फास्ट ट्रयाकका असहजता
हाम्रोमा राष्ट्रिय महत्व र गौरवका योजनाबारेमा धेरै छलफल भए, तर कार्यान्वयन सुस्त छ । दुःखको कुरा, राष्ट्रिय महत्वका योजना सन्दर्भमा राजनीतिक दलहरूबीच मतैक्य छैन । कमिसनकै कारण राष्ट्रिय गौरवका योजना अवरुद्ध भएका छन् । त्यस्ता योजनालाई केवल प्रचारकै लागि अघि सारिएको जस्तो बुझिन्छ ।
१५ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको मेलम्ची खानेपानी परियोजना ३० वर्ष पुगिसक्दा पनि सम्पन्न भएको छैन । गत वर्ष राष्ट्रिय गौरवको चर्चित योजना फास्ट ट्र्याक (द्रूतमार्ग) निर्माणको व्यवस्थापकीय काम नेपाली सेनाले गर्ने गरी जिम्मा दिइएको छ । यो विशाल सडक योजना कार्यान्वयन हुँदा यसले पहाड, खोला र मैदान छिचोल्दै तराई-मधेसबाट राजधानी काठमाडौं जोड्नेछ ।
फास्ट ट्र्याक सर्वाधिक महत्वको योजना हो र त्यसमार्फत सडक यात्रा गर्दा सैयौं डाँडापाखाहरूका घुम्ती छिचोल्नुपर्ने झन्झट रहन्न । हाम्रा घुम्ती परेका सडकहरूकै कारण अरबबाट अर्बौं तिरेर ल्याएको इन्धनलाई हामी दैनिक अर्बौं तिरेर उपभोग गरिरहेका छौं । फास्ट ट्र्याक बन्दा त्यसले इन्धनको प्रयोगसमेत कम गराउँछ किनभने हाम्रा दैनिक उपभोग्य सामान, अन्न, औषधी, फलफूल, तरकारी, औषधी देशमा सडकमार्फत भित्याउनकै लागि इन्धनमा प्रतिदिन अर्बौं खर्च हुन्छ ।
नेपालको फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाको श्रम र विश्व सीप, प्रविधि र अनुभव भित्याएर यो ‘महायोजना’ सम्पन्न गर्दा बढी फलदायी हुनेछ ।
सतहमा हेर्दा नेपाल र नेपाली जातिको गौरव नेपाली सेनाले अहिलेसम्मकै देशकै ‘मेगा कन्स्ट्रक्सन’ को जिम्मा लिनु सकारात्मक पक्ष हो । त्यसमाथि तराई र पहाडलाई यति ठूलो सडकले जोड्दा त्यसले नेपालको राष्ट्रिय एकतासमेत मजबुत पार्नेछ । सेनाले यो योजना लिनुको सांकेतिक महत्व पनि उत्तिकै छँदैछ, तर त्यसपूर्व हामीले मेगा संरचना निर्माणका प्राविधिक पक्षबारे प्रस्ट हुन जरुरी छ । फास्ट ट्र्याक ‘ए ग्रेड’ को निर्माण हो । भारतीय र चिनियाँले समेत निर्माण गर्न सक्दैनन्, यस्तो खालका विशाल प्रोजेक्ट ।
जमानादेखि विशाल पुलपुलेसा र भीमकाय सडक र नहरहरू निर्माण गरिरहेका युरोपियन र अमेरिकी कम्पनीहरूले मात्र उच्चस्तरका यस्ता प्रोजेक्टहरू निर्माण गर्न सक्छन् । अहिलेसम्म नेपाली कन्ट्र्याक्टरहरूले ए ग्रेडको मात्रै होइन, बी ग्रेडका संरचना पनि बनाएका छैनन् । आजका दिनमा बल्लतल्ल भारतीय र चिनियाँहरू बी ग्रेडको सडक बनाउँदैछन् । उनीहरूले पनि तिनै पश्चिमाको सहयोगमा बी ग्रेडका सडक बनाउन सकेका हुन् ।
तर फास्ट ट्र्याक परियोजना सेनाले बनाउन सक्छ कि सक्दैन भन्नेबारे हामीले राम्रोसँग अनुसन्धान गरेनौं कि भन्ने लाग्छ । यस तर्कको पछाडि केही जायज कारण छन् । यसर्थ हामी चार वर्षभित्र फास्ट ट्र्याक बनाउने कुरा आधारहीन छ । यसको लागि न हामीसँग सीप छ न त अनुभव नै । नेपाली सेना मात्रै होइन, नेपालको कुनै पनि कन्स्ट्रक्सन कम्पनी या कुनै पनि इन्जिनियरसँग यस्ता मेगा प्रोजेक्टको विषयमा कुनै अनुभव छैन । यो चानचुने प्रोजेक्ट होइन, सीधा पहाडहरू छेडेर सडक र पुलहरू बनाउने कुरा हो ।
एउटा पिल्लर ६-७ मिटरको बनाउँदासमेत हामी ‘अहो कति अग्लो !’ भनेर अचम्मित हुन्छौं जबकि फास्ट ट्र्याकको लागि त ५०-६० मिटर अग्ला पिल्लर दर्जनौं ठाउँमा बनाउनुपर्ने हुन्छ । कतिपय ठाउँमा सुरुङ बनाउनुपर्ने हुन्छ, त्यस्ता सुरुङमा हावा कम हुने अवस्थामा ‘एयर कम्प्रेसन’ को कुरालाई समेत ख्यालमा राख्नुपर्ने हुन्छ र अक्सिजन पठाउनुपर्ने हुन्छ । अर्काको नक्सा र भिडियो देखाएर मात्रै यत्रो प्रोजेक्ट बनाउन सकिँदैन ।
एउटा बेग्लै उदाहरण नागढुंगादेखि सीतापाइलाको सुरुङको डिजाइनकै लागिसमेत हामीलाई ६ वर्षभन्दा बढी लाग्यो । अझै पाँच वर्ष लाग्ने भयो एउटा छोटो सुरुङ योजना सम्पन्न गर्न । सन् २०२२ सम्ममा मात्रै यो योजना सम्पन्न हुने कुरो छ । जापान संलग्न रहेको त्यति सानो योजना सम्पन्न गर्न त १० वर्ष बढी लाग्यो भने चार वर्षमा कसरी फास्ट ट्र्याक सम्पन्न गर्न सकिन्छ ?
पश्चिमा र जापानिजहरूले चिनियाँ र भारतीयहरूलाई एक तहमा प्रविधि हस्तान्तरण गराएका छन् । अरूले उनीहरूबाटै प्रविधि सिकिरहेका छन् । पश्चिमाहरूले ए ग्रेडका सडक र पुल संरचना उहिल्यै बनाइसकेका छन् । अहिलेसम्म नेपाली कन्ट्र्याक्टरले एक अर्बदेखि डेढ अर्बसम्मका योजना निर्माण गरेका छन् ।
यसको अर्थ हो- फास्ट ट्र्याक बनाउन सक्ने हैसियतको कुनै पनि कम्पनी अहिलेसम्म नेपालमा छैनन् । मानौं, चिनियाँ र भारतीयले पनि हामी ए ग्रेडको संरचना बनाउन सक्छौं भनेर दाबी गर्लान्, तर उनीहरूको पनि भौतिक संरचना बनाएर भ्याइसाध्य छैन । सोही कारण उच्च तहका कन्ट्र्याक्टरहरू हाम्रोमा काम गर्न आउन सक्ने सम्भावनासमेत छैन । उनीहरू आफैं पनि पहिलो विश्वको प्रविधि र विशेषज्ञहरू ल्याएर काम गरिरहेका छन् । पछिल्लोपटक चिनियाँहरू भने पहाडी निर्माण-योजनामा अरूभन्दा अघि नै देखिएका छन् ।
पहिले-पहिले नेपालमा चिनियाँ र भारतीयहरू आएर केही संरचना बनाए । तर दुःखको कुरो, त्यतिखेर प्रविधि हस्तान्तरणको काम भएन । हामीले यस सन्दर्भमा कोरियालाई सम्झनु उचित हुन्छ । कोरियाको विकास नै प्रथम विश्वको प्रविधि हस्तान्तरणबाट सम्भव भएको हो । कोरियनहरू बाहिरी मुलुकमा गएर सिकेको सीप र अनुभव आफ्नो देशमा गएर उतारेकाले आज भौतिक विकासमा कोरिया अघि छ । यसर्थ नेपालको फास्ट ट्र्याक निर्माणको लागि हामीले नेपाली सेनाको श्रम र पहिलो विश्वका प्रविधि र इन्जिनियरका सीप र अनुभव भित्याएर यो ‘महायोजना’ सम्पन्न गर्दा बढी फलदायी हुनेछ । हाम्रो सेनाले पनि उनीहरूका प्रविधि र सीप सिक्न पाउनेछन् ।
मेलम्ची आयोजनाको काम त सम्भवतः एकदुई सालमै सम्पन्न हुनेछ, तर देश र जनतालाई समेत दीर्घकालसम्म लाभ प्राप्त हुने यस्तो द्रूतमार्ग योजना सम्पन्न गर्न सबै दल एक ठाउँमा जुट्नैपर्छ । यो योजनालाई वास्तविकतामा रूपान्तरण गर्न सिंगो राष्ट्र लाग्नुपर्छ ।
-लामा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।