै सातघट्टेसम्मको बसयात्रा गरि आधा घण्टाको पैदल यात्राबाट यो तिर्थस्थल पुगिन्छ । कागेश्वरीको शिरमा पुगेपछि समग्र उपत्यकाका सिपालु कालिगढको मनमोहक सृजना झै लाग्दछ ।
गागलफेदी गा.बि.स.बाट भर्खरै कागेश्वरी मनोहरा नगरपालिकामा परिणत रहेको यस नगरपालिकाको नामाकरणसमेत यिनै महादेबको नामबाट गरिएकोमा नगरबासिहरु गौरवांवित महसुस गरेका छन् । राजधानिभित्रैको यति नजिक दुरिमा रहेको अति महत्वको यस स्थलको जर्गेना, बिकास र प्रचारमा सराकारवालाको अहंम भुमिका आबश्यक रहेको छ । परापुर्वकालिन ऐतिहाँसिक तथा धार्मिक धरोहर कागेश्वरीको बिकासका लागि फेदीबाट नै सिँढी निर्माण गरि पैदल यात्रीलाई आरामका लागि आ श्रयस्थल, पाटिपौवा, पिकनिक स्थल बनाँउनु अत्याबश्यक छ ।
कागेश्वरीलाई उपत्यकाको उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा विकसित गर्न कागेश्वरी मनोहरा नगरपालिकाले बृहत् कागेश्वरी पर्यटनस्थलको अवधारणासमेत विकास गरेको छ । कागेश्वरी पर्यटनस्थल विकासका लागि सांसद रामेश्वर फुयाँल, नगरपालिका प्रमुख कृष्णहरि थापा, कार्यकारी अधिकृत मनिता श्रेष्ठ, वडाअध्यक्ष्य मुकुन्द गजुरेललगायत विभिन्न राजनीतिक दल तथा स्थानीयवासीको समन्वयमा भइरहेकाले कागेश्वरी पर्यटन विकासका योजनाले कागेश्वरी पर्यटनको सपना बुन्नेहरूको सपनाले पूर्णता पाउनेमा कुनै शंका छैन ।