यसरी अध्यागमन सुदृढीकरण
नेपालभित्र विदेशीको उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्न र नेपाली नागरिकको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न अध्यागमन निकायको स्थापना भएको हो । ‘अध्यागमन नियमन र पर्यटन प्रवद्र्धनबीच कुशल संयोजन : सूचना प्रविधियुक्त अत्युत्तम व्यवस्थापनमा पारदर्शी र व्यावसायिक अध्यागमन’ भन्ने दीर्घकालीन सोच र परिकल्पना लिई राज्यको सुरक्षा प्रणालीलाई सहयोग गर्ने, निष्पक्ष र प्रभावकारी सेवा प्रवाह गर्ने साथै प्रविधिमा आधारित कार्यविधि अवलम्बन गर्ने ध्येयका साथ प्रतिबद्धता, निष्पक्षता, पारदर्शिता, इमानदारी, जवाफदेहिता, विनम्रता र विभागीय मूल्यलाई अनुशरण गरी व्यवस्थित तुल्याउन खोजिएको छ ।
कार्य सम्पादन प्रक्रियामा स्पष्टता र चुस्तता तुल्याउन कार्यविधिगत तवरले अध्यागमन ऐन- २०४९, नियमावली- २०५१, अध्यागमन कार्यविधि- २०६५ जारी गरिएका हुन् । अध्यागमन विभाग र अन्तर्गतका १० वटा कार्यालयबाट उल्लिखित विधिका आधारमा भिसा प्रशासनसँग सम्बन्धित कार्यसम्पादन गरिन्छ । विदेशस्थित ३२ वटा नेपाली दूतावास, तीनवटा महावाणिज्य दूतावास र ५१ वटा अवैतानिक निकायबाट नेपाली भिसासँग सम्बन्धित कार्य सम्पादन हुन्छन् । नेपालमा भारतसँगको सीमानाका ६ स्थानमा, चीनसँगको सीमानाका दुई स्थानमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ र पोखरामा १ गरी कार्यालयबाट कार्यसम्पादन गरिन्छ, जसमध्ये हाल तातोपानी नाका बन्द अवस्थामा छ ।
अध्यागमन विभागले अध्यागमन अपराधको अनुसन्धान तहकिकातदेखि अभियोजन, मुद्दाको अन्तिम किनारा लगाउने काम र भिसा प्रशासनको व्यवस्थापनसहितका कार्य गर्दछ । यसका साथै विदेशीलाई पदयात्रा अनुमति, अनुगमन, व्यवस्थापन र नियन्त्रणसमेतका कार्यसमेत गर्दछ । नेपालमा एक भिसा वर्षमा नेपालबाहिर प्रस्थान गर्ने र आगमन गर्नेको संख्या हेर्दा कम आँक्न मिल्दैन । सन् २०१६ को भिसा वर्षको प्रस्थान र आगमनको कुल संख्या करिब ३८ लाख ४० हजार र यस वर्ष सन् २०१७ को प्रथम ६ महिनामा प्रस्थान र आगमनको कुल संख्या २२ लाख पाँच हजार रहेको देखिन्छ ।
प्रविधिले विश्व एउटै गाउँमा रूपान्तरण भइसकेको बेला नेपालको अध्यागमन प्रशासनले विभिन्न देशले अवलम्बन गरेका प्रविधि र उपाय अनुशरण गरी सुधारतर्फ अग्रसर रहनु जरुरी छ ।
यो तथ्यांकमा त्रिभुवन विमानस्थलबाट मात्र आगमन र प्रस्थानको तथ्यांक करिब ९० प्रतिशत रहेको छ । करिब तीन सयजना कर्मचारी अध्यागमन प्रशासन र व्यवस्थापन कार्यमा आबद्ध छन् । आर्थिक वर्ष ०७३÷७४ को तथ्यांक विश्लेषण गर्दा अध्यागमन प्रणालीमार्फत नेपाल सरकारलाई कुल दुई अर्ब २४ करोड १५ लाख राजस्व प्राप्त भएको देखिन्छ ।
यति सानो संरचनाबाट यति धेरै राजस्व संकलन हुनु चानचुने होइन । तर देशको कुल राजस्वमा राम्रै हिस्सा संकलन गराउन सफल निकाय समयक्रमअनुसार परिवर्तित स्वरूपमा सञ्चालन हुन नसकेको सहजै आभास हुन्छ । राजस्वको योगदान हिस्साअनुसार पनि पूर्वाधार विकासमा जोड दिइयो भने अत्युत्तम हुन्छ । ‘देशको मुहार’ का रूपमा चिनिने अध्यागमन प्रशासनलाई समयानुकूल परिवर्तन गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तुल्याउन यहाँबाट हुने कामकारबाही आधुनिक स्वरूपमा सञ्चालन हुनैपर्छ ।
नेपालको भौगोलिक अवस्था, सीमामा हुने अपराध, बढ्दो मानव तस्करी, नेपालीको वैदेशिक रोजगारमा जाने बढ्दो लहरजस्ता विविध कारणले अध्यागमन व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ । यी र यीजस्ता कैयन् चुनौती सामना गर्न विश्व प्रविधिमा भएका पछिल्ला परिवर्तनलाई आत्मसात गर्नु जरुरी छ । हाललाई नेपालको अध्यागमन प्रणालीको सेवालाई कम्तीमा सार्क मुलुकको दाँजोमा पुर्याउन धेरै गृहकार्य गर्नुपर्ने देखिन्छ ।
अध्यागमनले प्रयोग गरिरहेको एकमात्र ‘इमी’ सफ्टवेयर पुरानो भइसकेको छ । त्यसलाई समेत सबै कार्यालयमा विस्तार गर्न सकिएको छैन र भरपर्दो अवस्थामा छैन । अध्यागमनमा कार्यरत कर्मचारीमा व्यावसायिकताको कमी देखिन्छ । कर्मचारीलाई पुनर्ताजगी, क्षमता विकासको तालिम प्रशिक्षण कार्यक्रम सञ्चालित छैनन् । पूर्वाधार नै थोरै छ । राहदानी र भिसाका जटिलता खुट्ट्याउन सक्ने प्रविधि हामीसँग छैन । साँघुरो स्थान, कर्मचारीको बारम्बार सरुवा, काजप्रथा, कतिपय कर्मचारीका अपरिपक्व व्यवहार, कार्यविधिगत जटिलता, सरोकारवाला निकायबीच असामञ्जस्यता र समन्वयको कमी, इमानदारी र नैतिकतामा ह्रासजस्ता विविध पक्ष अध्यागमन सुधारका तगारा बनेका छन् ।
अध्यागमन प्रशासनको जनशक्ति संयन्त्रले गर्ने कामकारबाहीबारेमा बेलाबेला कुरा उठ्छ । के जनशक्तिको पुनर्संरचित स्वरूपमा रूपान्तरण आवश्यक छ त ? त्यसो हैन । अध्यागमन प्रशासनको अर्को विकल्प यसको कार्यप्रणालीलाई आधुनिकीकरण गरी सुधार गर्नु नै हो । अध्यागमन कार्यालयमा पूर्वाधारका संयन्त्र पीआरएम मेसिन, भरपर्दा र सुरक्षित सफ्टवेयर, रेटिना क्याप्चर मेसिनजस्ता सामान्य तवरका पूर्वाधारका संयन्त्रको तत्काल व्यवस्था गरिनुपर्छ । सीसीटीभीलाई सजाएर देखाउने संयन्त्रको रूपमा हैन, प्रभावकारी उपयोगका लागि नियन्त्रण कक्ष खडा गरी पूर्व सावधानी, सतर्कता र पूर्वानुमानयोग्य बनाइनुपर्छ ।
यात्रारत विदेशीको आवागमन तथ्यांक अभिलेख गरी चुस्त राख्न अनलाइन होटेल ट्र्याकिङ पद्धतिको व्यवस्था गरिनुपर्छ । कर्मचारीको क्षमता विकासको लागि अनुशिक्षण र प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालनमा ल्याइनुका साथै निश्चित तोकिएको उमेरसम्मका कर्मचारीलाई मात्र डेस्कमा राख्ने व्यवस्था मिलाइनु जरुरी छ । दीर्घकालीन रूपमा सुधार गर्न तोकिएको उमेरसम्म छुट्टै अध्यागमन समूहमा आबद्ध तुल्याउने र त्यसपश्चात् सो जनशक्तिलाई अन्यत्र (निजामती सेवा) स्वतः व्यवस्थापन गर्नु उचित होला ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय राहदानी, भिसा भेरिफिकेसन र अध्यागमन ‘क्लियरेन्स’ को कार्यमा मात्र संलग्न रहने गर्दछ । विमानस्थलमा हुने सम्पूर्ण अनैतिक गतिविधिमा अध्यागमनसँग संलग्न सबै प्रत्यक्ष र परोक्षरूपमा सम्बन्धित हुन्छन् भन्ने मानसिकता सबैतिर छ । यसको निराकरणको लागि विमानस्थलमा नेतृत्व प्रणाली, पदसोपानगत व्यवस्था र मर्यादाक्रम कायम गर्न जरुरी देखिन्छ । प्रविधिले विश्व एउटै गाउँमा रूपान्तरण भइसकेको बेला नेपालको अध्यागमन प्रशासनले विभिन्न देशले अवलम्बन गरेका प्रविधि र उपाय अनुशरण गरी सुधारतर्फ अग्रसर रहनु जरुरी छ ।