देउवाको अपजसे पुर्पुरो
प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी राष्ट्रको औपचारिक भ्रमण सकेर फर्किनुअघि नै उनको अग्निपरीक्षा सुरु भइसकेको छ । 'एसएलसी’ लाई फलामे ढोका भनेर आमजनबाट मान्यता पाएको छ अनि त्यस्तो देशको प्रधानमन्त्री मित्रराष्ट्रको भ्रमण गर्दा केको अग्निपरीक्षा ?
एसएलसीको फलामे ढोकाभित्र प्रवेश गाह्रो अवश्य नै हो, तर अग्निपरीक्षा भनेपछि त्यसमा भएको प्रज्ज्वलनशीलताले आगो फैलिएर पोल्ने मात्र होइन, त्यसले त डढाएर भस्म नै पारिदिन सक्ने भएकाले यो अलि बढी नै संवेदनशील र डरलाग्दो पनि मानिएको हो ।
त्यसैले प्रधानमन्त्री देउवाको चौथोपटकको प्रधानमन्त्रीत्व र भारत भ्रमणलाई गहिरोसँग बुझेका राजनीतिका पुराना÷नयाँ खेलाडी जेलिएको रस्साकस्सी मान्दछन् । त्यसैले पनि यो भ्रमणले गम्भीर, अप्ठेरो र कुटिल अर्थ बोकेको छ ।
देउवा नेपालको राजनीतिक रंगमञ्चका एउटा यस्ता अभागी पात्र हुन्, जो चौथोपटक प्रधानमन्त्री बने पनि अघिल्ला तीनपटकको खाताको ब्याजको के कुरा सावा पनि ऋणमा डुबेको छ । उनको शासनकाल हरेकपटक गम्भीर गालीगलौजले पुरिएको छ ।
बीपीले पुनस्र्थापना गर्न नसकेको प्रजातन्त्र ०४६ सालमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले कम्युनिस्टसँग मिलेर राजाबाट फिर्ता त ल्याए, तर बल्लबल्ल आएको बहुदलीय व्यवस्था गिरिजाप्रसाद र शेरबहादुरका कारण हुनसम्म बद्नाम भयो । देउवाका गुरु गिरिजाप्रसादको निधन भइसकेकाले बहुदलीय व्यवस्थालाई बद्नाम गर्ने कलंकको टीका शेरबहादुरको निधारभरि थोपरिएको छ ।
कहिलेकाहीं यिनको बारेमा सोच्दा लाग्छ, यिनको भाग्यमा जस पाउने भन्ने साइत पनि छैन ? भएको भए यिनीप्रतिको जनधारणा यति नकारात्मक हुने गरी गिर्ने थिएन ।
चीनलाई लघार्न डोक्लाममा भारतलाई फसाउने अरू कोही होइनन्, उनीहरूले भनेजस्तो नेपालको संविधान संविधानसभाले बनाएन भनेर मुठीभर मधेसी उचालेर नेपालमाथि ज्यानमारा नाकाबन्दी लगाउने भारतीय नै हुन् । नेपाली, भुटानी र चिनियाँहरूले तिनलाई चिने, तर भारतले ती भारतविराधीलाई कहिले चिन्ला ?
ग्रहदशा साम्य पार्न दाहिने र देब्रे हातमा भएका दसवटै औंलामा आंैठी लगाइसक्न लागे पनि यिनको पुर्पुरोमा त्यसभन्दा बढी काला टीका लागिसकेका छन् । के अहिले जसरी अगाडि बढे भने यिनका निधारमा लागेका काला टीका पुछिएलान् ? अहँ ! काला टीका घट्ने विश्वास कसैले व्यक्त गर्दैन, बरु चौथोपटकको प्रधानमन्त्रीत्वमा बढ्ने अड्कल गरिँदैछ ।
त्यसैको कास्टिङ मानिन्छ, भारत भ्रमणमा उनले थपेको कालो टीका ! उनी यतिखेर नेपालको संविधान संशोधनको कुरा भारतको प्रधानमन्त्रीलाई ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे झैं जे बोले त्यो विवादमा नराम्ररी फसेका छन् । त्यस्तै विवादास्पद कोसी उच्च बाँधबारे बोलेर आफू त डुबेडुबे, नेपाललाई नै डुबाउने अर्को विवादमा तानिएका छन् ।काला टीकाको गन्ती देउवाका यसअघिका काला टीकाको गन्ती गर्दा आफ्नो शासन टिकाउन ०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि उनले सत्ता टिकाउन बहुदलीयकालमा भित्याएको पजेरो काण्ड, पुरुष सांसदलाई सुत्केरी ओखती खर्च उपलब्ध गराउनु, सांसद किनबेच र बैंकक यात्रा गराउनु हो ।
दोस्रोपटक प्रधानमन्त्री बनेका बेला देउवाले नेपाली कांग्रेस पार्टी नै फुटाए । पूर्वघोषित आमचुनाव राजा ज्ञानेन्द्रलाई बिन्तीपत्र चढाएर तोकिएको मितिमा हुनबाट रोक्न लागे र नालायक प्रधानमन्त्रीको रूपमा पुल्पुल्याउने राजाबाटै बर्खास्त भए ।
आफूलाई भ्रष्टाचारी भनेर गलहत्याउने राजाले टीके प्रधानमन्त्री खान बोलाउँदा गोर्खाका राजाले न्याय दिए भनेर राजाका टीके प्रधानमन्त्रीसम्म बन्न पुगे । सिद्धान्त, आदर्श, नैतिकता पन्छाएर केवल सत्ता नै शेरबहादुरको पर्याय बन्यो । जम्बो मन्त्रिमण्डल बनाएर सत्ता टिकाउन हदैसम्म तल झर्नु उनको अर्को रेकर्ड हो, जो यसपालि तोड्न अहिल्यै घाँटी-घाँटी पुगिसकेका छन् ।
अहिलेका उनका सत्ता साझेदार प्रचण्ड छन्, यी दुईबीचको हनिमुन सत्ता सञ्चालन नौ महिना तोकिएको छ । प्रचण्डको कार्यकाल सकिएपछि शेरबहादुर गएको जेठदेखि शासनमा छन् । अहिलेको उनीहरूको मित्रता जति घनिष्ट देखिन्छ, पहिले शेरबहादुर शासनमा छँदा प्रचण्डलगायत बाबुरामजस्ता माओवादी नेताको टाउको काटेर झोलामा ल्याए झोलाभरि पैसा दिने घोषणा गरेका थिए ।
देशमा संकलकाल लगाएर धेरै धनजनको क्षति गर्दै यिनै शेरबहादुरले मुलुकलाई सैनिकीकरणतिर अभिमुख गराएका थिए । विदेशबाट हतियार किनेर अकुत कमाउने धन्दामा चुर्लुम्मै डुबे । राजाले भ्रष्टाचारीको आरोप लगाएर झ्यालखाना पनि हाले । त्यसपछि नै हो शेरबहादुर राजाविरुद्ध लागे ।
कसलाई थाहा छैन, संविधानमा १३ जना मन्त्री रहने कुरा लेखिएको छ । तर शेरबहादुरले सत्तामा टिकिरहनको लागि मन्त्रीको संख्या ४९ पुर्याइसकेका छन् र ३-४ जना मन्त्री थपिसकेका छन् र घोषणा हुन मात्र बाँकी छ ।
संसद्बाट संविधान संशोधनको प्रस्तावमा आवश्यक संख्या पुर्याउन नसकेर सरकारले लगेको प्रस्ताव फेल भयो । त्यसलाई पास गराउन शेरबहादुर असफल बने । तर उनले त्यो असफलतालाई ढाकछोप गर्न र जसरी पनि दुईतिहाइ मत पुर्याउने ढिपीमा मन्त्रिपरिषद् बढाउँदै साना पार्टीका सांसदहरूलाई कनिका छरिरहेका छन् ।
दिल्लीका नेपालविद् नयाँदिल्लीमा शेरबहादुरको भ्रमण भइरहेको बेला भारतको राज्यसभा टीभीमा भरत भूषण (क्याच न्युज सम्पादक), कनवल सिबल (भारतीय पूर्व विदेश सचिव) र एसडी मुनी (विदेश मामिलाविज्ञ) बीचको छलफलले भारत र नेपाल सम्बन्धबारे गरेको छलफलले धेरैको ध्यान खिचेको छ ।
देउवाको भ्रमण उनीहरूको विचारमा भारत अत्यन्त अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भयो । यतिबेला नेपालसँग जे सम्झौता भए, ती एउटा सहसचिवस्तरको कर्मचारीले गर्न सक्थ्यो तर नेपालका प्रधानमन्त्रीलाई बोलाइरहन पर्दैनथ्योसम्म भने । अप्ठेरो अवस्थामा विनाकाम सरकार प्रमुखको स्वागत गर्दा कमजोरी उदांग हुन्छन् ।यो भारतीय नीतिहरूको असफलता हो । परम्परागत सम्बन्धमा परिवर्तित र चीनसँगको सम्बन्ध कटु भइरहेको समयमा भारत विकल्पहीन झैं बनिरहेको छ । यस्तो बेला के भन्ने ? सबैको ध्यान अन्यत्रै छ ।
छलफलमा भरत भूषणको भनाइ थियो, यतिखेर पहाडी नेपाली भारतसँग क्रूद्ध छन् । भारतीय नीतिहरू स्थिर नरहेकाले यस्तो अवस्था उत्पन्न भएको हो । भारतले नाकाबन्दी लगायो । नेपाललाई भारतवेष्टित भनेर थर्कायौं, तर नेपाल तीनतिरबाट भारततर्फ खुला पो छ !
मधेसीलाई भारतले उपयोग मात्र गरेर छोडेजस्तो भयो । उनीहरूमा यतिखेर भारतीय शासकप्रति अत्यन्त निराशा उत्पन्न भएको छ । पहाडिया मधेसीमाथि विजय पाएको ठानिरहेका छन् ।
एसडी मुनीको विचारमा नेपालले चीनबाट सहयोग लियो भनेर भारत रिसाउनु मनासिव होइन । किनभने भारत नै चीनबाट अत्यधिक सहयोग लिइरहेको छ । भारतलाई दिने पनि चीन नै हो । चेन्नई-दिल्ली फास्ट रेल बनाउन चीन लाग्न हुने तर नेपाल, श्रीलंका र बंगलादेशले चीनबाट त्यस्तो सहयोग लिन किन नहुने ? खासमा दक्षिण एसियामा चीन नै अग्रगामी रूपमा लगानी गरिरहेको छ ।
उनको विश्लेषणमा नेपालमा दुई चरणमा भएको स्थानीय निर्वाचनमा केपी ओली जबर्जस्त रूपमा विजयी भए । उनलाई रोक्ने हो भने कांग्रेस र माओवादीहरू मिल्नुपर्छ । २ नम्बर क्षेत्रमा हुन गइरहेको निर्वाचनमा एमालेलाई कांग्रेस, माओवादी र मधेसी मिलेर मात्र रोक्न सक्छन् । किनभने एक्लाएक्लै लड्दा निश्चय नै ओली बलिया छन् तर तीनवटा पार्टी मिले भने ओलीलाई विजयी हुनबाट उनीहरूले रोक्न सक्छन् ।
कनवाल सिबलको विचारमा भारतले नेपालको अवस्थालाई गहन रूपमा हेरिरहनु र दबाब पनि दिइरहनुपर्छ । चीनसँग नेपालको सम्बन्धबाट डराउनुभन्दा नेपालसँगको हाम्रो खुला बोर्डर, शिक्षा, स्वास्थ्य, संस्कृति, पशुपतिनाथ, लुम्बिनी, जलस्रोत, व्यापारका सम्भावनामा काम गर्यौं भने चीनको भन्दा भारतको अवस्था नेपालमा सुदृढ र विस्तार हुन्छ ।
भारत कुरा गर्ने, काम नगर्ने !
भारतीय 'थिंक ट्यांक’ का कुराबाट के देखिन्छ भने चीन र भुटानको बोर्डर डोक्लाममा चीनले सडक विस्तार गरिरहेको ठाउँमा जुन विवाद सुरु भयो, त्यसले भारत नराम्ररी आत्तियो । यसकै कारण हो सोमबार भारतले आफ्नो सेना विवादास्पद ठाउँबाट फर्कायो पनि ।बुझ्नुपर्ने कुरा के भने चीनले पछिल्लोपटक १५ दिनको अल्टिमेटम जुन भारतलाई दिएको थियो, भारत त्यति दिन पनि नबित्दै हतारहतार फर्र्किएको हो । यसलाई भारतीयहरूले थाहा नपाएजस्तो गरे पनि यो बुँदा चीन र भारतबीचको भिन्नता छुट्ट्याउने आधार हो ।
चीनसँग भारतले जुन अपरिपक्व खेल खेल्यो, त्यसको नमीठो स्वाद चीनले भारतलाई चखाइछोड्यो । भारतीयहरूले ठानेका थिए, भुटान भूमिमा चीनले दादागिरी गर्यो भनेर चीन अन्तर्राष्ट्रिय रूपमा उदांग हुन्छ ।
तर भारतीय सत्तासीन रणनीतिबाज यहींनिर नराम्ररी चिप्लिए । नेपाललाई पनि उनीहरूले नाकाबन्दी गरेपछि १५ दिनमा नेपालले घुँडा टेक्छ भन्ने निश्कर्ष निकालेका थिए ।चीन डोक्लाममा यति जबर्जस्त रूपमा प्रस्तुत भयो कि भारतको फूर्ति एकैपटक शीतांग बन्न पुग्यो । चीनले भारतलाई रौंजति पनि गनेन !
यो बुँदाले भारतीय नाकाबन्दीको मारमा परेका नेपालीको चिलाइ मेटिएजस्तो लागे पनि वास्तवमा यो अवस्था आउनु भनेको दक्षिण एसियाको लागि सुखद होइन । त्यसमाथि भारतको लागि त लज्जास्पद नै हो ।हुन पनि चीनलाई भारतले कसरी रोक्ने ? अमेरिकालाई 'चेक’ दिइरहेको चीनसँग बाटो बनाएको विरोधमा जुध्न जानु नै भारतको आत्मघाती कदम थियो ।
अन्तर्राष्ट्रिय सम्बन्धका सामान्य कुरा पनि भारतले कसरी बिर्सियो ? बिर्सिएको होइन, साना छिमेकीलाई जस्तै हेपेको हो । चीनसँग मौलिक दृष्टि छ । पैसा छ । प्रविधि छ । सैन्य शक्ति छ, तर भारतसँग छैन । ऊ बोल्छ र गर्छु भनेका काम वर्षौंसम्म नगरेर ढिठ गर्छ । नेपालमा त भारतले ३० वर्षयता सुरु गरेका कुनै काम सम्पन्न भएका छैनन् ।
चीन सुरक्षा परिषद्को स्थायी सदस्य हो । ऊ अन्तर्राष्ट्रिय शक्ति बनेर अमेरिकालाई हावाकावा पारिरहेको छ, भारतलाई उसले आफ्नो प्रतिस्पर्धी नै मानेको छैन । चीनको 'एक्सन’ बाट 'इन्टेन्सन’ बुझ्नुपर्छ तर भारत ? कुरा गर्छ, काम गर्दैन !
चीनसँग कुन शक्तिका आधारमा र केको लागि जुध्ने आँट गरेको होला ? एक नेपाली रणनीतिज्ञले भने, सबैभन्दा लज्जास्पद कुरा सन् १९६२ को युद्धमा चीनले कब्जा गरेको आफ्नो भूमि त भारतले फिर्ता लिन सकिरहेको छैन, अनि भुटान-चीनको सीमा डोक्लाममा भारत विचारी बन्न पुग्ने ?
यो अवस्थालाई उनले नेपाल र भारतको सन् १९६९ को अवस्थासँग तुलना गर्न सकिने बताए । '६९ मा नेपालको उत्तरी सिमानामा सैनिक चेकपोस्ट हटाउन भारत बाध्य हुनुपरेको थियो । अहिले भुटानमा भारतीयको अवस्था मलाई त्यतिबेलाको जस्तै लागेको छ ।
राज्यसभा टीभी अन्तर्वार्तामा भारतीय विद्वान्ले भने झैं चीनलाई भारतले कुनै पनि हालतमा रोक्न मिल्दैन । यस्तो अवस्थामा भारतले आफूसँग जे विकल्प छन्, तिनैका आधारमा नेपालसँगको सम्बन्ध अगाडि बढाउनुपर्छ । भारतले चीनको तर्फबाट विकास भइरहेका कुरालाई छिमेकी मुलुकमा रोक्न लाग्नु आत्मघाती मात्र हुनेछ ।
भयो पनि त्यस्तै । चीनलाई लघार्न डोक्लाममा भारतलाई फसाउने अरू कोही होइनन्, उनीहरूले भनेजस्तो नेपालको संविधान संविधानसभाले बनाएन भनेर मुठीभर मधेसी उचालेर नेपालमाथि ज्यानमारा नाकाबन्दी लगाउने भारतीय नै हुन् । नेपाली, भुटानी र चिनियाँहरूले तिनलाई चिने, तर भारतले ती भारतविराधीलाई कहिले चिन्ला ?
अनि हाम्रा प्रधानमन्त्री देउवाले नरेन्द्र मोदीसँग साझा सुरक्षा भनेर वक्तव्यमा सही त गरे तर कसका विरुद्ध ? नेपालको शत्रु को छ र भारतसँग साझा सुरक्षाको लागि हस्ताक्षर गर्नुपरेको होला ? जबकि तिनै देउवाले भारतका रामविलास पासवानलाई चीन हाम्रो दुस्मन होइन भनेर जवाफ दिइसकेका थिए!