एन पिस अवार्डमा गायक श्रेष्ठ
काठमाडौं : एन पिस अन्तर्राष्ट्रिय अवार्डका लागि नेपालका तर्फबाट र्यापर निर्णय श्रेष्ठ मनोनयनमा परेका छन् । गीतसंगीतको माध्यमबाट शान्ति स्थापनामा सहयोग गरेबापत उनी मनोनयनमा परेका हुन् । नेपाल द्वन्द्वमा फसेको समयमा उनले शान्ति, सद्भावका लागि गीत गाउँदै हिँडेका थिए । र्याप गीतलाई नेपालमा प्रमुख धारमा ल्याउन योगदान गरेका श्रेष्ठ र्याप गीतको माध्यमबाट द्वन्द्वको निन्दा गर्थे र शान्तिको गीत गाउँथे ।
नेपाल शान्ति प्रक्रियामा गएपछि पनि उनले अभियान जारी राखेका थिए । शान्ति तथा शैक्षिक अभियानमार्फत 'शिक्षा नै जीवनको मूल आधार' भन्ने अभियानका साथ हिँडेका निर्णयले नेपालका ७५ वटै जिल्लामा पुगेर बालबालिकालाई सहयोग गरिरहेका छन् । उनले विभिन्न विद्यालय र कलेजमा पुगेर सांगीतिक कार्यक्रम गर्दै साना उमेरका विद्यार्थीका लागि कापी, कलम, किताब संकलन गर्ने गरेका छन् । यसरी संकलित सामग्रीहरु शैक्षिक सामग्रीको अभावमा अध्ययन गर्न नपाएका बालबालिकालाई उपलब्ध गराउँदै आएका श्रेष्ठले बताए ।
हाल बाढीपीडित बालबालिकाका लागि एक लाखवटा शैक्षिक सामग्री संकलन गरेर चाँडै पीडितकहाँ पुग्ने योजनामा उनले बताएका छन् । एन पिस अवार्ड शान्तिको क्षेत्रमा काम गर्दै आएका, ग्रामीण तहदेखि योगदान गर्दै आएका, समुदायलाई सशक्त बनाउन भूमिका खेलेका व्यक्तित्वलाई दिइँदै आएको छ । यसमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, म्यानमार, अफगानिस्तान, फिलिपिन्स लगायतका मुलुक समेटिएका छन् । निर्णय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका दूत पनि बनिसकेका छन् ।